२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

रात्रिकालीन व्यवसाय

रुकुम घर भएकी रूपा (नाम परिवर्तन)ले करिब १० वर्षदेखि दोहोरी साँझमा काम गर्दै आएकी छन्, काठमाडौंलाई कार्यक्षेत्र बनाएर।

उनी एक प्रतिष्ठित गायिका र नृत्यांगना हुन्। गायिका बनेर जीविकोपार्जनका साथै देशको नाउँ राख्ने उनको सानैदेखिको धोको थियो। सोहीबमोजिम एक प्रतिष्ठित दोहोरी साँझमा काम गर्न पुगिन्। मिहिनेत र लगनले उनलाई सफलता हासिल गरायो।

त्यसमाथि दोहोरी सञ्चालकको व्यवहारले झनै आत्मीयता बढाएको उनी बताउँछिन्। कार्यस्थलमा उनलाई ग्राहकले गर्ने व्यवहार एकदमै घीनलाग्दो थियो। पछि उनले सञ्चालकलाई भनिन् र सञ्चालकले प्रहरी बोलाएर ग्राहकलाई ठेगान लगाएका थिए।

रूपाका साथमा परिवारका अन्य ६ सदस्य छन्। ती सबैको खर्च रूपाले नै व्यहोर्छिन्। दोहोरी साँझको कमाइबाट उनले बुवाआमा लगायतलाई धानेकी छन्। यसका साथै आफ्नो अध्ययनलाई निरन्तरता दिँदै आइरहेकी छन्। काम गर्न गाह्रो वा सजिलो भइहाल्छ भन्ने रूपाले आफूलाई रात्रिकालीन क्षेत्रमा काम गर्ने श्रमिक भनी चिनाउन कताकता असहज भएको गुनासो पनि पोख्छिन्। रात्रिकालीन क्षेत्रमा काम गर्नेलाई समाजले हेर्ने नजर फरक भएको उनी बताउँछिन्।

रोल्पा घर भई काठमाडौं ठमेलस्थित एक डान्सबारमा काम गर्ने एक युवती (जोसँग नागरिकता छैन) सशस्त्र द्वन्द्वका बेला घरबाट भाग्नुपरेको थियो, १४ वर्षको उमेरमा। द्वन्द्वका बेला उनका बुवाआमाको हत्या भएको थियो। त्यसपछि उनी शरीरमा लगाएको एक जोर लुगाको भरमा नेपालगन्ज आइपुगेकी थिइन्। नेपालगन्जमा अर्काको घरमा बसेर काम गर्न थालिन्। त्यहीँ उनी घर मालिकको दुव्र्यवहारको सिकार हुन पुगिन्। तर उनको कुरा कसैले सुनेन, उल्टै घर मालिक्नीले उनलाई नराम्रो भनिन् र घरबाट निकालिदिइन्।

नेपालगन्जमा बस्ने अवस्था नरहेपछि उनलाई एक व्यक्तिले काठमाडौंको एक होटलमा काम लगाइदिने भनेर ल्याए। काठमाडौंमा उनले एक खाजा घरमा काम पाइन्। खाजाघरको वातावरण राम्रो लागेन र उनी चावहिलको डान्सबारमा काम गर्न पुगिन्। सुरुमा वेटरका रूपमा काम गरेकी उनी अहिले डान्सरका रूपमा काम गर्छिन्। उनले विगत ६ वर्षदेखि मनोरञ्जन क्षेत्रलाई जीविकोपार्जनको थलो बनाएकी छन्।

