सम्पूर्ण मिथिलाञ्चलमा कात्तिक महिनाको महत्त्व वर्षभरिमा सर्वोपरी भन्न सकिन्छ। हुन त वर्षभरिमा सबै महिनाको आआफ्नो महत्त्व हुन्छ तर कात्तिक महिनाको आमावश्यादेखि पूर्णिमासम्म पर्व तिहारको रमझम र रौनक अवर्णनीय र अलौकिक आभामण्डलले परिपूर्ण हुन्छ।
प्रत्येक साल कात्तिकको आमावश्याको अवसरमा आलोक पर्व दीपावली बडो धूमधामसित मनाउने सदियौंदेखिको परम्परा अद्यापि जीवित छ र सृष्टिपर्यन्त जीवित रहनेछ भन्ने कुरो सहजै अनुमान गर्न सकिन्छ। यसलाई ज्योति पर्व र आलोक पर्वको साथैसाथ दीप पर्व, प्रकाश पर्व, दीपावली र दिवाली भन्ने गरिन्छ,तर मुख्यतः एवं प्रमुखतः यो लक्ष्मी पुजनोत्सवको रूपमा प्रसिद्ध एवं प्रख्यात रहँदै आएको छ।
अर्थकी अघिष्टात्री देवी लक्ष्मीको पूजाआजा बडो उत्साह एवं उमंगमय वातावरणमा सम्पन्न गरिन्छ। अर्थ नै सृष्टिको नियामक र नियन्त्रक हुन गएको छ। आर्थिक समृद्धिविना देशको सर्वांगीण विकास अकल्पनीय हुन्छ। अतः अर्थको महत्त्व स्वयंसिद्ध छ।धन र ऐश्वर्यकी देवीलाई प्रसन्न र खुसी तुल्याउन सरसफाइ एवं स्वच्छताको ध्यान सबैभन्दा बढी राखिन्छ।
घरआँगनको मात्र होइन, नदीनाला र पोखरी तथा सरोवरको सफाइ गरिन्छ। यसबाट सम्पूर्ण पर्यावरण पवित्र र शुद्ध हुन्छ। विश्वास गरिन्छ कि सबैभन्दा सफा र स्वच्छ घरमा लक्ष्मीलाई निवास गर्न मन पर्दछ। तसर्थ सरसफाइ र प्रकाश लक्ष्मीलाई मनपरेको हुनाले एक किसिमबाट पारस्परिक प्रतिस्पर्धा नै हुने गर्दछ,तर यसलाई शुद्ध प्राकृतिक ढंगबाट मनाउनु नै सर्वोत्तम मानिन्छ।जस्तो:बिजुलीको झिलिमिलीभन्दा माटाको दियो र पालामा शुद्ध तेल हालेर पंक्तिबद्ध रूपमा सजाएर घरको सजावट गर्नु अतिउत्तम मानिन्छ।
यसमा अरिपन, अल्पना र रंगोली पनि अंकित गरिन्छ, तर यसमा कृत्रिम रंगको प्रयोग गरिन्छ, जुन स्वास्थ्यका लागि हानिकारक मानिन्छ। रंगोलीमा विशेष रंगहरूको प्रयोग भएकाले नै यसलाई रंगोली भनिएको छ।तसर्थ यसमा कृत्रिम एवं मिश्रित रंगको प्रयोग नगरीकन,चामलको पिठो पानीमा घोलेर जसलाई ‘पिठार’ भनिन्छ, त्यसको प्रयोग वाञ्छनीय हुन्छ।
बनावटी रंगको सट्टा बेसारको रंग,अक्षता,फूल एवं दुबो जमरा आदिको प्रयोग राम्रो हुन्छ। अचेल पटाका फोडिन्छ,जसको धुवाँबाट वातावरण नै प्रदूषित हुन जान्छ। हुन त यसलाई प्रतिबन्धित गरिएको छ तर लुकीचोरी व्यापारीले अधिक फाइदा कमाउनका लागि गरेर नै छोड्दछन्।
