भिन्सेन्ट विल्लेम भ्यानगग आफ्ना मातापिताका पाँच सन्तानमध्ये पहिलो सन्तान थिए– उनका एक भाइ र तीन बहिनी थिए। उनको जन्म १८५३ को मार्च ३० का दिन नेदरल्यान्ड्सको एउटा गाउँमा उच्च मध्यम वर्गीय परिवारमा भएको थियो। उनका पिता थियोडर चर्चका मिनिस्टर थिए। उनको तलब सामान्य थियो तर चर्चले बस्नलाई घर, काम गर्ने नोकर, दुई भान्से, घोडागाडी आदिको सुविधा उपलब्ध गराएको थियो।
भ्यानगग सानैदेखि गम्भीर र सोचमग्न प्रकृतिका थिए। उनको सुरुको शिक्षादिक्षा आफ्नै घरमा आमा र चर्चले व्यवस्था गरिदिएका सरकारी मास्टरबाट भयो। जब उनी सात वर्षका भए, उनलाई गाउँकै एउटा स्कुलमा भर्ना गरियो। जब उनी ११ का भए, उनलाई आफ्नो घरदेखि पर अर्कै सहरमा बोर्डिङ स्कुलमा राखियो। उनलाई त्यहाँ एक्लोपनको अनुभूतिले पिरोल्यो। उनले आमाबालाई ‘मिस’ गरे, म घर फर्कन चाहन्छु भनी विलाप गरे। यस्तैमा दुई वर्ष बित्यो। उनी १३ वर्ष पुग्दानपुग्दै आमाबाले उनलाई टिल्बुर्ग भन्ने सहरमा माध्यमिक विद्यालयमा भर्ना गरिदिए। घर फर्कन पाउनु त टाढाको कुरो, झन् अर्को स्कुलमा भर्ना हुनुपरेको कुराले उनी साह्रै उदासिन भए !
पढाइमा अभिरुचि नभइनभई दुई वर्ष उनले त्यस स्कुलमा बिताए। उनलाई आमाबाको माया, घरको सम्झनाले पिरोलिरह्यो, अनि उनी जबर्जस्ती घर फर्किए। कालान्तरमा उनले उल्लेख गरेका थिए– मेरो बालापन र किशोर अवस्था कठोर, चिसो र बाँझो भयो।
उनलाई कलिलो उमेरदेखि नै चित्रकलामा रुचि थियो। उनकी आमा अन्नाले उनलाई चित्रकलामा प्रोत्साहन गरिरहन्थिन्। सन् १८६९ मा, जतिबेला उनी १६ वर्षका थिए, उनका काका सेन्टले उनलाई जागिर लगाइदिए, चित्रकला बेचबिखन गर्ने हेग सहरको ठूलो डिलर कहाँ। त्यहाँ चार वर्षसम्म उनले चित्रलाई बेच्ने अनुभवका साथै तालिम पाए। पछि सन् १८७३ मा त्यही डिलरले उनलाई आफ्नो लन्डनको शाखामा सरुवा गर्यो। उनका लागि यो खुसीको क्षण थियो, उनी आफ्नो काममा सफल थिए। केवल २० वर्षको उमेरमा उनले आफ्ना पिताले भन्दा बढी कमाउन थाले।
उनकी भाइबुहारी (थियो भ्यानगगकी पत्नी)ले पछि उल्लेख गरेकी छन्– भ्यानगगको जीवनको सबभन्दा खुसीको वर्ष थियो यो। यही बेला उनी जुन घरमा भाडामा बस्थे, त्यही घर मालिककी छोरी युजिनी लोयरका फिदा भए। एक दिन जब उनले आफ्नो प्रेमको इजहार गरे, त्यो दिन दुःखको दिन थियो– उनले अस्वीकार गरिन्। उनी भित्रभित्रै अर्कैको मायाजालमा परेकी थिइन्। यता भ्यानगगलाई आफ्नो प्रेम तिरष्कार गरिएको पीडाले असाध्यै उदासी बनायो। अनि उनका पिता र काकाले उनलाई फ्रान्सको पेरिस सरुवा गराइदिए– यो थियो सन १८७५ को कुरा। त्यहाँ उनले एक वर्ष काम गरे तर एक वर्षपछि उनको जागिर उड्यो। उनी उदास भए र १८७६ को अप्रिलमा लन्डन फर्किए।
यसरी सानातिना काममा कहिले लन्डन, कहिले बेल्जियम, कहिले नेदरल्यान्ड्स आउने–जाने भइरह्यो। यसैबीचमा उनी निकै धार्मिक भए, माछामासु खान छाडे, चर्चमा पास्टर भएर काम पनि गरे। कहिले पुस्तक पसलमा काम गरे, कहिले बाइबलका केही अनुच्छेदलाई फ्रेन्च, जर्मन र अंग्रेजी भाषामा अनुवाद गर्दै समय बिताए।
