२९ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

मातृत्वबिनाका आमाहरू

अनुभूति

आँखाले देख्दादेख्दै हामी तीन दिदीबहिनी र बाबालाई छोडेर ममी अरूसँगै जानुभयो, नेपाली भाषामा भन्नुपर्दा पोइल। मलाई राम्ररी  याद छ त्यो दिन। ममी हामीलाई छोडेर अरूसँग गइसक्नुभयो, अब आउनुहुन्न भन्ने मलाई थाहा थियो तर साना मेरा बहिनीहरूले रुँदै ‘ममी खोई? ममी खोई?’ भन्दा बाबाले भन्र्ने गर्नुहुन्थ्यो-मामाघर गएकी छ, भोलि आउँछे, भोलि त पक्कै आउँछे।

बाबाले हामीलाई राम्ररी  पढाउनुभयो, हुर्काउनुभयो। म स्थापित क्षेत्रमा काम गर्छु, योग्य पोस्टमा छु। मेरा दुई बहिनी हाल अस्ट्रेलियामा छन्। बाबा हामीसँग निकै रमाउनुहुन्छ। बाबाले दोहोर्‍याएर विवाह गर्नुभएन। पूरै समाज उठेर विवाह गर भन्दा पनि उहाँले गर्नुभएन। हाम्रा लागि दह्रो भूमिका खेल्नुभयो। आमाको माया पनि बाबाले नै दिनुभयो। भनिन्छ नि, ‘आमा धर्ती हुन्, बाबु आकाश’ तर हाम्रा लागि दुवै बाबा।

हामी बाबालाई बेलाबेलामा ‘विवाह गर्नु बाबा भन्दै’ जिस्क्याउँछौं। तर, बाबा हाँसेर उडाउनुहुन्छ। ममी हामीलाई छोडेर किन अरू पुरुषसँग जानुभयो, यसको कारण आजसम्म हामीले फेला पारेका छैनौं। बाबा कहिले अस्ट्रेलियामा बहिनीहरूसँग रमाउनुहुन्छ, कहिले नेपालमा मसँग नै बस्नुहुन्छ। बाबाले हामीलाई सहज जिन्दगी दिन आफू पछाडि फर्केर कहिल्यै हेर्नुभएन।

अहिले म यसो सोचेर बाबालाई हेर्छु, उहाँमा पुरुष हुनुमा कुनै घमण्ड छैन।

उहाँ कुनै युवतीसँग पनि आकर्षित हुनुभएन। कसैको मायाजालमा पनि फस्नुभएन। योग्य र राम्रो पुरुषको छवि बाबामा थियो। धैरै बाबासँग मरिहत्ते गदर्थे तर पनि बाबा एकल पुरुष भएर सन्तानका लागि बाँच्नुभयो।

आज १५ वर्षे बालकले आमालाई नै बलात्कार गरिरहेको बेला ७० वर्षे बुढाले १९ वर्षकी केटी विवाह गरेर रमाएका छन्। आफ्ना शारीरिक इच्छाहरू अहिले बजारमा पैसा तिरेर पूरा गर्छन् तर बाबालाई घरमै समर्पित हुन केटी आउँदा पनि बाबाले हाम्रा लागि सबै त्याग्नुभयो।

शारदा भन्छिन्-कहिलेकाहीँ यही समाजले तेरी श्रीमती, तेरी आमा त पोइल गएको रे भन्ने शब्द सुन्दा निकै नरमाइलो लाग्छ। यो शब्दले बारबार हामीलाई प्रहार गरिराख्छ। यद्यपि, हामी पछाडि फर्केर हेर्न चाहँदैनौं। तर, धक्काचाहिँ बेलाबेलामा लाग्छ।

सुनितालाई राम्ररी थाहा पनि छैन, उनकी आमा कस्ती छिन् भनेर। उनलाई यति मात्र थाहा छ कि आफू चार वर्षको हुँदा उनकी आमाले उनलाई र उनका बुबालाई छोडेर दोस्रो विवाह गरेकी थिइन् रे। तर हामीलाई चाहिँ हाम्री ममी मरेको नै भनेर भन्ने गरिन्थ्यो। भाइ सानै थियो। 

