जब जन्मन्छ सुन्दर विचार
मनको अँध्यारो कुनामा
गौरवान्वित हुन्छ एउटा युग
उज्यालो हुन्छ संसार
त्यही खिरीला विचारसँगै
त्यही विचारको पारिलो किरणसँगै
तर
जब त्यो विचार पोटिलो हुन्छ
शरीरमा मासु लाग्छ
तंग्रिन्छ अनि हिँड्न खोज्छ
रहरलाग्दो हुन्छ
आँखा लाग्न थाल्छ वधकर्ताहरूको
र
उध्याउँछन् हतियारहरू
उभ्याउँछन् मतियारहरू
लाग्छ तिनलाई
आज इतर बिचारको वध हुँदैछ
तर स्पातिला बिचार
न बाङ्गिन्छन्
न खिइन्छन्
न भाँचिन्छन्
न काटिन्छन्
न भासिन्छन्
न अत्तालिन्छन्
न हतासिन्छन्
किनकि
विचार निरपेक्ष हुन्छ
यो समयसँगै बद्लिँदैन
पानीजस्तो खलबलिंदैन
बाटो हराएको बटुवाजस्तो अलमलिंदैन
विचार सतिसाल हो, बद्लिँदैन
आठौं सन्तान हो विचार
वासुदेव र देवकीको
जति पछारे पनि दुष्ट कंसहरूले
यसको वध हुनै सक्तैन
त्यसैले, विचार विचार हो
यसको वध हुनै सक्दैन
कसैले एकछिन थिचेर राख्ला
विचारको होचो कद हुनै सक्दैन।
प्रकाशित: २२ फाल्गुन २०७७ ०४:०१ शनिबार