गत सिजन (भदौ–कात्तिक) मा कञ्चनजंघा बेस क्याप क्षेत्र घुम्न आउने विदेशी पर्यटक अत्यन्तै कम थिए। बरु दसैँपछि आन्तरिक पर्यटकको सामान्य चहलपहल देखियो। कोभिड–१९ का कारण यो सिजनमा बेसक्याम क्षेत्रमा पर्यटक आउन नसक्दा होटल लगायत पर्यटकमा आधारित व्यवसाय ठप्प भए। चालू सिजन (चैत–जेठ) मा पर्यटक बढ्लान कि भन्ने आशा सो क्षेत्रका व्यवसायी गरेका थिए।
‘अघिल्लो सिजन कोरोनाका कारण पर्यटक आउन नसक्दा यो क्षेत्र सुनसानजस्तै भयो। योपल्ट पनि सुनसानै छ। अघिल्ला वर्षमा भ्याइनभ्याई हुने यस क्षेत्रमा यसपालि पनि बढ्ने देखिएको छैन,’ घुन्साका पर्यटन व्यवसायी धार्के (दीपक) शेर्पा भन्छन्, ‘होटल बुकिङ भएका छैनन्। होटल व्यवसायी तयारी अवस्थामै छौँ।’ यहाँ घुम्नका लागि अत्यन्त महत्वपूर्ण भए पनि उलेख्य संख्यामा पर्यटक भित्रिन सकेका छैनन्।
बाह्य पर्यटक मात्र नभई आन्तरिक पर्यटकलाई जोड दिइनुपर्ने उनी बताउँछन्। ‘नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको बेसक्याम्प क्षेत्रमा अनगिन्ती विशेषता छन्। घुमिरहुँ लाग्ने भूगोल छ,’ उनी भन्छन्, ‘यस क्षेत्रको प्रवद्र्धनमा हामी पनि प्रयासरत छौँ।’ कञ्चनजंघा हिमालका साथमा यहाँ कञ्चजनजंघा मध्य, कञ्चनजंघा दक्षिण, फक्ताङलुङ, यलुङकाङ, काङबाचेन, किरात चुली, जोङसाङ, काब्रु, गिमीगेला, डोमा, पाथीभरा जस्ता हिमाल छन्। सडक पनि टाढा रहेको तथा अनेकौँ विशेषता भरिपूर्ण यो क्षेत्रलाई कुमारी गन्तव्यको रूपमा हेरिएको छ।
तुलनात्मक रूपमा कञ्जनजंघा हिमाल कम मात्र आरोहण भएको छ। काठमाडौंदेखि टाढा पर्ने, ताप्लेजुङको सुकेटारको विमान स्थलको भर नपर्ने हुँदा कम पर्यटक आएका हुन सक्छन्। यो क्षेत्रको महिमाको पर्याप्त प्रचार भएको देखिँदैन। ‘गत सिजनमा १२ जना मात्र विदेशी आए। गत वर्ष सात सयको हाराहारीमा थिए,’ पर्यटन व्यवसायी टासी तेन्जिङ भन्छन्, ‘पदमार्ग क्षेत्रमा पर्यटकका सुविधाका लागि होटल, टि हाउस खुलेका छन्। हिँड्नका लागि बाटो पनि खासै अप्ठेरो छैन।’
कञ्चनजंघाको उत्तरी र दक्षिणी बेस क्याम्प, फक्ताङलुङ हिमाल यहाँको अत्यन्त महत्वपूर्ण क्षेत्र हो। यहाँ प्राकृतिक सौन्दर्य, हिमाली संस्कृतिमा रमाउन सकिन्छ। ८,५८६ मिटर उचाइको यस क्षेत्र घुम्न उत्तिकै रोचक र रमाइलो हुन्छ। उत्तरतर्फ पाङपेमा र दक्षिणतर्फ ओक्ताङ बेस क्याम्प छ।
घुन्सा र चेराम भन्ने ठाउँ जोड्ने सेलेले पास छ। यही पास गरेर दुवै बेस क्याम्प क्षेत्र घुम्न सकिन्छ। ताप्लेजुङ सदरमुकामबाट सेकाथुमसम्म र दक्षिणतर्फ याम्फुदिनसम्म गाडी पुगेको छ। ताप्लेजुङको सुकेटारसम्म कालोपत्रे सडक छ। यहाँ एयरपोर्ट समेत छ। यहाँबाट कञ्ची सडक भएर सेकाथुम पुग्न करिब पाँच घन्टा लाग्छ। कतिपय विदेशी सुकेटारबाटै हिँड्छन्।