तसर्थ, स्थानीय सरकार र प्रादेशिक सरकार यसमा चनाखो हुनु अत्यन्त जरुरी छ। यो प्राकृतिक पर्व हो, कृषि पर्व हो। अतः यसको मौलिकता अक्षुण्ण राख्नु नै वेश हुन्छ। घरघरमा लक्ष्मीको पूजाआजा बडो श्रद्धाभाव एवं भक्तिभावले गर्ने गरिन्छ। भोलिपल्ट विसर्जन गरेर लक्ष्मीलाई अर्पित गरिएको प्रसादलाई सपरिवार ग्रहण गरिन्छ। नातागोता,बन्धुबान्धव र करकुटुम्बलाई पनि बाँडिन्छ।
अतः यो स्नेह र सद्भावको पर्व सिद्ध हुन जान्छ। लक्ष्मीलाई कमला र पद्मा पनि भनिन्छ र यिनलाई पुष्पराज कमल सबैभन्दा बढी मनपर्ने फूल मानिन्छ।
लक्ष्मीपूजाको भोलिपल्ट सुखरातीको पर्व मनाइन्छ। यसलाई ‘सुखरात्रि’ पनि भनिन्छ। कहीँकहीँ लक्ष्मी पूजा र सुखरात्रि सँगसँगै मनाउने पनि गरिन्छ। यसै दिनमा बेलुकापख पशुपर्व मनाइन्छ। पशुको अधिकार संरक्षित गर्नका लागि आजको दिनमा यसलाई पूर्ण स्वतन्त्रता दिइन्छ।
पशुलाई मनपर्ने खाना खुवाएर मस्त पारिन्छ। कहीँकहीँ नशा लाग्ने पदार्थ पनि खुवाउने गरिन्छ। पशुलाई अनिवार्य रूपमा पोखरीमा नुहाइन्छ। विभिन्न रंगबाट यसलाई सुसज्जित गरिन्छ। सिङमा तेल मालिस गरेर चम्काइन्छ। गर्धनमा नयाँ घन्टी बाँधिन्छ। यसलाई बाँध्ने पगहा (डोरी) फेरेर नयाँ पगहाको प्रबन्ध गरिन्छ। बयलगाडा र टायर गाडामा जोतेर प्रतिस्पर्धात्मक पशु खेलमा सामिल गराइन्छ।
पशुलाई वर्षमा एकपल्ट पूर्ण स्वतन्त्रता दिइने सदियौं पुरानो प्रथा हो। आजकै दिनमा हुर्राहुर्री पशुपर्वको रूपमा मनाइन्थ्यो। जुन अहिले प्रतिबन्धित छ,किनभने यसमा पशुको अधिकारको खुलमखुला उल्लंघन हुने गर्दथ्यो र यो मानिसको मनोरञ्जनको एउटा माध्यम हुन जान्थ्यो।
कात्तिक महिनाको शुक्लपक्षको प्रतिपदाका अवसरमा मनाइने लोकपर्वलाई अन्नकूटको उत्सव भनिन्छ। यसको सम्बन्ध गोवर्धन पूजासँग पनि छ।यसलाई मिथिलाञ्चलमा गोधन पनि भनिन्छ। यस अवसरमा प्रातः स्नान गरेर महिलाहरू गाईको गोबरको गोवर्धन पहाड बनाएर (काल्पनिक) चोकमा राखिन्छ र यसको पूजाआजा गरिन्छ।
महिलाको मुखबाट मिठो लोकगीतका साथमा अन्नलाई कुटिन्छ। यसमा चना र केराउलाई कुटिन्छ, जसलाई बज्री भनिन्छ। यो विश्वास गरिन्छ,कि यो बज्र जस्तो बलियो र कठोर हुन्छ।यसलाई केटाहरूलाई खुवाइन्छ र विश्वास के गरिन्छ भने यो खाएपछि केटाहरूको कलेजो वज्र जस्तो कठोर हुन्छ।
पुराकथा
