तीसको दशकमा शोषित पीडित र अभावग्रस्त बहुसंख्यक नेपालीको पक्षमा गीत गाएर उदाएका जनगायक जेबी टुहुरे संगीत र गायन क्षेत्रको सर्वप्रिय नाम हो। जुठबहादुर खड्गी उनको न्वारनको नाम। आफ्नो जेठो दाजुको बाल्यकालमै निधन भएपछि बुबाले उनलाई जुठो ठाउँमा राखिदिएछन्। त्यो बेलाको रीतिरिवाज बेग्लै थियो होला, गाउँघरमा। पछि जुठबहादुर जेबी टुहुरेका नामले जनगायकका रूपमा प्रख्यात भए। २००१ कात्तिक १५ गते धरानको पुरानो बजारमा जन्मेका टुहुरेको मस्तिष्कघातका कारण २०७८ भदौ १० गते काठमाडौंको वयोधा अस्पतालमा निधन भयो।
जनकवि केशरी धर्मराज थापाका कर्णप्रिय गीतबाट प्रभावित भई जेबीदाइ २०२० सालतिर गीत गाउन भनी रेडियो नेपालमा आए। केही गीत रेकर्ड पनि गरे। मनमोहन अधिकारी र संस्थापक नेता पुष्पलालको जिन्दगीबाट प्रभावित भएर कम्युनिस्ट बन्न पुगेका उनको यौवनकाल पञ्चायती कालखण्डमा निकै कष्टपूर्ण रहन गयो।
नेपाली जनजीवन बुझेका कलाकार
कलाकार धेरै वर्गमा विभाजित देखिन्छन्– कुनै रहरका कलाकार, कुनै साधनारत कलाकार, कुनै संस्कृति र समाज बुझेका कलाकार। यस्ता कलाकार हिजो पञ्चायती कालखण्डमा पनि थिए, अहिले गणतन्त्रको कालखण्डमा पनि भेटिन्छन्। जनगायक टुहुरे नेपाली समाज बुझेका कलाकार थिए। पञ्चायतकालको चरम यातना सहेका उनी शोषित जनताका आवाजका गायक थिए। त्यसैले उनले गाएका सबै थरी गीतमा गरिब जनताको सजीव चित्रण प्रस्ट रूपमा झल्किन्छ।
२०३३ सालमा उनले गाएको ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई’ बोलको गीत बहुसंख्यक नेपाली जनजीवनको आफ्नो भाका र शैली बन्यो। लोकप्रियताको चुलीमा पुग्यो। यो गीतले पञ्चायती शासकलाई मात्र हल्लाएन, धेरै युवालाई त्यसबेला कम्युनिस्ट बनाउन पनि मलजलको काम गर्यो भन्ने धेरै वामपन्थीको भनाइ छ।
उनले गाएका गीतका बान्की फरक फरक छन्। उनले गाउने शैली पनि अरूको भन्दा पृथक् छ। शब्दलाई केलाएर गाउने, ह्रस्व–दीर्घ स्वर छुट्ट्याएर आवाज निकाल्न सक्ने मौलिक खुबी उनीमा थियो। ४० को दशकअघि धेरैले यस्ता गीत सुन्नु हुँदैन, देशद्रोही होइन्छ, कम्युनिस्ट होइन्छ भन्ने हल्ला पनि समाजमा नफैलिएका होइनन्। हल्लाका पछि नलागी युवाहरू जेबी टुहुरको क्रान्तिकारी गीतका फ्यान बन्दै समाज परिवर्तनतिर लागे।
परिणामतः पूर्वी पहाडी जिल्लाहरू ताप्लेजुङ, पाँचथर, इलाम संखुवासभा, तेह्रथुम, भोजपुर आदिमा जेबी टुहुरे सम्भ्रान्त वर्गका नभएर किसान, भरिया र मजदुरका आत्मीय गायक बने। ‘बसाइँ हिँड्नेको ताँतीले’, ‘छोराहरू हो, छोरीहरू हो’, ‘पानी चल्दैन रे’, ‘मृत्यु पनि मान्छे पिच्छे’, ‘कठै एउटा बूढो मान्छे’ आदि यस्ता गीत हुन्, जसले नेताको भाषणमा भन्दा मानिसको जीवन परिवर्तन गर्न र समाज परिवर्तन गर्नमा तागत देखाए। हुन पनि यी गीत देशको वास्तविक ऐना हुन्।
