१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

रैबार

कथा

अहिले पनि कर्णाली प्रदेशमा हाट अर्थात् इन्डिया नजाने कुनै घर हुँदैन। यो कथा २०६३ सालतिरको हो। उतिबेला प्रत्येक परिवारको एक सदस्य हाट गएकै हुन्थ्यो। नुन, तेल, चिनी, मसला र रूपैयाँ देखाउने हाट नै थियो। घरको इज्जत धान्ने हाट थियो। हाट जानु प्रत्येक मान्ठको रहर थियो, बाध्यता थियोे र परम्परा पनि।

गाउँमा हाट नगएको, छकछके रेल नचढेको, जलेबी नचाखेको मान्ठको कुनै महत्व हुँदैनथ्यो। कर्णालीमा हाट पुरुषार्थको मानक पनि थियो। ओठमा जुँगाको रेखी नबस्दै प्रायः किशोर घर छाडेर बा, काका, गाउँका दाजुभाइको हात समातेर हाट जान्थे। भारतको कुनै गाउँ वा सहर गएर उनीहरूले विभिन्न लेकाली जडिबुटी, हिङ, सिलाजित आदि बेच्थे। अक्सर दशैँको रमझमपछि निधारमा टीका लगाएर, काँधमा कुरिटो (पोको) बोकेर भारत जानेको ताँती नै देखिन्थ्यो। दशैँपछि गएका हटारु (हाट जाने व्यक्ति) चैततिर फर्कन्थे। हाटबाट फर्केका मान्ठको बेग्लै सान हुन्थ्यो। उनीहरू सुकिलामुकिला बनेर बाकस, डोका लिएर फर्कन्थे। त्यसभित्र गुड, नुन, चिनी, मरमसला, लत्ताकपडा हुन्थे।  

प्रायः कात्तिक सुरु भएपछि गाउँका युवा हाट जाने तर्खरमा हुन्थे। पहिलोपटक जाने हटारु उत्साहित हुन्थे। उनीहरू पुरानाको पछिपछि लागेर हिँड्थे। हाट जानुअघि झुन्डझुन्डमा ओटालो (आँगन)मा कानेखुसी गरेको देखिन्थ्यो। घरघरमा हाट जाने हटारुको बैठक हुन्थ्यो, कहिले हिँड्ने भनी निर्णय गर्न। सबैको सल्लाह भइसकेपछि अन्तिममा साइत जुराउन धामीको शरणमा पुग्थे। धामीलाई थालमा चामल, दियो, फूल र केही रूपैयाँ भेटी चढाउँथे। धामीलाई देवता चढ्थ्यो। उनले राम्रो वा नराम्रो के हुने हो सबै भनिदिन्थे। कहिले जाने भनी बार र मिति पनि तोकिदिन्थे। कात्तिक १७ गते परिमल धामीको घरमा धमेलो बसेको थियो। सबै हटारु धामीको वरिपरि बसेका थिए। घुनखोरेले धामीसमक्ष हात फैलाए, ‘गोसाइ ! हामी कहिले हाट हिँड्छौँ त ? साइत दिया भया राम्रो हुन्या थियो।’

त्यस दिन उनीहरूकै अगाडि जयमलले नासो खोले। पोकोभित्र कपडाको टुक्रा, कोइला, नुनको ढिको र रातो खुर्सानी राखिएको थियो। यी सबै चिजको अर्थ थियो। कपडाको टुक्राले लगाउने लुगा छैनन्, भएका पनि च्यातिएका छन् भन्ने जनाउँथ्यो। नुन र कोइलाको अर्थ हुन्थ्यो– नराम्ररी छु, तिम्रो लायक भइनँ र मलाई बिर्सनू। खुर्सानीको अर्थ हुन्थ्यो– म अभागिनी तिम्रा लागि खुर्सानीजस्तै पिरो भएँ, तिमीलाई दुःख दिएँ।

धामी काम्दै बोले, ‘हैट् हैट्, था था, जा तेरो एकाको एकाइस ग¥या भने बाइ आई नत्र मेरा गृहमा छारो छडेस्। हहहह यही कात्तिक २२ गते बिहान भालेको पहिलो डाकोमै हिँड्नू।’ सबै हटारुले एकसाथ भने, ‘हुन्छ गोसाइ प्रभु।’ सबै शान्त थिए, धामीले प्रत्येकलाई टीका र एकएक मुठी चामल दिए। ‘जा ए, घुनखोरे काहीँ हाटमा तेरो मन बुझाए भने के दिनेइस् त !’

