१५ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

छोटो बाटो

कथा

नन्दलाल आचार्य 

 

‘तपैँ नेपालको मान्छी, यहाँ हरिद्वार जेलमा कसरी आउनुभयो ?’ काली बूढीले जिद्दी गर्दै भनिन्, ‘नेपालका मगर त सोझा हुन्छन् भन्थे । तपाईं चै कसरी नेपाल छाडेर भारत पस्नुभयो ?’

बूढी प्रश्नमाथि प्रश्न थोपरिरहेकी थिइन्। म भने उत्तर दिने पक्षमा छँदै थिइनँ। प्रायः मौनव्रत बसेजस्तो बसेर दिनहरू कटाइरहेकी थिएँ। कपिलवस्तुको चन्द्रौटाकी बासिन्दा भए पनि हिन्दी बोल्न असमर्थ थिएँ। बुझ्न भने मज्जाले सक्थेँ।

बोल्नै परे आधाउधी नेपाली मिसाएर बोल्थेँ। सुन्नेले आधा कुरा बुझिहाल्थे। बाँकी सङ्केत गरेर बुझाउँथेँ। मैले त्यहाँ कसैसँग व्यवहार गर्नुपरेको थिएन। न मेरो कोही आफन्त थिए न कसैले भरोसा नै दिन्थ्यो! रोऊँ भने कसको मन पगाल्न रुँनू ? कसैले कठै भनिदेला भन्ने आशै थिएन। कसैले प्रयास गर्दैमा छुटाउन सक्ने अवस्था पनि थिएन।

बूढी बोल्न कर गरिरहन्थिन्। म आफ्नै धुनमा मनोद्वन्द्वमा मक्ख र मस्त हुन्थेँ।

जति आग्रह गर्दा पनि नबोलेकीले उनी मलाई लाटी छे कि भनी शंका गर्थिन्। म लाटाले पापा हेरेजस्तो एकोहोरो उनको मुहार हेरिरहन्थेँ। जिद्दी गरिरहँदा मलाई उनी आफ्नै आमाजस्तो लाग्थ्यो। उनको सामिप्यता पाउँदा सारा दुःख हरण भएजस्तो हुन्थ्यो।

घरिघरि मनभित्रका सारा उहापोह छताछुल्ल पारिदिऊँजस्तो लाग्थ्यो। फेरि अर्को मन तुरुन्तै सक्रिय हुन्थ्यो र खोलिसकेको मुख बन्द पार्दिन्थ्यो । त्यो मन भन्थ्यो– अपरिचितलाई मनपेट दिने काम बन्दै नगर् । लालबहादुरको विश्वास गर्नाले यो हालत भयो। जेलमा सड्नुपर्ने भयो। परिवार बिग्रियो। बालबच्चाको भविष्यमाथि खेलबाड भयो। अब फेरि अर्को अपरिचितसँग हिमचिम गर्दा केके हुने हो ? कुरा बुझ र कान खोल् तर मुख नखोल्।

म झसङ्ग हुन्थेँ । सतर्क बन्थेँ । हाई काड्थेँ । आँखा मिच्थेँ । आँखा रसाएका पाउँथेँ, सारीको फेरले पुछ्थेँ।

‘आफ्नो मनको गन्थन मन खाएका मान्छीलाई भन्यो भने मन हलुका हुन्छ। अपूर्व आनन्द हुन्छ। शरीर हलुका हुन्छ। कुरा मनमै थुपारिरहे, कुहेर सड्छ। मनमा सडेको कुराले चिन्ता बढाउँछ। बढेको चिन्ताले चितासम्म  पुर्‍याउँछ ।’ बूढी अलिक नरम पाराले आफ्नो मन खोल्दै जान्थिन् , ‘तपाईं अन्यायको जाँतोमा पिसिनुभो क्यारे ! मनमा अनेक थरीका कुरा खेलाइरहनुभएको होला। आफ्ना कुरा बुझ्ने र सुनिदिने कोही छैनन् भनेर चुप रहनुभएको होला। तपाईं भ्रममा हुनुहुन्छ । म अपवाद हुँ । म नेपालको सिमाना नजिककी भारतीय नागरिक हुँ । म नेपाली भाषा राम्ररी जान्दछु। नेपालीपन र नेपाली मन मेरो शरीरको रगतका कणकण छ किनभने म नेपालकी छोरी हुँ, भारतकी बुहारी मात्रै हुँ।’

उनी एकोहोरो बोलिरहेकै बेला मैले आङ तानेँ । औँला पड्काएँ। मलाई उनका कुरा अझ प्रिय लाग्दै थिए। म अरू कुरा सुन्न लालायित थिएँ। यद्यपि उनले बोली बन्द गरिन्  र मतिर नजर फ्याँकिन् । म पनि उनको मायालु मुहार नियाल्न व्यस्त बनिरहेँ।

