२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

पिताजीको स्मृतिलोप

निबन्ध

कठै ! कति नाजुक हुँदो रहेछ वृद्धावस्था । बयानब्बे बर्षीय पिताजीका हरेक गतिविधिहरू नजिकबाट नियालिरहेको छु । नेपाली आयुको सरदर चरम शिखरमा पुग्नु भएका मेरा पिताजी पाँच वर्ष अघिसम्म पनि निकै टाठो हुनुहुन्थ्यो । अहिले आएर उहाँको स्मृतिबाट धेरै कुरा लोप हुँदैछन् । दुई वर्षदेखि समयको बोध हराएको छ । विगतको इतिहासलाई रिठ्ठो नविराई बर्णन गर्ने पिताजी हाल आएर अल्मलिएको जस्तो, अवाक देखिनुभएको छ । तिथिमिति गते, बार, घडीपला, ऋतुचक्रप्रति त्यस्तो सचेत ज्ञान राख्ने मान्छे, अहिले आएर आजकै दिनको बार, महिना, गते, सवै भुल्ने हुनुभएको छ । नयाँ वर्ष आउनु दुई महिना अगाडि नै नयाँ संवत्को पात्रो ल्याइदे, बेला पंचाङ्ग ल्याइदे भन्नुहुन्थ्यो । प्रत्येक दिन पात्रो पल्टाएर केही न केही ज्योतिष विज्ञानका कुरा हिसाब लगाइराखेको देख्थेँ । त्यो कुरा आज आएर बन्द भएको छ ।

सात गाउँका मानिसहरूको लागि सरण हेर्न, विवाह, व्रतवन्ध, बास्तुका साइत जुराउन, छेवर, पास्नी न्वारान र सरादका तिथि हेरिदिन र यात्राको साइत जुराइदिने कुरामा कसैले भेट्दैनथ्यो । ज्योतिष विज्ञानको औपचारिक शिक्षा कतैबाट प्राप्त नगरे पनि स्वअध्ययन र साधनाले त्यसमा पारङ्गत हुनुहुन्थ्यो । उमेरले नब्बे कटेपछि मास्तिष्कको त्यो प्रखर चन्कालोपन घटेको छ । उहाँ छयालिस वर्षको हुँदा म जन्मेको रहेछु । अहिले मैँ छयालिस वर्ष पुगेँ, उहाँ मेरो उमेरको ठ्याक्कै दोब्बर आयु बयानब्बे वर्षमा यात्रा गरिरहनुभएको छ । उहाँको शारीरिक तन्दुरुस्ती, खानपान र पाचन यन्त्रको स्वस्थता देख्ता चमत्कारजस्तो लाग्छ । यति बूढ्यौलीमा पनि कुनै शारीरिक व्याधिले छुन सकेको छैन । शरीरको अवस्था सरदरमा राम्रो रहे पनि स्मृति चेतना दिनदिनै लोप हुँदो छ, यस हिसावले उहाँ दिनदिनै एक अवोध बच्चा जस्तो बन्न थाल्नुभएको छ । एक निर्दाेष भोलाभालापनले उहाँको व्यक्तित्वलाई निखार दिइरहेछ ।

जीवनका रागहरू समाप्त भएका छन् । कामना र चाहनाको कुनै त्यस्तो उफान छैन । जुनसुकै अवस्थालाई पनि सहज स्वीकार भावमा ग्रहण गर्न थाल्नुभएको छ । खानामा मिठोनमिठोको नाटीकुटी पनि छैन । नून अलि बढी भयो, कम भयोको गुनासो पनि छैन । मलाई यस्तो उस्तो कपडा ल्याइदिइस् भन्ने गनगन पनि छैन । सम्यक बोधीज्ञानले भरिएको आत्माजस्तो रागद्वैष, गनगन गुनासोबाट विरत विरत हुँदै जानुभएको छ । कयौँ सन्तको जीवनी पढ्दा पाएको सन्तत्व गुण त मेरै पिताजीमा विकसित भइरहेको छनक मिल्छ।