‘गोसाइ एक चिचिने (भाले) चढाउँला। जा ढुक्क भएर जा, म छु तेरा साथमा।’ यसरी धामीले धमेलो सिध्याए। सबै हटारु धामीले दिएको साइतप्रति खुसी थिए। हटारुका संयुक्त पाइला र गाइँगुइँको आवाजले जलजलीलाई झस्कायो। हत्तपत्त उनले झ्याल खोलेर हेरिन्। गाउँका युवाको ताँती थियो, पल्लाघरे काका उनको ओटालोमा थिए। उनले पल्लाघरे काकालाई काका काका भन्दै डाकिन्। काकाले सुनेनन्। लगत्तै उनले देवरलाई चिच्याइन्– ओ तल्लाघरे सानागोसी (देवर) केको लस्कर हो ?

‘धामी बड्डा ती हाटको साइत माग्न आए थियौँ,’ उताबाट आवाज आयो।

‘ए ए, कहिलेको साइत दिया त धामीले।’

‘२२ गते छकाल दिया भाउजू।’

‘त्यसो भया भाउ (बाबु)का बा कन नानो (सानो) नासो र रैबार (खबर) लैजाए हैया,’ उनले झ्यालबाटै चिच्याइन्।  

‘हुन्छ भाउजू।’

‘पख त सानागोसी, गलिगली नभुलेयाँ हैयाँ, नापा (थोरै) तुमिकन सामल दिउँला, नापा दाइकन। मेरा सानोगोसी तेती काम गरिदिया।’

‘होला भाउजू मु भुल्दैन, सबै नासो मिलाएर राख्या छकालै (बिहान) आउँनिउँ,’ तल्लाघरे बोल्यो।  

मन्द मुस्कानसहित जलजलीले भनिन्– हुन्छ, सानागोसी। उनको मुस्कानमा आशा, भरोसा र प्रेम झल्कन्थ्यो। दुई वर्षयता जलजली श्रीमान् आउने आशा र भरोसामा बाँचेकी थिइन्। पति आउने आशामा उनले पहाडका गोरेटामा आँखा डुलाउँथिन्। फर्केका हटारुको भीडमा खोज्ने गर्थिन्। हाट जाँदा आफ्नो लोग्ने हिँडेको गोरेटोमा पाइला खोज्न जान्थिन्। मन बुझाउन बेलाबेला श्रीमान्को लुगालाई मिलाएर राख्थिन्। श्रीमान्को बारेमा कसैसँग त्यति कुरा गर्दिनथिन्। तर, उनको हावभावले लोग्नेप्रति उनको माया र सम्झना स्पष्ट देखाउँथ्यो।  

उनका लोग्ने जयमल परार साल हाट गएदेखि घर फर्केका छैनन्। उनीसँगै हाट गएका मान्छेले दुईपटक हाट आउजाउ गरिसके। हाट गएपछि जयमलले घरमा कुनै नासो पठाएका थिएनन्, न त गतिलो रैबार। जयमलले कालापहाडमा के गर्थे, कसरी बसेका थिए भन्ने उनलाई केही थाहा थिएन। उनी ठिकै छन् भन्ने मात्र रैबार पाउँथिन्।  

