कात्तिक २७ मा पत्रकार उमेश श्रेष्ठ (सालोक्य)ले व्यक्तिगत ब्लग माइसंसारमा ‘मदिराको विषयमा मिडियाका अगाडि विज्ञापन बोर्ड निरीह’ शीर्षकको ब्लग लेखे। जसको उठान यस्तो छ, ‘यसपालि दशैँ–तिहारमा मिडिया साहुहरूलाई फाइदै भो। चल्तीका कति पत्रिकाले ज्याकेट ओढेका थिए।
फ्रन्टपेजमा समाचारको साटो विज्ञापन देखिनुलाई ज्याकेट लगाएको भन्छन्, प्राविधिक भाषामा। यस्तो ज्याकेट अधिकांश मदिरा कम्पनीका थिए। मदिराको विज्ञापनलाई भने कानुनले वर्जित गरेको छ। कानुन अटेर गरेरै यस्ता विज्ञापन मिडियाले दिए। दशैँ–तिहार सकिएपछि(२५ कात्तिकमा) विज्ञापन बोर्डले एउटा सूचना (विज्ञप्ति) निकालेर झारा टारेछ।’
बोर्डको विज्ञप्तिमा ‘मदिराको विज्ञापन गर्नु जनस्वास्थ्य सेवा ऐन र विज्ञापन (नियमन गर्ने) ऐन विपरीत भएकाले त्यसो नगर्न र अन्यथा कानुनबमोजिम कारबाही हुने’ उल्लेख छ।
जनस्वास्थ्य ऐनले ‘मदिरा चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थ लगायत मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन वितरण तथा प्रचारप्रसार गर्न नपाइने र अन्यथा १० हजार रूपैयाँ जरिवाना हुने व्यवस्था गरेको छ।
हामीकहाँ कानुनविपरीत मिडियामा विज्ञापन गरिने मदिरा ‘ब्रान्डेड’ वा इजाजतपत्र प्राप्त हुन्छन्। अर्कोतिर, इजाजतपत्रबिनै हामीकहाँ घरेलु मदिरा पनि उत्पादन हुन्छ, जो कतिपय जातिको धर्म–संस्कृतिसँग जोडिएको छ,जसको गाउँठाउँमा बिक्री–वितरण भइरहेकै छ।
मदिरा ऐन, २०३१ को दफा १६ लाई टेकेर ‘मदिरा नियमहरू, २०३३’ ल्याइएको छ। जसमा मदिराको उत्पादन, बिक्री–वितरण वा निकासी पैठारी गर्न चाहने व्यक्तिले इजाजतपत्र लिनुपर्ने उल्लेख छ। जसको नियम ५ मा ‘इजाजतपत्र लिनु नपर्ने’ व्यवस्था पनि छ। व्यवस्था भन्छ, ‘कुनै व्यक्तिले निजी उपयोगका लागि एकपटकमा पाँच लिटरसम्म रक्सी र १० लिटरसम्म जाँड बनाउन इजाजतपत्र लिनु नपर्ने तर यसरी (इजाजतविना) रक्सी र जाँड वर्षको ६ पटकभन्दा बढी बनाउन पाइनेछैन।’
अर्थात् वर्षमा एक परिवारले निजी प्रयोगका लागि इजाजतबिनै ३० लिटर रक्सी र ६० लिटर जाँड बनाउन पाउँछ। जहोस्, यसले मदिरा संस्कृति भएका जातिलाई सम्मान गरेकै ठहर्छ।
मदिरा संस्कृति, सभ्यता र इतिहास
मदिरा संस्कृति विश्वव्यापी छ। मदिरा खाने–नखाने, कति खाने, कसरी खाने भन्ने सम्बन्धमा विश्वव्यापी खोज–अनुसन्धान र बहस पनि छ। मदिराको इतिहास र संस्कृति सम्बन्धमा इयान गेट्लीको पुस्तक छ– ‘ड्रिंक:अ कल्चरल हिस्ट्री अफ् अल्कोहल’। जसअनुसार मदिरा उत्पादनको निश्चित प्रमाण ८००० ईशापूर्वतिर पुग्छ, जतिबेला मानवले कृषि युगमा प्रवेश गरी स्थिर बस्ती वा समुदाय स्थापना गर्यो।
