फागुन महिनाको एक साँझमा बुवाले मलाई फोन गरेर भन्नुभयो– म पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रमुख अतिथिका रूपमा जाँदै छु। साथमा तँलाई पनि लैजान्छु। ज्वाइँ डा. हेमाङ्गजी पनि कार्यक्रमका सहभागी भएर जाँदै हुनुहुन्छ। यति सुन्नासाथ मेरो त हर्षको सीमा रहेन। गर्मीको प्रचण्ड रापले ओइलाएको फूलमा पानी परेपछि फक्रिएसरी, मेरो विरही मनमा पनि प्राण सञ्चार भएसरह भयो। मनमा यात्राका धुमिल लहर चल्न थाले। बुवा एउटा कार्यक्रममा जानुभएको थियो, बुवा आएपछि हामी बेलुकाको सवा ६ बजे विराटनगरतर्फ उड्यौँ।
हामी काठमाडौंबाट उड्दा सूर्य अस्ताचलमा पुगिसकेका थिए। विमान आफ्नै गतिमा दौडिँदै थियो, बाहिरी दृश्य पनि परिवर्तित हुँदै गए। बुवा विमानको झ्यालबाट बाहिर आकाशमा व्याप्त गोधुलीलाई कुतूहलपूर्ण आँखाले हेर्दै हुनुहुन्थ्यो। मलाई पनि देखाउँदै भन्नुभयो– हेर ! भुइँतलबाट देखिएको दृश्य र आँखाको समान सतहबाट देखिएको दृश्यमा कति भिन्नता हुन्छ। दृश्य (चित्र) आँखाले हेर्छ, हृदयले अनुभूत गर्छ। कविता मुखबाट बोलिन्छ, हृदयले अनुभूत गर्छ। केहीबेरपछि साँझ पर्दै गयो। दूर क्षितिजमा देखिएका बादल पूर्वबाट पश्चिमतिर दौडिँदै गए। यो देख्दा कुनै पथिक आफ्नो गन्तव्यतिर गइरहेजस्तो लागेको थियो। यो बादल जसरी हामी पनि आफ्नो गन्तव्यतिर जाँदैछौँ। यसरी बुवाको साथमा आएर मैले बेग्लै किसिमको सौन्दर्यको ज्ञान पाएँ।
बुवा विमानको झ्यालबाट बाहिर आकाशमा व्याप्त गोधुलीलाई कुतूहलपूर्ण आँखाले हेर्दै हुनुहुन्थ्यो। मलाई पनि देखाउँदै भन्नुभयो– हेर ! भुइँतलबाट देखिएको दृश्य र आँखाको समान सतहबाट देखिएको दृश्यमा कति भिन्नता हुन्छ। दृश्य (चित्र) आँखाले हेर्छ, हृदयले अनुभूत गर्छ। कविता मुखबाट बोलिन्छ, हृदयले अनुभूत गर्छ।
करिब साढे ७ बजेतिर विमान विराटनगरको हवाई मैदानमा अवतरण भयो। त्यहाँ बुवाको स्वागतार्थ प्रतिक्षारत महानुभावले गलामा फूलको माला र हातमा फूलको गुच्छाले स्वागत गरे। केहीबेरको विश्रामपछि त्यहाँको प्रमुख होटल ‘होटल जेनिला’मा बुवालाई बस्ने व्यवस्था मिलाइएको रहेछ ,त्यहाँ गयौँ। होटलमा लगेजहरू राखेपछि, होटल रत्नमा रात्रिभोजको आयोजना गरिएको रहेछ। त्यहाँ जलपान गरेर फर्कियौँ।
काठमाडौंबाट आउँदादेखि नै बुवा रुघाखोकी र ज्वरोले गर्दा बिरामी हुनुहुन्थ्यो। विराटनगर पुगेपछि रात्रिभोजमा सरिक भएर फर्केपछि सिटामोल खाएर सुत्नुभयो। भोलिपल्ट बिहान निकैबेर सुतेर उठेपछि बुवाको स्वास्थ्यमा निकै सुधार देखियो। चिया र औषधि खाएर नुहाइधुवाई गरेपछि अझै तन्दुरुस्त देखिनुभयो। यसपछि जलपानका लागि होटलकै तल हलमा ओर्लियौँ। हलमा उपस्थित लब्धप्रतिष्ठित व्यक्ति सितको भेटघाट, अनि रमाइलो वातावरणमा गफगाफ र शैक्षिक विषयकै बारेमा विचार–विमर्श गर्दै लन्च खाइयो। यस प्रकार दिनको ११ बजे दीक्षान्त समारोह कार्यक्रमका लागि प्रस्थान गरियो।