हाटबाट फर्केका हटारुलाई जलजलीले मेरा घरकाले केही पठाएका छन् कि भनेर सोध्ने गर्थिन्। उत्तर नाइ (छैन) आउँथ्यो। नाइ सुनेपछि उनी एकछिन निराश हुन्थिन्। छोराको मुख हेर्थिन्, ऊ पनि निराश हुन्थ्यो। जलजली छोरालाई समसुम्याउँदै घरतिर जान्थिन्– ‘नुरो भाउ, तेरा बाबा पनि आउन्या हुन्। भाउ कन मस्त मिठाइँ, लुगा ल्यान्याँ हुन्। आमाका कुराले छोराले मन बुझाएझैँ गर्थ्याे। हाटबाट आएपछि सबैका बाबाले आआफ्ना छोराछोरी काखीमा च्यापेर गाउँ डुल्थे। घरघरमा गएर चिनारी बुझाउँथे। हाटको रैबार सुनाउँथे। आफूले ल्याएको कोसेली बाँड्थे। जलजलीको छोरो आँगनमा बसेर सबैतिर टुलुटुलु हेथ्याे। उसको मनमा पनि बाबुको काँधमा चढेर गाउँ घुम्ने रहर हुँदो हो। राम्रो नाना लगाउने चाहना हुँदो हो। त्यो दृश्य देख्न नसकेर जलजली भित्र कुनामा बसेर आँसु झार्थिन्। आँसु पुछेर भन्थिन्– भाउ भित्र आ, गुड खाँलै।  

छोरो खुरुखुरु आमातिर जान्थ्यो र गुड लिएर खाँदै आँगनमा खेल्थ्यो। जलजलीको घरबाट बडी मालिकाको थान स्पष्ट देखिन्थ्यो। छेउको पाटन हरियो गलैँचाजस्तो थियो। जलजली हरेक बिहान पाटनतिर हेर्दै लोग्नेको सुस्वास्थ्यको कामना गर्थिन्। सूर्यलाई अर्घ्य दिन्थिन्, तुलसीको मठमा पानी चढाउँथिन्। त्यसपछि उनको अरू कामधन्दा सुरु हुन्थ्यो।

२२ गते जलजली सबेरै उठेकी थिइन्। आफ्ना लोग्नेलाई नासो पठाउनु थियो। सधैँ नासो पठाउन लाग्दा उनी खुसी हुन्थिन्। रैबार पाउने सम्भावना पाउँथिन्। अर्को कुरा नासोमा उनले आफ्नो स्पर्श पठाउँथिन्। हाटको नासोको बेग्लै महत्व हुन्थ्यो। घरको राम्रो वा नराम्रो नासोभित्र राखिएको हुन्थ्यो। नासो खोल्दा पाउनेले सबै कुरा बुझ्थ्यो पनि। लोग्नेले आफ्नो भावना बुझ्नेछन्, सम्झनेछन् भनेरै उनले नासो पठाउँथिन्।  

उनीहरूको जोडी चखेवाको जस्तो थियो, सधैँ सँगै हुन्थे। मेलापात सँगै गर्थे। कसको आँखा लाग्यो खै, अहिले दुवै एक्लिएका छन्। धेरै हटारुसँग उनले यस्तै नासो थुप्रैपटक पठाइसकेकी थिइन्। तर लोग्नेको रैबारबाहेक केही आएको थिएन। रैबार यति मात्रै हुन्थ्यो– निका छन्।  

नासो तयार गरेर उनले आँगन सफा गर्दै थिइन्। एक्कासि उनका श्रीमान् जयमल उनका अगाडि देखापरे र भने, ‘त्यहीँकन नासो नदिएस्, म खान पाउने नाइ। त्यसै खर्च किन गर्दी त।’

जलजलीले सोधिन्, किन क्या भयो तुमिकन ! ‘काऽ काऽ’ गर्दै काग छेवैमा बस्यो। उनी झसंग भइन्। यताउता हेर्दा कोही थिएन। उनको मनको भ्रम थियो त्यो। काग कनिका खाँदै थियो। उनको मनमा चिसो पस्यो, कालो काग एकाबिहानै आँगनमा देखेर। उनले बडी मालिकातिर हेर्दै आँसु पुछिन्। यसरी उनको झल्कोमा लोग्ने धेरै पछि आएका थिए। उनले सपनामा पनि लोग्नेलाई त्यति देख्दिनथिन्। उनले लामो सुस्केरा हालिन्, के भयो त यस्तो ! भाउका बा कन अप्ठ्यारो त भएको नाइ। उनी ढोका छेउमा टोलाउँदै थिइन्। हरियो पाटन उनीतिर फर्केको थियो। पहेँला सुनबुकी नाचेका थिए। हरियो दुबो, सुनबुकी हावाको वेगमा नाचेको उनलाई निकै मनपथ्र्यो। मनको बह बुझाउन उनले आफू र जयमललाई पाटनका सुनबुकीसँग दाँज्थिन्।

