८ वैशाख २०७८ बुधबार
कला

अभिलेख खोज्दै जाँदा मनको बाघले खाको दिन

नियात्रा

यस यात्रामा जनबस्ती, गाउँ शहर र अभिलेखहरू खोजी  गर्ने उत्कट इच्छा पालेर पश्चिमको कोहलपुर पुगेको थिएँ । कोहलपुरबाट उकालो लागेपछि जंगली जनावरहरूको डर र रमाइलोसँगै सभ्यता र भाषाको उद्गमस्थलहरूको भ्रमण गर्ने र गाउँलेसँग पुर्खाका कुरा गरेर गफिने मौका मिलेको थियो । कोहलपुरबाट अगि बढेपछि छिन्चु आउँछ सुर्खेत अगि । छिन्चुको नजिकै छ दशरथपुर । छिन्चुबाट भेरी खोलाको झोलुङ्गे पुल तरेपछि दशरथपुर पुगिन्छ ।

सुर्खेत जिलाको दशरथपुरको पुरानो संरचना भन्नौं यहाँको जीवनज्योति मावि २०२७ साल स्थापित भएको रहेछ । यहाँका क्षेत्रहरूमा कागते खोला, कृषि अनुसन्धान केन्द्र, दशरथपुर बजार र गम्म खोला पर्दछन् । दशरथपुरको पुरानो नाम डाँडागाउँ थियो रे । पछि डाँडागाउँ लेकफार्सा भयो र वर्तमान दशरथपुर हुन गएको हो रे।  

दशरथपुरका वस्तीहरूमा चापागाईं, पौडेल, तिवारी, कामी, घर्ती मगर, गाहा मगर, अधिकारी, बोहोरा, राना, दमाई आदि जाति जनजातिहरूको बसोबास छ । यहाँको बजार माझमा रहेको सार्वजनिन शिवमन्दिर आस्थाकै केन्द्र स्वरूप देखिन्छ ।  

दशरथपुरको दक्षिणतिर भेरी नदी घुम्दै वगेको छ जुन ठाउँ सुन्दर छ । दशरथपुर गाविमा ९ वटा छन । भैंसेदमार, खारपानी, न्याँवारे, गोरामोर, राताटार, घुम्ने, कमैघारी, सिमले, गम्खोला र मसेरी भन्ने ठाउँहरू छन् । आजको दशरथपुरको भेरी नदीको  सीमानासम्म  पुरानो दैलेख जिल्ला पर्दथ्यो जो अहिले सुर्खेतमा परेको छ ।

उहिले बाबुबाजेका पालामा दैलेखबाट बजार भर्न घिउ बोकेर यही दशरथपुर हुँदै नेपालगञ्ज पैदल गएर नुनका ढिका र खाँडी कपडा ल्याउँथे रे । अहिले दशरथपुरबाट जाजरकोट जाने बाटो जोडिएको छ । पहिलापहिला दैलेखदेखि सुर्खेत, दशरथपुर, छिन्चु हुँदै कोहलपुर, नेपालगञ्ज उपभोग्य वस्तु लिन जाने चलन थियो रहेछ ।  

दशरथपुरवासीहरू दशरथपुर र रामघाट जान झोलुंगे पुल तर्ने गर्छन । यस भेगका बासिन्दाहरू दशरथपुर र रामघाट जोडिने पक्की पुल निर्माण भएको चाहन्छन् ।  

आजभन्दा  दुई सय वर्षअघि स्याङजा, पर्वत र बागलुङ जिल्लाका विभिन्न गाउँबाट चापागाईं पुर्खा दैलेखका विभिन्न ठाउँमा आएर स्थायी बसेको पाइन्छ । जो पछि सुर्खेतका विभिन्न ठाउँमा बसे ।

स्याङजाको आँधी खोलाबाट दैलेखको घुम्ने खालि जाने पहिलो चापागाईं लिलावल्लभ थिए रे  । पछि लिलावल्लभ दैलेखबाट सुर्खेतको फालिकोट आएका रहेछन् । उनको देहान्त फालिकोटमा भयो । उनका नौ छोरा जन्मिए तापनि छ सन्तान मात्रै सन्तति हुन गए ।

पर्वतबाट सुर्खेतको गर्पण आउने प्रथम चापागाईं श्रीलाल रहेछन् । श्रीलालका एक छोरा खडानन्द गर्पणमा परलोक भएपछि खडानन्दका छोरा लीलाराम दैलेखको कुशापानी, मानमा ९ गएर बसेका रहेछन । लीलारामको स्वर्गारोहन २०३५ साल दैलेखको मानमामा भएछ । त्यसपछि लीलारामका छोरा थानेश्वर ९८४० २०५६ साल सुर्खेतको बांगेसिमल आई स्थायी बस्न लागेछन् । यही रहेछ चापागाउँ पछिको त्यहाँको पछिल्लो चरणको बसोवास ।

दामोदर, खडानन्द, मनोहरी र जयभद्र चापागाईं स्याङजाको ओख्लेबाट दैलेख रतुमेली आएका थिए । उसबेला रतुमेली दैलेखमा पर्दथ्यो । आज चामुण्डा नजिक मानमामा तीनघरे उपनामले चिनिने चापागाईं यही वंशोद्भवहुन ।  