माथि आएका यी दुवै मनोरञ्जन क्षेत्रका श्रमिक महिला हुन्। जो आफ्नो स्वतन्त्रपूर्वक काम गरेर खाने अधिकारको उपभोग गर्दै आइरहेका छन्। व्यक्तिले पेसाको चयन गर्न पाउने मानव अधिकारको मूल मर्म साथै सिद्धान्त रहेको छ, सोही बमोजिम उनीहरू काम गर्दै छन्। कर्मथलो मनोरञ्जन क्षेत्र भए पनि उनीहरू ससम्मान काम गर्दै आएका छन्। मनोरञ्जन क्षेत्रलाई कर्मथलो बनाएर जीवनयापन गर्ने युवाको संख्या हजारौँ छ।

दोहोरी साँझ या डान्सबारमा युवाले आफ्नो गला र कलाको प्रस्फुटन गरेर आन्तरिक पर्यटन पनि बढाएका छन्। तर, राज्यले अहिलेसम्म मनोरञ्जन क्षेत्रलाई रोजगारीको थलो र त्यहाँका कामदारलाई श्रमिक नै मानेको छैन। त्यसमााथि रातिमा यो व्यवसाय चल्ने भएकाले समाजको हेर्ने दृष्टिकोण धेरै फरक छ। विदेशमा होटल, रेस्टुरेन्टमा काम गर्‍यो भनेर सम्मान दिन्छन्, हामीकहाँ अपमानको शब्द खेपिरहन्छन् श्रमिकले।

मनोरञ्जनात्मक रात्रिकालीन व्यवसाय

मनोरञ्जन क्षेत्र भन्नाले दोहोरी साँझ, डान्सबार, मसाज पार्लर, क्याबिन रेस्टुरेन्ट लगायत पर्छन्। यीमध्ये मनोरञ्जन दिएर सेवा प्रदान गर्नेमा दोहोरी साँझ र डान्सबार पर्छन्। क्याबिन रेस्टुरेन्ट र खाजा घरलाई आरामपूर्वक बसेर खाजा खाने स्थानका रूपमा लिइन्छ। नेपालमा व्यापक मात्रामा श्रम ओगटेको क्षेत्र भनेकै मनोरञ्जन क्षेत्र हो। मेचीदेखि महाकालीसम्म हेर्ने हो भने करिब पाँच सयको हाराहारीमा दोहोरी साँझ सञ्चालनमा छन् भने दुई सयभन्दा बढी डान्सबार छन्।

जतिजति सहरी क्षेत्र बढ्दै गइरहेको छ, त्यतित्यति सहर बजारमा मनोरञ्जनका क्षेत्र पनि वृद्धि हुँदै गइरहेको छ। एकातिर मनोरञ्जनको क्षेत्र बढ्ने क्रम जारी छ भने अर्कोतिर त्यहाँ काम गर्ने श्रमिकको उपस्थिति पनि उल्लेखनीय छ।

एक पाटोबाट हेर्दा बेरोजगार भएर बसेका युवाको रोजगारीको थलो बन्न पुगेको छ मनोरञ्जन क्षेत्र। खाजाघर, मसाज र क्याबिन रेस्टुरेटलाई विशुद्ध मनोरञ्जन दिने स्थानका रूपमा व्याख्या नगरिए पनि यहाँ हजारौँ श्रमिक आश्रित छन्।

गीत र नृत्यको कुरा गर्दा यो कसैले अरूलाई दिने कला होइन। यो त स्वतः आफूभित्र रहेको कला हो। त्यही गीत र नृत्यको संगमलाई मनोरञ्जन भनिन्छ। अहिले पनि हाम्रो गाउँघरमा मेलापात जाँदा होस् या कुनै पनि शुभकार्यमा रोधी बस्ने र नृत्य गर्ने चलन छ। त्यही चलनलाई जीवन्त राख्न दोहोरी साँझ र डान्सबार राम्रो प्लेटफर्म बनेको छ।

