हाम्रो देश ऋषिमुनिहरूको तपोभूमि हो। यहाँ कयौं ऋषिमुनिहरूले तपस्या गरी शिवशक्ति स्वरूपमा लीन भएको प्रसङ्ग पनि धर्मशास्त्रहरूमा पाइन्छ। यसै प्रसङ्गमा कपिलमुनिले पनि नुवाकोट जिल्लाको कविलास डाँडामाथि देवाधिदेव महादेवको तपस्या गरी शिव स्वरूप बनी कपिलेश्वर पशुपतिनाथको स्थापना गर्नुभएको हो।
कपिलमुनि भगवान् विष्णुको २४ अवतारमध्ये पाँचौं अवतारका रूपमा पनि पूजित हुनुहुन्छ। भारतका धेरै स्थानमा र दक्षिण एसियाका विभिन्न स्थानमा पनि कपिलमुनिका मन्दिरहरू स्थापना गरिएका छन्। त्यहाँ व्यापक रूपमा कपिलमुनिलाई विष्णु भगवान्कै रूपमा पूजा अर्चना गरिन्छ।
नेपालको कपिलवस्तु जिल्ला पनि कपिलमुनिकै नामबाट बनेको हो। कपिलमुनिले स्थापना गर्नुभएको बस्ती भएकाले नै कपिलवस्तु नाम रहन गएको हो भनिन्छ। कपिलवस्तुका राजा शुद्धोधनका छोरा गौतम बुद्ध यही भूमिमा जन्म भई विश्व शान्तिका अग्रदूत बनेका हुन्। कपिलवस्तुमा बस्ती बसाउने कपिलमुनिकै मूर्ति वा मन्दिर नहुनु दुःखको कुरा हो, कहीं कतै रहेको छ कि अनुसन्धानको विषय बनेको छ। कपिलवस्तुमा रहेको संग्रहालयमा पनि स्पष्ट रूपमा कपिलमुनिको मूर्ति भेटिएको छैन।
साविकको कविलास गाविस–७ स्थित कपिलेश्वर महादेव नुवाकोट जिल्लाको एक महत्त्वपूर्ण देवस्थल हो। परापूर्वकालमा देवता र असुरहरू मिलेर समुद्र मन्थन गर्दा कालकुट विष निस्केपछि हाहाकार भयो। त्यो कालकुट विषले सृष्टि भइसकेको विश्व ब्रह्माण्ड नै ध्वस्त हुने डरले त्राहिमाम् त्राहिमाम् भन्दै सबै देवताहरूले तपस्यामा लीन भएका देवाधिदेव महादेव समक्ष गई प्रार्थना गरेर कालकुट विषलाई समन गर्नुपर्ने अनुरोध गरे।
विश्व ब्रह्माण्डको रक्षा र लोककल्याणका लागि महादेव आफैं अघि सरेर उक्त कालकुट विष पान गर्नुभयो। उति नै खेर शक्ति स्वरूपा पार्वतीले महादेवले पान गर्नुभएको कालकुट विषलाई महादेवको घाँटीमै रोकी दिनुभयो। विष पिएपछि पीडा भएर डाहाले छटपटिएर वायुवेगमा महादेव हिँड्न थाल्नुभयो।
यसरी छटपटिएर हिँडेका महादेव काठमाडौंको हाल पशुपतिनाथ रहेको स्थान हुँदै नुवाकोटका हाल दुप्चेश्वर महादेव स्थान रहेको ठाउँमा बास बसी भोलिपल्ट गोसाईंकुण्डमा पुगेर आफैं त्रिशूलले पहरामा हानेर निकालेको जलकुण्डमा विषको डाह शान्त पारेर बस्नुभयो।
यसरी छटपटिएर हिँडेका महादेवको पछि लागेर गएका ऋषिमुनिहरूको साथमा गएका कपिलमुनि हिँड्दाहिँड्दै पछि पर्नुभयो र पछि एक्लै पर्नुभएका कपिलमुनि कविलासडाँडामा पुग्दा त्यहीँ महादेवको ज्यार्तिलिङ्गको दर्शन पाउनुभयो। तब कपिलमुनि अत्यन्तै हर्षित भई त्यहीँ महादेवको शिवलिङ्ग स्थापना गर्नुभयो। त्यहीँ कपिलमुनिले आश्रम बनाएर हजारौं गाई पालेर महादेवको तपस्या गरी बस्नुभयो। कपिलमुनिले स्थापना गर्नुभएको शिवलिङ्गलाई पछि गएर कपिलेश्वर महादेवको नामले पुकारिन थालेको हो।