२०६१ फागुन १६ गते आइतबार पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त कार्यक्रम अतिथि सदन शिवकुञ्जमा स्थल बनाइएको थियो। सर्वप्रथम दीक्षान्त प्रोसेसनले दीक्षान्त मण्डपमा प्रवेश गरेपछि वेदका ऋचा पाठ अनि मंगलाचरण सम्पन्न भयो। त्यसपछि पूर्वाञ्चल विश्वविद्यालयका रजिस्टारबाट कार्यक्रम सञ्चालन, विश्वविद्यालयका उपकुलपतिबाट स्वागत मन्तव्य प्रस्तुत भयो। यसपछि सहकुलपतिबाट विद्यावारिधिको उपाधि पाउने विद्यार्थीलाई प्रतिज्ञा, यसैगरी विद्यार्थीलाई मन्त्रीज्यूबाट प्रमाणपत्र वितरण सम्पन्न। अब प्रमुख अतिथि राष्ट्रकवि माधवप्रसाद घिमिरेज्यू (मेरो बुवा)बाट दीक्षान्त भाषण।
बुवाले भाषणका क्रममा भन्नुभयो, ‘नेपालको यो पूर्वाञ्चल सबभन्दा पहिला घाम लाग्ने प्रदेश हो र यहाँ लागेको घामले नयाँ युगको प्रारम्भ भयो। त्यही चेतनाको घाम नेपालीका घटघटमा लागेर परिवर्तनको स्वर्णरेखा कोरिएको हो र सात सालको प्रारम्भ भयो। प्रजातन्त्रपछि शिक्षाको न्यानो घामको स्पर्शबाट सारा जनता सलबलाएर प्रजातान्त्रिक युगको शिक्षाप्रति अत्यधिक उत्सुक हुँदै गए। यो पूर्वाञ्चल राष्ट्रिय स्वाभिमान र विश्वबोधले परिपूर्ण विद्वानको थलो हो। महत्वपूर्ण सबै विषय राजधानीमा मात्र किन केन्द्रित हुने भन्ने यहाँका प्रबुद्ध व्यक्तिको धारणा पहिलेदेखि रहिआएको छ। अब पूर्वाञ्चल विश्वविद्यालय उनीहरूकै आँगनमा आएको छ।
बुवाको भनाइ थियो– हाम्रा विश्वविद्यालय कुनै न कुनै विषयको अनुसन्धानको केन्द्र बन्नुपर्छ। यसबाट हामी विश्वको ज्ञानको भण्डारमा एक नौलो रत्न थप्न सक्नेछौँ। अब एकलवादी प्रवृत्ति शिथिल भएर बहुलवादी प्रवृत्ति प्रबल हुँदै आइरहेको छ।
‘हाम्रा विश्वविद्यालय कुनै न कुनै विषयको अनुसन्धानको केन्द्र बन्नुपर्छ। यसबाट हामी विश्वको ज्ञानको भण्डारमा एक नौलो रत्न थप्न सक्नेछौँ। अब एकलवादी प्रवृत्ति शिथिल भएर बहुलवादी प्रवृत्ति प्रबल हुँदै आइरहेको छ। अब त विश्वका जुनसुकै देशले जुनसुकै कालमा उपलब्ध गरेका ज्ञान, विज्ञान, कला साहित्य, धर्म–संस्कृति मानव जातिका सम्पति मानिन्छन् र तिनमाथि विश्वका सबै राष्ट्रका मनुष्यको हक मानिन्छन्। आज हामीले आफैँसित प्रश्न गर्नुपरेको छ– विश्वका राष्ट्रको तारामण्डलमा हामी कहाँनेर छौँ। हामी परप्रकाशित ग्रह हौँ कि स्वतः स्फूर्त ज्योतिले उदीप्त तारा ? शिक्षाको मुख्य उद्देश्य मानिसलाई असल बनाउनु हो। कुनै वैज्ञानिक, डाक्टर, दार्शनिक, इन्जिनियर, कवि, कलाकार बन्नु मात्र पर्याप्त छैन। उसले आन्तरिक रूपले असल मानिस बन्नुपर्छ। विश्वसामु असल बनेर चिनिने हामी नेपाली एक्कासि कसरी कमसल बन्न थाल्यौँ, मलाई आश्चर्य लाग्छ। यो गरिबीका कारणले हो भनौँ भने हामी पहिले पनि धनी थिएनौँ।
