त्रिलोचन ढकाल
ढोका खोलेर आगनमा निस्केको मात्र थिएँ । जम्काभेट भइहाल्यो बादलसँग।
ऊ डरलाग्दो थियो। कालो थियो रिसाएको जङ्गली भालुजस्ता। आगो ओकलिरहेको थियो अविच्छिन्न रूपमा। मुटु थर्कने गरी चिच्याइरहेको थियो धारावााहिक । साँच्चै ऊ डरलाग्दै थियो, काकाले भनेजस्तै । नभमण्डल ढाक्दै आएको थियो। सूर्ये कहाँ छन् अत्तोपत्तो थिएन । गति भने त्यति चर्को थिएन।
मैले उसलाई गति अझ घटाउन आग्रह गर्दै भने–बादल भाइ ! तिमी किन रिसाएका छौ ?
– तिमी मान्छेहरूको अत्याचार देख्दा अत्यन्त रिस उठेको छ।
– आगो किन ओकलिरहेका छौं ?
– मान्छेका आँखाहरू निभाउन।
–चर्को आवाजमा किन चिच्याइरहेका छौ?
– मान्छेका कानको जाली धुजाधुजा पार्न।
वार्तालाप हुँदाहुँदै ऊ मलाई छोडेर जान लाग्यो। त्यही समयमा उस्का पिठ्यूँ एकजना कन्यामाथि नजर ठोकियो मेरो। अति सुन्दरी ! अद्भुत सुन्दरी ! मेरो मनले प्रश्न नगरी चित्त बुझाउन सम्भव भएन–कसको सवारीमा हिँडेका छौ बादल भाइ ?
– सुन्दरीको नाम वर्षा हो । मान्छेको प्रदुषणले पोलिएकी पृथ्वीलाई शीतलता दिन अमृत वर्षा गराउँदै हिँडिरहेकी छन् । यो वर्षाबाट तिमी किराफट्यांग्राहरूले पनि फाइदा लिइरहेका छौं।
“कहाँबाट ल्याएका हौ यस्तो अलौकिक सिर्जना ?”
“बंगालको खाडीबाट।”
“अचम्मकी सुन्दरी ! पैदलै हिँडाउन सकेको भए पनि हुन्थ्यो । हामीले पनि दृष्टि व्यवसाय गर्ने थियौँ ।”
मेरो बिचार सुनेपछि ऊ अरू बढी आगो ओकल्दै र थर्काउँदै बोल्यो ।”
– क्रूर बलात्कारी ! यीनको भरिलो जवानीलाई मरुभूमि बनाइदिन्थ्यौ, तिमीहरूले त।
प्रकाशित: २७ असार २०७८ ०३:३२ आइतबार