२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

रामप्रसाद राईको डायरी

नयाँ पुस्तक

नगेन्द्रराज रेग्मी

नेपालको इतिहासमा २००७ सालको क्रान्तिको आफ्नै महत्व छ। उक्त क्रान्तिमा होमिएर जीवन उत्सर्ग गर्ने थुप्रै होनहार सपुतहरूको रगत र बलिदानीले यो देशको माटो रक्तरञ्जित छ। यस्तो महत्वपूर्ण क्रान्ति सफल भएपछि पनि जब यसलाई दिल्ली सम्झौतामा लगेर टुङ्ग्याइयो तब राणाशासन फाल्नका लागि उद्धत केही योध्दा दिल्ली सम्झौताको विरुध्दमा उत्तिकै सशक्त हुन थाले। त्यसमध्येका आन्दोलन चर्काउने एक योध्दा थिए।

तत्कालीन पूर्व चार नम्बर भोजपुर सान्दीलुङ बासिखोराका लप्टन रामप्रसाद राई। उनलाई सिंहदरवारमा कैद गरियो तर त्यही रहेका आफ्ना पूर्व परिचित मुक्ति सेनाका जवानहरूलाई संगठित गरी स्वयं रामप्रसादले कैदमै बसेर सिंहदरवार कब्जा गरिदिए। मूख्यतः यसैको सेरोफेरोलाई भावभूमि बनाएर तयार पारिएको एउटा उपन्यासको नाम हो– ‘डायरीमा रामप्रसाद राई।’ अनि यस उपन्यासका लेखक हुन्– गणेश अधिकारी। यो उनको दोस्रो कृति हो, योभन्दा अगाडि ‘मालिकहरूको मधेश’ उपन्यास आइसकेको छ।

यसमा रामप्रसाद राईको बाल्यकाल, युवावस्था, लाहुरे जीवन र त्यसपछि नेपाल आएर क्रान्तिमा सहभागीता, सिंहदरवार कब्जा, उनको रहस्यमय हत्या लगायत उनको इतिवृत्त घटनाक्रमलाई सजीव चित्रण गरिएको छ। यो कृतिलाई औपन्यासिक जलप लगाइए पनि पढ्दै जाँदा सात सालको पूर्वाञ्चलको क्रान्तिको इतिहास अथवा रामप्रसाद राईको जीवनी र व्यक्तित्वको सङ्ग्रह पनि भन्न सकिन्छ। अझ सन्दर्भ सामग्री सूचि समेत दिइएको हुँदा कुनै तथ्यगत र अनुसन्धानमूलक शोधप्रबन्ध भन्दा कम मान्न सकिन्न यो कृतिलाई।

राजा त्रिभुवन लमी बनेर रामप्रसाद राईसँग दिलकुमारीको विवाह भएको थियो। ‘कि तिमी राणी हुन्छ्यौ कि रानी’ रामप्रसाद बारम्बार आफ्नी श्रीमती दिलकुमारीसँग यो कुरा भनिरहन्थे। तर कस्तो विडम्बना यसरी उनी केही समयको लागि रानी पनि नबनेकी होइनन् तर आफू रानी बनेको कुरा अरू त परै जावस् आफैंले पनि चाल पाइनन्।

 गणेश अधिकारीको नयाँ कृति ‘डायरीमा रामप्रसाद राई’ !

‘किन आउनुभयो यी चिल्कट लिएर ?’

तत्कालीन प्रधानमन्त्री डा. के. आई. सिंहको यो वाक्यले अत्यन्त मर्माहित बन्छिन् दिलकुमारी। बारम्बारको प्रयासपछि बल्लतल्ल प्रधानमन्त्री निवासमा भेट हुँदा तत्कालीन प्रधानमन्त्रीको यस्तो होच्याउने शब्द वाणले मर्माहत बनेर उनी आफ्नी सानी छोरी सहित फर्कन्छिन्। रामप्रसाद राईको परिवारप्रति डा.के.आई.सिंहको रुखो व्यवहार मात्र होइन, राईका सम्पूर्ण ऐतिहासिक तथ्य, अभिलेख र फोटोहरू समेत प्रकाशन गरिदिने आश्वासन दिएर एकत्रित पारी अन्त्यमा नामेट पारिदिएर उनले प्रधानमन्त्रीको नायकत्वभन्दा पनि खलनायकको चरित्रलाई प्रदर्शन गरेको स्पष्ट चित्र उपन्यासमा राम्ररी समेटिएको छ। लाग्छ यस्ता कतिपय राजनीतिक इतिहासका अनुद्घाटित तथ्य र दुर्दान्त घटनाक्रमहरू पनि यसले खोलिदिएको छ।

सैसैला हो कुर्रा हा हा..