्उहाँलाई ताक्लिछाका कार्की, खत्री, भट्टराई, राई, मगर, बानियाँ, कटुवाल, थापा, भुजेल सबै परिवारको पुस्तैनी बंशावली कण्ठ थियो । आठदस पुस्तासम्मका नाम, तिथिमिति, पितापूर्खाको कहिरन रिठ्ठो नविराई वर्णन गरिदिन सक्नुहुन्थ्यो । उहाँको मस्तिष्कमा सानोसानो विश्वकोश नै थियो÷सात गाउँका मानिस हेर्न, कोर्न, सोध्न पितासित ओइरिरहन्थे । नौकाण्डको रामायण, अठार पर्वको महाभारत, अर्जुनगिता, कोमल गीता, सतिसावित्री, प्रल्हाद भक्ति कथा, लोकमञ्जरी लगायतका दर्जन काव्यहरू पूराका पूरा काण्ठ थियो । पहिलेपहिले सात गाउँका मान्छेले विवाहमा सिलोक भन्न र खाँडो जगाउन उहाँलाई छुट्टै निम्ता दिन्थे । विहेमा सिलोक भनेर रात फर्लङ्ग पारिदिनुहुन्थ्यो । कतिपय अवस्थामा त बेहुली अन्माउने बेला भैसक्ता पनि सिलोक जुहारीमा एकरत्ति नहारी लडन्त गरेको दृश्य आँखाले देखेको छु । एघार अध्यायको चण्डीदेखि अठार अध्यायको गीता पनि मुखाग्र कण्ठ थियो । उस्तै मै हुँ भन्ने पण्डित ज्योतिषि, पुरोहित र जान्नेहरू उहाँका अगाडि कुरा गर्न हच्किन्थे । त्यस्तो टाठो चेतना थियो उहाँसित । ती सबै कण्ठस्थ ज्ञान विस्मृतिको गर्भमा विलीन हुँदैछ । अहिले मलाई एक पछुतोले घेरेको छ । बुवासित मेरा पुर्खाहरूको विषयमा निकै धेरै सूचना र जानकारीको भकारी थियो । त्यसलाई लिपिबद्ध गरेर आफ्नो जातिको एक सामाजिक इतिहास लेख्ने योजना थियो । समय छँदैछ, पिताजीलाई अरू केही वर्ष आवश्य केही हुँदैन, विस्तारी उहाँको जानकारीका ज्ञानहरू टिपोट गर्छु भन्ने मनसुवा राखेको थिएँ । तर, अनायास उहाँको स्मृति लोप हुन थालेपछि म पश्चातापको अग्निकुण्डमा जलेको छु । कठै ! बुबासित भएको त्यो अक्षय ज्ञानको  भण्डार अक्षरमा लिपिबद्ध नभई विस्मृतिको गर्भमा विलीन भयो । अब कसै गर्दा पनि त्यो ज्ञान मलाई उपलब्ध नहुने भो । मलाई लाग्छ उहाँसित भएका ती मेरा पूर्व वंंशजका सूचना र ज्ञान अब अरू कोहीसित छैनन् ।

समयको कति ठूलो हेक्का राख्नुहुन्थ्यो । घडिपला, दिनबार, महिना, साल एक एक याद रहन्थ्यो । आफ्नो शाखासन्तान, कुलकुटुम्ब मात्र होइन, गाउँघरका अन्य मानिसका जन्ममृत्युका तिथि मितिहरू प्रष्ट बताइदिनुहुन्थ्यो । कसैलाई तिथिमिति सम्झिनमा कठिनाइ भयो भने पिताजीसामु कुदेर आँउथे । समयप्रति त्यस्तो टाठो ज्ञान राख्ने मानिस अहिले त्यसैत्यसै अल्मलिन थाल्नुभएको छ । ऋतु र महिना, साल र बार भुल्न थाल्नुभएको छ । मंसिर महिनामा उहाँलाई अहिले के महिना हो बा भनी सोध्यो भने अहिले असार हो भनिदिनुहुन्छ । असारमा अहिले के महिना हो बा ? सोध्यो भने कार्तिक भनिदिनुहुन्छ । यसैगरी बारको हेक्का राख्नपनि छोड्नुभएको छ । अहिले कुन सिजन हो ? हिउँद हो कि वर्षा हो ? ठिकठिक छुट्याउन सक्नु हुन्न । खेतमा धान लहलह पसाउन लागेको छ । रोपाई गर्ने बेला भएन अब ? सोध्नुहुन्छ । यसरी ऋतुचक्र र यामलाई भुल्नु थाल्नुभएको छ ।

