२१ असार २०८१ शुक्रबार
image/svg+xml
कला

भर्चुअल नाता

लघुकथा

नवराज शर्मा

मैले चोर औंलाले सबैलाई देखाउँदै भनें,‘यो तपाईंको पनाति! यी नाति र नातिनीबुहारी! अब पालैपालो टिका लगाइदिनुस।’

‘मैले पनि देख्या छु। तैंले देखाउनु पर्दैन’ भन्दै आमाले सबैलाई दशैंको टिका र जमरा लगाइदिनुभो। सबैले दर्शन भने। आमाले खुट्टा तेर्साइदिनुभो। मुसुमुसु हाँस्दै ढोगे।

टिका लगाइसकेपछि हामी भान्छाकोठातिर लाग्यौं। खाना खानुअघि मैले ल्यापटपको स्क्रीन दाग नबसोस् भनेर स्प्रीटले सफा गरें।

दिउँसो भाञ्जाभाञ्जी, बहिनीजुवाइँ र दाजुभाइ सबै आए। टिका लाए। गए तर जो आए पनि एउटै कुरा सोध्थे, ‘छोराछोरी आउलान् त?’

मेरो एउटै जवाफ हुन्थ्यो, ‘आउँछु भन्या छन्।’

आफ्नो सन्तानको उज्ज्वल भविष्यको कामना गर्दै उच्च शिक्षाका लागि विदेश पठाएपछि उनीहरू पनि त आफ्ना सन्तानको सुखद् भविष्यको सपना देख्दा हुन्! कामना गर्दा हुन्! त्यो कुरा किन हो कुन्नि म जानीजानी बिर्सन्थें। म जति चोटि ‘आउँछन्’ भन्थें त्यतिपटक आमा मेरो मुखमा पुलुक्क हेर्नुहुन्थ्यो।

आज औंसी। आमाको मुख हेर्ने दिन। मैले ल्यापटप खोलें। एकछिनपछि पर्दामा छोराबुहारी, छोरीजुवाइँ र नातिनातिना देखिए। हामी भर्चुअल संसारमा थियौं। हाम्रो भर्चुअल बैठक जारी थियो।

भनें,‘ल आमाको मुख हेर!’

सबैले दर्शन भने। एकछिन रमाइलो भो।

‘भर्चुअल’ भेटघाट र भलाकुसारीपछि खाना खाएर यसो ढल्किन भनी म कोठातिर लागें। आँखा झपक्क के लागेको थियो, कानमा आवाज ठोक्किएजस्तो लाग्यो, ‘मेरो मुख हेर्दैनौ बाबु? आज आमाको मुख हेर्ने दिन।’

तन्द्राबाट बिउँझिएँ। भित्तातिर हेरें। भित्तामा आमाको तस्वीर थियो। माला लगाएको तस्वीर मुसुमुसु हाँसेजस्तो लाग्यो, ‘मसँग पनि त  ‘भर्चुअल’ नाता बाँकी होला नि बाबु!’

प्रकाशित: २१ जेष्ठ २०७९ ०५:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App