२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

धामी

लोककथा

– किशोर सुब्बा (लिम्बु)  

 

‘टेकुवा टेक्दै सरर ...

चार दिनको बाटो कटारे बजार ...।

बाघविरेको ढाकारमाथि रेडियोमा रेडियो नेपालबाट जे.वि. टुहुरेको गीत बजिरहेको थियो । बाख्रा हुल्ने बेला भैसकेको थियो । घामले पहेला खुट्टा तानिसकेको थियो । उकालो अझै धेरै बाँकी थियो । सबैभन्दा जेठोबाठो बाघविरे अरू सबै उरन्ठयाउला केटाहरूको मुखिया नै थियो भनौं । बाघविरे अगाडि–अगाडि हिँडेको थियो । बेलुकाको बासको चाँजोपाँजो मिलाउनुपर्ने पनि उसैको जिम्मा थियो।

घुम्ती काटेर अलि सजिलो ठाउँ हेरेर बाघविरेले तोक्मा टेकायो । टाउकोको नाम्लो झारयो अनि खकन र तोक्माको भरमा ढाकार अड्यायो । उकालो हेरयो अनि लामो सास फेर्दै खुइँय गरयो । चोयाको गोलो बनाएको पसिना झर्नेले पसिना झरयो । तलतिर केटाहरूलाई हेरयो । कोही पात बजाउँदै थिए । कोही हाक्पारे हाल्दै थिए । छेउघरे कान्छा भने ‘में मट्टीका गुट्टा’ भन्ने गीतको एक टुक्रा एकोहोरो गाइरन्थ्यो । धरानमा नुनको भारी हालेर फिलिम हेरेपछि छेउघरेले बुझेको पनि त्यत्ति नै होला । साँघुरी भञ्ज्याङ्गको बाटोभरि जतिबेला पनि त्यही गीत मात्रै गाइरहन्थ्यो । 

‘हाउ लु अलि छिटो पाइला सारुङ्ग है । घामले खुट्टा तानिसक्यो।’ बाघविरेले सबैलाई उर्दी ग¥यो ।  

‘लौलौ.. अगाडि गएर भात पकाउँदै गर है बाघविरे दाइ ।’धनेले तोक्मा टेकाउँदै भन्यो।  

‘बिहान बेलैमा हिँड्नुपर्छ भनेको आलटाल गरी बसेउ मोराहरू...हाउ बास पुग्नु पो हम्मे पर्ने भो ता गाँठे... लु है छिटो छिटो गर’ भन्दै बाघविरे उकालो लागे।

साँझ झम्क्कै परिसकेको थियो । अध्याँरोमा बाटो जसोतसो पहिल्याउँदै एउटा घरमा पुगे । बाटोमुनिको घरमा मान्छेको चालामाला सुनसान थियो । बाँसको टाटी बेराभित्र धिपिक– धिपिक आगो बलेको देखिन्थ्यो । बाघविरेले भित्तामा ढाकर अड्याएर बासको चाँजोपाँजो मिलाउन घरतिर लागे ।

‘हाउ... को हुनुहुन्छ हाउ घरमा ? परदेशीलाई बास दिनुपरयो हजुर । हामी ता साँझमा अभर पो पोरिगोइङ्ग हाउ...’ बाघविरेले भित्रतिर चिहाउँदै भन्यो । घरमा कोही पनि बोलेनन् । बाघविरे दैलाछेउ गएर भित्र आगो बलेकोतिर चिहायो । अगेनाको तल्लोपट्टि ओेछयानमा नानीलाई ओखती पानी खुवाउँदै गरेको छोरी मान्छे आगोको मधुरो उज्यालोमा देख्यो।  

‘हाउ आमै, लु प्रदेशीहरू ता अभर पो पोरिङ्ग ता । लु आज एक रात यसो रात कटाङ्गने दिनुपरयो । बिहान सबेरै जाइजान्छुङ्ग । टाढो जानु छ ।’ बाघविरेले हातमा बोकी ल्याको टोपी लगाउँदै भन्यो।  

‘खौ त परदेशी दाजु हो कि भाइ हो ? रातसाँझको पाहुना बास दिनु त हुन्थ्यो । घर पनि यस्तो छ । छोरा मान्छे पनि छैन । छोरी विरामी भएर इन्तु न चिन्तु छे । अलिमाथितिर खोज्नुस् है बास...’ गरौं मान्दै भित्रबाट जवाफ आयो।