एक दिन श्रीकृष्ण ग्वाल बालहरूसँग वृन्दावनमा विचरण गरिराख्नुभएको थियो। यत्तिकैमा उहाँले के देख्नु भयो भने हजारौं गोपगोपिनीहरू पूजाका सामग्री संकलनमा संलग्न छन्। उहाँले यस बारेमा सोध्नुभो कि यो के भइराखेको छ? उहाँले थाहा पाउनु भो कि इन्द्रको पूजाको तयारी भइराखेको छ, किनभने उहाँले नै पानीको वर्षा गर्नुहुन्छ र उहाँलाई पशुबली पनि दिइन्छ। यो सुनेर कृष्णलाई असाध्यै दुःख भयो।
अतः उहाँले इन्द्रको पूजामाथि प्रतिबन्ध लगाइदिनुभयो। इन्द्र क्रुद्ध एवं कुपित भएर भयंकर वर्षा गर्न लागे। धर्ती जलमग्न भयो। सबै त्राहिमाम गर्न थाले। श्रीकृष्णलाई पनि चिन्ता भयो। सबै गिरिराज गोवर्धनको शरणमा गए। श्रीकृष्णले आफ्नो कान्छो औँलामाथि गोवर्धन पहाडलाई उचालेर राखे र सबै ग्वाला यसको मुनि सुरक्षित हुन पुगे।
इन्द्र थाके र श्रीकृष्णको प्रशंसा हुन थाल्यो, उहाँको महिमालाई स्वीकार गरेर। त्यस दिनदेखि गोवर्धन पूजा अन्नकूटको रूपमा प्रचलित भयो, उत्सवका रूपमा। गोवर्धन पूजाले सम्पूर्ण मिथिलाञ्चल तथा ब्रजांञ्चलमा स्वतन्त्रताको सन्देश दिन्छ। उन्मुक्तिको सन्देश दिन्छ। इन्द्रको दासत्व र वर्चस्वबाट सबै मुक्त भएका थिए। तसर्थ यस पर्वको लौकिक एवं सांस्कृतिक महत्त्व स्वयंसिद्ध छ।
कार्तिक शुक्ल द्वितीयाको शुभमुहूर्तमा भैयादूजको प्रसिद्ध पर्व बडो उत्साह एवं उमंगको साथ मनाइन्छ। दिदीबहिनीले आफ्नो दाजुभाइको पूजाआजा प्रत्येक वर्ष गर्ने गर्छन्। यसलाई यम द्वितीया पनि भनिन्छ।
यसको पृष्ठभूमिमा एउटा लोककथा प्रचलित छ। सूर्यको छोराको नाम यमराज र छोरीको नाम यमुना हो भनिन्छ। यिनको आमाको नाम संज्ञा हो। दुवै भाइबहिनीमा स्नेहिल एवं प्रेमिल सम्बन्ध थियो। यमुना, यमराजलाई आफ्नो घरमा आमन्त्रित गरेर खुब सम्मान गर्ने गर्थिन्।
एकपल्ट यमराज कार्तिक शुक्लपक्षको द्वितीय तिथिमा आफ्नी बहिनीको घरमा पुगे। यमुनाले आफ्नो भाइको स्वागत सत्कार गरेर उनको निधारमा टीका पनि लगाएर बिदा गरिन्। जानेबेला यो पनि वरदान दिएर गए कि यस दिनमा दाजुभाइ आफ्नी दिदीबहिनीसँग टीका लगाएपछि उनको जीवन सुखमय एवं स्वर्गीय हुन्छ। त्यस दिनेदेखि यो भैयादूजको पर्वको प्रचलन सुरु भयो।
भैयादूजपछि मिथिलाञ्चलमा कार्तिक महिनाको शुक्ल षष्ठी र सप्तमीको दिनमा विशेष रूपले सूर्यको पूजाआजा गरिन्छ, प्रत्येक वर्ष। प्रत्येक वर्षको सूर्यको अनुसार दुईवटा आयन हुन्छ, उत्तरायन तथा दक्षिणायन।
