२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

प्रेमा शाहः संस्मरणका केही झिल्काहरू

साहित्यकार प्रेमा शाहको निधन भएको चार वर्ष पुगिसक्यो। उनको निधनपश्चात् उनका बारेमा विभिन्न लेखकका संस्मरण विभिन्न पत्रिकामा प्रकाशित भए। यहाँसम्म कि केही नयाँ लेखकले पनि उनको संस्मरण लेखेर सराहनीय काम गरे। मैले पनि लेख्न चाहेको थिएँ तर कुनै पत्रपत्रिकामा ठाउँ पाउनै मुस्किल भयो।

म एमए पास गरेपछि बेकार र बेरोजगार थिएँ। स्थानीय पद्मकन्या कलेजमा हिन्दी विभागमा कोलम्बो योजनाअन्तर्गत केही भारतीय प्राध्यापक नियुक्त भएर हिन्दी विषयको प्राध्यापन गर्ने गर्दथे। मलाई पनि तत्कालीन प्राचार्य अंगुरबाबा जोशीले केही महिनाका लागि अवैतनिक प्राध्यापन गर्नका लागि अनुमति दिइन्। डा. दीनानाथ शरण प्राध्यापकसाथै साथ लेखक पनि थिए। उनीसँग त्यसै क्रममा परिचय भयो।

उनको अभिरुचि नेपाली साहित्यमा धेरै थियो। उनले नेपाली सहित्यको इतिहास लेख्ने अठोट गरेका थिए। उनलाई एउटा नेपाली साहित्यमा अभिरुचि राख्ने मानिसको साथ चाहिएको थियो। मसँग प्रशस्त समय थियो। तसर्थ म र उनी नेपाली लेखकहरूको वासस्थानमा गएर साक्षात्कार गर्ने र लेखकीय योगदानका बारेमा चर्चा परिचर्चा गर्ने रहर थियो। म नेपाली लेखकको घरघरमा उनलाई लिएर जान्थेँ। उनी पुल्चोकस्थित डम्बरशमशेर राणाको घरमा बस्ने गर्दथे। राणाहरूसँग उनको घनिष्ठता थियो। यसै क्रममा उनले डायमन शमशेर राणाको ‘वसन्ती’ उपन्यासको हिन्दी अनुवाद पनि गरिसकेका थिए। 

पछि त्यो बिहार हिन्दी ग्रन्थ परिषद्बाट प्रकाशित भयो। डम्बर शमशेर राणाको घरमा उनलाई भेट्न जाँदा त्यहाँ गीता राणा, प्रेमा शाह र जयन्ती राणासँग मेरो भेट भयो। गीता राणा चीनमा मेडिसिन पढ्न गएकी थिइन् तर चीनमा सांस्कृतिक क्रान्ति भएपछि सबै नेपालीलाई नेपालमै फर्केर आउनुपरेको थियो।

एक दिन प्रेमा शाहले मलाई प्रसिद्ध साहित्यकार पारिजातसँग परिचय गराउनका लागि उनको निवासस्थान पुतलीसडकमा लगिन्। उनी ओछ्यानसँगै बसेर केही लेखिराखेकी थिइन्। प्रेमा शाहले मेरो परिचय दिँदा मैले हिन्दी साहित्यमा त्रिविबाट एमए पास गरेको कुरा उल्लेख गरिन्।

प्रेमा शाह हिन्दी साहित्यमा अभिरुचि राख्ने मात्रै होइन, हिन्दीमा पनि केही कविता लेख्ने गर्थिन्। मैले बिहानीको मिर्मिरे घाममा उनीसँग साहित्यिक वार्तालाप गरिराखेको थिएँ। प्रेमाज्यू पनि हिन्दी साहित्य र साहित्यकारका बारेमा भन्दै जान्थिन्। पारिजातज्यूसँग उनको एउटा कविता मागेर त्यसको अनुवाद गरेर मैले सम्पादन गरेको हिन्दी ‘पद्य पराग’ संकलनमा समावेश गरेर सहयोगी प्रकाशन त्रिपुरेश्वरबाट प्रकाशित गराएँ, जुन पछि त्रिविको आइए हिन्दी पाठ्यक्रममा पनि पढाइन्थ्यो। यसमा केही नेपाली कवि, जस्तोः केदारमान व्यथित, प्रेमा शाह र पारिजातका केही कविताको अनुवाद साथसाथै हिन्दी साहित्यकारका मौलिक कविता पनि संग्रहित छन्।