नाम त उहाँलाई कति हो कति कण्ठ थियो । गाउँघरका प्रत्येक मान्छेका बाबुबराजु च्याप्जुसम्मका नाम बताउन सक्ने मानिस तर अहिले आफ्नै बाजुबाजेको नाम सोध्दा मुस्किलले बताउनु सक्नुहुन्छ । बार्धक्यको सीमान्त घडीमा उहाँको स्मृति क्षीण बन्दै गए पनि उहाँको खानपिन यथावत् छ । अरू व्यवहारहरू सामान्य छन् । जाडो गर्मी, भोकतिर्खा, दिसापिसाबको बोध र संवेदना जीवन्त छ । यसर्थ पिताजीको जीवन सामान्य सन्तुलित लयमा बगिरहेको छ । कामना गर्छु, शारीरिक स्वास्थ्यमा त्यस्तो कुनै जटिल अड्चन नआओस्।

केही समयदेखि उहाँले मलाई बा भन्न थाल्नुभएको छ । हिजोसम्म यो मेरो कान्छो छोरो हो भनेर व्यवहार गर्ने पिताजीले  मलाई किन बाको  उपाधि दिनुभयो ? मलाई थाहा छैन । उहाँको रेखदेख लालनपालन सबैसबै चिजको हेरचाह मबाट भैरहेको छ । सायद छोराबाट एक पितातुल्य स्नेह पाएको बोध भयो कि उहाँलाई, नुहाइधुवाइ गरिदिने, दिसापिशाव गराउने, नङ काटिदिने, मालिस गर्ने, लुगाफाटो लाइदिने लगायतका काम सस्नेह मैले गर्दै आएको छु । यस कुराले उहाँको अज्ञात चेतनामा आफू दिनदिनै बच्चा  हुँदै गएको म पितातुल्य बन्दै गएको आभाष भयो कि के हो ? मलाई मेरा बा भनी सम्बोधन गर्न थाल्नुभयो । उहाँलाई कतिचोटि सम्झाइसकेँ, म बा होइन तपाईको कान्छो छोरा पो हुँ त भन्दा उहाँ खिल्खिलाएर हाँस्नुहुन्छ र मेरो कुरा पत्याउनु हुन्न । सुरुसुरुमा मलाई पिताजीको सम्बोधन अप्ठ्यारो लागे पनि विस्तारी सहज लाग्न थाल्यो । उहाँप्रतिको प्रेम र कर्तव्य अरू बढेको महसुस गरेँ । सायद अस्तित्वको व्यवस्था यस्तै  नै होला भन्ने ठानेँ ।

उहाँमा आफ्ना छोराछोरी नातिनातिनाप्रतिको अतिशय मोहभाव पनि अब रहेन । आफ्ना छोराछोरी नातिनातिनाको औधि खातिरदारी गर्नुहुन्थ्यो । अब दिनदिनै निर्मोही बन्दै जानुभएको छ । एकहिसावले यो कुरा ठिकै भएजस्तो लागेको छ । किनभने मानिसहरू जतिजति बूढ्यौलीतिर गयो त्यतित्यति लोभलालचा र मोहपाशमा जेलिएको दृश्य देखिरहेको छु । यस संसारबाट विदा हुने बेलामा छुट्नुपर्ने मायामोहका बन्धनहरू झन्– झन् कसिलो बन्दै गएका घटनाहरू देखिरहेछु । त्यो अर्थमा मेरा पिताजीले कसैको अनावश्यक मायामोह र राग नबोकेको देख्ता मलाई आनन्द आइरहेछ । आखिर यति लामो आयु बाँच्नु भो । छोराछोरी नातिनातिनाको लागि आपूmले जो सकेको काफी दुःख र मिहेनत गर्नुभो । अहिले सवै छोराछोरी नातिनातिनाहरू आआफ्नो पखेटा हाली उडिजाने भए, गरिखाने भए अब पनि पिताजीले उनीहरूको बारेमा किन चिन्ता गरिरहनु परयो र ? शाखासन्तानप्रतिको नचाहिँदो मोहलाई चटक्क छोडिदिएकोले उहाँ राग र मोहबाट विरत बन्दै गएको आभास मिलेको छ।