कर्कटदेखि धन राशिसम्म दक्षिणायन रहन्छ र मकर राशिदेखि उत्तरायणको प्रारम्भ हुन्छ। सप्तमी सूर्यको विशेष दिन मानिन्छ। यसको साथै यदि शुक्लपक्षको सप्तमी छ भने यसलाई शुभ भनिन्छ। विशेष पुण्यदायी पनि हुन्छ।धर्मसिन्धुमा भनिएको छ– ‘शुक्ल पक्षतु सप्ताम्या संक्रान्ति ग्रहणाधिका’।
अतः कार्तिक शुक्ल सप्तमीको तिथिमा सूर्यको उपासना र आराधना जल र दूधको अघ्र्य दिएर विशेष रूपमा गरिन्छ। मिथिलाञ्चलमा यसलाई लोकभाषामा छठ र मैथिली भाषामा छइठ भनिन्छ। यो पर्वलाई तराई प्रदेशको महान् पर्व मानिन्छ। हुन त यो पर्व चार दिनसम्म मनाइने प्रचलन सदियौंदेखि चल्दै आएको छ।आज पनि तराई मधेसमा छठ पर्वका माध्यमबाट सूर्य भगवान्को उपासना विधिविधानपूर्वक एवं शास्त्रसम्मत ढगले गरिन्छ।
दीपावलीको प्रकाशमय पर्व पछि स्वच्छ शारीरिक र मानसिक स्थितिमा सूर्यको आराधना एवं उपासना गर्ने प्रचलन अनुसार बिहान स्नान गरेर व्रतालुहरू स्वरुचिको भोजन गर्छन्। त्यसको भोलिपल्ट उपवास बसिन्छ। बेलुकीपख एक छाक गमढी (एक किसिमको धान) को रोटी र खीर खाइन्छ,जसलाई ‘खरना’ भन्ने चलन छ।
तदुपरान्त भोलिपल्ट बेलुका शुद्ध एवं सफा सकेसम्म नयाँनयाँ वस्त्र (साडी) धारण गरेर कुनै जलाशयमा सूर्यलाई सादर एवं सप्रेम जल र दूधको अघ्र्य दिइन्छ। त्यसपछि शक्ति एवं भक्ति अनुसार भोलिपल्ट प्रातकालमा प्रातः दर्शनीय सूर्यलाई अघ्र्य प्रदान गरिन्छ। अघ्र्यमा नैवेद्य, पञ्चगव्य,चन्दन, अक्षता, पान, सुपारी कपुर, तिल,दूवो,दूध,ठेकुवा,नरिवल,कसार,उखु आदि हुनु अनिवार्य मानिन्छ।
मिथिलाञ्चल विशेष रूपमा कृषिप्रधान भएकाले मौसमी फलफूल आदिको प्रचुरता छ, त्यसैले यसलाई प्राथमिकतामा राखिन्छ,तर छठको प्रमुख प्रसाद ठेकुवा,भुसवा, कसार र उखु नै मानिन्छ।प्रातकालीन अघ्र्य प्रदान गरेपछि छठको समापन हुन्छ। त्यसपछि घाटमै प्रसादको वितरण गरिन्छ। व्रतालुहरू प्रसाद ग्रहण गरेपछि आफ्नो चारदिने उपवास अन्त्य गर्ने गर्छन्।
छठ पर्व मिथिलाञ्चलको सबैभन्दा ठूलो,तर कठोर पर्व मानिन्छ। यो मौलिक पर्व हो र यसमा अहिले आधुनिकता पनि देखिन थालिएको छ,जुन त्याज्य छ। जस्तो : विभिन्न प्रसादको परिकारको प्रदर्शन गर्ने, अनावश्यक महँगो परिधान लगाएर घाटमा जाने,महँगो गरगहना लगाउने,बिजुलीको झिलीमिली प्रदर्शन गर्ने गरिन्छ।
मैथिली लोकगीत व्रतालुले स्वयं आफ्नो स्वरमा नगाएर लाउडस्पिकर तथा रेकर्ड गरिएको एल्बमका माध्यमबाट लोकगीतको प्रसारण गरिन्छ। यसबाट लोकगीत लोपोन्मुख अवस्थामा पुगेको छ। यसले ध्वनि प्रदूषण पनि हुन्छ। पूजा समाप्तिपछि घाटको हेरचाह र सरसफाइमा ध्यान नदिनाले पानी प्रदूषित हुनु आदि विकृति देखिन्छ।
