उमाकान्त पोखरेल
उज्यालो बार्दलीसम्म उक्लिसकेको छ। सडकमा मानिसहरू ओहोरदोहोर गर्न थालिसकेकाले कल्याङमल्याङ आवाज आइरहेछ।
आँगन छेउको आँपका रुखमा केही थान चराहरू चिरबिर –चिरबिर गर्दैछन्। निशा उठेकी छैन। परदेश गएका बुबा राजाराम फर्किई आउँदा झोलाभरि खुशी ल्याउने आशामा आमा– दिलमाया र छोरी – निशा रात अबेरसम्म गफिई सुतेका हुँदा बिहानीपख गहिरो निदको सपनामा निशा बुबासँगै साथ हुन्छे।
कतारको ४० डिग्रीको तापक्रम । करिब १५ तले घरमा रङ लगाउने काममा व्यस्त। राजाराम बाँसको सिँढी कस्दै माथि चढ्न पाटा थप्दैछ। निशा केही पर बसेर आफ्नो बुबाले गरेको जोखिम काम डराईडराई हेरिरहेकी छ।
केही भारतीय र केही मलायनहरू दायाँबायाँ उभिई हेरिरहेछन्। श्याम र विनोद तलबाट आड दिइरहेछन्।
करिब १४ तलाको उचाइमा पुगेका राजाराम सम्झन्छ महान् चाड नजिकिँदै गरेकाले आफ्नो घर, जीवनसँगिनी दिलमाया र लाडली छोरी निशाको अपूर्व सौन्दर्य हेर्न अब धेरै दिन पर्खनु नपर्ने र मनको तिर्सना चाँडै नै पूरा हुने कुरा मनमा खेल्न थाल्छ । आफू कतारमा रहेर १५ तले घरमा पाटा कस्दै गरेकोे हेक्का रहन्न उसलाई। आँखाभरि छोरीको सुन्दर सचित्र चलमलाउन थाल्छ । देख्छ – छोरी छेउमै बसेर तोते बोलीमा गुनगुनाइरहेकी छे। छोरीलाई अँगाल्न मन लाग्छ उसलाई ।
छोरी केही परबाट सबै दृश्य हेरिरहेकी छ।
तलबाट श्याम र विनोदको चिच्याहटको आवाजले निशाले टाउको उठाई हेर्छे– राजाराम आफूले आड लिई समातेको बाँसबाट तल खस्दैछ, “...बा ञ् ञ् बा ....!”
निशाको खुशी एकाएक आर्तनादमा परिणत हुन्छ, ऊ चिच्याउँछे।
भित्र सुतेकी छोरीको चिच्याहटको आवाज अचानक कानमा ठोक्किएपछि दिलमाया झस्किन्छे र छोरीको बेडमा पुगेर सोच्न थाल्छे – छोरीले कुनै अनौठो सपना देखेकी हुनुपर्छ। बिउँझ्याउने मनसायले दिलमायाले छोरीको शिर पक्री आफ्नो काखमा राख्छे।
निशाले धमिला आँखा खोल्छे र अस्पष्ट लामो धर्काे निश्वास छाड्दै धीमा आवाजमा “– बा ञ् ञ् बा ...!” उच्चारणका साथ पुनः स्थायी निदमा लीन हुन्छे।
” उफ निर्दयी सपना, धन्य हो ईश्वरको लीला ।”
“बाहिर उपस्थित मानिसहरू एकापसमा कुरा गरिरहेका हुन्छन्।
प्रकाशित: १३ असार २०७८ १२:४६ आइतबार