दीक्षान्त स्नान गरेर जीवन क्षेत्रतिर यात्रा गर्न लागेका छात्रछात्रालाई म के भन्न चाहन्छु भने, हामीले दिने ज्ञान त सूचना मात्र हो– त्यसको सहाराबाट तपाईंहरू आफैँभित्र अभिव्यक्त हुनुहुनेछ। तपाईंहरूले गर्दा प्रतिभा पलायनको पीडा देशले भोग्न नपरोस्। गौँथली पनि घरबाहिरको माटो चुच्चाले बोकेर ल्याएर घरकै दलिनमा गुँड बनाउँछ। आफ्नो देश आफैँले बनाउनुजस्तो आनन्द कुनै छैन।’
अन्त्यमा बुवाले दुवै हात उठाएर त्यहाँ उपस्थित छात्रछात्रालाई आशीर्वाद दिनु हुंँदा सभाहल तालीको गडगडाहटमा डुबेको थियो।
समारोहको समापनपछि हामी होटलमा आयौँ। कार्यक्रमभरि त बुवा ठीकै हुनुहुन्थ्यो, होटलमा आएपछि थकित र क्लान्त देखिनुभयो। ज्वाइँ र मलाई भने बुवाको स्वास्थ्य अवस्था देख्दा सभामा उपस्थित हुन सके मात्र पनि हुन्थ्यो जस्तो लागेको थियो। त्यसैले आफू आराम गर्ने र मलाईचाहिँ त्यहाँका मुख्य ठाउँ घुमाइदिन ज्वाइँ डा. हेमाङ्गजीलाई अनुरोध गर्नुभयो। अनि ज्वाइँ, प्रा. दधि सुवेदीजी र म घुम्न निस्कियौँ।
फराकिलो सडकमा गाडी आफ्नै गतिमा थियो। विराटनगर, सुनसरी हुँदै हामी धरानको प्रवेशद्वार कटेर अगाडि बढ्यौँ। छोटो दूरीका घुम्ती, धुलो र धुवाँरहित सफा सडक, बाटोको छेउका बोटबिरुवाले वातावरणमा शीतल र स्वच्छ हावा प्रवाहित भइरहेथ्यो। हावा चलेर बोटबिरुवाका पात हल्लिँदा त मानौँ दुई हात हल्लाएर नवआगन्तुकलाई स्वागत गरेजस्तै लाग्थ्यो। यतिखेर मलाई प्रकृतिप्रेमी बुवा आउनसक्नुभएको भए कति रमाइलो हुन्थ्यो भन्ने लागिरह्यो। हावा चलेर बोटबिरुवाका पात वल्टिँदै–पल्टिँदै ‘खै त कवि ?’ भनेर बुवालाई खोजेजस्तो लाग्यो। यसरी बाटोभरि हामी रमाएर पनि बुवालाई सम्झिँदै गयौँ। गाडी बिस्तारै उकालो चढ्दै थियो। यसैबीच ज्वाइँ हेमाङ्गजीको पुख्र्यौली थलो दिङलाको डाँडो देखियो। कुइरो नलागेको भए गाउँ नै देखिने थियो रे। यति मात्र देखिँदा पनि उहाँको आँखामा रम्यता नाच्दै थियो। केहीबेरपछि हामी सानो, चिटिक्क परेको भेडेटारको बजारमा पुग्यौँ।
हामी गाडी बजारमा राखेर घुमाउरो उकालो बाटो हुँदै चाल्र्स–प्वाइन्ट टावरमा पुग्यौँ। यो टावर बेलायतका राजकुमारले प्रेमको प्रतीकस्वरूप बनाएका रहेछन्। यहाँबाट धनकुटा, हिले देखिने रहेछ, तर कुइरो लागेकाले घुर्मैलो रूपमा मात्र देखियो। टावरको टुप्पोमा त मुटु काम्ने जाडो, हामी तल फेदीमा आयौँ। जाडो र भोक पनि लागेकाले चनाको तरकारी र चिया खायौँ। चियाको तलतल त मेटिएको थिएन, समयले नेटो काटेकाले हामी फर्कियौँ।