अब उहाँको चेतनामा द्रव्यमोह पनि विसर्जन भएको छ । धनसम्पत्ति र पैशाको कुनै चासो छैन उहाँलाई । चियासुर्ती सिंगरेटको लागि दुईचार दिन, दुईचार दिनमा सयपचास मागिरहनुहुन्थ्यो । त्यो माग्ने क्रमपनि बन्द गरिदिनुभयो । उहाँलाई सरकारले दिने वृद्धभत्ता रुमालमा गठरी बनाएर राखिदिन्थेँ ।  वृद्धभत्ता आउन ढिलो भयो भने त्यसको विषयमा चासो राख्नुहुन्थ्यो, मेरो पैसा आएन, पटकपटक सोध्ने गर्नुहुन्थ्यो । अब पैसा आओस, नआओस् । खोजविन गर्न छोडिदिनु भयो । गोजीमा दुईचार पैसा राखिदिदाँ पनि ठिकै छ । राखिदिएन भने पनि ठिकै छ । पैसाप्रतिको मोह र लिप्सा एकरत्ति पनि बाँकी रहेन मस्तिष्कमा ।

दशैँको बेलामा धेरै आफन्तजन, दाजुभाइहरू उहाँको हातको टिका र आशीर्वाद थाप्न आउँछन् । उहाँले टिका लगाइदिएको बेला बाँच्ने आशीर्वाद अर्थपूर्ण, काव्यात्मक र निकै लामो हुने गर्छ । त्यसलाई सुन्न पनि कतिले रस मान्छन् ।  टिका थाप्न आउने कतिले नब्बे कटेका वृद्ध तपसीलाई ढोग्ने बेलामा खुट्टामा केही पैसा राखेर ढोगे । उहाँले ती पैसा टिप्तै इष्टकोटको गोजीमा राख्तै जानुभयो । मैले ती पैसा जतन गरिदिनेतर्फ त्यति चासो राखिन । उहाँले स्वयं ती पैसा जतनसाथ राख्नुभयो । पैसाप्रतिको नचाहिँदो मोह नराखे पनि कसैले ढोगेर दिएका पैसा आफैँले समालेर राख्नुभयो ।

उहाँ खल्तीमा फाल्टो कागजका पन्नाहरू पनि राख्ने गर्नुहुन्थ्यो । चर्पी जाँदा दिसा गरेपछि पानीले शौचक्रिया गर्नुअघि कागजले पुछ्ने बानी छ । एकदिन थाहा पाए । पिताजी चर्पी जाँदा गोजीका वीस टकेहरू दिसा पुछ्न ठिक पार्दै गर्नुभएको रहेछ । चर्पीबाट फर्केपछि उहाँको गोजी छामेँ । पिताजीले त कागज र पैसा बराबरी प्रयोग गर्नु थाल्नुभएको रहेछ । पिताजीको नजरमा अब पैसा सिर्फ गु पुछ्ने कागजबाहेक केही रहेन । कतिपय बूढाहरूले खोकिलामा मर्ने बेलामा पनि पैसाको गठरी चेपेर परमधाम गएको दृश्य देखेको छु । पिताजीलाई पैसाको कुनै लोभलिप्सा अब रहेन । द्रव्यमोहको लिप्साबाट विमुक्त हुनु पनि सानो सानो मोक्षप्राप्ति नै हो।