अगाडि जाने आँत मरिसको थियो । अध्याँरोमा भारीसँग कसरी अगाडि जानु सकिएला र ? बरु यतै जोर विन्ती गरी रातको तीन प्रहर गुजार्न पाए भन्ने थियो । टोपी झिकेर टाउको कन्याउँदै बाघविरेले केही जुक्ति सोच्यो। 

‘हाउ आमै, लु अलिकति खानेपानी दिनु त साह्रो घाँटी सुक्यो।’

‘टाढोबाट बोकी ल्याउनुपर्छ । नानी विरामी भाकाले पानी ल्याउनु पनि भ्याइन’ भन्दै लोटामा पानी ल्याइदिइन् । पानी खाइसकेपछि पो बाघविरेलाई जुक्ति फिरयो । हैन त्यो आम्बोटे माइला त धामी जस्तो नकल गरी बस्छ ता जतिबेलै । उस्को बाजेले अन्साइपन्साइ गरेको त ठ्याक्कै पो पारा ल्याउँछ ता । अबो बास बस्न यति जुक्ति ता लाउनै परयो भनेर बाघविरेले विचार गरयो ।

–हाउ आम,ै अनि नानी कहिलेबाट बिरामी भाको नि। ‘आधा दिन तिरबाट है परदेशी दाजुभाइ । एक्कासि छाद्नु र छेर्नु गर्दै एकैछिनमा अलसतलस भैगयो । छोरा मान्छे पनि नभाको बेला । धामी बोलाई ल्याउनु पनि सकिन । अलिकति झुम्रो पोलेर अलिकति विखुम्बा र तातो पानी दिएपछि अलि बीसको उन्नाइस भएर एकछिन सुतेको छ । मेरो त मासु नै खायो यो डल्लीले त।’

‘हाउ लु, हाम्रो आम्बोटे माइला पनि अलिअलि झारफुक ता गर्छ । यो विरानो ठाउँमा गुरु आउँछ कि आउँदैन म सोधी हेर्छु है ता आमै।’ बाघविरे घरपछाडि गयो । साथीहरू भारी बिसाएर बासका लागि बाघविरेको बाटो हेरी बसेको थिए । बाघविरेले आम्बोटे माइलालाई सबै कुरा सुनायो । आम्बोटे माइला सुरुमा त डरायो गाउँघरमा पो बाजेको सिको गर्दै बाजेलाई जिस्क्याउँदै हिँडेको विरानो ठाउँमा देउदेउतालाई जिस्क्याउँदा के पो भै गोयो भने ? अनि फेरि सोच्यो सबै न्याउरो मुख लाएर उसैको मुख ताकी बसेका अरू ता अरु अलि भरपर्दा जेठोबाठो भनेको बाघविरे पनि उसैको शरणमा परेको यो आपत सम्झेर आम्बोटे माइलाले स्टाकोटको गोजीबाट टोपी निकाल्यो।

 ‘लु हिंड बाघविरे दाइ, म मन्साइदिन्छु।’  

भित्र गएर आम्बोटे माइलाले कासको थालमा एक मुठी चामल माग्यो । अनि अलिकति कोइला र सुनापाती भैरुङ्गपाती माग्यो । सुनापाती भैरुङ्गपाती छैन भनेपछि आम्बोटे माइलाले ‘हाउ बाघविरे दाइ । जाउ त अलिकति सुकेको तितेपातीको धुप खोजी ल्याउ।’

आम्बोटे माइलाले विरामीको निधारमा अक्षता छुवाएर शिरदेखि पाउसम्म अक्षता छुवाउँदै मन्साउन थाल्यो।  

लौ जदौ...

तिमी जगर बगरको धनी  

कैले मधेशतिर डुलिहिँड्ने

कैले हिमाल कैलाश पर्वततिर डुलिहिँड्ने  

कैले जगर बगरमा शिकार खेली हिँड्ने

सुनैको थाँक्रो

सुनैको धनुबान

बोकी हिँड्ने

तिमी सिकारी राजा, तिमी सिकारी रानी

हिंड्दै जाँदा, खोल्दै जाँदा 

तिम्रो छाया यो दुधामुखी बालाखामा परेछ 

तिमीलाई सुनपंखी भाले चढाई

सुनापाती भैरुङ्गपातीले सेवा गरेको छु जदौ.....

तिमीलाई मान मनितो गरीकन मन्साइदिएको छु  

तिमी आफ्नो बाटो 

हाँस्दै जानु

खेल्दै जानु 

यो दुधामुखी बालाखाको शरीरलाई छोडी जानु

जूनजस्तै उज्यालो

घामजस्तै उज्यालो बनाइदिनु  

लौ परमेश्वोरा .....लौ जदौ....