उता समुद्र मन्थनका क्रममा अमृतको घडा बोकेर धन्वन्तरी निस्किनुहुन्छ। यसरी निस्केको अमृत पहिला मैले पिउन पाउनुपर्छ भन्दै देवता र दानवहरूमा विवाद चर्किन्छ। दानवहरूले अमृतको घडा खोसेर लैजान सफल हुन्छन् र आफूआफूमै पहिला अमृत पिउने भन्दै खोसाखोस गर्न थाल्छन।
उक्त विवाद शान्त पार्न र देवताहरूलाई मात्र अमृत पिलाउने खेल खेल्न भगवान विष्णुले अत्यन्तै आकर्षक मोहिनीको रूप लिई राक्षसहरूलाई लठ्याएर देवता र दानवहरूलाई दुई हारमा बस्न लगाएर अमृत बाँडेर पिलाउने क्रममा पहिला देवताहरूको हारमा अमृत पिलाउँदै दानवहरूपट्टि हेर्दै मोहिनी मुस्कान छर्दै दानवहरूलाई मख्ख पारिरहेको हुन्छ।
त्यत्तिकैमा एउटा दानवलाई शङ्का लागि देवताकै रूप लिई देवता बसेको अन्तिम हरफमा बस्न पुग्छ। मोहिनीरूपी भगवान विष्णुले देवताहरूलाई अमृत पिलाउँदै जाँदा अन्तिम स्थानमा बसेका दानवलाई पनि देवता ठानेर अमृत पिलाउन पुग्छ। अमृत पिलाउने बित्तिकै यो त देवता होइन, दानवले छल गरेर बस्न आएको भन्ने थाहा पाउनेबित्तिकै मोहिनीले आफ्नो वास्तविक विष्णुको रूपमा प्रकट भई सुदर्शन चक्रले त्यो दानवको शीर छेदन गरिदिनुभयो। त्यही दानवको शीर र शरीरको दई भाग राहु र केतुका रूपमा आजसम्म अमर रहेको छ।
यसरी देवताहरूले छल गरेर अमृत पान गरेको र आफूहरूलाई अमृत नपिलाएको थाहा पाएका दानवहरूले देवताहरूमाथि धावा बोले, भीषण आक्रमण गरे, कतिपय देवताहरूलाई घायल पारे। तब ब्रह्माजीले सबै देवताहरूलाई भगाएर ल्याई कविलास डाँडानजिकै रहेको ब्रह्मेश्वर क्षेत्रमा देवसेना र देवताहरूलाई लुकाएर राखे।
त्यहीँ ब्रह्माले विश्व शान्तिको लागि यज्ञ गर्नुभयो। दानवहरूले त्यहीँ आएर आक्रमण गर्न थाले। तब ब्रह्माले नारदलाई सुरक्षित ठाउँ खोज्न लगाउँदा कविलास डाँडामा कपिलमुनिले शिवलिङ्ग स्थापना गरी तपस्या गरिरहेको स्थान नजिकै चमेरो गुफा फेला पारेर सबै देवगणलाई लुकाएर राखे। त्यही चमेरो गुफाबाट देवसेनाहरूले असुर सेनाहरूलाई धपाउन सफल भए। त्यहीँ ब्रह्माले धर्मसभा पनि गरेका थिए।
योगी नरहरिनाथको भनाइअनुसार पनि देवदेवीहरूमाथि असुरहरूबाट भीषण आक्रमण हुन थालेपछि देवदेवीहरू सुरक्षित स्थानमा रहेर मोर्चाबन्दी गर्ने उद्देश्यले देवघाटमा र देवीहरूजति नुवाकोटको देवीघाटमा जम्मा भए। त्यही समयमा शान्तिका लागि ब्रह्माले ब्रह्मक्षेत्रमा यज्ञ गर्न थाले। त्यति बेला असुरहरूले त्यहाँ पनि यत्रतत्रबाट आक्रमण हुन थालेपछि देवताहरूले सुरक्षित स्थान अहिले भन्ने गरेको चमेरो गुफाभित्र सेना राखेका थिए।
