२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

राहत

कथा

“ए नबजा ! नबजा ! अहिले कुकुर लाइदेलान ! ” रितेशले रोजालाई रोक्न खोज्दै भन्यो । नबजा भन्दाभन्दै रोजाले ठूलो घरको गेटको घण्टी बजाइहाली।

गेटमै कुरेर बसेको भोटे कुकुर टोलै थर्काउने गरी भुक्यो । दुवै डराएर पर भागे ।

रितेश र रोजा दाजुबैनी थिए । दुवै जना नजिकैको सामुदायिक स्कुलमा पढ्थे । दुवै  पढ्नमा अब्बल थिए । कोरोना संक्रमणको डरले स्कुल बन्द भयो । उनीहरु लामो समयसम्म स्कुल जान पाएनन् । केही महिनापछि विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्यो । उनीहरूसँग मोबाइल र कम्प्युटर थिएन । उनीहरू अनलाइन कक्षामा जोडिन सकेनन् । उनीहरूले पढ्न पाएनन् । 

बाबाआमाको काम बन्द भयो । आम्दानीको बाटो हरायो । खानलाई अन्न थिएन । मुस्किलले पाएको ५ किलो राहत सकिएको थियो । खानेकुरा नभएपछि घरमा कलह बढ्न थाल्यो । सधैं झगडा हुन थालेपछि उनीहरू खानेकुराका लागि बाटो बाटो भौँतारिन थाले । उनीहरूसँगै टोलका अरू केटाकेटीहरूको पनि हालत उही थियो । 

कुकुरको डरले भागेकी रोजाले अलिपर पुगेर स्याँस्याँ गर्दै भनी , “ठूलो घरका मान्छेले खानेकुरा दिन्छन् होला भनेको त झन् झण्डै कुकुरले नै हामीलाई खाएको !”

“घर ठूलो भएर हुन्छ र ? मन ठूलो हुनपर्छ ? ठूला मान्छेलाई हाम्रो दुःख के थाहा ? बरु एm त्यो ठेला पसले अंकलले दिनुहुन्छ । हिँड जाऊँ ! ” परको ठेलातिर देखाउँदै रितेशले भन्यो ।  

दुवै हिँड्ने तरखरमा थिए ।

त्यत्तिकैमा रोजाकै उमेरकी एउटी नानी हातमा डुनटको पोको लिएर उभिइहेकी थिइन् । त्यो पोको दिँदै उनले भनिन् ,“यो लेऊ ! घर लगेर हात धोएर मात्रै खाऊ है !”

रितेशले हत्तपत्त समात्न खोज्यो । रोजा वाल्ल परी ।  

उनले आफ्नो अनुहारमा मास्क लगाएकी थिइन् । “अनि मास्क खै त तिम्रो ? मास्क लगाउनु पर्दैन ? ” उनको कुरा सुनेर रोजा अलि लजाएझैँ गरी ।  

रितेशले ठाडो स्वरमा भन्यो , “ पैसा हुन पर्यो नि मास्क किन्न !”

उनीहरूलाई न कोरोनाको डर थियो ,न त मास्क लगाउँथे । सरसफाइमा झन् पटक्कै ध्यान थिएन । रितेशले डुनटको पोको भेट्नासाथ खोलेर खान सुरु गरिसकेको थियो । दुवैले डुनट खाँदै आफ्नै सुरमा हिँडे । उनीहरूको दिनचर्या यसै गरी चल्न थालेको थियो । घरघर चाहरिँदा कतिपयले खानेकुरा दिन्थे । कतिले कोरोना सार्न आएका भन्दै गाली गरेर धपाउँथे ।

“सूचना ! सूचना ! सूचना ...!” 

परबाट आइरहेको माइकिङको आवाजले उनीहरूको ध्यान तान्यो । गरिब र काम नपाएकाहरूलाई वडाले राहत दिने कुरा सुनेपछि रितेश र रोजाका आँखा चम्किला भए । राहत पाउने आशले दुवैको मनमा खुसीको तरंग छायो।

“ भोलि त मासुभात खान पाइने भो! ” रितेश खुसी हुँदै भन्यो ।  

रोजाले आँखा ठूला पार्दै भनी , “मासुभात  ...! ”  

.रितेश र रोजा आमालाई खबर सुनाउन आतुर थिए । घर पुग्नेबित्तिकै दुवैले एकैस्वरमा भने – आमा थाहा छ ? भोलि विहान ९ बजेदेखि स्कुलमा खाना खुवाउने रे !  

“मजाले मासुभात खान पाइने भो !” रितेशले मुख मिठ्यायो। 

“कल्ले भन्यो तँलाई ? नचाहिने कुरा नगर ! मान्छेलाई छाक टार्न मुस्किल भएको बेलामा  कस्ले खुवाउँछ? सित्तैमा मासुभात?” आमाले रितेशको कुरो पत्याइनन् ।

“वडा कार्यालयले खाना खुवाउँदै छ रे ! आज माइकिङ गर्दै हिँडेका । काममा जान नपाएर भोकै बस्नुपरेका र गरिवदुःखीलाई खाना खुवाउने रे ! ”

– आमा हामी किन गरीब भाको ? रोजाले प्वाक्क बोली । आमा अवाक् आँखाले हेरिरहिन् ।  

रितेशले फेरि भन्यो, ‘अस्तिजस्तै चामल ,दाल दिने हैन । खाना खुवाउने रे !’

