२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

काम्लो

लघुकथा

जाडो चरममा थियो । न केही खाएर भाग्थ्यो न केही लगाएर भाग्थ्यो ।

– आमा, जाडोले अत्यायो । यो प्वाल परेको जाकेटले जाडो छेक्नै सकेन । यसपालि त सारै जाडो भो । काम्लो छैन ?

आमा घोरिइन् । उनले भनिन्–  छ नि । एकछिन पख है ।

– किन नि, एकछिन  यहाँ जाडोले कस्तो भैसक्यो।

– हो  काम्लो बारीमा छ । ल हिँड न त, बारीमा । त्यहीँ पसीना कढाउँला, जाडोलाई डाँडा कटाउँला ।

उसका हातगोडा  कक्रक्क भएका थिए । ऊ काम्लोको आशाले आमाको पछिपछि लाग्यो ।

आमाले बारीमा पुगेर कोदालो समातिन् । ब्याङब्याङ खन्न थालिन् । ऊ हात काखीमुनि घुसारेर हेरिरह्यो ।

खन्न रोकेर आमाले भनिन्– देखिस् ! ल यसरी खन् । खन्दै जा अनि काम्लो पाइन्छ । जाडो भाग्छ ।

उसले आनेकाने गर्दै कोदालो समात्यो । ब्याङब्याङ खन्यो । खन्दै गयो ।

आमाले भनिन्–  हो त्यसरी । स्याबास, अब त काम्लो पाइने पक्का भो ।

– हो र आमा !

आमाले फेरि भनिन् – हो त । अब अरू केही जाँगर चला । काम्लो पक्का।    

उसले कोदालो उचाल्दै र पछार्दै गयो । खन्दै गयो ।

‘यो मुला जाकेटले अल्झायो । उसले जाकेट खोलेर पाखामा राख्दै भन्यो ।

अनि फेरि उसैगरी खन्न थाल्यो । निधारबाट पसिना तप्प चुहे ।

आमाले भनिन्– अब कोदालो मलाई दे । मलाई पनि जाडोले सिउसिउ बनायो । एकछिन म पनि काम्लो ओढ्छु ।

प्रकाशित: ६ फाल्गुन २०७७ ०७:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App