बाबाले दोस्रो विवाह गर्नुभयो। बाबा विदेशमा सौतेनी आमासँग हुनुहुन्छ। उता ममीबाट एउटा छोरो पनि छ। बाबा आउनेजाने गरिरहनुहुन्छ। हामीलाई हजुरआमाले सबै हेरचाह गर्नुभयो। बाबा विदेशबाट पैसा पठाउनुहुन्छ। सौतेनी आमाको पनि बोलीचाली राम्रो नै छ।

आमा हुँदाहुँदै पनि आमाविहीन भएर बस्नुपर्ने बाध्यता धेरै सन्तानको छ। सन्तानको लागि आमाको माया महत्त्वपूर्ण छ। सन्तान आमाको अँगालोमा नै रमाउन चाहन्छ। भनिन्छ नि- आमा त्यो सागर हो। आफ्नो सन्तानका लागि जति पनि माया बर्साउन सक्ने ब्रह्मास्त्र हो।

हालै मात्र पनि गुल्मीमा बाबाको मृत्यु भएको बिसौं दिनमा सानातिना भुराहरूलाई छोडेर आमा पोइल गइन्, बालबच्चाको बिजोग गरेर। आज ती बच्चाहरूको दयनीय अवस्था छ।

कसरी सक्छन् सन्तानलाई बाँच्नु र मर्नुबीच मझारमा छोडेर किन हिँड्छन् आमा?

हो, स्वतन्त्रता सबैलाई चाहिन्छ। आमाका पनि रहरहरू होलान्। मिठास र बलियो काँध खोज्नु कुनै अपराध होइन तर आफ्नो स्वतन्त्रतामा अरूलाई मार्न पाइँदैन। यो अन्याय हुन्छ। आध्यश्री बताउँछिन्-मेरी आमाले बाबा हुँदाहुँदै ठुलो बाबासँग भागेर पुनः विवाह गरिन्। कुनै समय धैरै बाधा अप्ठ्याराहरू व्यहोर्नुपरेको थियो मैलै।

आमाकै कारण सन्तानहरूले निरीह जीवन बिताउनुपर्दा पक्कै पनि मन गह्रौं भएर आउँछ।

 सन्तानका लागि आमाको माया जो अरूबाट कहिल्यै पूर्ण हुन सक्दैन। आमाबिनाको जिन्दगी नाबालक सन्तानले कल्पना गर्न पनि गाह्रो हुन्छ। झन् तोते बोली बोलेर आमा खोज्नेबेला आमा साथमा नहुँदा परिकल्पना गर्न गाह्रो छ। एकैछिन आमा नदेख्दा रसाउने आँखाहरू आमा हुँदाहुँदै आमाको अँगालोबाट टाढिनु पर्नेहरूको पीडा दुखान्तक कथाभन्दा कम छैनन्।

तेरी आमा त छ है तर अरूसँग पोइल गइछे। तेरी बाउले त अर्कैसँग विवाह गरेछ भनेको सुन्दा मन चस्स हुन्छ।

‘आमा मरेकी नै भए पनि दुःख लाग्दैनथ्यो। मेरो भागमा आमाको माया यति नै रहेछ भन्ने सन्तुष्टि हुन्थ्यो। तर यहाँ आमा हुँदाहुँदै पनि टुहुरो महसुस गर्नुपर्दा र समाजको ताना सुन्दा दिक्क लाग्छ,’ निशा बताउँछिन्।

मेरी आमा पोइल गइन् त मेरो केको दोष ? समाजको ताना सुन्दासुन्दा दिक्क लाग्छ। मैलै पछाडि फर्केर हेर्न छोडे पनि समाजले आमाको नाम दिएर तिखो बाण हान्छन्। पोइल जानु नै गएपछि एउटा असल पुरुष छानेर गएको भए पनि हुन्थ्यो। बाबाभन्दा पनि कमजोरसँग गइन् रे।

भनिन्छ, आमा धर्ती हुन्, बाबा आकाश। यी दुबैबाट नै बञ्चित हुँदा कति गाह्रो र कठिन हुन्छ जीवन। आमाहरू सन्तानका लागि जीवन परिचालन गराउने एउटा योद्धा हुन्, आमा हुन गाह्रो छ। यसैले त कवि तीर्थ श्रेष्ठ लेख्छन्:

आमा हुन कठिन छ

आमा हुन साह्रै असजिलो छ।

पहाडजस्तो उचाइमा पुगेर मैदान भइदिनुपर्ने

मैदानमा पुगेर उकालो भइदिनुपर्ने

सन्तानहरू कहाँ पुग्छन् खोलाहरूजस्तो

सपनाहरू कहाँ पुग्छन् स्वच्छन्द चराहरूजस्तो

आमाहरू पहाडछेउको चौतारी हुन अभिशप्त छन् 

आमा हुन अप्ठेरो छ

हो, आमा हुन गाह्रो छ। यसैले त होला, आमाको  महत्त्व धैरै छ तर पनि सन्तानलाई अपुरो र अधुरो बनाएर किन हिँड्छन् आमाहरू? पेटी र गल्ली जङ्गलमा आमाहरूले किन छोड्छन् सन्तानलाई? यो कवितामा भनेझैं आमा बन्न कठिन भएर होला।

हामी अघि बढ्न खोज्दा ‘ए आमाजस्तै गरेर हिँड्न लाइस् नि’ भन्नेहरूले बाटो छेक्ने गरेका छन्। आज सौतेनी बाबुले आफ्नै छोरी बलात्कार गरिरहेका छन्। सौतेनी छोराले आमालाई नै बलात्कार गरिरहेका समाचारहरूले समाजमा विसङ्गति फैलाइरहेका छन्।

श्रीमान् या श्रीमतीको मृत्यु हुँदा एक अर्काका लागि साथी खोज्नु राम्रो हो। यसमा पारिवारिक सहकार्य गरेर अघि बढ्न सकिन्छ। घरमा बस्नै नसक्ने वातावरण हुँदा उपाय खोज्न सकिन्छ। हुन त अहिले बाबाको मृत्यु हुँदा छोरा छोरीले नै आमा अन्माउने चलन आएको छ। यो राम्रो कुरा हो। एउटी आइआईले दुई तर्फका सन्तानलाई मिलाएर राखेका धैरै उदारण पनि छन्।

मेरी आमा त संसारकै राम्री, मलाई कति माया गर्नुहुन्छ। सायद मेरी आमा नभएको भए त म के गर्थें होला, सोच्न पनि सक्दिनँ। यसरी आमाको तारिफ गर्नेेहरू धैरै छन्।

यहाँ सन्तानका कारण दुःख पाएका आमाहरू धेरै छन् तर आमाबाट नै दुःख पाउने सन्तानहरूको पीडावेदना गनिसाध्य नै छैन।

आमालाई छोडेर बाबाले सानीआमा ल्याउनुभयो। सानीआमाको व्यहोरा हामीमाथि अभद्र नै थियो। म र मेरी  बहिनी पढ्थ्यौं। आमाले हामीलाई पढ्नभन्दा पनि काममा नै पेलाउनुहुन्थ्यो। बिहान पनि हामी सबै काम सकेर जान्थ्यौं।

आमा दिनभरि घर बस्नुहन्थ्यो। दिनभरिको काम पनि हामी दुई दिदीबहिनीलाई नै राखिदिनु हुन्थ्यो। तर, हामीले जसोतसो गरेर  डिल्लीबजारको कन्या स्कुलबाट पढ्यौं। आमा अरूसँग हिँडिदिँदा, बाबाले अर्की श्रीमती ल्याउँदा यशोदा आँखाभरि आँसु पार्दै भन्छिन्, ‘मलाई मेरी आमा घृणाको पात्र लाग्छ।’

विज्ञ, ज्ञानी, लेखकहरूले आमाका बारेमा धैरै विश्लेषण गर्दै आएका छन्। आमाका बारेमा वर्णन गरेर नथाक्ने महर्षिहरू आमा पुजेर कहिल्यै थाक्दैनन्। आमा ज्ञान हुन्, डाक्टर हुन्, शिक्षक हुन्, आमा सबथोक हुन्। आमा ब्रह्माण्ड हुन्, आमाको महत्त्व यति हुँदा पनि आमा भएर आमा बन्न नसक्नु एउटा दुर्भाग्य हो। 

प्रकाशित: २५ असार २०७९ ०६:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App