यी गीतमा तागत छैनन्, केवल कम्युनिस्टले मात्र गाउने गीत हुन् भनेर कसरी परिभाषित गर्न सकिन्छ ? गीत र संगीत बुझेकाले बन्दुकको गोली र नेताको बोलीभन्दा गीत सयौँ गुणा बढी शक्तिशाली हुन्छन् भन्ने गरेका छन्। गोपालप्रसाद रिमालको ‘रातो र चन्द्र सूर्य’, श्याम तमोटको ‘गाउँगाउँ बाट उठ’ र जेबी टुहुरेका उपरोक्त गीत नेपाली समाजका सदैव सम्मानलायक गीत हुँदै हुन्, त्यसमा पनि नेपाली जीवनको दर्शन समेटिएको देख्छु म त यी माटोका गीतहरूमा।
०२३ देखि ०३० सालसम्म तत्कालीन शासन शैलीका विरुद्ध राल्फाली सांस्कृतिक समूहले सांगीतिक अभियान चलाएर नागरिकलाई परिवर्तनकामी सांगीतिक चेतना दिलाए। रमेश, रायन, जेबी टुहुरे, मञ्जुल, अरिम, शम्भु राईजस्ता सिद्धहस्त कलाकारको योगदानले वास्तवमा पञ्चायती व्यवस्थाकोे जग हल्लिएको थियो।
जनताका गायकहरूले ०३५/३६ सालसम्म ‘संकल्प गीति अभियान’ चलाए। देशद्रोही गीत गाउनेहरू भनी आरोप लगाउँदै कलाकारलाई त्यसबेला कठोर यातना दिइयो। परिणाम इमानदार गायक जेबी टुहुरेलाई पूर्वी तराईका धेरै बन्दीगृहमा धेरैपटक नजरबन्दमा राखियो। त्यसबेलाका शासकले उनलाई हातका औँलामा पिन घोँचेर यातना दिए। पशुसरह व्यवहार गरे। तर पनि उनी सतीसाल भएर उभिइरहे, जनताका पक्षमा जागरण ल्याउने गीतहरू पस्किरहे।
कष्ट सहन सक्ने परिवार
हुन त समाज परिवर्तन गर्न हरेक राजनीतिकर्मीले यातना भोगेकै हुन्छन्। बिपी कोइराला र उनको परिवारले देशमा लोकतन्त्र पुनर्बहालीका लागि गरेको योगदान र तपस्यालाई नेपाली जनले उदाहरणका रूपमा लिएका छन्। यसैगरी पुष्पलाल, किसुनजी, गणेशमानजी, मनमोहन अधिकारी, विष्णुबहादुर मानन्धरजस्ता महान् नेताको जीवनी अध्ययन गर्दा लाग्छ, उनीहरूले कठोर यातना पाएर नै अहिलेको गणतन्त्रको यात्रा सफल भएको हो। तर, कलाकारलाई हेप्ने, गाइने जाति भनेर हेलाहोँचोको नजरले हेर्ने हाम्रो समाजमा टुहुरेजस्ता व्यक्तिका लागि त्यसबेला जीवनयापन गर्नु साँच्चिकै कठिन थियो।
एकातिर पार्टीको अनुशासित कार्यकर्ता भएर उभिनुपर्ने, हरेक कार्यक्रममा सहभागी हुनुपर्ने, अर्कोतिर स–साना बालबालिका र परिवारजनको रोजीरोटीको प्रबन्ध मिलाउनुपर्ने। ‘आपत्ति काले गृहिणी परीक्षा’ भनेझैँ भाउज्यू सतीदेवीले हरघडी जेबीदाइलाई नसघाएको भए यतिको कीर्ति उनले फैलाउन सक्दैनथे। एक प्रसंगमा भाउज्यूले भन्नुभयो, ‘मैले धेरै कम्युनिस्ट नेता–कार्यकर्तालाई वर्षौंसम्म दालभात खुवाएकी छु। उनीहरूका जुठा भाँडा माझेकी छु। पेटमा बच्चा हुँदा पनि बाध्यताले एक्लै बसेको छु। उहाँलाई तत्कालीन प्रहरीले पक्रेर जेल चलान गरिहाल्थ्यो, जमाना अत्यन्त कष्टकर थियो, जिन्दगी भयावह थियो।’
