एक महिना पहिले
जब आँप ढकमक्क फुल्दा
जुन खुसी पलाएको थियो
जुन आशा र उमंग भरिएको थियो
त्यो आँपको फूलभन्दा
कता हो कता अधिक खुसी
जस्तो कि तिन वर्ष पहिले
एकमना सरकार बन्दा थियो ।
तर
आकाशको कालो बादलसँगै
मनमा शंकाको बादल
कताकता मडारिएको थियो
मोती दाना बर्सिएर
आँपको फूलसँगै
खुसीमा बज्रपात हुन्छ कि
तर त्यसो भएन
खुसीमा दाग लाएन
जस्तो कि
एकमना सरकारलाई
कुनै विपक्षी छेकबार लाएन ।
अति भए खती हुन्छ भन्थे
सायद त्यस्तै हो कि कुन्नि
वातावरणीय प्रतिकूलता आयो
वा भित्रभित्रै भाइरसले खायो
आँपमा फल होइन
फूल जति सबै धर्तीमा छायो
आशा–उमंगले भरिएको
यो मन त्यसरी नै कुँडिएर आयो
जसरी कि
कुर्सीमा बस्नेले
अरू कसैलाई गन्दै नगन्दा
मबाहेक अरू पनि छन् नभन्दा
कबुलनामा कागजी खोस्टो मान्दा
जनताभन्दा जदौ गर्ने ठूलो ठान्दा,
अनि
कुर्सीको लागि मुख बाउनेले
म र मेरा मात्र खोजी हिँड्दा
सिध्दान्त होइन शक्ति रोज्दा
सिकाउनेको बुई चढ्दा ,
यो उहिलेको कुरुक्षेत्र जस्तो
रणसंग्राम पो भयो
मन चस्किएर आयो ।
यो आँप त अर्को साल
फेरि फुल्छ फल्छ
तर
मेरो सपनाको समाजवाद
अब कहिले फुल्ने फल्ने हो ?
प्रकाशित: २७ चैत्र २०७७ १०:५७ शुक्रबार