१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

मिथिला संस्कृतिको जीवन्त आख्यान ‘मिथिलाको लोकजीवन: लोक सन्दर्भ’

पुस्तक

विश्वकवि रवीन्द्रनाथ टैगोरको एउटा भनाइ छ-‘जेदी तोरेडाक सुनै न आसे तोरे एकला चलोरे ।’ यस कथनको सम्पूर्ण भाव मैथिली भाषा, साहित्य, संस्कृतिका प्रखर साहित्यकार राम भरोस कापडि ‘भ्रमर’को साहित्यिक सक्रियतामाथि शत–प्रतिशत लागु हुन्छ। उनी निरन्तर लेखी रहने लेखक हुन्। कुनै पनि बाधा, अड्चनको परवाह उनले कहिले पनि गरेनन्। लेखे र खुब लेखे। सबै विधामा लेखे।

नेपालको मैथिली साहित्यको भण्डारलाई हेर्ने हो भने उनको डेढ दर्जनभन्दा बढी विधाका पुस्तकहरू सहित पचासौँं कृति आजको तिथिमा सार्वजनिक भएको छ। गत वैशाख २५ गते आइतबार जनकपुरधाममा उहाँको नवीनतम कृति ‘मिथिलाक लोक जीवन: लोक सन्दर्भ’को विमोचन नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले गरेका थिए। उक्त अवसरमा भ्रमरको पचास वर्षको साहित्यिक यात्राबारेमा गहन विमर्श पनि आयोजित थियो। भारतका कोलकाता, पटना, दरभंगाका विशिष्ट विद्वान, समालोचकहरूसँगै विराटनगर, राजविराज समेतका मैथिली साहित्यकारहरूको उपस्थिति र लेखको कृति एवं व्यक्तित्वमाथि आफ्नोआफ्नो मन्तव्य राखेका थिए।

त्यसै अवसरमा विमोचित उनका कृति ‘मिथिलाक लोक जीवन: लोक सन्दर्भ’ ले उनको एउटा अर्को रूप आलोचनात्मक र अनुसन्धाता रचनाकारको पनि अनुभूति गरायो। २८४ पृष्ठको यस पुस्तकमा ५५ वटा विभिन्न स्वरूप र सन्दर्भका गहकिला रचनाहरू संकलित छन्। जसलाई अमेरिकास्थित संस्था ‘मिथिला सेन्टर, अमेरिका’ ले छापेको छ। लेखकीयमा लेखक यस पुस्तकबारे स्वयं लेखेका छन्-मिथिलाको लोकजीवन, लोकसम्पदा र लोक सरोकारका विषयवस्तुतिर पाठकहरूको ध्यानाकर्षण होला भन्ने विश्वास छ।

वास्तवमा यो पुस्तक तीन खण्डमा विभक्त छ-मिथिलाको सांस्कृतिक सम्पदा, मिथिलाको गौरव र भाषा, साहित्य, सरकार। पुस्तकको प्रथम खण्डको पहिलो निबन्धमा ‘मध्यकालीन गीतको उद्धार जरुरी’ सामेल गरेका छन्। यसमा लेखकले भक्तपुरमा हुने ‘कार्तिक नाच’ मा प्रयोग भएका लगभग ३ सय गीतको विधिवत साभार गरेका छन्। उनले-ती गीतमध्ये अधिकांश मैथिली भाषाका गीत हुन्, जुन स्थानीय भाषा (नेवारी) को प्रभावमा अलिक फरक देखिन आए पनि केही त अहिले पनि आफ्नो मौलिक रूपमा रहेको सप्रमाण प्रस्तुत गरेका छन्।

त्यस्तै भक्तपुर दरबार क्षेत्रमा अहिले पनि तिरहुतिया सङ्गीतको ताल सुनिँदै छ। मिथिलाका कर्णाटवंशीय राजाहरूको नेपाल उपत्यका खास गरी भक्तपुर दरबारबीच प्रखर सम्बन्धको विभिन्न उदाहरणद्वारा पुष्टि गरेका छन्। दरबार क्षेत्रमा अवस्थित तुलजा भवानीको दशैँमा हुने पूजामा सिम्रौनगढका प्रतीकात्मक राजदरबारीको महत्त्व महत्त्वपूर्ण रूपमा झल्केको पाइन्छ।

धनुषा मकर, नम गंगे, जयजय गंगे, जूडशीतल पर्व आदिको सांस्कृतिक महत्त्व र परम्पराका बारेमा विश्लेषणात्मक टिप्पणी पठनीय छ। त्यस्तै मधेश क्षेत्रमा देवीको रूपमा पूजित कमला नदीको महत्त्व र उपलब्धिबारेमा लेखकले आफ्नो निबन्ध ‘नदी संस्कृतिको जीवन्त आख्यान: कमला’मा विस्तारमा लेखेका छन्। समाजमा विलुप्त हुँदै गइरहेको बालगीत/शिशुगीतको महत्त्व बताउँदै बालमनोविज्ञानमा आफ्नो परिवारका साथै प्रकृतिका विशिष्ट अवदानलाई पनि रेखाङ्कन गरेका छन्।