मेरो र प्रेमा शाहको साहित्यिक सम्बन्ध प्रगाढ हुँदै गयो। एकपल्ट नारायणी वाङ्मयले वीरगञ्जमा एउटा साहित्यिक कार्यक्रमको आयोजना गरको थियो। त्यसमा भाग लिनका लागि हामी आमन्त्रित थियौँ। विष्णुविभु घिमिरे र म सुन्धारास्थित एउटा रेस्टुराँमा तातो–तातो थुक्पा खाएर रात्रिबसबाट प्रस्थान गर्‍यौं। वीरगञ्जमा साहित्यिक कार्यक्रम सकेपछि लेखक रमेश गोर्खालीको घरमा साँझमा पार्टीको आयोजना गरिएको थियो।

प्रेमा शाहको हातमा रेडवाइनको ग्लास देखें। मलाई आश्चर्य लाग्यो। रेडवाइनको चुस्की लिँदै प्रेमा शाह चुस्त दुरुस्त र मस्त देखिन्थिन्। उनको व्यक्तित्व झन् आकर्षक र उनको रूपरंग दिव्य एवं भव्य देखिन्थ्यो।

म पद्मकन्यामा चार वर्ष प्राध्यापन सेवा गरेपछि दिल्ली विश्वविद्यालयमा विद्यावारिधिका लागि पंजिकृत भएर काठमाडौं आउने सुरसारमा थिएँ। मैले सीमांचलमा एउटा समाचार प्रकाशित भएको सूचना पढेँ, रक्सौलमा भारत नेपाल काव्य गोष्ठीको आयोजना हुँदै छ भनेर। मेरो विद्यावारिधिको विषय नै ‘हिन्दी और नेपाली समसामयिक कविताः तुलनात्मक अध्ययन’ थियो। मैले हिन्दी विभागाध्यक्ष डा. सावित्री सिन्हालाई सूचित गरेँ। उनले मलाई उक्त गोष्ठीमा सामेल हुनु सान्दर्भिक भएकाले अनुमति दिइन्।

म विश्वविद्यालयको खर्चमै रक्सौल आएँ। साँझ पाल टाँगेर आयोजित काव्य गोष्ठीमा नेपालबाट वरिष्ठ नाटककार र कवि बालकृष्ण समले ‘नवरस’ कविता पाठ गरेका थिए। उनीबाहेक कुनै नेपाली कवि त्यस काव्यगोष्ठीमा उपस्थित नदेखेपछि म निराश भएको थिएँ।

बालकृष्ण समको सम्मानमै त्यो गोष्ठी भएको जस्तो लाग्यो। उनी भेलोरबाट इलाज गराएर सपरिवार त्यस गोष्ठीमा सहभागी भएका थिए। भारतबाट पनि शान्ति सुमन प्रसिद्ध कवयित्री मात्र थिइन्, अरू स्थानीय कवि र कवयित्रीहरू।

भोलिपल्ट म वीरगञ्ज आएँ र प्रेमा शाहज्यूलाई सो काव्यगोष्ठीका बारेमा सूचना दिँदा उनले ‘मलाई त कसैले खबरै गरेन,मलाई थाहा थिएन, अनि कसरी भाग लिन जाने?’ भनिन्।

म जब आफ्नो गृह गाउँ सिसौटिया जाँदा वीरगञ्ज भएर नै आउने जाने गर्दथें र वीरगञ्जमा प्रेमा शाह र रमेश गोर्खालीलाई भेट्ने गर्दथें। एकपल्ट गर्मी याममा वीरगञ्ज जाँदा उनको निवासस्थानमा उनलाई भेट्न गएँ। उनी जुटपानीमा शिक्षकको पदबाट राजीनामा दिएर नेपालगञ्जमा प्राध्यापन कार्यमा त्यहाँको स्थानीय कलेजमा सेवारत थिइन्। उनीसँग भेट हुन सकेन। जुटपानी हाइस्कुल सर्लाहीस्थित छ तर त्यहाँ म कतिपल्ट भेट्न जान्छु भनेर कहिले पनि सम्भव भएन, किनभने मेरो गाउँ जाने बाटोमा त्यो पर्दैन, जबकि म पनि सर्लाहीको नै मानिस हुँ।

अर्कोपल्ट प्रेमा शाहलाई वीरगञ्जमा भेट्न जाँदा धेरै मर्माहत भएको थिएँ म। उनी जल शाहलाई रूखमा बाँधेर पिट्दै थिइन्। मैले यस्तो नगर्नु भनेँ तर उनी धेरै रिसाएकी थिइन्। कारण मैले सोधिनँ।

काठमाडौंको निर्माण हुन लागेको एभरेस्ट होटलमा उनी कार्यरत थिइन्। म उनलाई भेट्न गएँ। मैले उनलाई भनेँ– मलाई पनि पार्टटाइम काम गर्नका लागि यसमा नियुक्त गर्ने चाँजोपाँजो मिलाइदिनुस्।  

