२२ असार २०८१ शनिबार
image/svg+xml
कला

हृदयको प्रतिध्वनि

म आफ्नो साधना कक्षमा बसेर तानपूराको सुमधुर स्वरसँगै ध्यानमग्न भएर ‘असतोमा सद्गगमय, तमसोमा ज्योतिर्गमय, मृत्योर्मा अमृतंगमय ओम शान्तिः शान्तिः शान्तिः’ वैदिक मन्त्र तल्लीन भएर गाइरहेकी हुन्छु। गाउँदागाउँदै यति मग्न बन्छु कि तानपूराबाट उत्पन्न स्वरबाट सहायक नाद स्वयम्भू नादको रूपमा मेरो मनमस्तिष्कमा गुन्जायमान हुन पुग्छ कि म आफ्नै हृदयभित्र वीणाको तार अविच्छिन्न झंकृत भएको अनुभव गर्छु। म अझ तल्लिन भएर गायनको गहिराइमा डुबेकी हुन्छु। अचम्म! त्यै वीणासँगै मिसिएको एउटा ‘शान्ति’ भनेर बोलाएको मीठो आवाजले मेरो हृदय झंकृत हुन पुग्छ। त्यो परिचित आवाजले म झल्याँस्स हुन्छु, आँखा उघार्छु र यताउता हेर्छु। आकृति होइन, आभास म आफ्नै पिताको अनुभव गर्छु।

तानपूरा बजिरहन्छ, आँखाबाट आसुँ झरिरहन्छ, यो मन शून्य लाग्छ। अनि सम्झन्छु, बुवा त यो धर्तीबाट आफ्नो १०२ वर्षको पूर्ण आयुको केही दिन मात्र धर्ती छाडेर यो संसारबाट बिदा भइसक्नुभएको पनि एक वर्ष पुग्न केही दिन मात्र बाँकी रहन गएको कुरा सत्य हो। म आफूलाई भने यो सत्यलाई स्विकार्न साँच्चै कठिन भइरहेछ।

वास्तवमा भन्नैपर्दा आफ्नै घरायसी परिबन्दले मेरो बसाइ अमेरिका भएकाले केही समयदेखि आउने–जाने गर्दै थिएँ। गत २०७५ असोजमा बुवाको सय वर्षको जन्मोत्सव मनाएर केही समय बुवासँगै बिताएर हामी श्रीमानश्रीमती चाँडै नै फर्कने वचनसहित अमेरिका आयौँ, तर विधिको विधान भनौँ या भाग्यको खेल, फर्कन खोज्दाखोज्दै कोरोना संक्रमण सुरु भइहाल्यो। अनि म यतै अड्किएँ। यो घटना मेरो जीवनमा अत्यन्तै पीड़ा भयो, करिब डेढ़ वर्ष अगाडिदेखि उता बुवाको स्वास्थ्य स्थिति बिग्रँदै जाँदा पनि जान नपाउँदा मैले उपरोक्त वैदिक मन्त्रले म आफू बुवासँगको सामीप्यको अनुभव गर्थें। यसो हुँदाहुँदै भदौ २ गते आठजना सन्तानमा म एकजना मात्र यता भएँ। यस्तो पीड़ा कसैलाई नपरोस्, त्यसैवेलादेखि म संगीत साधना गर्दा केहीबेर यही मन्त्र गाउन मन लाग्छ।

तानपूरा घन्किरहेकै हुन्छ। म फेरि त्यही रन्कोलाई सम्झेर आफैँलाई सोध्छु– आखिर कसरी भयो त्यो चमत्कार? वात्सल्यपूर्ण त्यो पुकार मेरो हृदयको वीणासँग कसरी झंकृत भयो ? मैले त्यो शब्दलाई वाक्यमा पूरा गरेर अनुभव गरेँ। ‘शान्ति तँ के गर्दै छस् ?’ यो त्यही वाक्य हो, जसले मलाई जीवनमा केही गर्न सदा प्रोत्साहित गर्दथ्यो, जीवन्त बनाउँथ्यो। त्यति नै वेला म सम्झन्छु ओहो! आज गुरु पूर्णिमा। मैले त्यसलाई गुरुकृपा सम्झेर शिरोधार्य गरेँ। किनकि मैले मेरा पितालाई नै मेरा प्रथम गुरु मानेकी छु।अनि मेरा गुरुहरूलाई सम्झेर हार्दिक श्रद्धासुमन अर्पण गर्छु।

