१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

प्रतिशोध

लघुकथा

खगेन्द्र बस्याल

 

वरपरका जिल्लाहरूमा भीषण वर्षापछि बाढीपहिरोले देखाएको ताण्डव नृत्य हेर्न नसकेर आँखा बन्द गरें। मन अमिलो भयो, मुटु थरथर काम्यो।

अचानक विस्पोटक पदार्थहरू पड्कन थाले। जताततै धुवाँको मुस्लो देखियो । मानिसहरू गुहारगुहार भन्दै भागदौड गर्न लागे। क्रमशः पहाड यसरी खस्यो कि तलका सुन्दर बस्तीहरू हेर्दाहेर्दै बगरमा परिणत भए। पहाड खस्न थालेको केहीबेरमै  भयानक उर्लिएको नदी थुनियो। भीषण वर्षा रोकिएन। चारैतिर अँध्यारो छायो। जङ्गलका सबै जनावरहरू पनि भागदौड गर्न थाले। तल बगरमा मानिससँगै जनावर पनि पुरिएका देखिए। नदीको सबै तटीय क्षेत्रमा कोलाहलमय वातावरण भयो।

अन्तिममा सहाराका लागि भगवानसँग सबैले ज्यानको भीख माग्दै प्रार्थना गरे। नभन्दै स्वयम् भगवान् प्रकट भएर गर्जदै भन्नथाले–मलाई हराभरा बनाउन भनेकै थिएँ। मेरो सौन्दर्य बचाउ भनेकै थिएँ। उल्टो मेरो स्वरूप  बिगार्यौ। सैयौं डोजर चलाएर मेरो शरीरलाई कताकता पुर्यायौ। विकास भन्दै मात्र  विध्वंस मच्चायौ। स्वार्थी बनेर मलाई पैसामा समेत साट्न खोज्यौ। मलाई जोगाए आफ्नो पनि रक्षा हुन्छ भन्ने कुरै कत्ति बुझेनौ। यो त तिमीहरूको कर्मको फल हो।

फेरि भन्दैछु – अझै पनि सम्भावित विध्वंस रोक्न चाहन्छौ भने मलाई तिमीहरूले बचाउनुपर्छ। माया गर्नुपर्छ। हामी दुवै एक अर्काका सहारा बन्नुपर्छ । समय टरी सकेको छैन, विचार गर।

यसरी अर्ति दिने भगवान् कस्तो रहेछ भनी मैले हेरेको त स्वयं चुरे पर्वत – चिन्यौ म को हुँ भन्दै रहेछ। म नमस्कार गर्न खोज्दै थिएँ । झल्याँस्स बिउँझिएँ।

प्रकाशित: ८ असार २०७८ १३:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App