यही कारण सुर्खेतको बांगेसिमलका थानेश्वर चापागाईंका छोरा भाइभतिजाहरू अहिलेसम्म दैलेखको चामुण्डाको कुशापानी र मानमामा स्थायी बसिआएकै छन ।

सुर्खेति बन्धुहरूले स्थानीय बोलीचालीमा कुलवंशका टाठाबाठा बुढापाका मध्य कुलवंशको कैरन केलाउन सक्ने र समाजका सम्मानित बृद्ध व्यक्तिलाई बड्ढा नामले सम्बोधन गर्ने गरेको पाइयो । दशरथपुरका यस्तै एकन जना बड्ढा आफ्नो पुर्खा केलाउदै कुलबहादुर चापागाईं बाट दलबहादुर, भक्तबहादुर, टोपबहादुर चापागाईं पुर्खा बाउ बाजेहरू ललितपुरको  चापागाउँ बाट आएका भनेर गर्वले भन्ने गर्छन । यिनै चापागाईं बड्ढाका वंशेरी निकट बन्धु ठुलाबा जंगबहादुर चापागाईंका सन्तानमा सीता नेपाली प्रदेशकी सभासद९ नेकपा० बनेकी छन ।  

आफ्नो कुल परम्परा अनुसार सुर्खेत दशरथपुरमा कुलपुजा गर्दा ८६ घर स्थानीय चापागाईं बन्धुहरू भेला हुँदारहेछन । लीलावल्लभका नाति खडानन्दले कुल मन्दिर निर्माण गर्न थानलाई भेटी दिएका थिए जहाँ दशरथपुर चापागाईं बन्धु भेला भयेर कुल मन्दिर बनाएका छन भन्ने यहाँका बन्धुहरूबाट जान्न पाएको हो ।

सुर्खेतको दशरथपुरमा बागलुङ, पर्बत र स्याङजा बाट आउने चापागाईंहरू उपाध्याय, जैसी र खत्री चापागाईंहरूको स्थायी बसोबासो छ । कृषि, पशुपालन, व्यवसाय, राजनीति र सरकारी जागिरलाई कर्म बनाई आएका चापागाईं बन्धु परिवारले स्वाभाविक र साधारण जीवन यापन गरेको देखिन्छ ।

यसरी केहिदिन नयाँ ठाउँ दशरथपुर र नजदिकका गाउँ डुलेपछि सुर्खेत तिर लागेको थिएँ ।

सुर्खेतका बन्धुघर पाहुना खाँदै सुर्खेत सहर घुमघाम गर्ने सुनौलो मौका लिएको थिएँ । सुर्खेतमा पुराना मन्दिर छन् । सुर्खेतको नयाँ देउति बज्यै मन्दिर राजा विरेन्द्रले बनाका थिए । पुरानो देउति बज्यै मन्दिर सिद्धपीठ मानिन्छ । सयौं वर्ष पुरानो मन्दिर नयाँ मन्दिरबाट थोरै टाडा अझै छन । नयाँ मन्दिर राजा विरेन्द्रको सुर्खेत सवारी पछि काठमाण्डौ फर्किदा विरेन्द्र सवारी चडेको हेलिकोप्टार अकासमा देउति बज्यै मन्दिर कटेर उडन नसके पछि राजाले यस स्थानमा सिद्धपीठ वा शक्तिको सूचना पाएछन । पछि राजाले देउतिबज्यैको आजको यो सुन्दर मन्दिर बनाई दिएका रहेछन् ।  

देउति बज्यै मन्दिर वंशक्रमले राजी नामका एक वंशोद्भव परिवारले पुस्ता पुस्ता पूजा गरि आएका छन ।  

राजी समुदायका केहि शाखा मन्दिरहरू (

गंगामाला सुर्खेत । दीपमाला । सुन्दरमाला ।

सुर्खेतको पुरानो सदरमुकाम दोभानचौरको गोठीकाँडा थियो । राजा विरेन्द्रले दोभानचौरलाई सुर्खेत नामाकरण गरे । सुर्खेतको प्राचिन मन्दिर काक्रेविहार शिखर शैली ९बुद्ध शैली०को मन्दिर देउति बज्यै भन्दा पुरानो हो जसलाई बुद्धकालिन मन्दिर भनेर जानिन्छ । यि मन्दिर, बुलबुले ताल यहाँको पर्यटनमा पर्दछन ।

सुर्खेतबाट सोझै पञ्चपुरी नगरपालिका जानलाई समय अनुसार सुर्खेत बसस्ट्याण्डबाट मिनिबसको यात्रा भयो । मिनीबसका सिट भरि यात्रु बसेका । जसोतसो पछिल्लो सिटमा खादिएँ । काँचो रक्सी खाएर मत्तसँग मातेको एउटा यात्रु आयो र मुख जोडेर झोलामाथी थ्याच्च बस्यो । उस्का मुखबाट ह्वासह्वासी रक्सीको गन्ध आउँदा मिनीबसका कण्डाक्टरलाई भनेर आफु ओर्लिन खोजेपछि कण्डक्टरले त्यो मत्थुलाई इञ्जन निरबोलाए पछि चाहिँ ढुक्क भयो । हुन त ढुक्क के को हुनु । पुरानो मिनीबस । खिया परेका फलाम र सिलभरले जखम पार्छकी भन्ने मनमा डर । बाटो धूलै धूलोले पुरेको । चेपिएर डाँडाकाँडा छिचोल्दै मिनी अघिबडो । 

