‘आकर्षणको सूत्र’ भनिने सफलताको एउटा लोकप्रिय सिद्धान्त छ। यसका अनुसार, मान्छेले प्राप्त गर्न खोजेको वस्तुको सन्धानमा ऊ प्रतिबद्ध भएर लागिरह्यो भने उसको व्यक्तित्वले उक्त वस्तुलाई आफैँ आफूतिर आकर्षित गर्न थाल्छ। फलतः उसले आफ्नो सपना प्राप्त गर्न सक्छ।
साहित्यकार अनन्त वाग्लेको उपन्यास ‘कदम’को कथाले पनि यसै सूत्रको सत्यापन गरेको छ। कथा एक राउटे युवा ‘कदम कल्यान’को हो। पढ्न–लेख्न नपाउने, झाँक्रीले लगाइदिएको भष्मको घेराभन्दा बाहिर जान नपाउने, जागिर खान नपाउने, आधुनिक चिकित्सा विज्ञानका अनुसारको औषधोपचार गर्न नपाउने, समाजको कुनै मान्छे मरेपछि ठाउँ छोडेर बसाइँ हिँडिहाल्नुपर्ने हुनाले स्थायी घर कहिल्यै बनाउन नहुने, गाउँमा कोही सुत्केरी भए सामूहिक रूपमा बाँदर र गुनाको सिकार गर्न जानुपर्ने, मुखियाले बनाएको मौखिक विधानका विपरीत कतै ढिम्किन पनि नपाउने राउटे समुदायको उक्त बालकमा समयसँगै पढ्न–लेख्न पाए हुन्थ्यो, भष्मको घेरा नाघ्न पाए हुन्थ्यो, बिरामी हुँदा अस्पताल जान पाए हुन्थ्यो, सवारी चलाउन सिकेर पहिलो राउटे ड्राइभर बन्न पाए हुन्थ्यो जस्ता सपना विकसित हुन्छन्।
राउटेले ‘दुनियाँ’ भन्ने गरेको अन्य समाजका मान्छेको दृष्टिले हेर्दा यी सपना खासै केही होइनन्। भनौँ, सपना नै होइनन्। तर, अनेक प्रकारका सांस्कृतिक प्रतिबन्धको घेरामा बाँचिरहेको एउटा राउटेका दृष्टिले हेर्दा यी सबै सपना क्रान्तिकारी विद्रोहका बीज हुन्। र, यी एक एक सपनाको प्राप्ति ‘कदम’को कथा हो।
कथा रैखिक छ। कदम कल्यान काठमाडौं अनामनगरस्थित राउटे रस्टुरेन्टको मालिक हो। संसारभरिका घुमन्ते जातिको एउटा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने उसको सपना छ। उक्त कार्यक्रमका लागि ऊ आफूले धेरै पहिला भेटेका र आदर्श मानेका लेखक तथा पत्रकार सिम्रिक शर्माको सल्लाह, सुझाव र सहयोग चाहन्छ। कथा आरम्भ हुँदा उसले फेसबुकमार्फत सिम्रिक शर्मालाई सम्पर्क गरेको छ र भेट्ने योजना बनाएको छ। उनी दुईको भेट भएपछि कथाका पत्रपत्र खुल्दै जान्छन् र हामी कदमको जीवनमा प्रवेश गर्छौं। कदमले कल्पना गरेको अन्तर्राष्ट्रिय यायावर सम्मेलनमा उसकै जीवन अनुभवमा आधारित पुस्तक ‘कदम’को विमोचन गरिन्छ।
सम्पूर्ण उपन्यासको बुनोटमा राउटे जातिको उद्भव, समाज, संस्कृति, रहनसहन र उनीहरूमा क्रमिक रूपमा आउँदै गरेको परिवर्तनका मिहिन प्रसंगको सूक्ष्म संगति छ। उपन्यासको मूल प्रवाहलाई जोड्ने केही महत्वपूर्ण घटनाक्रम उल्लेखनीय छन्।