कुनै पनि रचनाकार आफ्नो रचनाको माध्यमबाट समाजलाई जीवन्त बनाउने प्रयास गर्दछन्। ‘भ्रमर’का प्रथम खण्डका समस्त रचना लोक जीवनका विभिन्न रंग रूपको विश्लेषणात्मक र तथ्यपरक प्रस्तुति गर्नु लोक साधकहरूका लागि विशेष लाभकारी हुनेछ।

पुस्तकको खण्ड दुईमा मिथिला क्षेत्रका गौरवशाली व्यक्तित्वहरूको कृतित्व–व्यक्तित्वको चर्चा गर्नुका साथै उनले लेखेका साहित्यबाट समाजले प्राप्त गरेको उपलब्धिको पनि सहज जानकारी उपलब्ध गराएका छन्। यसमा भानुभक्त र मैथिलीका महाकवि लालदासको रामायणमा सीता चरित्रको व्याख्या, विद्यापतिका अनेकौँ रचनाको जानकारी जुन अहिले पनि नेपालको राष्ट्रिय अभिलेखालयमा सुरक्षित छन्, आदिलाई जानकारीमूलक बनाएका छन्। महाकवि विद्यापतिको एउटा अनभिज्ञ रचना ‘वैध रहस्य’ बारे लेख्दै त्यसको विस्तृतमा चर्चा पनि गरेका छन्।

पुस्तकको खण्ड तीनमा ‘भाषा, साहित्य र सरकार’ सम्बन्धी गहकिला विषयवस्तुको उठान गरेका छन्। लेखकले नेपालको भाषा नीति, संवैधानिक व्यवस्था र प्रदेश सरकार (मधेस सरकार)ले गर्नुपर्ने भाषा सम्बन्धी दायित्वका बारेमा पनि गहिरिएर विचार राखेका छन्। प्रदेशका भाषामध्ये ४५ प्रतिशत मैथिली बोल्ने निःसन्देह प्रथम भाषा हुने तर अन्य बहुसङ्ख्यक बोल्ने भोजपुरी, बज्जिका आदि भाषाप्रति सरकारी दृष्टि जानुपर्ने कुरा आफ्नो निबन्धमा लेखक भ्रमरले उठाएका छन्।

यस खण्डमा २०७२ सालमा आएको महाभूकम्पबारे संस्मरण पनि आएको छ भने तराई क्षेत्रको सांस्कृतिक सम्पदाप्रति सरकारी नियतिमाथि प्रश्न पनि उठाइएको छ। मैथिली पाठ्यक्रम निर्माणमा समेटिएको भाषा र विषयवस्तुप्रति आपत्ति जनाउँदै अन्य विषयमा मिथिलाको लोकनायक समेटिएको पहिलो नेपाली उपन्यास दीना भद्री र सलहेसमा आएको विषयवस्तुको जानकारी गराएका छन्।

यस खण्डको अन्तमा विहार (भारत) को पटनाबाट प्रकाशित हुने तत्कालीन मैथिली पत्रिका ‘माटिपानि’ को अगस्त १९८३ ई. अंकमा लेखकको प्रकाशित जनकपुरधामसम्बन्धी शब्दचित्र ‘जनकपुर तैयो जीवन्त अछि’ मा तत्कालीन जनकपुरको सामाजिक, सांस्कृतिक र साहित्यिक परिवेशको सुन्दर चित्रण गरिएको छ।

यो पुस्तक पढेपछि सांस्कृतिक वैभव र वैविध्य स्पष्ट परिलक्षित हुन्छ। आफ्नो सांस्कृतिक परम्पराबाट टाढिँदै गइरहेको समाजका लागि माटोप्रतिको मोह जगाउने शक्ति समेटिएको यो पुस्तक आफ्नो लोक साहित्य, सम्पदाहरूप्रति बढी सतर्क र नजिकिने अवसर प्रदान गर्दछ।

यस पुस्तकमा समाविष्ट गरिएका आलेखहरू स्वयम्मा छुट्टाछुट्टै विषयवस्तु भएकाले सिंगै पुस्तक हुन सक्छन्। तर, लेखक त्यसलाई सङ्क्षिप्त तर प्रमाणिक रूपमा एक्कै थलोमा समेटिएर पाठक/जिज्ञाशुहरूलाई अध्ययन/अनुसन्धान गर्न सजिलो बनाइदिएका छन्। यो उपयोगी पुस्तक प्रकाशित गर्ने अमेरिकाका मिथिला सेन्टर धन्यवादको पात्र हो। पुस्तकको आवरण, छपाइ, सफाइ आकर्षक छ, पठनीय छ, सङ्ग्रहणीय छ। 

प्रकाशित: १८ असार २०७९ ०५:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App