भाउजू ! नासो ल्याउ त। हामी हिँड्न आँट्यौँ– तल्लाघरे आँगनमा आए।  

उनले भित्रबाट नासो ल्याइन्, उसलाई पनि सामल दिइन्। अनुहार मलिन थियो। सायदै पुरानै रैबार आउने त होइन भन्ने पीर थियो। हुँदाछँदाको जोडी छुट्टिएको खास मर्म उनलाई थाहा थियो। शिरको घुम्चो (बाक्लो सल) मिलाउँदै उनी बोलिन्, ‘राम्रोसँग गया हैयाँ सानागोसी।’  

तल्लाघरेले बिदा मागेर बाटो लागे। यसपटक उनले जयमललाई रैबार पठाइनन्, नासो मात्र थमाइन्। गाउँका सबैले आ–आफ्नो ओटालोबाट हटारु गएको हेर्दै थिए। कोही हात हल्लाउँदै थिए। बालबच्चा रुँदै थिए। बूढाबूढी मलिन देखिन्थे। हटारु सबैका निधारमा राता टीका थिए। काँधकाँधमा कुम्लो–कुटुरो, हटारुको हावभाव र लस्कर युद्धका लागि निस्केको लडाकुको जस्तै देखिन्थ्यो। वास्तवमा हाट पनि युद्धजस्तै हो। भोक, दुःख, गरिबी विरुद्धको युद्ध। यी समस्यालाई पराजित गर्नु प्रत्येक हटारुको मिसन हुन्थ्यो। परदेशी भूमिबाट धन आर्जन गर्नु, घरको गर्जाे टार्नु, खुसी उमंग भित्र्याउनु, मिठोमसिनो घरपरिवारलाई खुवाउनु– कारगिलको लडाइँभन्दा कम हुँदैनथ्यो। नयाँ ठाउँ, नयाँ भाषा हाट चुनौतीपूर्ण हुन्थ्यो। ती तमाम चुनौती युद्धका दुश्मनभन्दा कहाँ कम हुन्थे र ! हाटको यात्रा सोचेजस्तो सहज थिएन। हटारुको सबैभन्दा अगाडि थिए, घुनखोरे। बाटोघाटो सबै जानेबुझेका उनी हटारुका नाइके पनि थिए।  

साटो (छिटो) हिँड् जुवानौ (केटाहरू)। डाँफे ओडार भात लाग्नुपर्छ– भन्दै उनी अगाडिअगाडि लमकलमक पाइला सार्दै थिए। उनको पछाडि तल्लाघरे थिए। उनले बेलाबेला घरतिर आँखा लगाउँदै थिए। उनका बाले भन्दै थिए– भाउ चिन्ता नमानेस् सप्पा गरी जा।  

सबै गाउँका दिदीबहिनी आमाबुवा आआफ्ना ओटालोबाट घरका हटारुलाई हेर्दै थिए। केही क्षणमा हटारु विलय भए। झिल्के डाँडाले हटारुलाई ओझेल पाथ्र्यो।  

राति ८ बजे डाँफे ओडारमा हटारु बास बसे। सबैले आ–आफ्ना कुम्लो–कुरिटो बिसाए। सलिमान काकाले सबैलाई भने– जाउ जुवानौ भान्सा तयार गर, आगो जुटाव।  

टोलीमा उनी अनुभवी र पाका थिए। केटाहरू भान्सा तयारीमा लागे। बूढापाका तमाखु तान्दै गफिँदै थिए। रतिमान काका बोले– भोलि लुवाचडीबाट गाडी चढ्यौँ भने निकपर्सि रूपडिया पुग्न्याउँ। वीरजितले थपे– गाडी पाइयो भने पुग्न्याउँ। हटारु बसेको ओढार छेउमा हिमा नदी कलकल बगेकी थिइन्। त्यस रात हिमा शान्त थिइन्, सायद हटारुको निद्रा नबिग्रोस् भनेर मौन रहिन् कि !  