एक छोरा, चार छोरी हुर्काउन पढाउनमा जेबीदाइको भन्दा भाउज्यूको अहं भूमिका रहेको कुरा जेबीदाइलाई नजिकबाट चिन्नेहरू नारायण परिश्रमी, डा. विजय सुब्बा, खेम नेपालीहरू बताउँछन्।
जेबी दाइसँगको मेरो सम्बन्ध
०४६ सालको जनआन्दोलनपछि जेबी टुहुरे र मेराबीचमा आत्मीय सम्बन्ध बढ्दै गयो। ४० को दशकमै उनी मेरो गीतको शुभचिन्तक बनेका रहेछन्। देउडा गीत सबैले बुझ्न कठिन छ। त्यही कठिन गीतले जेबीदाइलाई खै कसरी छोएछ छोएछ ! एक प्रसंगमा उनले ‘तपाईंको स्वरको मिठासपन र नयाँ किसिमको संगीतले मलाई छोयो, अनि मनपराएँ’ भनेको याद आउँछ। ०६२/६३ सालमा कैयौँ आमसभामा सयौँपटक हामीले सँगसँगै गायौँ।
टुहुरेका अलाबा रामेश, रायन, रामकृष्ण दुवाल, माधव प्रधान, जीवन शर्मा, गोपाल ठाकुर, मधु गुरुङ, राजेश थापा, रुविन गन्धर्व, बद्री पंगेनी लगायत गायक–गायिकाले सँगसँगै गाएर जनतालाई लोकतान्त्रिक आन्दोलनका पक्षमा माहोल तयार पारेका थियौँ। ‘आमा दिदी बहिनी हो’, ‘गाउँगाउँबाट उठ’, ‘रक्त क्रान्तिको’, ‘सिमली छायाले’, झ्याम्म झ्याम्म आदि गीत लोकतन्त्र प्राप्त गर्न सहायक सिद्ध भएका थिए। ०६२/६३ सालको तत्कालीन राजाको प्रतिगमन कदमका विरुद्ध सडकमा उत्रिँदा जेबीदाइलाई र मलाई कैयौँपटक सडकबाटै गिरफ्तार गरियो। उनी छुटेर मेरो घरमा पनि पुगेछन्, म चार महिनापछि छुटें।
२०६० सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा राजकीय प्रज्ञा प्रतिष्ठानको कुलपति रहँदा हामी दुवैलाई प्रज्ञा सभासद्मा नियुक्ति गरियो। डा. वासुदेव त्रिपाठी उपकूलपति पदमा कार्यरत थिए। त्यसबेला हामी दुवैलाई धनकुटास्थित आठ पहरिया राई जातिका बारे अध्ययन गर्न र इलाम जिल्लाको अमूर्त संस्कृतिका बारे जानकारी लिन पठाइयो।
धनकुटा र इलाममा हामी पुगेको थाहा पाएर स्थानीय युवाले सांगीतिक कार्यक्रम देखाउने प्रस्ताव राखे। एक घन्टाको अवधिका बीचमा धनकुटामा पाँच हजार दर्शकबीच हामीले गीत पस्कियौँ। स्थानीय बुद्धिजीवीले कांगे्रस–कम्युनिष्ट कलाकारको अद्भुत मिलन भनेर टिप्पणी गरेका थिए। यसैगरी इलाम बजारमा पनि हाम्रा गीतमा सयौँ युवाले नाचेर हामीलाई साथ दिएका थिए। नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा हामीले संयुक्त रूपमा आफ्नो लिखित प्रतिवेदन पेस गरेका थियौँ।
०६३ मा रारा महोत्सवमा हामी सँगै सहभागी भयौँ। वागमती नदीको पानी कञ्चन रारातालमा मिसायौँ। रारातालको पानी, वागमती नदीमा र रानीपोखरीमा मिसायौँ। रानीपोखरीमा राराको पानी मिसाउँदा तत्कालीन् एमालेका वरिष्ठ नेता झलनाथ खनाल, नेपाली कांग्रेसका नेता नरहरि आचार्य उपस्थित भएका थिए। हाम्रो काम देखेर दुवै नेताले नयाँ शैलीको संज्ञा दिएका थिए। स्व. रवीन्द्र अधिकारी र गगनकुमार थापाले त यो जोडीको सम्बन्ध रारातालको कञ्चन पानीजस्तै रहोस् भनी शुभेच्छा प्रकट गरे। हामीबीचको सम्बन्ध देखेर होला, त्यसबेलाका मधुपर्कका सम्पादक विजय चालिसेले गोरखापत्र संस्थानमा बोलाएर हामी दुवैका बारेमा एउटा सान्दर्भिक लेख पनि प्रकाशित गरेका थिए।