तिनीहरूलाई प्रयोग गरी असुर नास गर्न लगाए। उता ब्रह्माजीले धर्मसभा गर्न खोज्दा सुरक्षित स्थान खोज्ने क्रममा कपिलमुनिले शिवलिङ्ग स्थापना गरेर ध्यान गरेको स्थान कपिलेश्वर प्राङ्गणमा धर्मसभा गरेका हुन्। त्यसैले त्यस ठाउँको नाम कपिलेश्वरको नामबाट कविलास भएको हो।
कपिलेश्वर महादेवको परिसर नुवाकोट जिल्लाकै महत्त्वपूर्ण देवस्थल हो। त्यसैले यस क्षेत्रलाई कपिलेश्वर धामकै रूपमा लिन सकिन्छ। यो देवस्थल लिखुर तादी नदीको बीचमा पूर्वपश्चिम भै उठेको कविलास नामकै पहाडको टुप्पोमा रहेको छ। यो पहाड समुद्र सतहबाट ४५०० फिट माथि पर्दछ। लिखु र तादी नदीको सतहदेखि करिब २ देखि साढे २ घण्टाको उकालो चढेपछि माथि मन्दिरमा पुगिन्छ। यस महादेवको दक्षिणपट्टि ठिक मुनितिर बाक्लो दनुवार बस्ती भएको गाउँ आँपचौर रहेको छ।
कपिलेश्वर महादेवको स्थापना मध्य मल्लकालतिर भैसकेको कुरा त्यहीँ रहेको एक शिलालेखबाट पनि थाहा हुन्छ। बिहानबेलुका नित्यपूजा तथा आरती ब्राह्मण पुजारीबाट भइरहेको छ। पुजारीले पूजा गरिरहँदा दमाईंले एउटा दमाहा मात्र बजाइरहने चलन रही आएको छ।
श्री कपिलेश्वर महादेव स्थानको पहाडमा उक्लिँदा श्री रक्षा विनायक हुँदै पातालदेवी, सिद्धि विनायक, सरस्वती, नात्येश्वर, महालक्ष्मी स्थान हुँदै उकालो चढ्दै गएपछि अन्त्यमा पहाडमाथि कपिलेश्वर मन्दिर पुगिन्छ।
पशुपति महादेवको जस्तै चार ढोकाबाट दर्शन गर्न सकिन्छ। मन्दिरभित्र गएर पूजा गर्न पनि सकिन्छ। पशुपतिनाथको जस्तै चतुर्मुखी शिवलिङ्ग भएको कपिलेश्वर महादेव अत्यन्तै आकर्षक देखिन्छ। देवाधिदेव महादेवको चतुर्मुखी भएको शिवलिङ्गमा उर्ध्वमुख अर्थात् ईशान मुख समेत गरी पञ्चमुखी महादेवको रूपमा मानिन्छ। उक्त पञ्चमुखमा पूर्वमा तत्पुरुष, पश्चिममा सयोजग्र, उत्तरमा वामदेव, दक्षिणमा अघोर र उर्ध्वमा ईशानस्वरूप रहेका छन्।
शिवजीका प्रत्येक मुखमा रहेका तीन आँखा सूर्य, चन्द्र र अग्नि मानिएका छन्। देवाधिदेव महादेवका यिनै स्वरूपमा रहेका कपिलेश्वर महादेवको अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्त्वले भरिएको छ। यस देवस्थलको संरक्षण, सम्वर्द्धन र विकास गर्ने कार्यमा यथाशीघ्र सम्बन्धित निकाय, सरकार र सम्पूर्ण भक्तजनहरूले चासो राख्नुपर्ने देखिन्छ।
यस्तो पवित्र स्थल कपिलेश्वर धामको विकास गरेर धार्मिक पर्यटनको प्रवर्द्धन गर्न सकेमा त्यस क्षेत्र र कविलास गाउँकै विकास निर्माणमा ठूलो योगदान पुग्नुका साथै अति प्राचीन धार्मिक, सांस्कृतिक एवम् पुरातात्त्विक धरोहरको जगेर्ना भइरहनेछ।
प्रकाशित: १८ असार २०७९ ०१:४० शनिबार