२४ असार २०८१ सोमबार
image/svg+xml
कला

गोपी सापकोटा दाइ मेरो लेखक सबैको

– धर्म सापकोटा राजु  

 

मैले कविता लेखेको छु सुन्छस् ? 

कुरा २०४० सालको अन्तिम महिनाहरू तिरको हुनुपर्छ। म भर्खर ४ कक्षामा गएको थिएँ। दाइ ६ मा पढ्थ्यो। हामी त्यतिबेला बाग्लुङको दमेकमा बस्थ्यौ। हामीहरू त्यतिबेला दमेकबाट गैडाकोट बसाईंसराई गर्ने तरखरमा थियौं। बुवाआमा त्यसै सन्दर्भमा गैडाकोट आउनुभएको थियो। म बुर्म मामाघर बस्थें, दाइ  धुल्लु मामाघरमा बसेको थियो।

एकदिन म एक्लै दाइ र मामाहरूलाई भेट्न मामाघर धुल््लु पुगें। दाइ घरमा बसेर लेखिरहेकै थियो। अचानक मलाई त्यहाँ देखेर छक्क पर्यो र खुशी पनि भयो। त्योबेलासम्म मैले स्कुलका किताबमा लेखेकाबाहेक अरू कविताहरू सुनेको थिइन।  

मलाई लाग्छ दाइले पहिलो कविता त्यहीं नै लेखेको थियो। म पुग्दा उसले करीबकरीब एउटा कपीको पाना पूरै कविताले भरेको थियो। मामा लक्ष्मीनारायण पौड्याल बेलबगरमा शिक्षक हुनुन्थ्यो। उहाँ भान्जाभान्जी भनेपछि हुरुक्कै। उहाँ परम्परागत सोचभन्दा अलिक फरक मत राख्नुहुन्थ्यो। त्यतिबेला हामीलाई कक्षाको किताबबाहेक अरू गतिविधिहरू गर्ने अवसर या अनुमति हुँदैनथ्यो। तर, मामाले भने दाइले लेखेका कविताहरू पढेर उसलाई हौसला दिनुहुन्थ्यो।

त्यसदिन मैले दाइका कविताहरू पूरै पढें। कति बुझें कति बुझिन। अहिले त सम्झना पनि छैन। तर करिब ११ वर्षको उमेरमा दाइले रोपेको कविताको बिरुवा अहिले ठुलो भएको छ। यसै बोटमा कविताकै ३ वटा किताब फलिसकेका छन्।

त्यसको एक महिनामा हामी स्थायी रूपले गैंडाकोट सर्यौं। गैडाकोट आएपछि पनि उसको लेखनले निरन्तरता पाईरह्यो। बिस्तारै उसले कविता मात्र लेखेन, नाटक र चलतित्रका स्कृप्टहरू पनि लेख्यो। हाम्रो नजिकको नातेदार फुपाजु हुनुहुन्छ प्रसिद्ध हास्यकलाकार खेम शर्मा, उहाँ पारिवारिक भेटघाट र सांस्कृतिक कार्यक्रमका लागि गैडाकोट आइरहनुहुन्थ्यो। ४४÷४५ सालतिर हुनुपर्छ  नारायणी कला मन्दिरमा उहाँका कार्यक्रमहरू  भइरहन्थे। दाइ पनि ती नाटकहरू हेर्न गइरहन्थ्यो। दाइले कविता लेख्ने थाहा पाएर उहाँले उसलाई केही नाटकहरू लेख्न पनि सुझाउनुभयो। गोपीले पूर्णांकी र एकांकी गरेर केही नाटकहरू लेखेर देखाउँथ्यो। उहाँले हेरेर त्यसमाथि सल्लाह सुझाव दिनुहुन्थ्यो। पछि फुपाजु खेम शर्मा चलचित्रमा पनि अभिनय गर्न थाल्नुभयो। उहाँले आफ्नो भूमिका रहेको चलचित्रको स्कृप्ट हामीलाई पनि देखाउनुहुन्थ्यो। उहाँ भन्नुहुन्थ्यो – नेपाली चलचित्रमा राम्रा कथाहरूको अभाव छ। अझै पनि हिन्दी सिनेमाको प्रभाव छ।’

दाइलाई लाग्यो– म चलचित्रका लागि राम्रो स्कृप्ट लेख्न सक्छु। 

उसले भटाभट केही चलचित्रका स्कृप्टहरू लेख्यो।  र फुपाजुलाई  देखायो। उहाँ खुशी हुनुभयो र लेख्दै जानु कुनै दिन समय आउँछ भन्नुहुन्थ्यो।

२०४८ सालमा आईए दोस्रो वर्षको जाँच सकेर बिदामा ऊ फेरि मामाघर गएको थियो। दाइ मामाघरबाट फर्केको थिएन। एकदिन हाम्रो घरमा दुई जना अपरिचित पाहुनाहरू आए र गोपी सापकोटाको घर यही हो भन्दै सोधे। घरमा म एक्लै थिएँ। उनीहरूले आफूहरू बुटवलबाट आएको र चलचित्रको निर्माता भएको र चलचित्रको स्कृप्टका लागि गोपीलाई खोज्दै आएको बताए। उनीहरूको कुरा सुनेर म छक्क परें। 

