१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

सिर्जना चोरीको पौंठेजोरी

यतिखेर फेरि आरोप–प्रत्यारोप अनि सिर्जना चोरीका दाबी तथा अड्कलबाजीको खबरले बजार एकतमासले तातेको छ। कसैलाई अरूको नक्कल गरेरै चर्चा बटुल्नु छ भने कसैलाई छद्म सिर्जनाको धूममचाइ। कतै नाम राख्ने अनि कतै दामको खाममा बढाइएको सहमति! कुरा यस्तै यस्तै! चोरीका घटनामा नवसर्जक, थोरै नाम कमाएकादेखि नाम चलेका भनिएकासम्म मुछिने गरेका!

यहाँँको उठान र विमर्शको कुरो सांगीतिक सिर्जना चोरीको पछिल्लो शृंखलाको हो। भर्खरै बजारमा ल्याइएको गीति उत्पादन ‘नोगेन’को मुख्य अंश ‘तिमी आस बन्यौ’, वसन्त सापकोटा निर्मित चलचित्र ‘सिलसिला’मा रहेको ‘सागरसरि चोखो माया’ सँग आंशिक रूपमा मिलेको हल्ला व्यापक छ। आफ्नो उत्पादन वा सिर्जना चलाउने अनेक दाउलाइन गरिएकोमा वास्तविक सर्जक नै नामेट गर्ने बेग्लै कडी पनि अभ्यासमा भेटिनु दुखद छ।

अरूका गीत जथाभावी गाएर अनधिकृत प्रयोजनमा ल्याउने, नयाँ गीत चलाउन चलेका कलाकारको नाम राख्ने र सहभागिताको नाम जोड्ने खेल पुरानै भइसकेको यथार्थमा मौलिक सीप र ज्ञानभन्दा पनि बजारका दर्शक तान्ने क्षणिक दृष्टि गणित हेरिने प्रवृत्तिले सिर्जनशील कर्मक्षेत्र भने धराशयी बन्दै गएको जानकारहरू बताउँछन्।

यसअघिको प्रसंगमा प्रकाश सपूतको ‘गलबन्दी’ बोलको गीत पनि शम्भु राईको एक दसैं गीत ‘आऊ नाचौं साथी हो’ मा मिल्न गएको भनिएबाट फेरि नामको व्यापार गरिएकै बुझिन्छ। संगीतकर्मी तथा कलाकार शशीविक्रम थापाका विचारमा शम्भु दाइलाई नाम चाहिनु प्रकाश भाइले पनि दाबीविरोध नगरी मिलापमा आउनु आश्चर्यजनक र नाटकीय छ। उसो त सपूतकै पछिल्लो दोहोरी ब्याटल पनि नारायण गोपाल लगायतले गाएको गीत ‘बैनीको दया छ भने’ सँग थोरबहुत मिलेको हुनु र शम्भु दाइकै एउटा सिर्जना नारायण गोपालद्वारा स्वरबद्ध ‘मर्स्याङ्दी नदी’ बोलको गीतसँग मेल राख्न पुगेको संयोग मात्र नहोला।

अरूका गीत जथाभावी गाएर अनधिकृत प्रयोजनमा ल्याउने, नयाँ गीत चलाउन चलेका कलाकारको नाम राख्ने र सहभागिताको नाम जोड्ने खेल पुरानै भइसकेको यथार्थमा मौलिक सीप र ज्ञानभन्दा पनि बजारका दर्शक तान्ने क्षणिक दृष्टि गणित हेरिने प्रवृत्तिले सिर्जनशील कर्मक्षेत्र भने धराशयी बन्दै गएको जानकारहरू बताउँछन्। चर्चित लोकगायिका हरिदेवी कोइरालाको भनाइमा ‘चोरी गर्नु कदापि राम्रो होइन।’

केही प्रसंग यस्ता पनि छन्, कि चोरीचकारी नगरी चतुर्‍याइँ हुन्न भन्ने भैरव अर्यालको छेडखानी र नेता लिङदेनको सार्वजनिक कटाक्ष समाजका विभिन्न क्षेत्रमा सान्दर्भिक हुनु सोच र खोजको विषय बनेको छ। अझ परालको आगो जसरी जनमानसमा पुग्ने सांगीतिक क्षेत्रमा चोरीको मसला छर्केर स्वाद बाँड्ने प्रवृत्ति मौलाउनु आफैंमा प्रश्नवाची हुने गरेको छ।

हुन पनि कान्छा मगर नेपालीको गीत ‘छक्कापन्जा’ चलचित्र समूहले हुबहु नक्कल गरेर (‘ए दाजु, नसमाऊ नारीमा’ बोलको गीत) जबर्जस्ती चलाएको र पछि चर्चा विरोधमा सर्जकीय नाम थपेको सर्वविदितै छ। सपूतको ‘लुरुरु हुरुरु’ तेजस रेग्मीको ‘पिँडालु’ बोलको लोकगीतमा, अनि मेलिना राई र किरण गजमेरको स्वरको ‘हे दैव’ भनिने गीतमा कर्ण दासको स्वर रहेको ‘भेटिएर छुट्नुभन्दा’ गीतको प्रभाव झझल्किएकै छन्। ‘सम्झना’को गीत ‘उकालीमा पछि–पछि’ ‘कृ’मा राखेबाट विवाद भई क्षतिपूर्तिसम्मको कारबाही भएको तथ्य सत्यकै रूपमा सांगीतिक क्षितिजमा स्थापित छ।