जस्तोसुकै थकाइ,चोट र खुसीको समयमा होस् या कुनै न कुनै बहानामा मान्छे गुनगुनाइरहेको हुन्छ। कुनै तनाव झेलिरहेको व्यक्तिको अघि गीत बजायो भने उसको शरीरका अंग पनि त्यही गीतको अंशमा दौडिरहेको हुन्छ। विश्व स्वास्थ्य संगठनले आफ्नो प्रतिवेदनमा मानिसलाई २४ घन्टामा आठ घन्टा काम, आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जन चाहिन्छ भनेर उल्लेख गरिसकेको छ।

खासमा गीत–संगीतका माध्यमबाट व्यक्तिले मनोरञ्जन लिइरहेको हुन्छ। अरूलाई गीत–संगीतमार्फत मनोरञ्जन प्रदान गर्न कला र प्रतिभा चाहिन्छ। तर पर्दा पछाडिको जीवन र पर्दा अगाडिको जीवनमा जमिन आकाशको फरक हुन्छ भनिन्छ। स्टेजमा गएर बेफिक्री गीत गाउँदा र नृत्य गर्दा हामीलाई यस्तो लाग्छ कि यिनीहरू निकै खुसी छन्, आफ्नो कलामार्फत जीवन धानिरहेका छन्। वास्तविकता बुझ्ने हो भने यी कलाकारले थुप्रै पीडा खेपेर बसिरहेका हुन्छन्। पीडालाई थोरै भए पनि बिर्र्साएको छ मनोरञ्जन क्षेत्रले।

दोहोरी साँझ र डान्सबार भनेपछि हाम्रो समाजले सकारात्मक पक्षबाट सोच्दैन। अझ त्यसमा काम गर्ने श्रमिकलाई झनै यौन व्यवसायीका रूपमा परिभाषित गर्छ। जसले गर्दा एक मानवलाई उसले स्वतन्त्रतापूर्वक काम गरेर खान पाउने अधिकारलाई वर्जित गरेको छ।

आफ्नो कला र गलामार्फत यही समाजका व्यक्तिलाई मनोरञ्जन दिने ती महिला श्रमिक आफैँ समाजबाट अपहेलित भएका छन्। नेपालको कला र संस्कृतिको साथै आर्थिक वृद्धिमा समेत टेवा पुर्‍याएको छ मनोरञ्जन क्षेत्रले। यसका साथै विदेशी भूमिमा समेत कलाकारले देशको संस्कृति जीवन्त राखेका छन्। वर्तमानमा केही लोकप्रिय दोहोरी गायकको जन्म यस्तै दोहोरी साँझबाट भएको हो।

सञ्चालक र श्रमिकको सम्बन्ध  

व्यवसाय सञ्चालकलाई रोजगारदाता पनि भन्छौँ। सञ्चालकले करोडौँको लगानी गरेर व्यवसाय सञ्चालन गरेको हुन्छ। त्यसबाट श्रमिकको जीवनयापन भइरहेको छ। सञ्चालक र श्रमिकको राम्रो समन्वयबाट व्यवसाय चलिरहेको हुन्छ। सञ्चालक र श्रमिकको नङ र मासुको सम्बन्ध हुनुपर्छ। अपवादमा रहेका एक–दुई व्यवसायबाहेक अधिकांश दोहोरी साँझ र डान्सबारमा सञ्चालक र श्रमिकबीच राम्रो समन्वय देखिन्छ। तर, क्याबिन र खाजाघरहरूमा समस्या छ।

क्याबिन, मसाज पार्लर र खाजाघरको श्रमिकलाई हेर्ने दृष्टिकोणले गर्दा र त्यहाँ काम गर्ने श्रमिक अझै पनि पेसा लुकाएर परिचय दिन्छन्। यसतर्फ व्यवसायी र सम्बन्धित निकायको ध्यान जान जरुरी छ। दोहोरी र डान्सबारमा केवल गीत गाउने र नृत्य गर्ने मात्र नभई वाद्यवादक पनि हुन्छन्।