संविधानसभा सदस्य
नेपालको राजनीतिक इतिहासमा संविधानसभाको सदस्य बन्ने अवसर कलाकार क्षेत्रबाट तीनजनाले पाए– तत्कालीन नेकपा माओवादी केन्द्रबाट जनगायक टुहुरेले र नेकपा एमालेबाट गोपाल ठाकुर र मधु गुरुङले। कलाकारका तर्फबाट ६०१ सभासद्मध्ये जेबी टुहुरेले संविधान निर्माणमा हस्ताक्षर गरी ऐतिहासिक कार्य गरे।
२०६४ मा तत्कालीन मन्त्री डा. मीनेन्द्र रिजालले मलाई आफ्नो मन्त्रालयमा बोलाएर संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा प्रज्ञा परिषद्मा रहेर काम गर्नका लागि प्रस्ताव राखे। मैले सो प्रस्तावलाई अस्वीकार गरेँ। पछि शेरबहादुर देउवाले आफ्नो निवास बूढानीलकण्ठमा बोलाएर प्रज्ञा परिषद्मा रहेर सेवा गर्न भने। मैले ‘जागिर खानका लागि आन्दोलन गरेको होइन, बझाङका धेरै ठाउँमा विकास निर्माणसम्बन्धी काम गर्ने मेरो तीव्र चाहना छ। कृपया, मलाई सो जिम्मेवारीका लागि सभासद्को उम्मेदवार बनाउनुस्’ भनेँ। पछि समानुपातिक उम्मेदवार बनाए। तर सभासद् हुन सकिनँ।
वामपन्थी साथीको हार्दिकताले होला, प्रज्ञा प्रतिष्ठानमा रहेर सेवा गर्नुस् भनी दाइहरू रायन, जेबी टुहुरे, रामकृष्ण दुवाल मेरो घर सुकेधारामा आएका थिए। तर, मैले स्विकारिनँ। सभासद् बनेर सम्पूर्ण कलाकर्मीको हितका लागि र आफ्नै जिल्लाको उत्तरी नाका ताक्लाकोटसम्म यातायातका लागि बाधक बनेको तलकोटको रातापानीस्थित हिमनदी सेतीमा पक्की पुल निर्माणका लागि पहलकदमी गर्ने मेरो दीर्घ सोच थियो। के गर्नु, दुवै काम पूरा हुन सकेन। बझाङ जिल्ला कस्तो रहेछ ? मेरो भ्रमण गर्ने रहर छ। त्यसबेला तपाईंको रातापानी पनि पुग्नेछु भन्थे जेबीदाइले।
अकालमा मृत्युवरण
मृत्यु शाश्वत सत्य छ। तर जेबीदाइको मृत्यु अकालमा भयो भन्छु म त। भाद्र १ गते दिउँसो वारिको हलुवाबेद भान्सामा बसेर खान लाग्दा अपर्झट कुर्सीबाट लडे। छिमेकीको सहयोगले र परिवारजनले तुरुन्त वयोधा अस्पताल पुर्याए। भेन्टिलेटरमा राखेर १० दिनसम्म उपचार गरियो। डा. प्रकाश श्रेष्ठ, विश्वकुमार श्रेष्ठ, डा. समर्थन सिंह, डा. रोहन झा, डा. पावन भण्डारीले खटेर सेवा गरे। तर कालले चुँडाएर लग्यो। मस्तिष्कघातका कारणले दुःखद निधन भयो।
