७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

शैक्षिक भ्रमणमा मेरो सहभागिता

गायत्री अधिकारी

मानिसका लागि अति महत्त्वपूर्ण र अपरिहार्य वस्तु शिक्षा हो। यसले मानिसलाई व्यक्तित्व विकास गरी आत्मनिर्भर बनाउँछ। कक्षाकोठाको पढाइका अतिरिक्त विद्यार्थीहरूलाई थप शिक्षा प्राप्त गर्न शैक्षिक भ्रमणको पनि आवश्यक छ। मेरो विद्यालयले पनि हरेक वर्ष विद्यार्थीहरूलाई शैक्षिक भ्रमण लाने गरेको छ। यसपालि हामी ९ कक्षाका विद्यार्थीहरूलाई साँगा र सूर्यविनायक लाने भनेर निर्णय गरियो।

जब कक्षा शिक्षक कक्षाभित्र आएर हामीलाई शैक्षिक भ्रमणका लागि साँगा र सूर्यविनायक लग्ने भनेर सुनाउनुभयो। सबै जना खुसी भएर रमाउन थाले। म पनि निकै रमाएँ।

भोलिपल्ट २०७८ साल पुस १३ गते सबै जना बिहान समयमा नै विद्यालय आइपुगे। सबै जना रमाइरहेका थिए। कोही त्यो ठाउँ कस्तो होला भन्ने कुरा गरिरहेका थिए र कोही खाजाको बारेमा कुरा गरिरहेका थिए। हामीलाई कक्षा शिक्षकले आफ्नो झोला बोकेर मुनि झर्न भन्नुभयो। हामी लाइन लाग्यौं र गन्तव्यमा जान तयार भयौं। हामीसँग दुवै सेक्सनका कक्षा शिक्षक, नेपाली र विज्ञान पढाउने शिक्षक पनि जान तयार हुनुभयो। हामी बसमा पनि गीत गाउँदै नाच्दै गयौं।

बसमा कोही नाच्दै र कोही गीत गाउँदै अघि बढ्यौं। म भने बस स्कुलबाट छुट्नेबित्तिकै नाच्दै गएँ। हामी लगभग दुई घण्टापछि साँगा पुग्यौं। बस रोक्नासाथ हामीले एसियाकै अग्लो शिवको मूर्ति देख्यौं। त्यसपछि हामी १५ मिनेट जति हिंड्दै शिवको मूर्ति अगाडि पुग्यौं। सबै जनालाई आश्चर्य लाग्यो। त्यहाँ पुग्नुभन्दा अगाडि हामीलाई भर्‍याङ चढ्नुपर्‍यो।

त्यहाँ हामीले विभिन्न साना मूर्तिहरू देख्यौं। त्यहाँ हामीले महाकम्लेश्वरजी, भीमशंकरजी, रामेश्वरजी, नागेश्वरजी, कैलाशनाथ महादेव, विजेश्वरीजी र केदारनाथजी जस्ता मूर्तिहरू देख्यौं। यो देखेपछि हामी कैलाशनाथ महादेवको अगाडि गयौं। त्यहाँ राखिएको शिलालेखबाट यो महादेवको मूर्ति २००४ मा सुरु भएर २०१० मा सम्पन्न भएको हामीले थाहा पायौं। त्यहाँ हामीले फोटो खिच्यौं र सूर्यविनायकतिर लाग्यौं।

बसमा चढेर १५ मिनेटपछि हामी सूर्यविनायक पुग्यौं। हामीले सूर्यविनायकमा पुगेर दर्शन गर्‍यौं र खाजा खान लाग्यौं। त्यहाँ ठुलो चउर जस्तै ठाउँ थियो। हामी त्यहीँ बसेर खाजा खायौं र खाजा खाएपछि हामीले नाच्ने भन्ने निर्णय गरेका थियौ तर त्यतिबेला फर्किने समय भइसकेको थियो। हामी ३ः३० मा विद्यालय पुग्नु थियो। नाच्न नभ्याएकाले हामीले धेरै फोटो खिच्यौं र बसतिर लाग्यौं।

हामी बसमा बस्यौं र विद्यालय जान तयार भयौं। दिनभरि मनोरञ्जन गरेर पनि मलाई थकाइ लागेन। अरू भने सुत्न लागे। त्यसपछि म र मेरा तीन जना साथी बसमा पनि गीत गाउँदै  निकै नाच्यौं। हामीलाई आएको जति सबै गीतमा नाच्यौं। त्यतिबेला हामीले अर्को सेक्सनका साथीहरू सुतिरहेका देख्यौं। हामी नाचेको देखेर उनीहरू पनि नाच्न थाले। हामी नाच्दानाच्दै कतिबेला विद्यालय पुग्यौं, थाहा नै भएन।

यो वर्षको शैक्षिक भ्रमण निकै रमाइलो भयो। हामीले निकै रमाइलो गर्‍यौ। यो दिन हामीलाई जीवनभर याद रहनेछ। विद्यालयले विद्यार्थीहरूलाई शैक्षिक भ्रमणमा पठाउनु नै ज्ञानको प्रयोगात्मक ढोका खोल्नु हो।

कक्षा–९,

विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालय,स्वयम्भू, काठमाडौं।

प्रकाशित: १२ पुस २०७८ ०६:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App