श्रम गर्न कार्यस्थल सुरक्षित र आचारसंहिता पूर्णरूपमा पालना भएको हुनुपर्छ। सहरमा रहेका अधिकांश मनोरञ्जन क्षेत्रमा आचारसंहिताको नियम देखिन्छ। सञ्चालकले पनि आफ्नो श्रमिकको हकहितमा आधारित रहेर नियम बनाउन आवश्यक छ भने श्रमिकले आफ्नो पेसाप्रति इमानदारिता देखाउन आवश्यक छ।

कतिपय सञ्चालक लगायतको गुनासो हुन्छ– कति श्रमिक पैसा लिएर जान्छन् र मोबाइल अफ गरेर सम्पर्कमा आउँदैनन्। यस्तो प्रवृत्तिले दुवै पक्षलाई घाटा नै हुने हो। त्यसैले इमानदारिता दुवैतर्फ हुन आवश्यक छ। काम पाउन सजिलो, कुनै शैक्षिक प्रमाणपत्र आवश्यक नपर्ने हुनाले यस क्षेत्रमा काम गर्ने श्रमिकको संख्या ठूलो छ। युवाहरू यस क्षेत्रमा जीविकोपार्जनका लागि मात्रै नभई गाउने, नाच्ने लगायत प्रतिभा र सोखका कारण पनि आएका हुन्छन्।

मनोरञ्जन क्षेत्रमा आन्तरिक बेचबिखनको सवाल पनि त्यत्तिकै आउँछ। किनकि गाउँघरबाट ललाइफकाई रेस्टुरेन्टमा ल्याउने र यौन तथा श्रमशोषण गर्ने जस्ता घटना पनि कुनै समय बाहिरिएका थिए। यद्यपि मनोरञ्जन क्षेत्र मानव बेचबिखनको थलो होइन, त्यस्तो सम्भावना हुन सक्ने स्थान चाहिँ हो। यसका लागि सञ्चालक र श्रमिक दुवैलाई सचेतना आवश्यक छ।

सञ्चालकले पनि आफूकहाँ काम गर्ने श्रमिकको पूर्ण विवरण राख्नुपर्छ। यस्तो नियम कतिपय स्थानमा देखिँदैन। काम गर्ने श्रमिकलाई श्रम ऐन २०७४ ले तोकेको नियम अनुसार सम्झौतापत्र या नियुक्तिपत्र दिनुपर्छ। यसले श्रमिकलाई मात्रै होइन, स्वयं सञ्चालकलाई नै फाइदा हुन्छ। तर यस्तो अभ्यास हामीकहाँ कमै देखिन्छ।

यसरी हेर्दा रात्रिकालीन व्यवसायलाई उद्योगको रूपमा लिन सकिन्छ। तर, राज्य पक्ष यस बारेमा मौन छ। केवल अपराधको आँखाले मात्रै राज्यले रात्रिकालीन व्यवसायलाई हेरिरहेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रात्रिकालीन व्यवसायी र श्रमिकबारे मौन छ। यस क्षेत्रलाई न श्रम ऐन २०७४ ले नै समेट्न सकेको छ, न त स्थानीय तहले यस क्षेत्रको विकास र सुधारमा प्रयत्न थालेको देखिन्छ।  

कोभिडको मार

विश्व कोभिड महामारीसँग जुधिरहँदा नेपाल पनि अछुतो छैन। यसलाई न्यूनीकरण गर्न नेपाल सरकारले विभिन्न तरिका अपनाएको छ। सरकारले नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै बन्दाबन्दी गर्‍यो। जसअन्तर्गत स्कुल, कलेज, उद्योग कलकारखाना, रेस्टुरेन्ट, होटलजस्ता व्यवसाय पूर्ण रूपले बन्द भए। एकातिर कोरोनाको कहर छ भने अर्कोतिर यहाँ काम गर्ने श्रमिकको जीविकोपार्जनको समस्या छ। व्यवसाय बन्द भएपछि सञ्चालक र श्रमिक दुवै मारमा पर्छन्। विशेषतः श्रमिक कामविहीन भएर बस्दा अनेक अभाव र समस्याले सताउँछ।