खाना खाइवरी सबैले आ–आफ्नो ओछ्यान मिलाए। पाका तन्नेरी किनारमा सुते, बालकहरू बीचमा। रतिमान काका बोले– सप्पा गरी ढुल (सुत) जुवानौ ! भोलि छकाल लुवाचडी गाडी भेटाउनुपन्र्या हो।  

भोलिपल्ट बिहानै टोली उठ्यो। सबैले आ–आफ्नो सरसामान बोके।  

घुनखोरेले हौस्याए– साटाँ हिँड गाडी बाइजाला।

वरपरका गाउँलेहरू हटारु हिँडेको हेर्थे। कोही सोध्थे– कहाँका हटारु हौ ?  

प्रतिउत्तर हुन्थ्यो– सुनपानीका हौँ।

९ बजे हटारु लुवाचडी पुगे, गाडीले हर्न दिइरहेको थियोे। रतिमान काकाले चिच्याए– ओ भाइ पखपख हामी पनि जानिउँ।  

गाडी रोकियो। सबैले आ–आफ्नो कुम्लो–कुरिटो गाडीमा राखे। भाउसिंह काका बोले– बस जुवानौ ! सप्पा गरी बस। सबैले सिट पायौँ।  

उनले हटारु गने, सबै थिए।

तल्लाघरे झ्यालमा बसेका थिए। कर्नालीको छालैछाल गाडी कुदेको थियो। सबै झपक्क निद्रामा देखिन्थे तर तल्लाघरे वरपर हेर्दै थिए। पहिलो हाट भएर होला, उनमा चिन्ता र डर थियो। नयाँ ठाउँ कस्तो हुने हो ! घरका बाआमाको दुःख मस्तिष्कमा थियो। शरीरका झुत्रा कपडा फेर्ने सपना आँखामा थियो। थालभरि मिठोमसिनो खाने रहर पनि थियो।  

अर्को दिन झिसमिसे उज्यालोमा गाडी रोकियो। कच्ची बाटो छिचोल्न निकै समय लाग्थ्यो। गाडीका सहायक चिच्याउँदै थिए– भन्सार भन्सार। ड्राइभरले हर्न बजाए।  

घुनखोरे बोले– जुवानौ, उठ उठ झर्ने ठाउँ आयो। आआफ्ना समान बोक, केही भुलौला, राम्रोसँग हेरविचार गर। हटारु सबै कुम्लो कुटिरो बोकेर सिमानातिर लम्किए। एसएसबीले सोधपुछ ग¥यो। घुनखोरे अघि सरेर जवाफ दिए, त्यसपछि सिमाना कटेर उनले कानपुरका लागि टिकट काटे। उनीहरू चढेको बस कानपुरतिर लाग्यो।  

देहातका समथर फाँट छिचोल्दै बस दिउँसोतिर कानपुर पुग्यो। सबै हटारु ओर्लिए। भिलिमिली सहर देखेर हटारु सबै अलमलमा परे। रतिमान काकाले सबैको ध्यान खिचे– ओ जुवानौ ओडा आयौ, रेल स्टेसनमा बसौँला। भोलिदेखि बेपार जाउँला। आज थकाइ मारौँ। खाना खाउँ, नुहाउँ।

सबै उनकै भनाइमा चले। रेल स्टेसन नजिकैको ढाबामा सबैले खाना खाए। एकछिन वरपर डुले। साँझ पर्दै थियो, रेल स्टेसनमै रात बिताउने सल्लाह भइसकेको थियो। आ–आफ्नो झोलालाई सिरानी बनाएर उनीहरू रेल स्टेसनको एक कुनामा लस्करै सुते।

भोलिपल्ट बिहानै सबै आआफ्ना झोला भिरेर कानपुरका गल्लीमा व्यापारका लागि हिँडे। रतिमान काका र तल्लाघरे सँगै गएका थिए। रतिमान काका तल्लाघरेलाई व्यापार गर्ने तरिका सिकाउँथे। उनी वेलावेला चिच्याउँथे– हिङ, सिलाजित, जडिबुटी... सेठजी, बाबुजी।  