रक्सीको पहिलो प्रमाण उत्तरी चीनको जिआहुस्थित एक चिहानमा भेटिएको थियो। चिहानमा रहेको माटोको भाँडाभित्रको अवशेषको रासायनिक विश्लेषणबाट ईशापूर्व ७०००–६६०० तिर मानिसले आफ्ना केही उपजलाई मदिरामा बदलेको जानकारी मिल्छ।
हाम्रो भूगोल, इतिहास, संस्कृति र सभ्यतामा मदिराको उत्पादन र प्रयोग नयाँ होइन। हिन्दूहरूले प्राचीनकालमा सौत्रामणी यज्ञमा सुरा (मदिरा)को आहुति दिने गर्थे। पाण्डुरंग वामन काणेको पुस्तक ‘धर्मशास्त्र का इतिहास भाग–१’ मा उल्लेख छ, ‘सौत्रामणी यज्ञ हविर्यज्ञका सात प्रकारमध्ये एक हो। यो सोमयज्ञ होइन, यो एक इष्टि (अभीष्ट) एवं पशुयज्ञको मिश्रण हो। यसमा आजकाल सुराको ठाउँमा दूधको आहुति दिइन्छ।’
उनका अनुसार, सौत्रामणी शब्दको उत्पत्ति ‘सुत्रामन्’ (एक उत्तम रक्षक) शब्दबाट भएको हो, जो इन्द्रको एक उपाधि हो। काणेले विभिन्न शास्त्रीय स्रोत उद्धृत गर्दै लेखेका छन्, ‘यसमा दुई वेदी हुन्छन्, जसको पछाडि दुई उच्च स्थलको निर्माण गरिन्छ, जसमध्ये एकमा दूध र अर्कोमा सुराको प्याला राखिन्छ। यस कृत्यमा चार दिन लाग्छ, पहिलो तीन दिनसम्म भाँतीभाँतीका पदार्थका सुरा बनाइन्छ।’
मदिरापानको निषेध पनि प्राचीनकालदेखि नै पाइन्छ। मनुस्मृतिमा श्लोक छ, ‘अन्नका मललाई सुरा (मदिरा) भनिन्छ। मललाई पाप पनि भनिन्छ। त्यसैले ब्राह्मण, क्षत्रिय र वैश्यले सुरा पिउनु हुँदैन।’
यस श्लोकले त मदिरा पिउनेजति सबै शूद्र वर्णमा पर्ने अर्थ दिन्छ र शूद्रलाई मदिरा पिउने छुट पनि दिन्छ। अर्थात् उनीहरू मदिरा पिएर भुलून्– शासनसत्ता, सेवासुविधामा दाबी नगरून्।
मनुस्मृतिकै अर्को श्लोक भन्छ, ‘एकपटक मात्रै ब्राह्मणका शरीरमा मदिरा पसेर आत्मालाई भिजाएको छ भने त्यसको ब्राह्मणत्व नष्ट हुन्छ र ऊ शूद्रसमान बन्छ।’ मनुस्मृतिमा सुरापानको दोष मेटाउने अनौठा उपाय बताइएको छ। एक श्लोक भन्छ, ‘मदिरा पिएको दोष मेटाउन एक वर्षसम्म अरू कसैको अन्नको भुस या तिलको पिना खाएर ऊनीको वस्त्र पहिरिएर, जटा पालेर मदिरापानको ध्वजा धारण गर्नुपर्छ।’
हामीकहाँ हिन्दू ब्राह्मण–क्षत्रीको धार्मिक संस्कृतिबाट मदिरा छुटे पनि अन्य जातिको संस्कृतिमा यो अभिन्न अंगको रूपमा छ। संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठ तन्त्रप्रधान नेवाः धार्मिक, सांस्कृतिक कर्ममा अयलाः (रक्सी) प्रमुख रूपमा रहेको बताउँछन्। उनी भन्छन्, ‘नेवाः संस्कृतिमा देउतालाई चढाउने पूजा सामग्रीलाई साक्षात् देवताकै रूपमा मान्ने–पुज्ने चलन छ। त्यसैमध्ये एक अयलाः गुह्यश्वरी–जलतुल्य छ।’