झमक्क साँझ परिसकेको थियो । पुस महिनाको साँझ । चिसो सिरेटोले सेकिरहेको थियो । अगेनामा आगो बले पनि खाना पाक्ने सुरसार थिएन । नजिकै बसेर रुक्साकी आमा आगो तापिरहेकी थिइन् । छेउमा डेक्ची खाली थियो  

रुक्साले सोधी, “आमा, आज के खाने ?”  

“के खाने भनम् ? यी  यही यत्ति पीठो छ । यसैको खोले खाने ।” आमाले प्लास्टिकको पीठो देखाउँदै भनिन् ।

केहीबेरमै खोले पाक्यो । आमाले थालमा खन्याएर दिँदै भनिन् –ल खाऊ ।

“ खान्न म त । त्यो पिठोको खोले सधैं कति खानु ? बरु भोकै सुत्छु । भोलि  विहान मासुभात दाबिन्छ ।” रितेशले थालको खोले अलि पर हुत्याउँदै भन्यो । खोले अलिकति भुइँमा पोखियो ।  

रितेशको पारा देखेर आमालाई रिस नउठेको त कहाँ हो र ? तैपनि उनले सम्हालिँदै भनिन् , “यही खोले पनि खान नपाउने दिन आउन थाल्यो । घरमा खानेकुरा केही छैन । अस्ति ल्याएको राहतको चिउरा, चाउचाउ पनि सकियो । काममा जान पाएको छैन । कहाँबाट ल्याउनु ? कस्तो दिन भोग्नुपरेको हे भगवान् ।”  

“भोलि त्यो प्रेमे भन्दा पनि पहिल्यै गएर लाइनमा बस्छु । मलाई हिजो चाउचाउ देन भन्दा मेरो नाकमा हानेर नाथ्रो नै फुटाल्देओ । त्यस्लाई त ...... ! ”

राहुलले दाहिने हात मुठी कसेर देब्रे हातमा ठोक्यो । कहिलेकाहीँ रितेश र रोजा उसको टोलका अरू साथीहरू प्रेम , शाहिलसंगै बोरा टिप्न हिँड्थे । कसैले खानेकुरा दिए खोसाखोस गर्थे । कतिपटक त झगडा गरेर प्रेमले राहुलको नाकै फुटाइदिएको थियो । नाम प्रेम भए पनि उसले कसैलाई प्रेम गर्न जानेको थिएन । सानैमा खोलाले आमालाई बगायो । बाबुले अर्की आमा ल्याए । बाको कुटाइ र सौतेनी आमाको हेपाइ खाँदै हुर्कियो । माया के हो भन्ने कुरा उसले थाहै पाएन।

रितश र रोजालाई भने उसका आमाबाबुले दुःख गरेर हुर्काएका थिए । जेनतेन चलिरहेको उनीहरूको जीवन। कोरोनाले गर्दा दैनिकी कठिन भैरहेको थियो । श्रम गरेर खाने उनीहरूलाई घर धान्न धौधौ परेको थियो । आक्कलझुक्कल झगडा पनि पर्न थालेको थियो ।

“अर्काले दिएको खानाले कति दिन खान पुग्छ र ? एक छाक खाउँला, दुई छाक खाउँला । सधैं त्यो वडाले त खाना खुवाउँदैन । बरु त्यस्को साटो गरिखान दिएहुन्थ्यो नि ! न गरिखानु ! न मरिजानु ! मागेर त मरिगए खान्न ...! जान हुन्न बाबु ! ” आमाले रितेशलाई सम्झाउँदै भनिन् ।

रोजाको मनमा भने आमाले भनेका कुरा गढिरहे – “ न गरिखानु, न मरिजानु । मागेर त मरिगए खान्न ! ”

खाटमा बसेर प्लास्टिकको बोराको डोरी बाटिरहेका थिए ।

“बा यो डोरी बाटेर के गर्ने?” रोजाले सोधी।

“के गर्ने नि? जस्ले भोक लाग्यो भन्छ, त्यस्लाई बाँधेर पल्टाउने !” बाको अनुहार मलिन देखिन्थ्यो । रोजाले बाको अनुहारमा पुलुक्क हेरी । आमा अनि दाइलाई पनि हेरी । रितेश खिस्स हाँस्यो ।

आमाबालाई कर्के आँखा तर्दै रिसाएर भनिन् , “हुतिहारा !! कमाएर ख्वाउन नसक्नेले छोराछोरी बाँधेर पल्टाउने त हो नि!”