केही समय नेदरल्यान्ड्सकै अम्स्टर्डम विश्वविद्यालयमा धर्मशास्त्रको अध्ययन गरे, तर उनी परीक्षामा उत्तीर्ण हुन सकेनन्। उनका काम, अध्ययन र क्रियाकलापले स्थायित्व पाउन सकेनन्। उनलाई सधैँजस्तो एक्लोपनको अनुभूतिले पिरोलिरह्यो, उनी खुसी हुन सकेनन्। उनी न अध्ययनतिर न कामतिर दिगो हुन सके, यसबाट उनका आमाबा चिन्तित थिए। यस्तैमा सन् १८८० तिर उनको रुचि मान्छेहरू र दृश्यहरूतर्फ बढ्न थाल्यो। तिनीहरूको चित्र कोर्न थाले। अनि उनका भाइ थियो भ्यानगगले उनलाई चित्रकलाको अध्ययन गर्ने सल्लाह दिए।
भाइको सल्लाहलाई अनुशरण गर्दै उनी बेल्जियम गए र त्यसताकाको चर्चित चित्रकार विल्लेम रुलोफ्ससँग चित्रकला सिक्न थाले। रुलोफ्सले केही समयपछि भ्यानगगलाई बेल्जियमको ब्रुसेल्सस्थित ‘रोयल एकेडेमी अफ आर्ट’मा भर्ना हुने सल्लाह दिए। उनी १८८० को नोभेम्बरमा त्यहाँ भर्ना भए र पाँच महिनासम्म चित्रकलाको अध्ययन गरे। त्यसपछि उनी फेरि आमाबासँग बस्न १८८१ को अप्रिलमा नेदरल्यान्ड्स फर्किए। घर फर्केपछि उनले चित्रकलाको अभ्यास गर्न थाले। धेरैजस्तो उनी छिमेकीको चित्र कोर्थे। यसैबीच त्यही वर्षको अगस्तमा उनकी ठूलीआमाकी छोरी कोर्नेलिया केही समयलाई घुमघाम गर्न आएकी थिइन्।
भ्यानगग प्रेमिल हृदयका थिए, कोर्नेलियालाई देख्नासाथ उनी लट्ठ परिहाले। उनी भ्यानगगभन्दा सात वर्ष जेठी विधवा थिइन्। उनको आठ वर्षको छोरो थियो। उनले कोर्नेलियालाई मन पराएको कुरा घरमा सार्वजनिक गरे र उनलाई बिहेको प्रस्ताव राखे। तर, कोर्नेलियाले ठाडै अस्वीकार गरिन्, यो कुनै हालतमा हुन सक्दैन भनिन्। उनी उदास भए। कोर्नेलिया अम्स्टर्डम फर्किन्। अनि भ्यानगग आफ्ना चित्र बेच्ने उद्देश्यले अर्को सहर हेग गए, जहाँँ उनको भेट सानिमाको छोरो अन्टोनसँग भयो, जो एक स्थापित र राम्रा चित्रकार थिए। अन्टोनले उनलाई केही महिनापछि घर फर्कने र चित्रकारितामा रङहरूको प्रयोगको अभ्यास गर्न सुझाए। पछि फेरि उनी हेग फर्किएर अन्टोनसँग अइल पेन्टिङ र अन्य चित्रकारिताका कला सिके।
यसैबीच भ्यानगग एक जँड्याहा वेश्यासँग सल्किएको खबरले अन्टोनसँगको उनको सम्बन्ध बिग्रियो। भनिन्छ, उनी गर्भवती पनि भइन्, छोरो जन्माइन्। त्यो छोरो भ्यानगगकै भनी अनुमान लगाइयो। जब यो खबर भ्यानगगका पिताले थाहा पाए, उनले भ्यानगगलाई त्यो ठाउँ र ती वेश्यालाई छाडी अन्तै जान आदेश दिए। भ्यानगगले पिताको कुराको विरोध गरे, ती वेश्या र उनको छोरोलाई सहरबाट अर्कै ठाउँ पठाउने सोचमा थिए, तर फेरि उनले तिनीहरूलाई त्यत्तिकै छाडिदिए। यसैबीच ती वेश्याले आफ्नो छोरो भाइलाई सुम्पिदिइन् र आफू पानीमा डुबी आत्महत्या गरिन्। यता भ्यानगगलाई आफू बिल्कुलै एक्लो भएको अनुभूति भयो, सन् १८८३ को डिसेम्बरमा बाआमासँगै बस्न घर फर्किए।
अब उनको चित्रकारिता झन् खारिँदै गयो। यस्तैमा सन् १८८४ को अगस्तमा छिमेकीकी छोरी मार्गोट, जो उनीभन्दा १० वर्ष जेठी थिइन् भ्यानगगप्रति आशक्त भइन्– दुवै एकअर्कासँग बिहे गर्न तयार थिए। तर दुवैका आमाबा यो बिहेका लागि राजी थिएनन्, बिहे हुन सकेन। अनि मार्गोटले कीटनाशक औषधि खाएर आत्महत्या गर्ने प्रयास गरिन्, भ्यानगगले तुरुन्तै उनलाई नजिकको अस्पताल लगेर बचाए !