मध्यपश्चिम नेपालको कर्णाली ६ नं प्रदेश सुर्खेत जिल्लाको पश्चिममा रहेको नगरपालिका हो पञ्चपुरी नगर पालिका । पञ्चपुरी नगरपालिका सालकोट गाउँ पालिकाकै विकसित नामहो । वावियाचौर यस्को मुख्य सदर मुकाम । 

विकासका दृष्टिले हेर्दा यहाँको पलैटे बजार रमाईलो लाग्दो नै रछ । होटल पसलले भरेको बजार सबै कुराले पूर्ण देखिन्छ । टेईलरहरूले भरेको बजार पलैटे कपडाको कटाई बुनाई, सिलाईका लागि आधुनिक देखिन्छ । बजार भरि थरि थरिका टेईलरहरू सिलाई कल राखेर पसलमा बसेका । धरानजाँदाको सुनको बजारको याद आयो । तर यहाँ सुनको होइन । सभ्यताको परिचयात्मक, जाडोमा र मनले रोजेअनुसार लुगा सिलाउने ठाउँ । सबैले एकपल्ट पलैटे बजारमा गएर देशी दर्जीका पसलहरू हेर्नै पर्ने ।

पलैटे बजार प्रांगणमा २ नं वडा कार्यालय, स्वास्थ्यको अस्पताल, प्रहरी चौकी, विद्यालयहरू छन । मेचि देखि सुर्खेत विरेन्द्रनगर, बड्डीचौर हुदै पलैटे भयेर मदन भण्डारी राजमार्ग बेनिघाट डोटीसम्म परिकल्पना भित्र रहेको छ ।  

पर्यटन तथा विकासका लागि बाटो हेरिरहेको पलैटेको जग्गा ऐलानी नै छ ता पनि दर्ता जग्गा पनि भेटिन्छ । त्यस्तै बिजुलीको पनि व्यवस्था हुनमात्र लागेको बजारमा गृहस्थी र पसल होटलसम्म सौर शक्तिकै भरमा रात्रीको प्रकास छरेको देखिन्छ ।  

पर्यटन होस वा गाउँ ठाउँ विकास होस पलैटे बजार भरि हजार मिटर भित्रका केहि राम्रा बाटाहरू पञ्चपुरि नगरपालिका र नेपाल सरकारको आर्थिक अनुदाले बनेका छन । यि बाटाहरूले पलैटे बजारलाई साँच्चै राम्ररी सजाएको र सुहाएको देखिन्छ । बजारका यि बाटाका दुवैपटि काठका टाँडेघर छन जुन घरहरूमा होटल, पसल र टेलरहरू छन ।

बजार वरिपरि बाहुन, क्षत्री ( चपाईं, कंडेल, भण्डारी, सापकोटा, अर्गाली, पोख्रेल, सिग्देल, आचार्य, तिमल्सिना, अधिकारी, पौड्याल, भट्टराई थरका बासिन्दा छन् । 

मगर( पुन, राम्जाली, सिन्जाली आले, सिजापति, तारमी, बलामी, सलामी, पहराई, बरै, मास्की, धुरालहरू छन ।

ठकुरी( रासकोटी, सवंशी शाह, शाही, कल्याल, मल्ल, सिंह नानान गोत्र र थरका बासिन्दा छन ।

दलित( कामी, सार्की, दमाई, वादीगाइने० ।गुरुङ, राई आदि नाना थरिका मानिसको बसोवास छ ।

यहाँको पर्यटनको सम्भवना बोकेका स्थानहरू( कुण्डलिनी सिद्ध गुफा, चमेरे गुफा, दहताल, पञ्चपुरी माई मन्दिर, भेरी(कर्णाली दोभान पर्यटन भित्र देखिन्छ ।

स्थानीय चापागाईं र कण्डेल परिवारको विशेष योगदानले फार्सेकाँडामा भरिपूर्ण माई नामले मन्दिर स्थापन भयेको छ । भरिपूर्ण माई पञ्चपुरी कागेश्वरी माई २०५८ साल विस्थापित भए पछि अमृता चपाईं कंडेल र हरिकला कंडेल चपाईं नन्द भाउजुले ल्याएका मुर्ती र शिला स्थापन गरि निर्माण गरिएको थियो । अहिले यहाँ वर्षेनी ॠषि तर्पणीको अघिल्लो दिन रुद्री पाठ गरि जनै मन्त्रिने चलन बसेको छ । वर्ष भरि अघिपछिका दिन यहाँ भरिपूर्ण माईबाट वर माग्ने चलन चल्दै आएको छ जस्को जन विश्वास बडदै आएको छ ।  

सुर्खेतका धुलियाबिट, बांगेसिमल, फार्सेकाँडा, पलैटे,छिन्चु, गर्पण, सिमलकुना, चौरासे, गमखोला, कराईखोला, रतु, इतराम, गाग्रेताल, दशरथपुर, लेकफार्सा, निवारे, गुमि, चिउरीखेत नामका एकन टा गाउँ ठाउँमा चापागाईंको बसोबासो छ । 