त्यतिबेला “श्री” नाम गरेको चलचित्रसम्बन्धी पत्रिका निस्किन्थ्यो। दाइले त्यो पत्रिकामा उसले त्यतिबेला प्रदर्शनमा आएको चलचित्र “पिरती” हुबहु हिन्दी चलचित्र आराधनाको कपी भएको र यदि कसैलाई मौलिक चलचित्रको स्कृप्ट चाहिन्छ भने पैसा लिएर गैडाकोट मलाई भेट्न आउनु भन्दै पाठक प्रतिक्रिया लेखेको थियो। उनीहरू त्यही पढेर गोपीलाई भेटन आएका रहेछन्।  

मैले दाइले लेखेका केही स्कृप्टहरू देखाइदिएँ, उनीहरूले सर्सर्ती हेरे र गोपी आएपछि बुटवल भेट्न पठाइदिनु भन्दै गए। जाने बेलामा उनीहरूले आफ्नो परिचय पनि दिए।  तीमध्ये एकजना बुटवल चलचित्र हलका मालिक र “चेलीबेटी” चलचित्रका निर्माता प्रदिप उदय रहेछ् । पछि दाइ मामाघरबाट आएपछि बुटवल गएर उनीहरूलाई भेट्यो पनि। चलचित्र “चेलिबेटी”मा अभिनय गरेका कलाकारप्िरतको राजनैतिक पूर्वाग्रहका कारण चलचित्रले राम्रो व्यापार गर्न सकेन, र पछि उनीहरूले अर्को चलचित्र बनाएनन्।

हामीले सडक नाट्य समुह स्थापना गर्यौ २०४९ कार्तिकमा दाइ, म, थानेÞवर, श्रीराम र धर्मराज सापकोटा मिलेर। स्थापनाकै दिन हामीले अशेष मल्लको अनादिक्रम नाटक संग्रहबाट‘क्रमशः यात्रा’ नाटक मन्चन गरेका थियौं। नाटक मन्चनको केही समयपछि नारायणघाटको एउटा कार्यक्रमममा दाइ र अशेष दाइको भेट भयो। त्यसपछि दाइको यात्रा नाटक र सडक नाटकतर्फ उन्मुख भयो। मधुपर्क, गरिमा र समकालिन साहित्यमा उसले लेखेका नाटकहरू देखापर्न थाले। दोस्रो किताबको रूपमा २०५४ सालमा दाइको नाटक संग्रह ‘पूर्णविराम’नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भयो। त्यसपछि ऊ कवि संगसंगै नाटककारको रूपमा पनि स्थापित हुन पुग्यो। हालसम्म उसका ४ वटा नाटक कृति प्रकाशित छन्।

यति हुँदा पनि दाइले उपन्यास लेख्ने जमर्को गरेको थिएन। त्यो जमानामै पूर्णांकी नाटक र पछिसम्म पनि चलचित्रका स्कृप्ट लेिखसकेको उसलाई उपन्यास लेख्नु कुनै ठुलो कुरा त थिएन, तर खै किन हो उसले जाँगर गरेको थिएन। कवि र नाटककारकै रूपमा रमाइरहेको थियो। 

गत वर्ष बेलायत कोरोनाका कारण नराम्ररी प्रभावित थियो। लकडाउनका कारण हामीहरू घरबाटै काम गरिरहेका थियौं। यसैबिच दाइले त ‘काँचो कागज’ उपन्यासको ड्राफ्ट नै तयार गरिसकेछ।  एकदिन उसले मलाई फोन गरेर भन्यो – ‘नयाँ उपन्यासको फस्ट ड्राफ्ट तयार गरें।’ 

म त छक्क परें, कहाँबाट आयो यसलाई उपन्यास लेख्ने मोटिभेसन ? करिब नब्बे हजार शब्दको किताब उसले छ महिनाको अवधिमा लेिखसकेछ। दाइका लगभग हरेक किताब प्रकाशन अघि पढिसकेको छु। दाइले काँचो कागज इमेल गरिदियो। मेरो रिसर्चका तयारीका लागि मसंग टाइम नभए पनि फुर्सद निकालेर मैले यो ड्राफ्ट तुरुन्तै पढेर सकें। कितावमा सामान्य भाषाबाहेक अन्य केही समस्या देखिन।

‘काँचो कागज’दाइको लेखनको अनुभवले पकाएको किताब हो। काँचो कागजमा दाइ स्वयंले देखेका, पढेका र भोगेका अनुभूतिहरूलाई कथाको माध्ययमबाट प्रस्तुत गरेको छ।  यो किताब आध्यात्म र प्रेम बिचको समानता र भिन्नताको  विश्लेषणमा आधारित छ। प्रेमले संसारिक र आध्यात्मिक जीवनलाई कसरी जोड्छ र कसलाई तोड्छ भन्ने कुरा नै यस उपन्यासको मुख्य केन्द्र रहेको छ। त्यति मात्र होइन  काँचो कागजले  आध्यात्म र प्रेम एउटै सिक्काका दुइटा हैन एउटै पाटा हुन भन्ने झल्को पनि दिन्छ। कवि नाटककार हुँदै उपन्यासकारका रूपमा पर्दापण गरेको दाइलाई यो उपन्यास संगसंगै लेखन क्षेत्रको पनि उच्चतम शुभकामना !!

प्रकाशित: ११ वैशाख २०७८ ०६:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App