यसैगरी अलिमियाँका शब्दको चर्चित गाना ‘आकाशैमा बादलु टम्मै छ’ लाई दुर्गेशले ‘यौटा फोटो खिच’ भन्दै बजारमा ल्याए। यता ‘दिल चोरेर नजाऊ’, ‘तिम्रो आँखा बडा धोकेबाज’, ‘निष्ठुरी निष्ठुरी’, ‘तिम्रो आगमनले’ र ‘दूरी’बारे सीमापारका सिर्जनाको प्रभाव अध्ययनका कुरा एकातिर पन्छाउँदा पनि भारतीय चलचित्र संगीतबाट कतिपय रूपमा नेपाली सांगीतिक क्षेत्र पनि अछुतो नरहेको नगेन्द्रराज रेग्मीको ठम्याइ सान्दर्भिक हुन पुगेको छ।

प्रभावित हुनु र नक्कल गर्नु फरक पाटा हुन् भन्ने यथार्थ चिर्न नसक्नाले नै हाम्रा अधिकांश चलचित्रमा मौलिकता नरहने गरेको र सोही कारणबाट उपादेयता खस्कने उहाँको संकेत छ। एउटै थात र ताल भन्दाभन्दै शब्द र धुन नै मिल्ने हुनु संयोग मात्र होइन भन्ने पंक्तिकारको समेत बुझाइ छ। सर्जक चोर बन्नु हुँदैन। अर्काको सिर्जना सोधेर पनि स्रोत नहाल्ने तथा नसोधी राख्ने लिने कार्य कृतिचोरी हो। बदमासलाई कानुनको दायरामा ल्याउनुपर्छ भन्ने पुरन चालिसेको भनाइ उत्तिकै मननीय प्रतीत हुन्छ।

व्यक्ति र खेमाअनुसार विचार भिन्न हुने भए पनि मुख्यमुख्य अथवा शाश्वत् कुरामा मतैक्य जरुरी हुन्छ। जस्तो कि लोकगीत अनि संगीत भनेपछि सिर्जना लय आदिमा नाम दाबी गरेको अनौठो कुरा हो। लोकलयको मूल मर्म नबुझिएको हो कि बलमिचाइ, लोकभाकाहरूमा स्रष्टा अज्ञात रहन्छ भन्ने कुरो आज उल्टो पारिएको छ। लय वा शब्द संकलक अथवा संगीत संयोजक जस्ता शब्द राख्नु, चलाउनुपर्नेमा सोझै गीतकार तथा संगीतकार भन्न थालिएको तुक नलाग्ने कुरा हो।

वाल्मीकि विद्यापीठका सह–प्राध्यापक तथा लोक संस्कारका मर्मज्ञ विद्वान् ध्रुव भट्टराईका अनुसार सदियौंदेखि चलिआएका धुन समाएर एउटा रचना गर्ने र आफूले बनाएको भन्ने बेकारको कुरो हो। आफ्नो मौलिकता दिनु एउटा कुरो, चोरी नै गर्ने अर्को कुरो। जे होस् चोरीजस्तो घृणित कार्य कतै कसैले नगरून् र नगराऊन् पनि। यस्तो कार्य जानाजानी वा अन्जानमा गर्नु शास्त्रमतले पनि पाप मान्दछ भन्ने उनको तर्क छ।

उपचारका हकमा दाबी सदर भए प्रतिलिपि अधिकार ऐनको मूल प्रावधान प्रभावी हुने जानकारी गराइन्छ। जसमा भनिएको छ–कुनै पनि रचनालाई प्रतिलिपि अधिकारको संरक्षण प्राप्त हुनेछ। अधिकार उल्लंघन गर्ने व्यक्तिलाई कसुरको मात्राअनुसार १० हजार रूपैयाँदेखि एक लाख रूपैयाँसम्म जरिबाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने र परेको नोक्सानीको क्षतिपूर्ति भराउनेसमेतको प्रारम्भिक व्यवस्था स्मरणीय छ।

यसै क्रममा, भर्खरै पुनरोत्पादन गरिएको ‘नबिर्सें तिमीलाई नपाएँ तिमीलाई’ बोलको गीतमा प्रथम गायिकाको नाम उल्लेख नगरिएको तर सर्वत्र विरोध भएपछि कदम सच्याएको नजिर गीत–संगीत तथा सम्बन्धित सर्जकीय फाँटमा दर्बिलो बन्ने विश्वास गर्न सकिन्छ। सम्बद्ध सबै पक्ष र क्षेत्रसँग आवश्यक समन्वय गरी बौद्धिक सम्पत्तिको समग्र पहिचान र नियमन गरिने विद्यमान बौद्धिक सम्पत्ति सम्बन्धी नीतिसमेतको उद्देश्यमा आवश्यक पहल अगाडि बढाइने जनचासोले मूर्त रूप लिनेछ। कला सिर्जनाको सम्मान तथा नैतिकता उत्तिकै आकर्षित हुँदै जाने पनि छन्।

प्रकाशित: २१ फाल्गुन २०७८ ०२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App