यस क्षेत्र सुर्खेत छेउछाउ बसोवास गरिरहेका चापागाईँ बन्धुहरू १५०र२०० वर्ष अघि स्याङजा,पर्बत, बागलुङ, चापाकोट र चापागाउँ बाट आएका थिए । सुर्खेत जिल्लाको हरेक गाउँ ठाउँमा बसेका चापागाईं एउटै शाखाका हुन भन्ने लागेता पनि पिढी अनुसार जुठो हटि सकेको पनि देखिन्छ । 

पश्चिम बासीहरूले आफ्नो थर लेख्दा सामान्य भिन्न लोक बोलि अनुसार लेखेको देखिन्छ । जस्तै खरेल, खरालस बुडाथोकी, बुडास क्षत्री, खत्री । यस्तै पश्चिममा चापागाईंलाई चपाईू भनिन्छ । तर पनि केहि बन्धुहरूले चापागाईं लेखेको र आफ्ना सन्तानको नाम लेख्दा चापागाईं लेख्न थालेको पनि जान्न सकिन्छ । 

चापागाईं पुर्खा श्रीधर यहि पश्चिम बाट पर्बत गए पछि चापागाईं  थर सृष्टि भएको भन्ने इतिहासकार र वंशावली निर्माताले लेखेका छन । यहि कुराको पुष्टि हुन्छ र यो सुदूर र पश्चिममा पूर्वकालका चापागाईं वंश सन्तान यहाँ छैनन । अहिले सुदूर पश्चिममा बसेका चापागाईं श्रीधरका सन्तान सबै पूर्वका पर्बत, स्याङजा, बागलुङ, इलाम, चापागाउँ बाट आएको पाइन्छ ।  

बाटा घाटमा भयेका गफगाफमा परिचय लिँदा र दिदा यता बसि आएका अन्य थरका बन्धु परापूर्वकाल आफुहरू वंशबाट छुटेका र आफुहरू पनि आजका चापागाईं पुर्खाकै सन्तान हुनसक्ने पनि उल्लेख गरेको भेटिएको छ । सुनेका कुरामा चम्लागाई थर लेख्ने बन्धुहरू जो अत्रि गोत्रको परिचय दिन्छन आफुहरू चापागाईं हो की भन्ने गफगाफमा सुनेका कुरा सुन्न पाईयो ।

फागुन सात गते बड्डीचौर बाट दैलेखको यात्रामा लागेको थिएँ । बड्डीचौर बाट दुल्लुको कुशापानी पुग्न छ घण्टा लाग्यो । उच्च पहाडको माथी माथीबाटै दुल्लु जाने कर्णाली राजमार्ग । पातलो गाउँ बस्ती । 

दुल्लु यहाँको ठूलो बजार । दुल्लु भुरे राजाको दरबार भएको ठाउँ । दुल्लु हामी सबैको लागि इतिहास सिद्ध पुरानो ठाउँ । धेरै थरहरू यहाँबाट सृष्टि भएका छन् । धार्मीक क्षेत्र पनि हो दुल्लु, ऐतिहासिक भूमि पनि । यहाँ ब्रह्मकुण्ड र सूर्यकुण्ड छन । यी दुई कुण्ड दुई महत उद्देश्यका होलान भन्ने लाग्छ । धार्मीक लक्ष्यले ब्रह्मकुण्ड अनि सूर्यवंशी राज सत्ताधारीका लागि होला छुट्टै सूर्यकुण्ड ।

कुशापानीबाट डेढघण्टा हिँडे पछि मानमा गाउँ पुगिन्छ । मानमा पुरानो गाउँ । स्याङजा बाट गएका चापागाईंका घर परिवार मानमामा बसेका छन । झमक्क साँझ परो । भक्ति चापागाईंलाई फोन गरेको थियो । वर बाटामा लिन आउदै रहेछन ।  

रात्रीको भान्छा खीर पकाएर ख्वाए । खीर खाएर केहिबेर गफसफ गरिउँ । ऊ खच्चडमा दाल चामल, सरसामान धूलानी गर्थिए । मानमाबाट भक्ति भाइ कहिले जुम्ला, कहिले सिंजा जान्थिए । चार पाँच वटा खच्चडलाई सारसामान बोकाएर चार पाँच दिनको यात्रा हुन्थ्यो उन्को ।  

खच्चडबाट भक्तिले राम्रो पैसा कमाएका थिए । ऐले उनको उन्नति छैन । खच्चड सबै बेचिदिए । भैंसी, गाई र बाख्रा पाल्छन र खेति गर्छन। 

भक्ति मलाई जुम्ला लान नभ्याउने भए । भ्याउन नै पो कसरी । छोरा छोरी सानै छन । भाइहरू छुटिएर बसेका छन । भैसीं र गाईलाई घाँसपानी गर्ने मान्छे छैनन । 

भोलिपल्ट बिहानको चिया खाएर उनले मलाई अर्का चापागाईं घर लिएर गए । भक्तिको घरबाट सोझै अघिल्तिरको पहाड चापागाउँ थियो । ति चापागाईंको घर भएरै चापागाउँ जाने छोटोबाटो थियो । 

पहाडी गोरेटा बाटा साँघुरा हुन्छन । होसले टेकेर हिडनु पर्छ । चापागाईं घर निस्किए पछि उनले बैनीका घर लगे । बैनीले नस्ता बनाईन । अचार संग मकैका रोटी र दूध खायौं । बैनीका छोरा एघार वर्षका माधवको विद्यालय चापागाउँ तिरै रहेछ । भक्ति भाइको बित्तो बिग्रिदो देखेर मैले भक्तिलाई घर जान भनें र माधवसंग चापागाउँ लागें ।