कोही सोध्थे– बहादुर, क्या है ए।  

तल्लाघरे यी सबै हेरेर सिक्दै थिए। उनीहरूलाई कतै राम्रै व्यवहार हुन्थ्यो, कतै दुव्र्यवहार पनि।  

दिन बित्दै गए। एक दिन तल्लाघरेले रतिमान काकालाई भने– जलजली भाउजूको नासो जयमल दाइलाई दिनुपर्नेछ। दाइ कहाँ छन् काका ? के गर्दा छन् ? उहाँ भाउजू साह्रै दुःखी छन्। लामो सुस्केरा हाल्दै रतिमानले भने– जयमल बिचरो पर जेलमा छ। बिनाकसुर परार उसलाई यहाँ कसैले फसायो। कहिले छुट्ने हो केही थाहा छैन। भोलि जाउँला भेट्न।  

काकाको कुरा सुनेर तल्लाघरे झसंग भए।  

‘भाउजूलाई किन भनेनौ त ?’ उनले सोधे।  

रतिमानले भने, ‘तैले (त्यसले) आफू जेलमा भएको कुरा घरमा नभन्न कसम खुवाएको छ। घरमा निको छ मात्र भन्दिनु भनेर दाँते पाखुरी दिएको छ। त्यही भिअ (त्यसैले) हामी भन्दैनौँ। निको छ मात्र भन्छौँ।’

तल्लाघरे खिन्न भए। उनले पनि अरू हटारुले जस्तै जलजलीलाई ‘दाइ निका छन्’ भन्ने रैबार सुनाउनुपर्ने भयो।

बिहानै नासो पुर्‍याउन तल्लाघरे र काका कानपुर जेल गए। जेलको गेटमा सोधपुछ र चेकजाँच भयो। एकछिनमा उनीहरूले जयमललाई भेट्न पाए।  

झुस्स दारी पालेका जयमल नमस्ते गर्दै कैदी भेट्ने ठाउँमा आए।  

‘कस्तो छ त भाइ तो कन ?’ रतिमान काकाले सोधे।

‘के हुनु काका, ठिकै छ।’

तल्लाघरेले भने– भाउजूले नासो पठाइछन् दाइ। नासो समात्नेबित्तिकै जयमल रुन थाले। सधैँ नासो लिने वेला जयमल रुन्थे। नासो छुँदा उनलाई धेरै कुरा छोएझैँ लाग्थ्यो– नासोमा उनले एकैपटक श्रीमती, छोराको माया र मातृभूमिको माटोको सुगन्ध पाउँथे।  

त्यस दिन उनीहरूकै अगाडि जयमलले नासो खोले। पोकोभित्र कपडाको टुक्रा, कोइला, नुनको ढिको र रातो खुर्सानी राखिएको थियो। यी सबै चिजको अर्थ थियो। कपडाको टुक्राले लगाउने लुगा छैनन्, भएका पनि च्यातिएका छन् भन्ने जनाउँथ्यो। नुन र कोइलाको अर्थ हुन्थ्यो– नराम्ररी छु, तिम्रो लायक भइनँ र मलाई बिर्सनू। खुर्सानीको अर्थ हुन्थ्यो– म अभागिनी तिम्रा लागि खुर्सानीजस्तै पिरो भएँ, तिमीलाई दुःख दिएँ।

नासोमा छोराको फोटो पनि थियो। त्यो देखेर उनी झनै भक्कानिए र फोटोमै चुमे। रतिमान काका र तल्लाघरेले पनि आँसु थाम्न सकेनन्। जयमलले रुँदै भने– म जेलमा छु भनेर घरमा नभनेस् है तल्लाघरे। दाइ सप्पा छन् भनेस्, नत्र भाउजू मर्ने हो। मेरो रैबार यही हो भाइ।  

