२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

लगानी

लघुकथा

 इन्दिरा गौतम 

 

धेरै वर्षसम्म परदेशमा काम गर्दागर्दा थाकेर रामचन्द्र अब आफ्नै गाउँमा बस्ने योजनामा देश फर्किन्छन्। आफ्नो जग्गाजमिन पनि थोरै हुनाले खेतीदेखि बाहेक अन्य केके गर्न सकिन्छ भनेर ठुलाठालुसँग सल्लाह– सुझाव माग्छन्।

धेरैले आ–आफ्नो सुझाव दिन्छन्। कसैले पसल खोल्ने, कसैले गाडी किनेर चलाउने र कसैले गाई, भैंसी, कुखुरा अथवा बाख्रा फार्म खोल्ने। उनलाई कसैको सल्लाह पनि चित्तबुझ्दो लागेन। पसल खोल्दा बाँकीमा डुब्ने डर, गाडी किन्दा एक्सिडेन्ट भयो भने सिरिखुरी हुने डर । उता पशुपालनमा, कुखुरापालनमा पनि अनेक हैजा फैलिएर सखाप हुने डर।  कुराकुरैमा बैंकबाट पनि पैसा हराउँछन् भनेको सुनेपछि त्यस दिनदेखि उसलाई शंका र डरले निन्द्रा पनि हरायो।

श्रीमतीको सल्लाह सुझावमा ससुरालीतिर पैसाभरिको जग्गा किन्न राजी भयो। भोलिपल्टै ससुराली गाउँमा गएर एक बिघा जग्गा दरदाम मिलाई बैना पनि दियो। नजिकको अरू जग्गा पनि मन पर्यो । त्यो पनि किन्ने निर्णय भयो र दुईचार दिनमै रहल पैसा पनि पठाइदिने र अर्कोपल्ट ससुराली जाँदा किनबेचको दलिन लेख्ने वचनबद्ध भएर आयो। पैसाको सही ठाउँमा लगानी हुँदा ऊ अब ढुक्कले निदाउँन थाल्यो।

एक महिनापछि ससुरालीबाट  एकाबिहानै फोन आयो। उसले हत्तपत्त आफैं सुरु गर्यो , “नमस्ते, म हजुरलाई फोन गर्नै आटेको थिएँ बुवा। हिजै मैले जग्गाधनीको एकाउन्टमा रहल पैसा पनि हालिदिएँ।”

उताबाट जवाफ आयो,  “हैन ज्वाइँ, त्यो जग्गाधनीको त हिजो रातिदेखि नै अत्तोपतो छैन। त्यही जग्गा देखाएर अरू दुईचार जनाबाट पनि धेरै रकम लिइसकेको रहेछ।   

                                      असम, भारत ।

प्रकाशित: ३१ असार २०७८ ०१:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App