सिरेन बान्तावा राई
मेरो सपनाको घर खुट्टा पलाएर
क्षितिजभन्दा पारि ढकमक्क फुली
बसाइँ सरेका छन् अचेल
सम्झनाको डोली चढेर
चातकले ढुंगामाथि पानी देखे जस्तै
सपनाको घरलाई टोलाउँदै छु म
खुट्टामाथि थकाइको चिउँडो अडाएर
नियाल्दारहेछन् मलाई पनि।
बादलुको घुम्टोबिच
नियाल्ने कौमुदी जस्तै
सपनाको घरले मलाई
बार्दलीको चारै दिशा
सम्झनाको फूल फुलाएर
कोरेर भित्ताभरि मधुरो तस्वीर मेरो
आँगनीमा सम्बन्धको बिस्कुन लगाई
प्रचण्ड घामले नसेकिएको साइनो
इन्दुको अगेनामा झोसेर
बुढो खुट्टा खोच्याउँदै
कुकुनाको लठ्ठी टेकेर
तल बेंसी मिक्लाजुङ भन्ज्याङ
माथि कैलाशकुट तावा नागी
सैरको केरी भेडीलाई
सोक्पाले आक्रमण गरे जस्तो।
मायाविनी मेरो सपनाको घर
फाल हान्दैहान्दै झर्छन् झम्टिएर
सोक्पा भएर मलाई नङ्ग्राउन
जुनबेला बास
लागिसकेका हुन्छन् हाम्रो सम्बन्ध
पसिसकेका हुन्छन्
गरुङ्गो रातको गोजीमा साइनो
इतिहास ओइलाएर
भुईलाई छोएर सबै झरिसक्दा
पथिक बनेर घुम्दै फेरि
धिरोदत्त नाककान गुमाएको
सुप्रङ्खा जस्तो
परदेशीले भुलिदिएको पाटीघर
मेरो सपनाको घर।
प्रकाशित: २१ माघ २०७८ ०७:५५ शुक्रबार