फेदीबाट देखिएका घाम अहिले त अस्ताचलमा पुगिसकेछन्। हामी बिस्तारै ओरालो झर्न थाल्यौँ। एकछिन अघिको सुनसान बाटो अब रमाइलो लाग्दै थियो, सायद चिनारी भइसकेर होला ! बाटोमा यत्रतत्र गुराँस फुलेको मनोरम दृश्यले मन लोभियो। यो मनोरम दृश्य देख्दा बुवा कति मख्ख पर्नुहुन्थ्यो होलाजस्तो लाग्यो। यसपछि हामी पुरानो धरान बजार हुँदै बुढा सुब्बा सुब्बेनी, पिण्डेश्वर महादेव र दन्तकालीको बाहिरैबाट दर्शन गरेर अगाडि बढ्यौँ। चारकोशे झाडी कटेपछि साँझ पर्दै गयो। बिजुलीको उज्यालो सडकभरि छताछुल्ल भएर पोखिएको थियो। त्यही उज्यालोमा रम्दै हामी होटलमा आइपुग्यौँ। वास्तवमा बिरामी बुवालाई एक्लै छोडेर घुम्न जान मन त मलाई थिएन, तर नौलो ठाउँ हेर्न पाउने मौका पनि छोड्न सकिनँ, हामी आइपुग्दा बुवा र भानुभक्त पोख्रेलजी गफ गर्दै खाजा खाँदै हुनुहुँदोरहेछ, म त झनै दंग भएँ।
भोलिपल्ट बिहान बुवाको स्वास्थ्यमा निकै सुधार देखियो। भेट्न आउने मानिसको क्रम पनि चल्दै थियो। यसै मौकामा प्रा. दधिराज सुवेदीजीले गुरुकुल र अनाथाश्रमको आतिथ्य ग्रहण गरिदिनका लागि अनुरोध गर्नुभयो। सोही अनुसार बिहानको नास्ता गरेर कार्यक्रममा जानुभयो। गुरुकुल आश्रम पुग्दा त्यहाँ उपस्थित शिक्षक तथा विद्यार्थीले करतल ध्वनिले स्वागत गरे। कार्यक्रम छोटो गर्ने योजना अनुसार नै सुरु भयो। सुरुमा विद्यार्थीले ‘गाउँछ गीत नेपाली’ गाए। यसपछि छात्रछात्राले वेदका मन्त्रोच्चारण गरे। अनि प्रमुख अतिथि बुवाले आफ्नो मन्तव्य राख्नुभयो।
अब पालो आयो अनाथाश्रमको। त्यस आश्रमकी संरक्षिकाले आश्रमको गतिविधिका बारेमा संक्षेपमा अवगत गराउनुभयो। तत्पश्चात् बुवाले आश्रम अवलोकन गरेर आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभयो। कार्यक्रमको समापनपछि दिनको करिब १ बजे हामी होटलमा आएर खाना खायौँ। अब बाँकी थियो, बुवाको इच्छा मलाई जोगबनी देखाउने। त्यसैअनुसार हामी जोगबनी गयौँ, केटाकेटीका लागि केही समान किन्यौँ। अब हाम्रो काठमाडौं तर्फको फिर्ती यात्रा सुरु भयो। यसै सिलसिलामा ज्वाइँ हेमाङ्गजीका काकाको घर कञ्चनबाडी गयौँ। त्यहाँ फलफूल र चिया खाँदै बिताएको समय निकै स्मरणीय भयो। उहाँहरूसित बिदा भएर हामी एयरपोर्ट पुग्यौँ। अति विशिष्ट कक्षमा बसे पनि विमानको पर्खाइ र लामखुट्टेको टोकाइले अत्यासै लाग्यो। हाम्रो अत्यास मेटाउँदै बल्ल विमान आयो र चढ्यौँ। बेलुकाको साढे ९ बजेतिर हामी लैनचौर आइपुग्यौँ।
यात्रा त एक न एक किसिमले महत्वपूर्ण हुन्छन्, यसपटकको मेरो यात्रा बुवासँगै थियो। त्यसमाथि उहाँको आतिथ्यमा ऐतिहासिक एवम् गरिमामय दीक्षान्त समारोह सम्पन्न भएको थियो। अतः मैले पाएको त्यो अवसरलाई सुखानुभूतिका रूपमा लिएकी छु।
प्रकाशित: ३० श्रावण २०७८ ०५:२० शनिबार