मुन्दुमविद् तथा अनुसन्धाता डा. भक्त राई ‘किरातीहरूमा मदिराको प्रचलन कोसेली, खाजा र खाना, औषधि, प्रसाद, संस्कृति लगायत रूपमा हुने’ बताउँछन्। उनी भन्छन्, ‘मदिरा किराती संस्कृतिको प्रमुख तथा अनिवार्य परिकार हो। यसको अभावमा कुनै पनि सांस्कृतिक परम्परा पूरा हुन सक्दैन। जन्मदेखि मृत्यु हुँदासम्मका सम्पूर्ण सांस्कृतिक, सामाजिक परम्परामा मदिरा अनिवार्य मानिन्छ।’
मदिराको मात्रा, बजार र वर्ग
सय वर्ष नाघेका संस्कृतिविद् सत्यमोहन जोशीले अझै पनि कहिलेकाहीँ सुत्ने बेला एक पेग स्थानीय मदिरा पिउँछन्। शुक्रबार उनले टेलिफोनमा भने, ‘मात्रा मिलाएर खाए मदिरा औषधि हो। नेवारहरूको त संस्कृति हो।’
भोजन र परिकारमा सामान्यतः विश्वव्यापी अवधारणा हो– मिश्रण र मात्रा। औषधिदेखि भोजनसम्मको मात्रा हुन्छ– बनाउने र खाने। बढी खाए औषधि पनि विष बन्छ। मदिराको संस्कृति र आस्था एकातिर छ, अर्कोतिर मदिराको सेवनले तत्कालै असर गर्छ। त्यसैले जँड्याहाहरू सतही तर्क गर्छन्– दूध खाए लाग्ने कहिले, रक्सी खाए अहिले।
समाजमा देखिने र छोइने अधिकांश हिंसा, अपराध, झैझगडा र गल्ती मदिरा खानेहरूबाटै हुन्छ। थाहा छैन– इतिहासमा कति शासकले युद्ध, आक्रमण, दण्ड–सजायको घोषणा मदिरा पिएर गरे ! यद्यपि ठुल्ठूला भ्रष्टाचार, शोषण, माफियागिरी मदिरा खानेहरूबाट वा खाएर हुन्छ भन्ने होइन।
रक्सीले तत्कालै मानिसको मानसिक अवस्थामा परिवर्तन ल्याउने भएकाले यसबाट विभिन्न घटना–दुर्घटना निम्तिन पनि सक्छ। नियमित रूपमा मात्रा नमिलाई खाँदा दीर्घकालीन रूपमा स्वास्थ्यमा असर गर्न सक्छ।
त्यसैले प्राचीनकालदेखि मदिरापानमा रोक लगाउनु पुर्खाको बेवकुफी वा कमजोरी थिएन। हिजो जनयुद्धका बेला माओवादीले मदिरा खानेलाई कारबाही गथ्र्यो। उसले भन्थ्यो– तिमीहरू मदिराको मातबाट ब्युँझ र शासनसत्ता हत्याउन हामीसँग हिँड। उसले जनयुद्धकालमै कसैको मदिरा संस्कृतिलाई रुचिका साथ बहस गरेको देखिएन, गर्यो होला तर यो पंक्तिकारलाई अवगत छैन।
मदिरा संस्कृतिसँग जोडिएर आउँदा त्यहाँ सिंगो समुदाय हुन्छ। समुदायका सामाजिक नियम शक्तिशाली हुने हुँदा मदिराकै कारण अपराध कम हुन्छन्। त्यहाँ मदिरा पिउने एक खालको अभ्यास र नियम हुन्छ। कतिपय स्थानमा मौसमले गर्दा पनि मदिराको प्रचलन आवश्यक र सामान्य हुन्छ। यद्यपि पुरुषवादी विश्व परिवेशले गर्दा पुरुषबाट असुरक्षित महसुस गरी महिलाले मदिराको कमै सेवन गरेको पाइन्छ।