उनी त्यस्तै साठी नाघेकी होलिन् । हिस्सी परेकी थिइन्। जवानीमा सुन्दरी थिइन् होला भनेर अनुमान लगाउन सकिन्थ्यो। यद्यपि बूढ्यौलीमा भने उनी त्यत्ति सुन्दरी देखिन्नथिन्। उनको बोली भने सुन्दर थियो। विचार अझै ऊर्जावान् थियो । व्यवहार झनै मायालु थियो । समग्रमा उनी आँखामा राखे पनि नबिझाउने थिइन्।

यत्तिखेर खालि मेरो मनस्थितिमा लालबहादुर आइरहन्थ्यो । उसको हँसिलो मुहार, मीठो बोली र मायालु व्यवहारमा मोहित भएकीमा पछुतो लागिरहन्थ्यो । शिशु निकेतनले अढाई वर्षीया छोरीको लालनपालन गर्दिन्छु भनेर देहरादुन लगेको दृश्य झल्झली सम्झिरहन्थेँ । चम्पावत अदालतले १० वर्ष जेल सजाय सुनाउँदा श्रीमान् तर्सेर एक शब्द पनि नबोलीकन नेपाल फर्केको घटनाले मुटु कुटुकुटु खाइरहन्थ्यो।

आफ्नै बलबुताले नैनीतालको उच्च अदालतमा पुनरावेदन गरेँ । रोइकराई गरेँ, अनजानमा परेँ भनेर ढाँटेँ। भूलवश नगर्ने कर्म गरेँ भनेर क्षमाको भीख मागेँ । क्षमा त पाइनँ । यद्यपि ३ वर्ष कैद मिनाहा भने अवश्य पाएँ।

अहिले पुन्यभूमि हरिद्वारको हावा खाइरहेकी छु । यंहीँको पानीले प्राण बचाइ रहेकी छु। यद्यपि धर्मात्मा मान्छे बनेर हैन, एक कुख्यात अपराधी बनेर यहीँको धर्तीमा खुट्टा टेकिरहेकी छु।

म आफ्नै संसारमा हराइरहेकी रहिछु् । बूढी आमैको आवाजले पो झसङ्ग भएँ।

‘ए नानी ! कता हराउनुभयो तपाईं ?’ बूढीले मुख बिगार्दै भनिन्, ‘म पनि दुःखका दहमा पौडी खेलिरहेकी छु। संसारै दुःखको घर हो। दुःखलाई साथमा लिएर जिउने प्रण गरे मात्र त्यही दुःखले सुख डाक्छ। मेरा दुःखका कुरा सुन्न चाहनुहुन्छ ?’

मेरो मुहारमा खुशीको तरङ्ग सञ्चार भयो। आफूजस्तै दुखिया साथी मिलेजस्तो भयो  र, हत्तपत्त मुन्टो हल्लाएर सुन्न आत्तुर भएको जनाउ दिएँ। उनी खुशी भइन्।

‘म बर्मा परिवारकी चेली हुँ । तराईको माटोबाट मेरो परिवारले नै नेपालका हरेक जनआन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेको छ। विशेष गरी नेपालको कम्युनिष्ट आन्दोलनलाई उचाइमा  पुर्‍याउन कुनै न कुनै रूपले मेरा पिताजीले काम गरिरहनुभएको छ। त्यो प्रभाव ममाथि पनि थियो। उहाँले मेरो विवाह भारतीय कम्युनिष्ट योद्धासँग भूमिगत रूपमै गरिदिनुभयो र, भन्नुभयो– तराईमा बसेर हामीले कम्युनिष्टलाई जगायौँ । अब भारतमा रहेर तिमीले पनि कम्युनिष्टको दीप प्रज्वलित पार्नू ल !’

उनी जोसिली भएर भन्दै गइन्, ‘म उहाँलाई सघाउँदै थिएँ। उहाँ पनि मेरो साथ र सहयोग पाएर आन्दोलनको रथ हाँकिराख्नुभएको थियो । उहाँ त बच्नुभयो तर म आफ्नै घर जयनगरबाट पक्राउ परेँ। जेल चलान गर्दै यहाँ ल्याइएँ ।’

उनका कुराले मेरो मन जितिसकेको थियो। मैले अरू कुरा सुन्न आतुर भएको झलक देखाएँ तर मुखले केही बोलिनँ।

‘भारतीय सरकारले अहिले मलाई आतङ्वादीको पगरी गुथाइदिएको छ। एउटा मुद्दाको जेल सजाय सकिँदा नसकिँदै अर्को झुट्टा मुद्दा लगाउँछ र जेलमै कोच्छ। अब यहीँ सडाएर मार्छ होला।’ उनी थप्दै गइन्, ‘म त यसै देशको नागरिक भएकीले संविधान मिचेको आरोप लागेको छ। तपाईं त अर्कै मुलुकको राष्ट्रियता भएकी मान्छी के काण्डमा फस्नुभयो ?’

प्रकाशित: ८ श्रावण २०७८ ०२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App