उहाँको लोभको दायरामा अब एउटै चिज बाँकी बँचेको छ त्यो गीताको पोस्तक, चाँदन र चनौटो अनि रुद्राक्ष माला । यी चिजचाहिँ घरि  न घरि सम्झिनुहुन्छ । बिहान उठ्नेबित्तिकै मुख धोएर गीताको पुस्तक पुज्ने उपक्रममा धन्दा गर्न थाल्नुहुन्छ । कहिलेकाही दिउँसो सुतेर उठ्नुभयो भने पनि पोस्तक खोलेर पाठपूजाको मेलोमा लाग्नुहुन्छ । बिहानै पाठ गरिसक्नु भो त, भनेपछि झल्याँस्स बन्नुहुन्छ । ए होर, बिर्सेछु भनी पोस्तक थन्क्याउनुहुन्छ । गीताको पोस्तक हराउँछ कि कसैले लान्छ कि भनी त्यो झोला सिरानमै राखेर सुत्नुहुन्छ ।  पैसाबाट विरत बनिसक्नु भो । गीताप्रति उहाँको अचेतन मस्तिष्कमा कति ठूलो राग उनिएको छ । थाहा पाउन सकिँदैन । अब अन्तिम पावरको चश्माले पनि काम गर्न छोडिसक्यो क्यार । पढ्न नसके पनि पोस्तक फिँजाएर त्यसलाई पुज्ने क्रम रोकिएको छैन । गीताग्रन्थ स्मृति केन्द्रमा अझै जीवन्त रूपमा विराजमान छ । गीताप्रतिको भक्तिमोह प्रबल रूपमा स्मृति केन्द्रमा झङ्कृत छ । त्यसले चौवीस घण्टामा पटकपटक पिताजीलाई जागरूक र सक्रिय गराइराखेको छ।

प्रायः बुढ्यौली अवस्थामा स्मृतिलोपको यो भयानक समस्याले मानिसलाई गाँज्दो रहेछ । अक्सर बूढ्यौलीमा घटित हुने स्मृतिलोपले कसैकसैलाई समय अगाडि नै पनि छोप्तो रहेछ । नेपाली बौद्धिक आकाशमा कहलिएका एक व्यक्ति कौशलराज रेग्मीलाई यो व्यथाले समातेको कुरा तुलसी रेग्मी हजुरबाले केही वर्षअघि मलाई सुनाउनुभएथ्यो । उहाँ अचानक स्मृतिलोपको शिकार भएपछि घरपरिवार नातागोता छोराछोरी, इष्टमित्र कोही नचिन्ने हुनुभयो रे । उपचारको लागि अमेरिकाको अत्याधुनिक सुविधा सम्पन्न अस्पतालमा पुरयाउँदा पनि कुनै उपाय लागेन । कृष्णप्रसाद भट्टराईको निकटस्थ उहाँको भट्टराई बूढाले पनि भरमग्दुर कोसिस गरे, त्यो सबै उपायहीन भयो भनी तुलसी बाले सुनाउनुभयो । केही वर्षअघि नै प्रजातान्त्रिक आन्दोलनका ती बौद्धिक व्यक्तित्व संसारबाट विलीन भैसकेका छन् । उहाँप्रति श्रद्धा सुमन !! कृष्ण धरावासीको आलेखमा पढ्न पाएको छु, साहित्यकार सञ्जिव उप्रेतीकी ममतामयी माताजी पनि स्मृतिलोपबाट पीडित हुनुहुन्छ । उहाँका पतिदेव डाक्टर शंकर उप्रेती स्वयम्मा एक चर्चित चिकित्सक हुनुहुन्छ । उहाँले आफ्नो जीवनकालमा हज्जारौँ रोगीलाई निको बनाउनुभयो तर निको नहुने स्मृतिलोपमा डल्लिएकी पत्नीसामु अवाक, अकिञ्चन र उपायविहीन बन्नुभयो । नियतिको खेल मान्नुपर्छ, चर्चित चिकित्सक पनि निरुपाय बन्नुपर्ने घडी आउँदो रहेछ । म यतिखेर आफ्नै पिताजीको अवस्था अवलोकन गरिरहेको छु । मैले पनि डाक्टरहरूलाई देखाएँ, सोधनी गरेँ, उनीहरूले एउटै कुरा भने –बूढ्यौली अवस्थामा आउने यो  स्वभाविक समस्या हो । रेखदेख, स्याहार र सहजीकरण गरी दिनचर्यालाई सजिलो बनाइदिनुभन्दा अर्काे उपाय छैन अरे।