रानीपुलदेखि सेकाथुम आम्जीलेसा हुँदै दुई दिनमा घुन्सा पुगिन्छ। उपत्यका जस्तो घुन्सा अहिले सहर जस्तो भएको छ। घुन्सादेखि खम्बाचेन, लोनाक हुँदै तीन दिनमा उत्तरी पाङपेमा बेसक्याम्प पुगिन्छ। यो ५ हजार १ सय ४० मिटर उचाइमा पर्छ। खम्बाचेनदेखि फक्ताङलुङ (कुम्भकर्ण) हिमालको बेसक्याम्प जान मिल्छ। सेलेले पास गरेर दुवै बेस क्याप पुग्न सकिन्छ। ओक्ताङ साउथ बेसक्याम्प ४,७५० मिटरमा छ। याम्फुदिनसम्म गाडीमा तोरेङदिन, चेराम, रामजेर हुँदै साउथ बेस क्याम्प पुगिन्छ।
यस क्षेत्रमा बस्नका लागि होटलको सुविधा छ। भौगोलिक रूपमा केही टाढा देखिए पनि यसलाई ‘भर्जिन डेस्टिनेसन’का रूपमा लिन सकिन्छ। कञ्चनजंघा संरक्षण क्षेत्रका संरक्षण अधिकृत गणेशप्रसाद तिवारी यस क्षेत्रमा आन्तरिक पर्यटकलाई बढोत्तरीको पहल आवश्यक भएको बताउँछन्। उनी भन्छन्, ‘अनेकन सम्भावना भए पनि पर्याप्त पर्यटक ल्याउन सकिएको छैन। हामीले प्रयास गरिरहेका छौँ।’
जैविक विविधता
२०५४ सालदेखि यो क्षेत्रलाई संरक्षण क्षेत्रका रूपमा विकास गरिएको थियो। २०६३ असोजमा समुदायलाई हस्तान्तरण गरिएको थियो। यो क्षेत्र २ हजार ३५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। ओलाङचुङगोला, लेलेप, तापेथोक, याम्फुदिन क्षेत्रमा पर्ने यो संरक्षण क्षेत्र विभिन्न विविधता कारण पनि महत्वपूर्ण छ। हिमाली जनजीवन, शेर्पाहरूको जीवनशैली, याक, चौँरीको बसोबास, महत्वपूर्ण जडीबुटी, प्राकृतिक सौन्दर्यता आनन्दायी लाग्छ। व्यवस्था, भागदौडबाट समय निकालेर केही दिन प्रकृतिमा विचरण गर्न निम्ति यो ठाउँ महत्वपूर्ण छ।
हिउँ चितुवाका लागि यो क्षेत्र महत्वपूर्ण छ। यो क्षेत्रमा रैथाने र घुमन्ते गरी तीन सय तीन प्रजातिका चरा पाइने कञ्चनजंघा क्षेत्र संरक्षण परिषद्बाट प्रकाशित पुस्तकमा उल्लेख छ। यीमध्ये दुई प्रजातिका चरा विश्वमै लोप हुन लागेका छन्। यहाँ २ सय ६६ ताल छन्। विभिन्न नामका हिमनदी छन्। यहाँ ६ प्रकारका सर्प, चार प्रजातिका छेपारो, १५ प्रजातिका उभयचर, २१ प्रजातिका माछा पाइने उक्त पुस्तकमा उल्लिखित छ। यहाँ तितेमाछा पाइन्छ, जो रैथाने हो। ८३ प्रजातिका कीरा फट्याङ्ग्रा, ८ सय ४४ प्रजातिका फूल फुल्ने प्रजातिका बिरुवा पाइन्छन्।
हिमाली क्षेत्रको गहना मानिएका चौँरी यहाँ भेटिन्छन्। हिमाल, हिमाली क्षेत्रका साथै चौँरीको क्षेत्रको अवलोकन गर्नु महत्वपूर्ण हुन्छ। भारत र चीनसँग जोडिएकाले यो क्षेत्रलाई सामरिक महत्वका साथ हेरिने गरिन्छ। कञ्चनजंघा हिमालको पहिलो आरोहण १९५५ मे २५ मा भएको पाइन्छ। जाँज बैड र जो ब्राउनले सबैभन्दा पहिले यो हिमाल चढेका थिए। यो हिमाल चढ्नेको संख्या कम छ। यो क्षेत्रमा घुम्न आउनेको संख्या पनि कम छ।
प्रकाशित: १४ चैत्र २०७७ ०२:३० शनिबार