कदमको फेँद समातेर आमाले जन्माएकी हुनाले ‘कदम’ कहलिन पुगेको कमद कल्यानले लुकिलुकी शेखर र भद्रिकासँग अक्षर चिन्न र पढ्न–लेख्न सक्छ, जुन उसको जीवनको सबैभन्दा पहिलो क्रान्तिकारी कदम हो। पढ्न–लेख्न जान्दा बिग्रिन्छ भन्ने चिन्तन बोकेको राउटे समुदायमा कदमको यो कार्यलाई द्रोहकै रूपमा लिइन्छ, तर पढेर ड्राइभर बन्छु भन्ने ध्येय बोकेको कदमका लागि यो बाहिरीको दुनियाँसँगको सम्पर्कको पहिलो सूत्र हो। बाह्रखरी चिन्न सक्ने भएपछि ऊ जहाँ अक्षर देख्छ, त्यहीँ पढ्ने अभ्यासमा लाग्छ, र आफ्नो सानो सपनाका लागि चाहिने जति ज्ञान आर्जन गर्छ। एउटा अशिक्षित समाजको क्रमिक सशक्तीकरणमा शिक्षाको के महŒव छ, कदमको कथाले बुझाउँछ।
एकचोटि राउटीमै रहँदा आगोले पोलेर जीउभरि घाउ आउँछन्। उपचारको अभावका घाउ पाक्ने र जिउभरि औँसा पलाउने हुन्छन्। राउटे उत्थानमा लागेकी समाजसेवी कर्मा दिदीको पहलमा पहिलोपल्ट कुनै राउटको शरीरमा औषधिको प्रयोग गरिन्छ। तर त्यसले त्यति फाइदा नभएपछि उनै दिदीको पहिलमा कदमलाई काठमाडौं ल्याइन्छ र शल्यक्रियासहितको उपचार गरिन्छ। कुनै राउटे उपचारका लागि काठमाडौं आएको, शल्यक्रिया गरेको र ठिक भएको पनि यो पहिलो घटना हो।
यसरी नयाँ जीवन पाएपछि कदमको मनमा राउटे समाजमा विद्यमान कतिपय पारम्परिक प्रतिबन्ध तर्कसंगत छैनन् भन्ने बोध हुन्छ। साथै, उनीहरूले ‘दुनियाँ’ भन्ने गरेको बाहिरी संसार कति अगाडि बढेको छ, त्यस कुराको पनि बोध हुन्छ। फलतः कदम आमा र दिदीलाई राउटीमै छाडेर सुर्खेततिर लाग्छ, र खलासी बन्छ। सुरुमा जगत थापाले चलाउने महिन्द्रा मालवाहक र पछि बले गुरुले सुर्खेत–काठमाडौं चलाउने बुलबुले एक्सप्रेस यात्रुवाहक बसको सहचालक बन्छ।
दुर्भाग्यवश, सुर्खेतबाट काठमाडौं आउने क्रमका दुर्घटनाग्रस्त भएर बुलबुले एक्सप्रेस त्रिशूलीमा खस्दा बले ड्राइभर लगायत धेरै यात्रुको मृत्यु हुन्छ। तर भाग्यवश कदम भने बाँच्छ। एक अघोरीबाबा शिवहरनाथले देखेर उसलाई उद्धार गरिदिन्छन् र अस्पतालसम्म पुर्याइदिन्छन्। उपचारपछि पुनः सुर्खेत नै पुगेको कदमको भेट फेरि कर्मा दिदीसँग हुन्छ।
उनले अब कदमलाई आफ्नो संस्था राउटे उत्थान समाजको स्कोर्पियोमा चालक समुद्र गुरुङसँग केही समय सहचालक बनेर हिँड्ने र केही महिनापछि आफैँले गाडी चलाउने प्रस्ताव राखिन्। त्यसैअनुरूप कदम उक्त स्कोर्पियोमा हिँड्न थाल्छ। समुद्रले यस अवधिमा उसलाई ड्राइभर मात्रै बनाउँदैनन्, ऊभित्र विकासका नयाँ नयाँ सपनाको बीजारोपण पनि गरिदिन्छन्। राउटे पर्यटनको अवधारणा ऊभित्र विकसित गरिदिन्छन्। विश्वको पहिलो यायावर सम्मेलनको जग उनैको प्रेरणाले बनेको हो।
