अनायसै रक्तको सञ्चार पनि
तीव्र गतिमा बढेको जस्तै गरी
मुर्दा शरीर बिउँझन खोज्दछ ।
असम्भव प्रगाढ सम्बन्ध बन्छ
स्पर्शबिना आत्मीय अनुराग
कुनै ओइलिएको फूलमा मानौ
शीतका थोपा खस्दैछ तप्पतप्प
फूललाई मुस्कुराउन कर लाग्छ
आँखा बन्द गरेर सम्झन्छु
पूर्णिमाको रातको पूर्ण जून
कस्ता मीठा गरेका कल्पना
मन भित्रै काउकुती लाग्छ ।
भो चाहिन्न काँडा भएको गुलाफ
फिँजाएको केशमा लालीगुराँस
टिपेर सिउरिदिए हुन्थ्यो नि बरु
पर धेरै पर धुन बेग्लै बजेको छ
देख्छु मायालु नजर कसैका
पग्लन्छन् ढुङ्गा मन हिउँ भएर
फूलको थुँगा जसरी सागरमा
एकतमासले पौँडिरहेको हुन्छ
ताता बाफहरू उड्छन् श्वासका
तातैछ टेकेका बगरका बालुवा
बिनाबादलका झरीमा यसरी
नुहाएर निथ्रुक्क भिज्न पुग्छ
ऐनाले बाहिर मात्र देख्छ
कसले बुझ्न सक्छ मन
मनभित्र रहेको तस्विर
मोनालिसाझैँ मुस्कुराउँछ ।
प्रकाशित: ३ फाल्गुन २०७७ ११:२२ सोमबार