अरू केके भन्दै लामो फलाक्यो अनि काँसको थालमा चामलका गेडा जोर–जोर पार्दै निकैबेर जोखाना हेरयो । अनि भन्यो ।  

‘यो नानी आज अलि एकान्त ठाउँमा झस्केछ । जंगलको लागेछ । मैंले एउटा कालो भाले भाकिदिएको छु । यो नानी उठेपछि अलि जान्ने धामी बोलाएर जंगली गर्नु लगाउनु । अहिले यो अक्षता नानीको सिरानीमा राखिदिनु बिउँझेपछि एकदुई गेडा खानुदिनु । निको हुन्छ । आतिनु पर्दैन।’

घरबेटी आमैले सबैलाई जाँड खाजा बनाइदिए।  

‘बास ता लु यसै कसो हो । मिलेर बस्नुहोस् है परदेशी दाजुभाइहरू.. । छोरी मान्छे मात्रै छुङ्ग । डल्लीको बाउ पनि आरा काट्नु बेंसीतिर गा’को छ । घरमा चामल पनि छैन । एकछाक पकाएर खुवाउनु पनि...। लु यस्तैमा दुखसुख बस्नुहोस है’ भन्दै विस्मत गर्न थालिन् । बाघविरेले मेलो मिलेकोमा हत्तार लय मिलायो।

‘हैन आमै, हामीलाई एसो सिकुवामा एकरात छल्ने ठाउँ भए ता भैगोयो । चामल भाँडा हाम्रै छ । अलिकति दाउराचाहिँ दिनुहोस् । पानीपँधेरा कता छ । हामी आफै ल्याउँछौ । हाउ छेउघरे र धने दुई भाइ भएर लु पानी लिएर आउ ता । बरु एक भाइले आमैको गाग्रोमा पनि ल्याइदेउ।’

बाघविरेले आँगनको कुनामा चुल्हो हालेर ठिक बनायो । सबैलाई आआफ्नो चामल निकालेर भाँडामा हाल्न लगायो । भात पाकेपछि परदेशीहरूले ता–तातो भात खाए । भोकले हैरन भएका परदेशीहरूलाई गुुन्द्रुकको झोलसँग अकबरे खोर्सानी टोक्दै मिठो गरेर भात खाए।

‘कम्ती मिठो भएन गाँठे।’ठ छेउघरेले थाल चाट्दै भन्यो।  

‘हाउ हाम्रो बाघविरे दाइको हातले पकाको भातचाहिँ साह्रै मिठो । हाउ एस्तो मिठो भात पकाएर खुवाउने बुढा पाउने भाउजूचाहिँ साह्रै भाग्गेमानी हाउ।’ 

‘के भन्छ जाँठा । घरमा आइमाई हुँदाहुदै को भात पकाउँछ । भात मिठो हैन केटा भोक मिठो हो।’  

सबै गलल हाँसे । भात खाइसकेर भाँडा माझेर राख्ने बेला सबैले एकएक मुठी नुन झिकेर बासको दस्तुर घरबेटीलाई दिए । लिनै मानेकी थिएन । रातसाँझमा लगाएको गुन सम्झाउँदै बाघविरेले भित्रै लागेर राखिदियो।

लहरै ढाकार राम्ररी अढ्यार प्लास्टिकले शीत नछिर्ने गरी छोपे अनि सबै जना खासखुस गर्दै मनमनै अलिअलि डराउँदै सिकुवामा लाइनै सुते । गलेको ज्यान एकैछिनमा एक–एक गर्दै भुसुक्क निदाउन थाल्यो । धने त धुर्न थालिसकेको थियो । आम्बोटे माइलाको मन भने झन्–झन् डराउँदै थियो । बास बस्नुका लागि फटाइँ ता गरियो भोलि त्यो नानी तलमाथि भयो भने ? देउता रिसाएर आफैलाई गर्नु नगर्न गरयो भने ? मनमा खुलदुली भरिएपछि बिस्तारै भन्यो। 

‘हाउ बाघविरे दाजु, भोलि बिहान भाले नबासी सुइँकुच्चा ठोक्नुपर्छ है । हाउ त्यो नानीलाई केही भैगोयो भने त बिताउँछ हाउ।’