पूर्ण र स्वतन्त्र ड्राइभर भएपछि कदम काठमाडौं सरेको छ। उनै समुद्र गुरुङको सहयोग र प्रेरणाले उसले काठमाडौंमा राउटे रेस्टुरेन्ट खोलेको हो। यसमा ऊ रेस्टुरेन्ट मात्रै चलाउँदैन, यहाँ आउने पर्यटकलाई सुर्खेत र दैलेखतिरका राउटे गाउँमा उनीहरूको जीवनशैली र संस्कृति हेर्न लैजाने गर्छ। सबै ठूला–साना सपना साकार भएपछि अहिले कमदको मनमा थप नयाँ सपना जागृत भएका छन्। उसको सपना छ- दैलेखको लालीकाँडाका राउटेहरू पर्यटकलाई लक्षित गरेर कटेज र होमस्टे सञ्चालन गरिररहेका छन्। आफूले बनाउने गरेका मदुस, कोसी र अन्य कलात्मक वस्तुको प्रदर्शन र बिक्री गरिरहेका छन्। राउटेका बालबच्चा स्कुल जान्छन्। वयस्कहरू पर्यटनको विकास गरेर उच्च जीवन बाँचिरहेका छन्। अब साकार गर्नुपर्ने अर्को सपना हो यो कदमको।
उपन्यासको अन्त्यमा कदम सुर्खेतको काँक्रेविहारमा विश्व यायावर सम्मेलन गर्न सफल भएको देखाइएको छ, जसमा विश्वमा अहिले विद्यमान दश यायावर जातिका प्रतिनिधि आएका छन्- राउटे, ग्याउचो, माटेमानव, टिब्टेन, रारामुरी, माओरी, कजाक, हुली, हिम्बा, नेनेट र समाइ। सम्मेलनको निचोड छ– घर बनाएर बस्नेले भन्दा यसरी घुमन्ते जीवन बाँच्नेले पृथ्वी र प्रकृतिको सबैभन्दा बढी हित गरेका छन्, समानता, साम्यवाद र समाजवादको व्यावहारिक उदाहरण प्रस्तुत गरेका छन् र धर्तीलाई सबैभन्दा कम क्षति गरेका छन्।
विवेचनाका लागि उपन्यासले सामाजिक रूपान्तरणका कतिपय सूत्र अगाडि ल्याएको छ। सटीक र तार्किक औचित्य पुष्टि गरियो भने रुढ भनिएका समाज पनि विकासको पथका अग्रसर हुन्छन् भन्ने लेखकको विश्वास देखिन्छ। राउटेजस्तो अशिक्षित समाजको नेतृत्व पनि क्रमैसँग लचिलो बन्दै छ, र नयाँ पुस्ता अगाडि बढोस् भन्ने सोचमा छ। यो कुरा देशको नेतृत्वका लागि विचारबिन्दु हो। राउटेजस्ता अल्पसंख्यक भनिएका जातिको सम्पदा, कोसी र मुदुस बनाउने हस्तकला, गीतसंगीत र समग्र जीवन शैलीलाई अनुसन्धान र पर्यटनसँग जोड्न सक्ने हो भने देशकै लागि त्यो ठूलो आम्दानीको स्रोत हुन सक्ने पनि देखिन्छ। उपन्यासका केही सीमा पनि छन्।
यो उपन्यास भुइँमान्छे, प्रकृति र दुनियाँको सम्बन्धमा कुनै दार्शनिक गहिराइको उत्खननतिर अलि कम र विकासवादी दृष्टितिर अलि बढी केन्द्रित छ। सामान्य ड्राइभर बन्न आधा जीवन अर्पण गरेका कदम र उसले यसअघिको समयका लागि देखेको विशाल सपनाका बीच अलि धेरै नै ठूलो र अस्वाभाविक ‘ग्याप’ पो भएको हो कि ? कुनै पनि ठूलो संकटमा टुप्लुक्क देखापर्ने कर्मा दिदीको चरित्र तिलस्मीजस्तो बनेको छ। जीवनको सबैभन्दा पहिलो र ठूलो आवश्यकता के हो भन्ने प्रश्नमा राउटे दृष्टिभन्दा पनि लेखकीय घुसपैठ हाबी भएको कतिपय प्रसंगमा बुझिन्छ। यायावर सम्मेलनमा गरिएका भाषणमा यायावरीको जीवनका दार्शनिक गहिराइ कम र गुगलमा पाइने सूचना बढी छन्। यो सम्मेलन आजको मितिमा नेपालका राउटेका पहलमा नेपालको सुर्खेतमा हुनु पनि एउटा सुन्दर आदर्शवाद हो कि जस्तो बुझिन्छ।
प्रकाशित: १२ भाद्र २०७८ ०६:५२ शनिबार