उनले भनिन्– यसका लागि त तपाईंले मोहम्मद लारीलाई नै अनुरोध गर्नुपर्छ।

मैले आफ्नो जिल्लामा लारीको नाम सुनेको थिएँ एउटा शराब व्यवसायीको रूपमा तर परिचय थिएन।

उनी मेरो शान्तिनगरस्थित घरमा पनि पटक–पटक आउने गर्थिन्। म उनलाई भन्थें, तपाई नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा नियुक्त हुनका लागि प्रयास गर्नुस्, किनभने उनको पृष्ठभूमि राणा परिवारसँग भएकाले सजिलोसित सदस्य हुन सक्थिन्। तर उनले मलाई भनिन्–तपाईं नै प्रयास गर्नुस्। मलाई यसमा पटक्कै अभिरुचि छैन।

उनले आफ्नो प्रकाशित कथासङ्ग्रह ‘पहेंलो गुलाफ’ मलाई उपहारस्वरूप दिएकी थिइन्, कुनै पत्रिकामा समीक्षा लेख्नका लागि। मैले त्यसबखत अमृत शाक्यद्वारा सम्पादित मासिक पत्रिका ‘अर्पण’मा त्यसको समीक्षा लेखेको थिएँ। मैले यसको जानकारी दिँदा उनी धेरै खुसी भएकी थिइन्।

मैले एकपल्ट उनलाई भारतीय श्रीमान्सँग भेटेको थिएँ। मैले त्यस बखत त केही भनिनँ, पछि भेट्दा मैले उनलाई स्पष्ट रूपमा भनेँ–तपाईं आफू यति रूपवती र प्रसिद्ध साहित्यकार भएर कस्तो कालो र भद्दा मानिससँग बिहे गर्नुभयो। उनले केही भनिनन्। पछि मैले साथीहरूसँग सोध्दा थाहा पाएँ कि उनी धनाढ्य मानिस रहेछन्। मैले त्यसैबखत अनुमान गरेको थिएँ, यो सम्बन्ध स्थायी हुँदैन, नभन्दै सम्बन्धविच्छेद पनि भयो।

उनी पटकपटक अन्वेषक काशीनाथ तमोटसँग भेट्न आउँथिन्। पहिला मेरो घरमा आएर एकछिन कुराकानी गरेर कता लाग्थिन्, मलाई थाहा हुँदैनथ्यो। पछि थाहा पाएँ– तमोटज्यूसँग भेट्ने क्रममा मेरो घर बाटोमा परेकाले मलाई पनि भेट्ने गर्दिरहिछन्।

उनी विवाहित भएपछि उनको श्रीमान् धनी भएकाले सायद होला कि मलाई एकचोटि के भनिन् भने ‘उद्योगपति हुलासचन्द गोल्छासँग चिनजान छ?’  

मैले भनें– राम्रो परिचय छ उहाँसँग।

अनि मलाई अनुरोध गरिन्– ‘उहाँसँग एकचोटि सोधिदिनुस् त उहाँको होटल उद्योगमा कतिको अभिरुचि छ?’ 

त्यसपछि मैले गोल्छाजीलाई ‘प्रेमा शाहजीको यस्तो यस्तो इच्छा छ, तपाईं यसमा कत्तिको सकारात्मक हुनुहुन्छ’ भनेँ। उनले मलाई ठाडै भने कि होटल उद्योगमा मासु, मदिराको व्यापार खुलमखुला हुन्छ, मलाई पटक्कै यसमा अभिरुचि छैन। मैले त्यही कुरा प्रेमाजीलाई सुनाइदिएँ। त्यो प्रस्ताव त्यसै बिलाएर गयो।

एकपल्ट उनी कमलादीस्थित गणेश मन्दिरमा जल शाहसँग दर्शन गर्न आएकी थिइन्। म पनि दर्शन गर्न गएको थिएँ। उनी मूल ढोकामै जल शाहसँग उभिइराखेकी थिइन्। म दर्शन गरेर आएपछि मलाई भनिन्– मेरी छोरी जल शाहलाई आशीर्वाद दिनुस्, यसको समुज्ज्वल भविष्यका लागि। मैले के आशीर्वाद दिने, ममा के छ र? म त स्वयं आशीर्वाद थाप्नका लागि गणेशको दर्शन गर्न आएको। उनको प्रवासकाल अमेरिकामा भएपछि मेरो भेटघाट उनीसँग कहिल्यै भएन। प्रसिद्ध कवयित्री प्रेमा शाहको असामयिक निधन संयुक्त राज्य अमेरिकाको साल्ट लेक सिटीमा पुस ५, २०७४ मा भयो।

प्रकाशित: १० पुस २०७८ ०५:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App