अर्कोतिर हाम्रोजस्तो अशिक्षित समाज र विभेदकारी राज्य व्यवस्थामा अधिकांशतः निम्न वर्ग, शोषित र उत्पीडित समुदायको व्यक्ति नै मदिराको कुलतमा फस्न पुग्छ। किनकि उसका सम्भावनाहरूलाई राज्य संरचना र विश्व व्यवस्थाले लुटिसकेको हुन्छ र उसलाई क्षणिक आनन्द आवश्यक हुन्छ। आजको प्रविधिपूर्ण पुँजीवादी विश्व व्यवस्थामा युवाहरू करिअर, प्रेमसम्बन्ध, छिटै सफलता पाउने वा चर्चा कमाउने महत्त्वाकांक्षा वा सपनाका कारण तनावमा पर्ने गर्छन् र मदिराको सहारा पनि लिन सक्छन्।
यो पृष्ठभूमिमा आज एउटा उच्च वा प्रशासक वर्गले मदिरालाई आफ्नो सप्ताहन्तको सहारा र मनोरञ्जनको संस्कृतिको रूपमा व्याख्या गरिरहेको छ। जस्तो:मदिरा धनीले मनोरञ्जनका लागि पार्टी वा उत्सवमा खाने हो। उनीहरूलाई महँगा विदेशी मदिराकै चासो छ। मिडियामा प्रतिस्पर्धा स्वरूप गरिने मध्यम स्तरका मदिराको विज्ञापनमा कुनै चासो छैन। घरेलु मदिराको व्यवस्थापन, नियम–कानुनको संशोधनमा पनि उसको चासो छैन।
अर्कोतिर, व्यापारी वा पुँजीपति वर्गले घरेलु मदिरा उब्जने माटोमा विष छर्ने, यसलाई स्थानीयको मौलिक सीप, स्रोतसाधन र आर्थिक उपार्जनका रूपमा रहन नदिने र आफूले ‘सूत्र’ खोसेर ‘ब्रान्ड’ बनाउने खतरा पनि उत्तिकै छ।
‘ब्रान्ड’ वा इजाजतको आवाज
घरेलु मदिरालाई प्रहरीले नष्ट गरेको समाचार हाम्रा लागि नौलो होइन, यस्ता समाचार मूलधारका मिडियामै आउने गर्छन्। प्रहरीले घरेलु मदिरा कुन कानुन अन्तर्गत किन नष्ट गर्छ ? यसको जवाफमा प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवर भन्छन्, ‘सार्वजनिक हितलाई ध्यानमा राखेर इजाजतपत्र नभएका मदिराको बिक्री–वितरणलाई रोकिने वा नष्ट गरिने हो। एकातिर मदिराले समाजमा झैझगडा बढाउँछ भने अर्कोतिर घरेलु तथा महिलाहिंसाको सम्भावना रहन्छ। त्यस्तै, विषालुजन्य मदिराको बेचबिखन बढ्न सक्छ।’
कुँवरले भनेको ‘सार्वजनिक हित’ विरुद्धको कसुर मुलुकी अपराध संहिता– २०७४ को परिच्छेद–५ मा उल्लेख छ। अर्कोतिर, पुस्तौँदेखि घरेलु मदिरालाई संस्कृतिका रूपमा उत्पादन गर्ने जातिले घरेलु मदिरालाई ‘ब्यान्ड होइन, ब्रान्ड बनाउनुपर्ने’ माग राख्दै आएका छन्। पछिल्लो समय एमाले नेतृ तथा पूर्वसामाजिक विकास मन्त्री (प्रदेश १) उषाकला राईले घरेलु मदिरालाई ब्रान्ड बनाउनुपर्ने अवधारणासहित अभियान नै चलाएकी छन्।