कार्तिक महिनाको सांस्कृतिक पक्ष सर्वोपरि एवं सर्वोत्कृष्ट छ। मिथिला संस्कृति सम्पन्न र समृद्धशाली भएकाले यसै महिनामा अर्को भाइबहिनीको अमर प्रेमको पर्व सामा चकेवा पनि मनाइन्छ।
शारदीय ऋतुमा मनाइने यस पर्वको आफ्नै भिन्दै किसिमको मौलिकता देखिन्छ। माथि आकाशमा नौलाख ताराहरूको साथै चन्द्रमाको शीतल प्रकाशमा दिदी र बहिनीहरू डालोमा माटोका विभिन्न मूर्ति सजाएर कुनै खुला मैदानमा मनाउन जाँदा लोकगीतको स्वर लहरीबाट सम्पूर्ण वातावरण सुसज्जित हुन थाल्छ। यसको विधिविधान सबैभन्दा पहिला आफ्नो घर–आँगनमा सम्पन्न गरिन्छ।
सबैभन्दा पहिला ‘गोसाउनिक’(कुलदेवता) घरमा भगवतीको गीत गाउँदै समालाई नवान्न (जस्तोः नयाँ धानको चिउरा) दही, गुड भोजन गराइन्छ। सामा चकेवालाई हातमा लिएर घरघरमा घनधान्यले भरियोस् भन्ने कामना गरिन्छ। आँगनमा सबै दाइभाइको नामोल्लेख गरी सुमधुर लोकगीत गाइन्छ। डालोमा सरस्योंको तेलले बत्ती बालिन्छ। सबै सखी सहेली परस्पर गीत गाउँदै सामा चकेवा खेल्नका लागि गाउँको खुला मैदानमा जम्मा भएर यो पर्व मनाउने परम्परा छ।
पौराणिक आख्यान अनुसार, श्रीकृष्णकी सुपुत्री सामाको विवाह चक्रवाकसँग भएको थियो। सामाको भाइको नाम थियो, साम्ब।यिनीहरूको सेवकको नाम थियो,डेहुली (चुगला) एक दिन साम्ब कामविशेषले गर्दा बाहिर गएको बेला मौका छोपी उसका सहायक चुगलाले सामा प्रत्येक दिन वृन्दावनमा गएर ऋषिमुनिको साथमा मौजमज्जा गर्छिन्।
श्रीकृष्णसँग कुरा लगाइदिए। श्रीकृष्ण धेरै क्रोधित भएर सामालाई चरा हुने श्राप दिएपछि उनी चरा भइन्। उसका पति पनि चरा भए। साम्ब जब फेरि आएर उनले यो कुरा थाहा पाए। उनी धेरै दुःखी भएर र आफ्नी बहिनीलाई श्रापमुक्त गर्नका लागि उनले तपस्या गरेर श्रीकृष्णलाई खुसी तुल्याए। उनले प्रशन्न भएर सामा चकेवा र ऋषिमुनि सबैलाई श्रापमुक्त गरिदिए।
सामा र चकेवाले दाम्पत्य जीवन खुसीपूर्वक बिताउन थाले। सामाले यो धारणा अग्रसारित गरिन् कि यस धर्तीमा जसले श्रद्धापूर्वक माटोका सामा चकेवाको मूर्ति बनाएर भाइबहिनीको पूजा गर्दछ, ऊ दीर्घजीवी हुन्छ। त्यसैबेलादेखि सामा चेकवाको लोकोत्सव लोकप्रिय हुन गयो। यो मान्यता अचेल सम्पूर्ण मिथिलाञ्चलमा प्रचलित छ। यसको विसर्जन कार्तिक महिनाको पूर्णिमाको तिथिमा गरिन्छ।
प्रकाशित: २७ कार्तिक २०७८ ०२:२६ शनिबार