“काम नगरी बसेको हो र ? तेरा बाउले दिनपर्यो नि काम गर्न । ” उनी अलि कड्के ।

रितेशका बा कवाडी बेच्थे । आमा घरको काम सघाउँथिन् । कारखाना बन्द भएपछि बाको काम ठप्प भयो । आम्दानी हरायो । उनीहरूलाई छाक टार्न धौधौ परेको थियो । काम नभएपछि रोजाका बा पनि निराश थिए । बाआमाको झगडा भैरहन्थ्यो ।

“आजकाल बाआमा कति झगडा गर्छन् है दाइ?” रोजाले दाइलाई कानमा खुसुक्क भनी । “जाम सुतुम ! भोलि चाँडै उठ्नुपर्छ !”  बाआमाको कचकच चलिरहेको थियो । दुवै जना चूपचाप ओछ्यानमा पल्टिए । दिनभर डुलेका दाजुबैनी भुसुक्कै निदाए । 

भोलिपल्ट सबेरै रितेशको निद्रा खुल्यो । ऊ बिहानै स्कुलतिर लाग्ने सुरसारमा थियो ।

“आमा म छिट्टै गएर लाइनमा बस्छु । तपाईहरू आउँदै राख्नुस् है ! रोजा उठ तँ जान्नेस् ? उसले बहिनीलाई झक्झक्यायो ।  

ऊ अल्छी मानी । रितेशले रोजालाई पनि कुरेन । ऊ स्कुलतिर लाग्यो । उसले स्कुल नपुग्दै वरैबाट लामो लाइन देख्यो । ऊ छक्क पर्यो।

‘ओहो कति लामो लाइन!’ रितेशले मनमनै भन्यो ,‘यस्तो लामो लाइन त पशुपतिमा पूजा गर्दा मात्र देखेको थिएँ । जे होस्, आज मान्छेहरू आफ्नै पेट पूजाका लागि लाइनमा बसेका छन् । ’ ऊ सोचमग्न भयो ।

 त्यत्तिकैमा “ दाइ ! ” भन्दै रोजाले रितेशको हात समाई ।  

“आमा खै त ?” रितेशले सोध्यो ।  

“आउन मान्नुभएन । मागेर खान हुन्न रे! ”आमाले भन्नुभएको! ”

“घरमा खान  केही छैन मागेर खान हुन्न! ” रितेशको रिस अनुहारमा झल्कियो ।  

“दाइ हेर त ! त्यो परको तीनतले घरकी हैनन् । यिनको घरमा पनि खानेकुरा छैन हो ? ”  

रोजा लाइनमा छिर्न खोजी । रोजाको कुरा सुनिरहेकी ती महिलाले रोजाको पाखुरामा समातेर पर हुत्याउँदै भनिन् ,“बिचमा आएर छिर्छेस् । लाज नभएकी खाते केटी!”

रोजा ढुन्मुनिँदै भुइँमा लडी । चौरमा बसेर खाँदै गरेको मान्छेले खान छोडेर रोजातिर हेरे ।  

‘कति निर्दयी !’ हिजो दुनट उठाउने नानीले रोजाको पाखुरामा समाउँदै भनिन् , “आऊ उठ !”

रितेशलाई भने खपिनसक्नुभयो, “कस्लाई लाज नभएको भनेको ? लाज तिमीलाई लागेन ? गरीबको राहतको खान ?त्यत्रो घर बहाल उठाएर पनि खान पुगेन ?”  

रितेशको कुरा सुनेर त्यो महिलाको अनुहार रातो भयो । सबैले उनैतिर हेरे ।  

“आइज बैनी । जाऊँ हिँड घर । आमाले ठिकै गरिछन् यहाँ नआएर । यो राहत गरीबका लागि होइन रहेछ ! खान पनि नपरोस् यी धन भएका दरिद्रहरूमाझ बसेर !” रितशले बैनीलाई समाउँदै भन्यो।

रोजा आफ्नो लुगामा लागेको धुलो टक्टक्याउँदै उठी । आफूलाई धकेल्ने आइमाईलाई रिसले आगो हुँदै हेरी । सरासर अगाडि खाना राखेको ठाउँमा पुगी । वडा अध्यक्ष खाना बाँडिरहेका थिए।

रोजाले हात जोड्दै भनी , “अंकल हामी धेरै दिनदेखि भोकै छौँ । तर, हाम्री आमाले भन्नुभएको मागेर खान हुन्न रे । हाम्री आमालाई गरिखान काम दिनुस् न है !”रोजाल ेविन्ती भाव बिसाउँदै भनी । उसका आँखामा आँसु टिल्पिलाएका थिए । 

सबैले मुखामुख गरे । त्यै काम गर्न नपाएर भोकै सुत्न नपरोस् भनेर त यो राहत बाँडेको । बडो ठूलो कुरा गर्दी रैछे जिरे ! ” अलि भलाद्मी देखिने मान्छेले हकार्दैै भने ।

उनको कुरा सुनेर रोजा जँगिई , “यहाँ खान नपाउने मान्छे हैन अंकल, खान पाउनेको लाइन छ । खान नपाउनेलाई त घुचेटेर पर हुत्याउँछन् । यी मलाई जस्तै!”

रोजा निडर पारामा बोली र त्यहाँबाट हिँडी । रितेश पछिपछि लाग्यो । लाइनमा बसेका सबैले रोजा  र रितेशलाई हेरिरहे ।

प्रकाशित: ७ फाल्गुन २०७७ ०६:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App