राईको अवधारणा अनुसार, मन्त्रालयले गत साउनमा प्रदेश–१ योजना आयोगका तत्कालीन सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा ‘घरेलु मदिरालाई ब्रान्डिङ बनाउने’ सम्बन्धमा सम्भाव्यता अध्ययन तथा सुझावका लागि कार्यदल गठन गरेको थियो, जसले ७० पृष्ठको प्रतिवेदन तयार पारी मन्त्रालयलाई बुझाएको थियो। अहिले मन्त्री राई र लोक्सोम पदमुक्त भइसकेका छन्। पूर्वसदस्य लोक्सोम भन्छन्, ‘यो कुनै समुदायको परम्परागत सीप हो।
हामीले प्रतिवदेनमा मदिरा उत्पादन गर्ने समुदायका निम्न वर्गका परिवारलाई समेटेर सामुदायिक/सामूहिक रूपमा मदिरा उत्पादन गर्नुपर्ने र अन्तर्राष्ट्रिय व्यापारीकरणका लागि पहल गर्नुपर्ने भनी सिफारिस गरेका थियौँ।’
उनका अनुसार, घरेलु मदिरालाई ‘ब्रान्ड’ बनाउन वा इजाजत दिलाउन कानुनमै संशोधन गर्नुपर्छ। ‘कानुन संशोधन गरेर घरेलु मदिरालाई ब्रान्डिङ र बजारीकरण गरिनुपर्छ,’ उनी भन्छन्, ‘एकातिर राज्यले अर्बौंको मदिरा विदेशबाट आयात गर्छ, अर्कोतिर घरेलु स्रोत–साधन र सीपबाट उत्पादित मदिरालाई रोक लगाइएको छ, नष्ट गरिएको छ, जुन विरोधाभासपूर्ण छ।’
विज्ञापन, ब्रान्ड र बजार
मिडियामा मदिराभन्दा हानिकारक वस्तुको विज्ञापन भएकै छन्। अर्कोतिर विदेशी ‘ब्रान्ड’का मदिरा भित्रिएकै छन्। मदिरा सम्पूर्ण रूपमा खराब हो भने हामीले विदेशी वा घरेलु सबै मदिराको व्यापारमा प्रतिबन्ध लगाउने गरी कानुन ल्याउन किन सक्दैनौँ ? यसमा विभिन्न जवाफ आउन सक्छन्– विश्वबजार, वर्ग, कर, संस्कृति, पर्यटन आदि–इत्यादि।
अर्कोतिर, आफ्नो अनुष्ठानमा मदिरा नपर्ने जातिका अधिकांश व्यक्ति मात्रा मिलाएर मदिरा अलिअलि खान हुनेमा सहमत भएको पाइन्छ। त्यसो त मदिरा छुँदै नछुने र यसको सख्त विरोधी पनि समाजमा छन्।
जहोस्, संस्कृति, बजार धेरै आधारले मदिरालाई समाजमा स्विकारिएको छ। इजाजत, कर आदिका नाममा पनि यसको बजार बढेकै छ। हामीसँग मदिरा बनाउने परम्परागत सीप, स्रोत–साधन छन्। यो अवस्थामा हामी हाम्रा घरेलु मदिरालाई ‘ब्रान्ड’ बनाएर विश्वबजारमा लैजाने, त्यसलाई समुदायको उपार्जनसँग जोड्ने गरी बहस गर्न किन सकिरहेका छैनौँ? कि विज्ञापनै गर्नुभएन, मदिराको बजारलाई सम्पूर्ण रूपमा प्रतिबन्ध गर्ने बहसमा जानुपर्यो। होइन भने स्थानीय मदिरालाई इजाजत दिने, उत्पादन बढाउने, विज्ञापन गर्ने, करको दायरामा ल्याउने, मदिरापानको आचारसंहिता बनाउनेतिर हामीले बहस गर्नैपर्छ।
प्रकाशित: ११ मंसिर २०७८ ०२:३८ शनिबार