माधवको घरबाट विद्यालय जाने झण्डै पौने घण्टाको बाटो भीरको गोरेटो । बैनीले बाटामा टेक्नका लागि एउटा लौरो बनाई दिएकी थिइन । माधव सानो मान्छे फुत्रुं फुत्रुं हिडें । म लट्ठीको भर लिएर हिडें । बाटो कटुन्जेलि माधव म गफ गरि रह्यौं ।  

माधवको विद्यालय जानेबाटो माधवका बावुले माधवका लागि झाडी फाँडेर उघारो बनाएका थिए । एक्लै हिडने भीरको बाटोभरि खोल्सा खोल्सी छन, ढुँगा छन । माधवको बक्सा जस्तो देखिने छालाको विदेशी ब्याग भरि किताप कापि बोकेर अघि अघि हिडें । म लौराको भर लिएर र माधवका गफ सुन्दै पछि पछि हिडें ।

माधवका बावुले माधवलाई त्यो ब्याग दिएका थिए । बाटो बनाई दिए र बावु कमाउन सिमला गए । 

मैले माधवलाई भनें माधव १ संस्कृत पढेको भए अझ राम्रो हुन्थ्यो । जवाफमा जिज्ञासु बने र उनले भने ूवाहिरको ठाउँमा गएर कहाँ खानेॽ कहाँ बस्ने ॽ

खान र वस्नको राम्रो बन्दोवस्त विद्यालयले गरि दिन्छ । साथीहरूसंग बसेर पढन पाईन्छ ।ू मैले भनें ।

साथीहरू छुच्चा रहेछन भने चल्छन । चल्ने बानी बसेका र छुच्चा साथी मलाई मन पर्दैन । चल्ने छुच्चा साथीसंग म मिल्न सकतिन ।माधव भन्दै थिए हामी उनको विद्यालय आईपुगि सकेछौं ।  

माधव विद्यालयको कोठातिर लागे । आफु विद्यालय बस्नु अघि माधवका गुरुबा र गुरुआमाहरूसंग परिचय गर्न लागें । माधवका शिक्षक शिक्षिका चापागाईंका भान्जा र भान्जीहरू नै रहेछन ।  

जुम्ला सिंजाका भुरे राजा समयकाल सगोत्री ब्राह्मणलाई बस्न दिएको चापागाउँ होला, बडैमा फैलिएको रछ । यहाँ गाउँको शिर र पुच्छरमा भैरवथान र चामुण्डा भगवतीको मन्दिर रहेछ । यि थानहरू प्राचीन रहेछन । १२०० देखि १३०० विक्रम सम्वद भित्र महाराजा अशोक चल्लले आफ्ना सगोत्री ब्राह्मणलाई चापागाउँ दिएका हुनसक्छ । 

माधवको शिखर विद्यालयबाटै चापागाउँ सुरु भयो । चापागाउँमा अहिले कामी, तामाङ, क्षत्री र ब्राह्मणहरू बसेका छन । गहुँको हरियो, कोसेमटर फूल खेलेका र तोरीबारीमा तोरी फुलेर पहेँलै भएको यो चापागाउँ वल्लो छेउबाट पल्लो छेउ नदेखिने । चापागाउँको रमाईलो कति हो कति 

धेरै जग्गा हरियो खेतिले भरेको, खेतका गरा, थोरै जग्गा चौर जस्तो सुक्खा, थोरै जग्गा बर्खे पानीले पखालेको र माथीबाट चोइटिएका ढुँगा बग्दै तल झरेका । थाले परेका सबै पाखाहरू धान फल्ने खेत र बिचबिचमा गाउँलेहरूका घर । यो चापागाउँ चापागाईं पुर्खा कुनै अत्रि ब्राह्मणले सगोत्री राजा अशोक चल्ल  ९मल्ल०बाट पाएको भनिएको छ ।  

हुन पनि यि ठाउँहरू धेरै पुराना ठाउँ भएको पाइन्छ । यहाँ पञ्चपाण्डवले बनाएका भनिने देवल९देवालय० यत्रतत्र देखिन्छन ।  

कुशापानी यहाँको बजार हो । यात्रा पानीले रोको । अगाडीका पहाड हिउँले छोपो । जाडो तिखियो । पानी छुन नसक्ने भयो । कुइरो,बादलले केहि नदेखिने भयो । बिहान आँधिहुरी चल्यो । बन्द ढोकाहरू टुटलान, टिनका पाताहरू च्यातिएलान र उडलान जस्तो भयो । त्यहि हिउँले ढाकेको पहाडबाट आएको त्यो हुरीको चिसोले कुशापानी बजारलाई आधाघण्टा सेक्नु सेको । त्यो कालिकोटको डा़ँडो थियो । भक्तिभाइ खच्चड लिएर जुम्ला जानेबाटो त्यो कालिकोटको हिउँले खोलाको पानी जम्ने चिसो पलायो।

भुरे राजाका समयमा दैलेख क्षेत्रमा चारसुर रक्षा गरेको बुझिन्छ । एघार सय विक्रम सम्वद तिर यहाँ गतिलो राजशासन थियो होला । त्यस समयका स्थानहरूमा दुल्लु प्रसिद्ध रहेको देखिन्छ । उसै समयको चामुण्डाको यो चापागाउँ अत्रि ब्राह्मणले उसबेला राजाबाट पाएको बुझिन्छ । 