श्रावण २६ गतेसम्म हामीबीच कुरा भएको थियो। कोरोना कम भएपछि दुवै दाजुभाइ जेबीदाइको असोज ९ गतेको सांगीतिक कार्यक्रमका लागि असोज ८ गते पूर्वाञ्चल पुग्ने कार्यक्रम थियो। इटहरीमा उनको नाममा स्थापना गर्न लागिएको ‘जेबी टुहुरे ट्रस्ट’मा सहभागी हुने व्यवस्था सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापाले मिलाएका थिए, त्यो अधुरै रह्यो। हामी दुवैले निकट भविष्यमा देउडा गीत रेकर्ड गर्ने सोच बनाएका थियौ, त्यो पनि पूरा हुन सकेन। छोरी भूमिकाले आगामी चैतमा दुवैजनालाई अमेरिका बोलाएर सांगीतिक कार्यक्रम सम्पन्न गर्ने सोच बनाएकी रहिछन्, त्यो पनि पूरा हुन पाएन। राष्ट्रले इमानदार कलाकार गुमायो, म र मजस्तै शुभेच्छुकले संगत गर्न लायक लोकतन्त्रको अग्रज असल कलाकार गुमायौँ।
अन्तमा
२०६५ मा देउडा समाजले टुहुरेलाई राजधानीमा अभिनन्दन गर्दा प्रमुख अतिथि शेरबहादुर देउवाले एक असल र इमानदार कलाकारलाई अभिनन्दन गर्न पाउँदा आफू खुसी भएको बताएका थिए। पंक्तिकारले दुवैलाई साथसाथै देउडा खेलाएको थियो।अहिले पनि जेबीदाइको निधनमा प्रधानमन्त्री देउवाले दुःख व्यक्त गर्दै इमानदार कलाकारको निधनले आफू दुखित भएको उल्लेख गर्दै शोक व्यक्त गरे। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेता तथा मन्त्रीहरू, सांसदहरू, कला जगत्का स्रष्टा, स्वतन्त्र बुद्धिजीवीले समेत शोक मन्तव्य जारी गरी जेबीदाइप्रति सम्मान जनाए।
आर्यघाटमा एकातिर जेबीदाइले गाएका अमर गीत गुञ्जिरहेका थिए, अर्कोतिर चितामा छोरा भ्रमणले दागबत्ती दिँदै थिए। वागमतीपारि ठीक त्यसबेला साँझपख शिवजीको आरती पनि दीप प्रज्ज्वलनसहित गुञ्जित थियो। टुहुरे दाइको पार्थिव शरीरको आगोको ज्वाला दन्कियो, छिनभरमै खरानी बन्यो। सपनाजस्तो जिन्दगी, पानीको फोकाजस्तो जिन्दगी, घामपानीजस्तो जिन्दगी, काललाई जित्न नसकिने हामी सबैको अस्थायी जिन्दगी।
‘मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रैछ, देशभक्त छोरो मर्दा मुटु दुख्दो रैछ’ बोलको गीत गाएका जेबी दाइ चितामा जलिरहँदा हामी केवल उनको मृत्युपछिका साक्षी मात्र बनिरहेका थियौँ। नेपाली कांग्रेसका प्रवक्ता एवं केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले ‘हामी हजारौँ शुभेच्छकले उहाँको दीर्घ जीवनका लागि गरेको प्रार्थना भगवान्ले पनि सुन्नुभएनछ, आखिर निष्ठुरी कालले जेबीदाइलाई लिएरै छाड्यो, गरिबका पक्षमा गीत गाउने सच्चा देशभक्त कलाकार सधैँ अमर रहून्’ भनेको अहिले पनि कानमा प्रतिध्वनित भइरहेछन्।
जेबी दाइ सच्चा कम्युनिष्ट थिए, त्यसैले उनी चोखो मनका गायक थिए, अनि भ्रष्टाचार विरोधी थिए। सबै पार्टी मिलेको, सबै जनताले पेटभरि खान पाएको उनी हेर्न चाहन्थे। संयोग नै मान्नुपर्छ, जेबीदाइले गाएको अर्को लोकप्रिय ‘गीत बसाइँ हिँड्नेको ताँतीले’ सञ्चार माध्यममा बजिरहेको सुनिन्थ्यो। वियोग मान्नुपर्छ, त्यहीबेला अफगानिस्तानमा तालिवानको शासनशैली सहन नसकेर झन्डै दुई लाख नागरिक देश छाडेर विदेश पलायन भइरहेका थिए।
प्रकाशित: २६ भाद्र २०७८ ०३:४१ शनिबार