यस्तैमा २६ मार्च १८८५ मा भ्यानगगका पिता थियोडरको हृदयघातले मृत्यु भयो। दुई वर्ष घर बस्दा भ्यानगगले धेरै किसिमका चित्र कोरे, जसमा वाटर कलर, अइल पेन्टिङ आदि आउँछन् र उनको पहिलो प्रसिद्ध चित्र ‘द पोटेटो इटर्स’ उनले घरमा बस्दा नै कोरेका हुन्। १८८५ को अगस्तमा उनका चित्रको पहिलोपटक प्रदर्शनी गरियो, हेग सहरमा। फगत प्रदर्शन मात्र भयो, वाहवाही पायो तर कसैले किनेनन्।
त्यही वर्षको नोभेम्बरमा आफ्नो भाग्य अजमाउन उनी बेल्जियमको आन्टवर्पतिर लागे। त्यहाँ उनी असाध्यै साधारण र गरिब जीवन बिताउन थाले– एउटा सानो कोठा भाडामा लिएका थिए। पाउरोटी, कफी र तमाखु उनको खान्की भयो। उनका दाँत हल्लिएर दुख्न थाले। सन् १८८६ को मेमा भ्यानगगले भाइ थियोलाई चिठी लेख्दा लेखेका थिए– विगत नौ महिनामा मैले जम्मा ६ पटक मात्र पकाएको खाना खाएको छु।
उनीसँग पैसा थिएन, उनका भाइ थियोले उनलाई पैसा पठाउँथे। भाइले उनलाई धेरै माया र सहयोग गर्थे। पैसा मात्रा होइन, पेन्टिङ गर्ने सरसामान, रङरोगन आदि सबै पठाइदिन्थे। भाइ पेरिसमा थिए, चित्र बेच्ने डिलरको काम गर्थे। आन्टवर्पमा बसेर उनले धेरै किसिमको चित्रकारिता सिके, अभ्यास गरे, संग्रहालयमा गएर अध्ययन गरे– उनको चित्रकारिता झन्झन् खारिँदै गयो, तर गरिबीले छाडेन।
अत्यधिक खटाइ, अपर्याप्त खानपिन, अत्यधिक धूमपान आदिले उनी बिरामी परे। केही सन्चो भएपछि भाइले उनलाई सन् १८८६ को मार्चमा पेरिस बोलाए।
पेरिस पुगेपछि उनको संगत त्यसताका नाम चलेका ठूलाठूला चित्रकारसँग भयो, उनको चित्रकारिता झन् खारिँदै गयो, उनलाई धेरैले चिन्न थाले, उनको चित्रकारिताको प्रशंसा हुन थाल्यो तर एउटा पनि चित्र बिकेन।
उनको अत्यधिक मदिरा सेवन गर्ने बानी छुटेन, झन्झन् बढ्दै गयो। यसैबीच उनलाई डिप्रेसन भयो। भनिन्छ, उनलाई बायोपोलार डिसर्डर थियो– उनी मानसिक बिरामी भए। यसै बिरामीको दौरान उनी एक वेश्याका आशक्त भए– उनले एउटा कानको आधाजस्तो भाग काटेर ती वेश्यालाई खामभित्र राखी उपहार दिए। डिप्रेसनका कारण उनी अर्धपागलजस्तै भए, आफूले आफैँलाई गोली हानी आत्महत्या गरे र गोली लागेको भोलिपल्ट अस्पतालमै २७ जुलाई १८९० का दिन उनी ३७ वर्षको उमेरमा यो धर्तीबाट बिदा भए।
मृत्युपछि उनका चित्र झन्झन् प्रसिद्ध हुँदै गए। बाचुन्जेल उनको एउटा पनि चित्र बिकेन, उनलाई खाना लाउनलाई नै धौधौ थियो। आज उनकै देश नेदरल्यान्ड्सको राजधानी अम्स्टर्डममा उनकै नामबाट खोलिएको संग्रहालयमा उनका चित्र राखिएका छन्, उनका चित्रमध्ये कुनै कुनै दुई अर्ब रूपैयाँसम्म बिक्री हुन्छन्। उनले अभाव र गरिबीमै जिन्दगी बिताए, आज उनका चित्र बेचेर उनको देश नेदरल्यान्ड्स धनी भएको छ। त्यसबापतको रोयल्टी उनका भाइ थियो भ्यानगगका सन्ततिले पाउँछन्।
प्रकाशित: १२ भाद्र २०७८ ०२:०९ शनिबार