अत्रिका सन्तानहरू धेरै थरमा बाँडफाँट भएको र कर्म विभाजन भएको देखिन्छ । अत्रिहरू कोहि राजा भएको र कोहि चाहि आफ्नो धर्म रक्षा गर्न ब्राह्मण नै भई रहेको देखिन्छ । ठकुरी, मल्ल, शाहीहरू शासन तिर लागेर राजा बने । चापागाईं, गौतम, खतिवडा, मिश्र आदि अत्रिहरूका पुर्खा चाहि धर्मकै रक्षा गर्न लागेको देखिन्छ।

यहाँ आएर फेला परेको डबलबहादुर मल्लको पुरानो वंशावलीले यहि कुरा पुष्टि गरेको छ । आजका चापागाउँहरू सबै यहि काल समयका हुन भन्न सकिन्छ । चापागाईं पुर्खाको काठमाण्डौ उपत्यकाको चापागाउँको वसोवास १८६० विक्रम सम्वदमा उठि सकेको भेटिनुले सो कुराकै पुष्टि गरेको छ।

यस भेकमा शिलालेखहरू धेरै पाईन्छन । शिलाहरू अहिले पढन सक्ने अवस्थामा पाइदैनन । अक्षर सबै मेटिएका देखिन्छन । कालिकोटका योगीनरहरी नाथले शिलाहरू पढेर पुस्तक तैयार गरिदिए पछि यस भेकमा धेरै प्राचीन धरोहरहरू उद्धार गरेको कुरा सुन्न पाइन्छ। 

दुल्लुको पञ्च देवल, किर्तीखम्बा र केहि वंशका पुर्खा ठाउँ थलो हेरेर पिपलघारी हुदै कर्णाली राजमार्ग निस्किएर साँझ वास वस्न पाल्तडा पुगेको थिएँ । यहाँ वडाअध्यक्षको आतिथ्य पाइयो । चापागाउँको उक्त ऐतिहासिक गाउँ सम्बन्धमा गफ गरे पछि सो कुरा चापागाईंको आदिभूमिका रूपमा चामुण्डा नगरपालिका सम्म उत्थापन गर्ने र चापागाउँको इतिहास चापागाईं थरिको आदिभूमि भनेर चिनाउन सहमतमा पुगे पछि वडा अध्यक्षले नगरपालीका मार्फत सो काम गरिन नगरपालिकासंग कुरा गर्ने हुनु भयो ।

यसरी चामुण्डाको चापागाउँ बाट केहिदिन लगाएर पैदल हिडँदा ज्यानले निक्कै शास्ति पनि पायो । अझ भन्नु पर्दा त सुन्दै मुटु ढुकढुक हुन्छ सबैको । कुशापानीबाट फिर्दा पैदल हिडँनु पर्यो । बाटो बाँधबाँधे जस्तो माछाको ढाड परेको रेगिस्तानको मरुभूमि जस्तो टाडासम्म खुल्ला देखिने बाटो । माथी भीर तल जंघलघारी । बाटाको छेउमै माथी बघेनी ब्याकी छ । शिकार खोज्दै छ । हिजो घाँसकाट्न गएकी एउटी आइमाई मान्छेलाई झम्टिएर घाइते बनाएछ । सुत्केरी बाघलाई सुरक्षा र साथ दिनलाई बाटो तल डरलाग्दो सिंह बस्दो रछ । एकमईल लामो बाटो । साथी छैनन । बाटामा मान्छे छैनन । शून्य र चकमन्न बाटोमा सिंह र ब्याएकी बाघसँग ज्यानको बाजी मार्नु पर्यो । एउटा काँचो लाथ्रो फेलापारेर मुटु ढुकढुक पार्दै बाटो कटेको छु । तर पछि चाहिँ बाटाभरि सगोत्री र सहृदयी बन्धुवान्धवसँग भएको भेटघाटमा रमाईलाले डर भाको र थकान मेटिदै गएको थियो ।  

यसपछि कालिकोटको उकालोसम्म पैदल हिडेँर रात कहिले जोशी बन्धु घर र कहिले मसिना पसल तिर बसेको अनि र्माशीचामलको भात खाएर न्यानो ओछ्यानमा सस्तैमा गुटुमुटु परेर रात बिताएको भुल्न सक्दिन । न्यानो पनि के भन्नु झोलाबोकेर उकालो ओह्रालो गर्दा साँझमा जिउका लुगा पसिनाले निथुक्र हुन्थिए ।