यसबीचमा यस क्षेत्रलाई सरकारले फरक व्यवहार गरेको देखियो— दिउँसो चल्ने व्यवसायलाई निर्बाध रूपमा चल्न दिने तर रात्रि सञ्चालन हुने दोहोरी र डान्सबारमा कोरोना सर्छ भनेर अंकुश लगाउने गरियो। यहीँबाट देखिन्छ कि अरू व्यवसायभन्दा रात्रिकालीन व्यवसायप्रति सरकारले हेर्ने नजर कस्तो छ! रात्रिकालीन व्यवसाय चलाउन सहरबजारको घर–भवन आवश्यक हुन्छ, कतिले भाडामा लिएर चलाएका हुन्छन्। लामो समयसम्म व्यवसाय बन्द हुँदा भाडा तिर्नदेखि सरकारलाई कर तिर्नेसम्म समस्या पर्छ। त्यसमाथि आफ्ना श्रमिकको गुनासो सुन्नुपर्छ। कर उठाउन मात्रै जानेको सरकारले रात्रिकालीन व्यवसायको दर्दनाक अवस्थाबाट बेखबर भयो।

राज्यको कर्तव्य

गएको भदौमा गृह मन्त्रालयका सहसचिव फणिन्द्र पोखरेलको संयोजकत्वमा रात्रिकालीन व्यवसायको सम्पूर्ण अवस्थाबारे अध्ययन गर्ने कार्यदल बनेको छ। जुन स्वागतयोग्य कुरा हो। रात्रिकालीन व्यवसाय र श्रमिकप्रति राज्यको ध्यान गइरहेको छ भन्ने बुझिन्छ। यता मनोरञ्जन क्षेत्रको अनुगमन गरेर व्यवसायी र श्रमिकलाई पनि कानुनको बोध गराउन आवश्यक छ। यस सम्बन्धमा अधिकारमुखी सोचबाट वर्षौंदेखि काम गर्दै आइरहेका संघ–संस्थाको सहयोग पनि राज्यले लिनुपर्छ। अरूले बाहिर बसेर सामाजिक सवालहरूमा आवाज उठाए पनि काम गर्ने सरकारले नै हो। देश तीन तहको संरचनामा छ।

यसमध्ये नजिकको सरकार स्थानीय सरकार हो। स्थानीय सरकारले आफ्नो क्षेत्रमा भएका दोहोरी, डान्सबार, क्याबिन, मसाज आदिको अनुगमन गरी न्यूनतम मापदण्ड दिनुको साथै आबद्ध कर्मचारीको विवरण र उनीहरूलाई सूचीकृत गर्न आवश्यक छ। अहिलेसम्म कुनै निकायसँग रात्रिकालीन क्षेत्रको व्यवसाय र श्रमिकसम्बन्धी तथ्यांक छैन। श्रमिक र रोजगारदातालाई सूचीकृत गर्दै कामलाई  सम्मान गर्नुपर्छ।

हजारौं श्रमिकको आश्रय स्थल बनेको रात्रिकालीन व्यवसायलाई सरकारकै पहलमा व्यवस्थित बनाउन आवश्यक छ। रात्रिकालीन व्यवसायलाई रोजगारीको थलोका रूपमा स्थापित गर्दै व्यवसायी र श्रमिकको मानव अधिकारको रक्षा राज्यले गर्नुपर्छ। आफ्नो कलालाई जीवन्त राख्ने महŒवपूर्ण माध्यम बनेको रात्रिकालीन व्यवसायलाई अपराधको आँखाले नहेरौँ। यसबाट लाखौँको जीवनयापन भइरहेको छ, त्यसतर्फ राज्यले ध्यान दिनुपर्छ।

प्रकाशित: २२ माघ २०७८ ०६:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App