भेट्ने समय सकिएको प्रहरीले संकेत गर्‍यो। त्यसपछि उनीहरू छुटे।

केही दिनपछि हटारु नेपाल फर्किने भए। कानपुरबाट टोली नेपालगन्ज झर्‍यो। घरबारी टोलमा घरपरिवारका लागि हटारुले लत्ताकपडा र मरमसला किने। सबै उत्साहित थिए, तर तल्लाघरे दोधारमा देखिन्थे। जलजली भाउजूलाई झूटो रैबार कसरी सुनाउने ? भाउजूले नासो माग्दा के दिने ? उनी निका छन् कसरी भन्ने ? भनेर उनको मन पोलिरहेको थियो। तैपनि मन सम्हालेर उनले केही सामान किने। नेपालगन्जबाट टोली लुवाचडी हिँड्यो। सबै हटारु चिल्ला देखिन्थे, मख्ख थिए। हाट भरिएको थियो। खोजी न्यानो थियो। सबैले काँधकाँधमा टेप–रेकर्डर झुन्ड्याएका थिए। जसमा गीत बजेको थियो– राईझुमा झुमा क्या मस्क्याकी छ हो राईझुमा।

पाखा रंगिएका थिए। रित्ता गोरेटा हटारुले सजिएका थिए। हटारुलाई हिमा नदी हर्षले उर्लेजस्तो लाग्थ्यो। हटारुको चाल युद्ध जितेर फर्केको सेनाको बटालिएन जस्तै देखिन्थ्यो।

गोरेटा किनारका घरघरबाट हटारु हेर्न मानिसहरू लाम लागेर बसेका थिए। हाम्मा घरकाले केही रैबार पठाएका छन् कि भनी सोध्थे। उनीहरूलाई हटारुले जे छ, त्यही खबर दिन्थे, जलजलीलाई जस्तो ढाँट्दैनथे। राति अबेर हटारु सुनपानी पुगे। गाउँ निदाएको थियो। सुनसान रातमा सबै आआफ्ना घरमा गए।हटारु फर्केको भनी बिहानै गाउँमा हल्ला भयो। जलजलीले पनि थाहा पाइन्। हटारुहरू हाटको नासो बाँड्न निस्किसकेका थिए।  

तल्लाघरे सानो पोको बोकेर जलजलीको घरमा गए। जलजलीलाई पोको दिँदै भने– दाइले पठाएको नासो। दाइ निका छन्। पीर नमाने भाउजू। तर, सानो दुःखमा पर्‍या छन्। अलिकति साहुलाई रिन तिर्न बाँकी छ रे, त्यो तिरेपछि आउँन्या हुन्।  

‘दाइकन के दुःख भयाँ छ ?’ जलजलीले आत्तिँदै सोधिन्।

‘मकन धेरै कुरा भनेनन्। त्यही साहुलाई रिन नतिरी निस्कन पाउँदिनँ भन्दा थिए।’

जलजलीले आधा खुसी र आधा दुःखी मनले नासो खोलिन्– आफूलाई चोलो, गुन्यू, चुरापोते र छोराका लागि दुई जोर कपडा र एकजोर जुत्ता थिए। पाँच सय रूपैयाँ दाम पनि थियो। भोलिपल्ट नयाँ लुगा लगाएर जलजलीको छोरो गाउँभरि डुल्न थाल्यो। रतिमान काकाले सबै थाहा पाए। उनले तल्लाघरेलाई बोलाएर सुटुक्क सोधे– तैँले के गरेको भाउ (केटा) ?

‘भाउजूको मन भुलाएको काका। उनको दुःख हेर्न मेरो मनले मानेन। दाइ आएछन् भने मलाई तिर्ने छन्, नत्र ठीकै छ। म त जिल्लातिर उनको न्यायका लागि जाने हुँ।’ आफ्नो घरमा मात्रै भनेर भोलिपल्ट बिहानै तल्लाघरे जिल्लातिर लागे। जयमललाई छुटाउन सकिन्छ कि भन्ने उनको आशा थियो। जिल्लामा उनले नेता भेटे, सरकारी कार्यालयका हाकिम भेटे। तर, कसैबाट ठोस सहयोग पाएनन्। उनी निराश भएर घर फर्के। साँझतिर उनी फर्कंदा जलजली पाटनतिर हेरेर टोलाइरहेकी थिइन्, सुनबुकी मौन थिए।

प्रकाशित: १२ असार २०७८ ०२:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App