१२ औं शताब्दीमा तिब्बतको ङयारी प्रदेशबाट आएर वर्तमान जुम्लाको सिंजामा नागराजले खसान प्रदेशको राजधानी बनाएको जान्न पाईदो रहेछ । सिंजाको वरिपरि सिजापतिका अनेक भग्नहरू उपलब्ध छन । सिंजा अन्तरगत यहाँ दुईवटा देवलहरू भग्न अवस्थामा देख्न पाईन्छ जहाँ वरिपरिको भूभाग हेर्दा प्राचीनकाल यस स्थानमा सिजापतिको सहर थियो भन्ने अनुमान गर्न सकिन्छ । यहि सहर अथवा सिजापतिको राजधानीको नजिकै प्राचीन पाण्डव गुफा छ । पाण्डव गुफाको मास्तिर डाँडामा वलिराजाको दरबार छ जुन ठाउँमा वहुमुल्य धातु सुन भेटिएको थियो । देवाल भएको क्षेत्रमा त्यसबेला सिजापतिको राज दरबार भएको स्थान अनुमान गर्दा यो प्राचीन थलो महाभारत कालिन भनेर गाउँ ठाउँका सबैले यस स्थानमा पञ्चपाण्डवले कौरवहरू विरुद्ध घनघोर युद्ध गरेको स्मरण गर्दै अहिले पनि पाण्डवले कौरव विरुद्ध काँड हान्न बनाएका कवज स्वरूप प्वाल परेका ढुँगा यात्रुलाई देखाउने गरि आएका छन । गुप्तवास बसेका पाण्डवहरूलाई पाण्डव गुफामा डाँडा माथीको दरबार स्थानबाट सुरुंग खनेर खाना पठाईन्थ्यो भन्ने जनजनको विश्वास छ ।  

१३५७ ईस्वी पृथ्वीमल्लले दुल्लू किर्ती खम्बाू शिला तैयार गरि सकेको पाईन्छ । दुल्लू किर्ती खम्बामा सिजापतिहरूको नाम लेखाएका थिए जसमा खसकालिन राजा देखि चाप, चापिल्ल, क्राशिल्ल, क्राधिचल्ल, क्राचल्ल, अशोक चल्ल, जितारी मल्ल, रिपु मल्ल, अक्षय मल्ल, आदित्य मल्लको नाम रहेको भनिएको छ । यी राजाहरूमा अशोक चल्ल सातौं राजा थिए भनिएको छ । अशोक चल्ल राजा क्राचल्लका छोरा मानिन्छ र जितारी मल्ललाई अशोकका छोरा । 

 १३२५ सालमा अशोक चल्लले सुर्खेतको काँक्रेबिहार मन्दिर बनाएको ऐतिहासिक तथ्य नेपाल पुरातत्व विभागले उल्लेख गरिसकेको छ । त्यस्तै १३३७ सालमा अक्षय मल्लले अछामको विनायकमा पञ्चदेवल बनाएको इतिहासमा भेटिन्छ । अक्षय मल्ल र आदित्य मल्ल अशोक चल्लका सन्तान होलान । अशोक वंशबाटै आजको कर्णाली प्रदेश भित्र रहेका सबै दैलेखको दुल्लू, अछामको विनायक र जुम्लाको सिजामा देखिएका भग्न अवस्थाका पञ्चदेवलहरू निर्माण गरेको ऐतिहासिक तथ्य प्रकाश गर्न सकिन्छ ।  

अक्षय मल्लले विवाह गरेर अछाम दाइजो स्वरूप पाएको इतिहासको जनविश्वास नकार्न सकिदैन । उसबेलाका थर सम्बन्धमा खोजी गर्दा राजाले दिएका थर र हारेका राजाका थर लेख्ने र संवाद लेख्ने चलनले अक्षयको विवाह सिजापति राज कन्यासंग भएको हुन सक्ने कुरा नकार्न सकिदैन।

यही समय अशोक चल्लले सगोत्री वंशका ब्राह्मण चापागाईंका पुर्खालाई दुल्लू नजिक चामुण्डाको भूमि दिएको अनुमान गर्न सकिन्छ जसलाई चापागाउँ नामले नामाकरण गरियो । चापागाउँमा बसेका ब्राह्मण जसरी चापागाईं थरी भए त्यसरी दुल्लूको यस क्षेत्रबाट कैयौं थर जस्तै नेपाल, खनाल, हुमागाईं, दुलाल आदि थर सृष्टि भएको नेपाल सरकारको पुरातत्व विभागले स्वीकार गरी आजका नगरपालिकाहरूले चिनाक्तकरण गरिदिएका छन् ।

यस भेकमा उत्खनन गर्दा धेरै भग्न मूर्ति आदि भेटिएको उल्लेख छ । सिंजा राजधानीमा कालिका सुन्दरी मन्दिरछेउ उत्खनन गरेर भेटिएका मुर्ति सबै हिन्दू देवदेवीका छन् ।  

दैलेख चामुण्डाको चापागाउँ अशोक चल्लकाल  १२६४ सालको मानिन्छ भन्न खाँदबारी वंशावली निर्माता खडगबहादुर चापागाईंको वंशावलीले पनि अनुमान गर्न सकिन्छ । 

चापागाईं बन्धु समाज र वंश प्रतिष्ठानहरूले यस कुराको छिनाफाना गरी आफ्नो कुलवंशको दैलेख चामुण्डाको चापागाउँलाई चिन्नुपर्ने समय आएको छ । अन्य ब्राह्मण थर गोत्रका बन्धुले आफ्ना आफ्ना प्राचीन पैतृक भूमिलाई नेपाल सरकारबाट चिनाएर नाम लेखेर टांगेका छन् । चापागाईं बन्धुको चापागाउँ आदिभूमि हुँदाहुँदै पनि आजसम्म कहीँको  चापागाउँ चापागाईंको आदिभूमि भनेर चिन्न सकेको छैन । अशोक मल्लले बनाएका सुर्खेतको काँक्रेबिहार मन्दिर  १३२५ सालमा पुरातत्वले उल्लेख गरिसकेको हुँदाहुँदै दैलेखको चापागाउँ आजसम्म चापागाईंको आदिभूमिका रूपमा चिनेर साइनबोर्ड टाँग्न सकिएको छैन । यो प्रसंगलाई आफूले पनि डोटी लगायत केही जिल्लाका जिल्ला प्रमुख सिडिओ महोदयज्युहरूलाई भेट्दा यी कुराहरूको मौखिक विन्ती टुक्राएको छु । तर पनि तिर्खा धाउनु पर्छ पानी धाउँदैन 