मेरो मन अब गुरु र गुरूपूर्णिमाका केही प्रसंग सम्झेर अतीतमा पुग्छ, बुवा त मेरा मात्र गुरु नभई परिवारकै गुरु भन्दा अत्युक्ति नहोला। बुवाकै संस्कार परिवारका लागि मार्गदर्शनको मूल मन्त्र बनेको छ। त्यसो त बुवाका कतिपय साहित्य रचना देश र जनताका लागि मन्त्र नै सरह रहेको कुरा मैले यहाँ भनिरहन पर्दैन होला । यो भावनात्मक कुरातर्फ बढ्नुभन्दा वास्तविक प्रसंगतर्फ लाग्छु।  

बुवाबाट आमासहित हामी दिदीबहिनी र भाइबुहारी सबैले गायत्री मन्त्र खुला रूपमा सुन्ने सौभाग्य पाएका छौँ। अब मेरो मन मेरा पिता मेरा प्रथम गुरु किन र कसरी भन्नेतर्फ भावुक हुन खोज्छ, म आफ्नो ध्यान पुनः तानपूराको ध्वनितर्फ लैजान्छु, जुन मेरोअगाडि बजिरहेको हुन्छ। म पनि सम्झनाको गहिराइमा डुब्छु, मेरा पिता एवं प्रथम गुरुसँग बिताएका ७० वर्षभन्दा बढी स्वर्णिम पलमा साहित्य र संगीत धेरै पाउँछु। मभित्र सहजमै जुन संगीत घुस्यो, त्यो मेरै बुवाबाट आएको होला भन्ने लाग्छ। किनभने मैले आफूलाई बुझ्ने भएदेखि नै बुवालाई साहित्य र संगीतको रमाइलो संसारमा पाउँछु, जहाँ बुवा हेडमास्टर हुनुहुन्थ्यो। 

त्यो हो, लमजुङ जिल्लाको गाउँसहर। त्यहाँ म दिनभर प्रकृतिको मीठो संगीतको रमाइलोमा पशुपन्छीसँग खेलेर बिताउँथे भने बिहान बुवासँग ढिँकीजाँतोको सवाई सुनेर आनन्द लिन्थेँ। बेलुका बुवासहित सबै गुरुको गाउने बजाउने यस्तै रमाइलो हुन्थ्यो। त्यसमाथि भर्खर जन्मेकी बैनी मञ्जु अनि खेल्ने साथी वर्तमान आमा, जसले मलाई राम्रोराम्रो पुतली बनाइदिनुहन्थ्यो। त्योवेलाको प्रकृतिसँगै मिसिएको संगीत र आफ्नै बुवाको सुरसिलो कण्ठले वाचन गर्नुभएको कविता वाचनको आवाज आजसम्म मेरो मनमस्तिष्कमा ताजा छ। मेरो केटाकेटी मनमा सजिलैसँग घुस्यो होला। म झन् अतीतमा पुग्छु। त्यो हो, बुवाको जन्मथलो पुस्तुन बाहुनडाँडा, जहाँ मैले केही समय भए पनि आफ्ना हजुरबुवाको न्यानो माया पाउँछु।

म आफ्नी वर्तमान आमासँगै भर्खर जन्मेकी बहिनी मञ्जुसहित आफ्ना हजुरबुवाको काखमा पुग्छु। बुवा हामीलाई त्यता पठाएर काठमान्डु जानुहुन्छ, सायद हाम्रो भविष्य सोचेर होला धन्य! क्रान्तदर्शी पिता! एउटा कुरा मलाई जहाँ गए पनि आमाविनाकी टुहुरी सम्झेर होला, बुवाले हाम्री दिवंगत आमा गौरीको सम्झनामा रचना गर्नुभएको शोककाव्यका श्लोक पढेर आँखाभरि आँसु लिन्थेँ, तर म अचम्म हुन्थेँ, सबैले माया गर्ने भएर होला जहाँ पनि रमाइलो लाग्थ्यो। झन् त्यहाँ आफूलाई माया गर्ने हजुरबुवा अनि आफूसँग खेल्ने दिदीबैनीहरू अनि गीत गाउँदै गाउँबेँसी गर्दा सुनिने छहरा छाँगाको ध्वनि अर्को विशाल प्रकृतिको सुमधुर संगीतले मलाई रमाइलो लाग्ने नै भयो।