...स्यामुना।

पूर्वाञ्चल क्षेत्रमा किराती समुदायले मनाउने सांस्कृतिक चाड साकेला यहाँ राम्ररी खेलाइएको छ। त्यसैगरी उनीहरूको भाषा, बोलीचाली र भागभङ्गीमा,  वेशभूषाहरूलाई पनि सजीव बनाएको छ। अतः यो उपन्यासलाई आञ्चलिक उपन्यासको कोटीमा पनि राख्न सकिन्छ । यहाँ पूर्वाञ्चल र त्यसमा पनि बढी भोजपुर र खोटाङ जिल्लालाई केन्द्रबिन्दुमा राखिएको छ। त्यसैले त्यहाँको बोलिने भाषा, संस्कृति र चालचलनको स्पष्ट शब्दचित्र कोरिएको छ। हुन पनि उपन्यासका नायक रामप्रसाद राईको जन्मस्थान माझकिरात भोजपुर भएको कारण र उहाँको कर्मस्थान बढी खोटाङ भएकाले पनि हुनसक्छ यसलाई अस्वाभाविक मान्न मिल्दैन। बालक चुप्पोनानी, युवावस्थाको चुप्पो राई नै अन्ततः रामप्रसाद राई भएर एउटै व्यक्तित्वको तीन चरित्र र पाटालाई बडो मिहीन पाराले उपन्यासमा देखाइएको छ।

उपन्यासमा विछोड छ, पीडा छ, दुख छ, संघर्ष छ, क्रान्ति छ, संगठन छ, जातीय विभेदको कुरा छ, तर खुसी छैन, रमाइलो छैन, शान्ति छैन, हाँसो छैन। सायद रामप्रसादको जीवन नै त्यस्तो भएको हो कि ? हामी कल्पना मात्र गर्न सक्छौ । त्यसैगरी धेरै वर्षअघि अस्ट्रेलियाको जातीय विभेदको प्रसंग ल्याएर त्यसको सूक्ष्म परख गर्दै नेपालको सन्दर्भ जोड्न खप्पिस देखिनुहुन्छ उपन्यासकार। यो उहाँको विद्वत्ता हो, गहन अध्ययनबाट निस्किएको निचोड र निष्कर्ष पनि हो।

 रामप्रसाद राई गद्दी चढे रे....। त्यही राज गरे रे....।

हो, यस्ता अभिव्यक्तिहरू अद्यापि त्यस क्षेत्रका बुढापाकाहरूले भनेको हामीले पनि सुन्ने गरेका हौ। यस्ता गहन इतिहास बोकेका राष्ट्रिय व्यक्तित्वको चिनारी हामी सबैले पाउनुपर्छ। यो अभावको पूर्ति उपन्यासकार अधिकारीले गराइदिएर हामी सबैलाई कृतकृत्य तुल्याइदिनुभएको छ। यसमा तत्कालीन समयका क्रान्ति नायकहरू अटलसिंह राई, मुगाधन राई, जंगवीर राई, श्रीपाल राई, नारदमुनि थुलुङ, मुक्तिप्रसाद चापागाई, गजुरमान राई, शुरवीर राई, जग्गुमाया, खगेन्द्र पाराली, मछिन्द्रबहादुर राई, शिवमाया राई, शरण राई आदिको भूमिका पनि यसमा देखाइएको छ। यसरी नेपालको इतिहासमा किरातीहरूको योगदानलाई यो उपन्यासले अझ राम्ररी केलाएर जनसमक्ष प्रकटीकरण गरेको छ भन्दा अत्युक्ति हुँदैन। यसका लागि उपन्यासकार बधाइका पात्र  हुनुहुन्छ। उहाँको कलमले अझ निरन्तरता पाइरहोस् र यस्ता कृतिहरु उहाँबाट सिर्जना भइरहून् हार्दिक बधाई तथा शुभकामना छ।  

पुस्तकको नाम– डायरीमा रामप्रसाद राई

 (उपन्यास)

लेखक– गणेश अधिकारी

प्रकाशक– रामप्रसाद राई फाउण्डेशन, नेपाल

संस्करण– २०७७ पहिलो

मूल्य –३००।–

पृष्ठ– २०८।

प्रकाशित: १० श्रावण २०७८ ०५:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App