खसान राज्यको अन्त्यपछि मल्ल वंश काठमाण्डु पुगेको र त्यहाँ शासन गरेको इतिहास हो जस्तो लाग्छ । यसै प्रसंगमा काठमाण्डु उपत्यकाको चापागाउँ पनि चापागाईंको उही समय देखिन्छ । तर दुखकै विषय हो काठमाडौंको चापागाउँ चापागाईं थरको इतिहासबाट मेटिन लागेको देखिन्छ । काठमाडौको चापागाउँबाट गएका चापागाईंको इतिहास जीवन्त छ ।  १८६० सालमा राणाहरूले मुस्ताङको मुक्तिनाथका लागि वसन्त बोगटी र लाटु पाध्यालाई दिएको ताम्रपत्रअनुसार काठमाडौंबाट बोगटी र लाटुपाध्यासँग गएका चापागाईं शाखासन्तान राणाकाल वसन्त बोगटीलाई ताम्रपत्र गरिदिएको भूमि म्याग्दीको  उक्त गाउँमा स्थायी बसोवास गरिरहेको पाइन्छ । काठमाण्डौको चापागाउँमा सिंजा अथवा खसानबाट चापागाईं पुर्खा  १४२८ साल गएको र  १८६० सालमा राणाकालसम्म बसोवास भएको कुरामा दुई मत हुन नसक्ने अवस्था देखिन्छ । वर्तमान चापागाउँ कहलाइएका यी ठाउँहरू उसबेला चावागाउँ थिए भन्ने अनुमान लाग्छ ।  चावागाउँहरू मल्लकालभन्दा अघिका हुन् कि ॽ

इतिहास मेट्नु हुँदैन । भोजपुर दिङलाको सिताराम गुठीमा राखिएको शिलापत्र पूर्वी नेपालको हिन्दुहरूको अभिलेख दुल्लुको कीर्ति  खम्बास्वरूप छ । सिताराम गुठीको शिलालेखको एक पाटोलाई धर्मपत्र भने पनि त्यहाँ  १९६६० सालमा धर्मानन्द पाध्यानारायणपाध्या पुत्रको स्मरण स्वरूप उनको कर्मको अभिलेख कुँदिएको हो जुन पत्रको नाम धर्मपत्र होइन धर्मानन्द हो । तर सिताराम गुठीबाट प्रकाशित पुस्तकमा धर्मपत्र भनेर उल्लेख गरिएको छ । तर शिलालेखका अक्षरहरू धर्मानन्द हो भनेर आज पनि बुझ्न र पढन सकिन्छ।

मध्यपश्चिम र सुदूर पश्चिम यात्राले अत्रि वंशको खोज मात्र गरेन । अत्रि वंशको इतिहास पैल्यायो र वंशेरी बन्धु जोडन सहज तुल्यायो। 

अत्रिहरू राष्ट्रप्रेमी, राष्ट्रभक्त, धर्मपरायण र धर्मभिरु थिए भन्ने प्रमाण जुटाउन यस भ्रमणले सफलता पायो ।

अत्रिका सन्तान हाम्रा पुर्खाहरू कोही ब्राह्मण नै रहे भने कोही राजा बनेको भेटियो। 

दैलेखको चामुण्डामा रहेको चापागाउँ अत्रि वंशका राजा चक्रवर्ती अशोक चल्लपछि मल्ल थर लेखिएकाले स्ववंशोधर ब्राह्मणलाई चामुण्डाको चापागाउँ क्षेत्र दिएको अनुमान छ ।

अशोकले सिजादेखि सुर्खेतसम्म मन्दिर बनाएको पाइन्छ । सुर्खेतको काँक्रेविहार मन्दिर उनकै सृष्टि रहेछ।

अक्षय मल्लले अछाम राज्य सिजापतिबाट दाइजो पाएको भनिदो रहेछ । अछाममा देवालय बनाएको पाइयो ।

अत्रिहरू ब्राह्मण शाखाबाट पृथक् जो शासक बने उनीहरूले सूर्य उपासना गरेर आफूलाई सूर्यवंशी कहलाए । दुल्लुको पञ्चदेवल सूर्यपाञ्चायण स्थापन गरेको सत्यता नकार्न मिल्दैन।

 डोटी जिल्लाको काठमाडौंमा अनुमान हजार वर्ष अगिदेखि अत्रि पुर्खाले मष्टो पुजे जो दूधेमष्टो आजसम्म उनका सन्ततिले त्यहाँ पुज्दैछन् ।

वर्तमान नेपालको झण्डामा रहेको चन्द्र, सूर्य अत्रिहरू संदेश गरेको धर्म र शासनसूर्यपाञ्चायणको प्रतिक रहेछ ।

प्रकाशित: १५ फाल्गुन २०७७ १६:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?