त्यहाँ पनि मैले गीतसंगीतलाई अझ प्रकृतिसँग मिसिएको पाउँछु, त्यहाँ मैले मादलको तालमा भजन चुट्का आदि हेरेको सुनेको रन्को अझ पनि मेरो मनमा ताजा छ। रातको समयमा पल्लो डाँडामा गाएको भजन चुट्काको रन्कोले चारै दिसा घन्किएको सुनिन्थ्यो। त्यसको रन्को अझ पनि मभित्रै पाउँछु। त्योभन्दा पनि आफ्नै हजुरबुवा (गौरीशंकर)ले सुरिलो भाकामा भजनचुट्का आदि गाउनुभएको सुन्न पाउने, न्यानो माया पाउने म आफू भाग्यमानी नातिनी थिएँ भन्न अत्यन्त गौरव मान्नु स्वाभाविकै हो। त्यसमा पनि रातको शान्त समयमा मीठो स्वरमा श्लोक सुनेर निदाउन पाउँदाको आनन्द म वर्णन गर्न सक्दिनँ।

मलाई लाग्छ, बुवाले अझ धेरै त्यस्तै वातावरणको साथै लेकदेखि बेँसीसम्मका भीरपाखा पखेरा जस्तो कि जगराको लेक, कामीटारको फाँटमा आफ्नो बाल्यकाल बिताउनुभयो। त्यहाँ प्रकृतिको मनोहर दृश्यमा सुनिएको संगीतको ध्वनि बुवाको हृदयको वीणामा जीवनपर्यन्त बजिरहेको आभास हुन्छ। किनकि बुवाका रचनामा त्यसकै सुवासको अनुमान गर्न सकिन्छ। म आफूले बुवाको महाकाव्यको पहिलो सर्गको पाँचौँ कविता वाचन गर्दा आफैँ जगराको लेक र कामीटारको फाँटको सम्झनाको आउँछ।

पहाडमाथि पनि पाटन क्या विशाल

लम्केर छूँ कि सरि उत्तरमा हिमाल

ताजाजस्तै पवन माँ वन गन्ध सुँघ्छु

फर्केर वन्य जनजीवनमा म पुग्छु।

हिँड्थेँ जहाँ हरिणका सँग खेलिखेली 

गर्थें चरासित पशुवाक्य बोली।

सय वर्ष पुग्दासम्म आफ्नो बाल्यकालको अनुभव अन्तिम कीर्तिमा यसरी समावेश गर्नु भनेको सानो अनुभव होइन। बुवाभित्रको त्यो संगीत आफ्नै पिताबाट प्राप्त संस्कार हो। मभित्रको संगीतको संस्कार पनि मेरै पिताबाट प्राप्त रहेको भन्नमा गौरव लाग्नु स्वाभाविकै मान्छु।

मलाई लाग्छ, हामीले आफ्नो जीवनको प्रारम्भमा आफ्नै मातापितालाई नै प्रथम गुरुका रूपमा पाउँछौँ। यो सत्य हो कि कुनै न कुनै रूपमा हामीभित्र आफ्नै बुवाआमाको संस्कार रहेको हुन्छ। अत्यन्त सरल र मृदुभाषी भईकन केही विनोदी स्वभाव को पनि हुनुहुन्थ्यो, हजुरबुवा। त्योभन्दा पनि उहाँको जीवन साधुसन्तको जस्तो थियो। बुवालाई ‘नानी’ भन्नुहुन्थ्यो। आफ्नो पिताको स्वभाव पुत्रमा पर्ने नै भयो, नातिनातिनामा पनि पर्दोरहेछ भन्ने कुरा हजुरबुवाको शेषपछि जन्मिएकी बहिनी डा. किरणमा म उहाँकै झलक पाउँछु। यसैले मैले उनीलाई कहिलेकाही ‘हजुरबुवा’ भन्ने पनि गरेकी छु।

आफ्नो जीवनको पूर्वाद्र्धमा हृदयभित्र घुसेको प्रकृतिको सुमधुर संगीत र शास्त्रीय संगीतको रसमाधुर्यमा डुब्दै गीत, कविता, काव्य र महाकाव्य रचना गर्दागर्दै हामी आठजना सन्तानका पिता हामीलाई केही कामको जिम्मेवारी दिएर, हामीलाई महाकाली आमाको काखमा छाडेर ७४ वर्षअगाडि दिवंगत भई आत्मस्वरूप भएर चिरप्रतीक्षामा रहिरहेकी हाम्री आमा गौरीसँगै अमरापुरीसभामा विराजमान भएर यही धर्तीकै सौन्दर्यलाई नियालिरहनुभएको होला भनेर सोच्दै म अतीतबाट वर्तमानमा फर्कन्छु, बजिरहेको तानपूरा बन्द गर्छु।

प्रकाशित: ३० श्रावण २०७८ ०२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App