‘हे केही हुदैन नडरा । बरु बिहान छिट्टै हिँड्नुपर्छ । पारि उकालो घाम आउनु अगाडि कटाइयो भने भोलि बास बस्नु सजिलै हिले पुगिन्छ।’ एकछिनमा सबै भुसुक्क निदाए।

‘हाउ छेउघारे.., हाउ आम्बोटे माइला..., हाउ धने लु उठुङ्ग ता झन् छिट्टै हिँडुङ्ग है भनेको ता उज्यालै भैगएछ नि । लु.. लु.. छिटो गरुङ्ग भरे उकालोमा घामले भेटिल्यङ्छ को ।’ बाघविरेले सबैलाई उठायो । अनि ओढ्ने र ओछ्याउने ढाकारमा मिलाएर राख्यो । धने भने अझै घुर्दै सुतिरा’को थियो । छेउघरेले ओढ्ने तानेर उठायो । फेरि अर्कोपट्टि फर्किएर घुर्न थाल्यो । बाघविरेले एक अँजुली पानी धनेलाई छेपिदियो। 

‘अच्या जाँठा के गर्छ को...’ को ... धने मुुरमुरिदै उठ्यो। 

‘हाउ धने, छिटो गर्न न हाउ...।’ बाघविरे भनी नसक्दै भित्रबाट घरबेटी आमै निक्लिएर ‘आम्मै परदेशी दाजुभाइहरू कहाँ जानु लागेको । लु हुदेना।

बस्नुपर्छ । यसरी कहाँ जानु पाइन्छ...।’भन्दा ता परदेशीहरूको सबैको ओठतालु नै सुकेको थियो । सबैले बाघविरेतिर मुखामुख गरे।

‘हैन, आमै टाडो पुग्नुपर्ने ढिला हुन्छ । हामी जान्छुङ्ग।’ डराउँदैडराउँदै न्याउरो मुख लगाएर बाघविरेले भन्यो। 

‘हैन,कहाँ हुन्छ तेसरी । यहाँ म आइमाई केटाकेटी मात्रै छुङ्ग । कता मान्छे खोज्नु जानु । लु यो तपाईहरूले नै गरिदिनुपर्छ।’

अबो झन् सबैको सातो नै गायो । लौ वित्यास परयो अब । नानी त गएछ क्यारा । आम्बोटे माइला त थचक्कै भुईंमा बस्यो अनि टोपी निकालेर दुवै हात गालमा तोक्लाङ्ग लगाएर मन मनै आफैलाई सराप्यो । लु एत्रो खा जाँठा अब । खुब धामी भै खाइस् हैन । मनमनै आफैलाई लोप्पा खुवायो । अबो के गर्नुपरेको टार्नु त परिगयो । जोठोबाटो बाघविरेले नै कुरा बुझ्यो।  

‘हैन,आमै हामी परदेशीले अब के गरिदिनुपरयो हजुर । लु भन्नुहोस् न ता हामीले सक्ने ता गर्दिहाछुङ्ग नि...।’  

त्यतिबेला पो भित्रबाट डोको लिएर निस्किदै ‘आमा, म पँधेरा गएँ है’भन्दै ती विरामी नानी पँधेरातिर पो लागिन् । बल्ल पो सबैको सास आयो।

‘हैन,यो नानी त साह्रो जान्ने धामी रैछ । डल्ली त मध्यरात ढालेपछि त उठेर भात खोजेर खायो । अनि चङ्गा न चङ्गा भएर धेरैबेर बात मारेर सुत्यो । परदेशी धामीले मन्साइदिएको भनेको लु आज बिहान नै त्यो भाले पूजा गर्न लगाएर भात खुवाएर मात्रै पठाउने भनेर धारातिर पानी लिन गयो । लु बसुङ्ग । ऐले डल्ली आएर खाजा बनाउँछ।’

सबै ढुक्क भएर मुखामुख गरे । पिंढीमा बसेर बाघविरेले ढाल्नेको पातमा लाम्पाते सुर्ती बेरयो । निकैबेर ठोसेर चकमक पारयो । आम्बोटे माइलाले पनि ‘हाउ बाघविरे दाइ, खै एक चुरुप सुर्ती ल्याऊ ता आज मजाले तान्नुपरयो जिन्दोकीमा...।’

बिहान झुल्के घाममा कालो भालेले जंगली पूजा गरिदियो । बाघविरेले कुखुरा बनाइदियो । मजाले मासुभात खाएर परदेशीहरू नुनको भारी बोकेर खुशी हुँदै बाटो लागे ।

प्रकाशित: २८ चैत्र २०७७ ११:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App