सुन्छु प्रगतिवादी साहित्यका एक धरोहर श्यामप्रसाद शर्मापनि यही समस्याबाट पीडित भई पछिल्लो समयमा आफ्नै कोठामा सीमित हुनुभएको छ अरे । उहाँजस्तो चनाखो र टाढो व्यक्ति पनि नियतिको त्यही दुष्चक्रमा पर्नुपरयो । पिताजीकै कारण निकै लामो समय भयो घर छोडेर काठमाडौ नगएको । नत्र काठमाडौँ गएपिच्छे  उहाँको छोरीको घरमा पुग्थेँ, उहाँलाई भेटेर फर्किन्थेँ । उहाँसित अनेकौंचोटि कुराकानी गरेको छु, साक्षात्कार गरेको छु । उहाँका झन्डै एक दर्जन कृति समीक्षा गरी उदयपुरको स्थानीय पत्रिकामा छपाएको छु । ती कटिङहरू उहाँलाई बुझाएको छु । दिन परदिनका घटना परिघटनालाई रिठो नबिराई सिलासिलेवार ढंगले दैनिकी लेखनमा उतार्ने, सालैपिच्छे त्यस्ता दैनिकीका पुस्तक प्रकाशन गर्ने अग्रज स्रष्टा हाल आएर संवेदना शून्य, आवेगप्रवेग र उत्तेजनाशून्य, कसैलाई नचिन्ने, केही लेखपढ गर्न नसक्ने अवस्थामा पुग्नुभएको कुराले भित्रभित्रै मर्माहत भएको छु । तर उहाँलाई  अत्यन्त ठूलो आदर र सेवाका समथ छोरीहरूबाट स्याहार र उद्दार मिलिरहेको कुराले भित्रभित्रै पुलकित बनेको छु ।

सपुत छोराछोरीका बाबुआमा स्मृतितलोपको शिकार बने त केही  न केही स्याहार सेवासुश्रुषा मिल्दो हो । तर जसको आमाबाबुप्रति कुनै आस्था, अनुराग र स्नेह छैन । त्यस्ता कपूतका मातापिता स्मृतिलोपमा खसे भने जीवन कति कष्टदायी होला । जीवन कति नारकीय बन्ला त्यसको बारेमा सोचिरहेको छु, गुनिरहेको छु । कडा स्मृतिलोपको शिकार बनेका व्यक्तिहरूलाई दिसापिसावको समेत याद र अहसास हुँदैन । अरूले नै दिसापिसाब गराइदिनुपर्छ । दिसापिसावको होससम्म नहुने अवस्थाको रोगीलाई स्याहार गर्न कति गारो छ । सन्तान साँच्चै सपुत हुनुपर्छ । नत्र धेरै बाआमाले छोराछोरीकै बुद्धिको कारण नपाउनु दुःख पाएका अनेकौँ उदाहरण छन्।

मेरा पिताजी दिसापिसाब गर्ने, खकार, थुक ठाउँमै गएर फ्याँक्ने कुरामा कति सचेत हुनुहुन्छ । जस्तै– अशक्त शारीरिक विमारी हुँदा पनि चर्पीमै गएर दिसा गर्ने मनसुवा गर्नुहुन्छ । उहाँ भित्रको लज्जाबोध यति जीवन्त छ, भर्सक दिसापिसावको बेला अरूले स्याहार नगरून् । एकान्त एक्लै अवस्थामा दिसापिसावको काम सम्पन्न होस् भन्ने चाहनुहुन्छ । यस आधारमा मेरो पिताजीको सौभाग्य हो, त्यो जटिलतम स्मृतिलोपको दारुण परिस्थिति उहाँले व्यहोर्नुपरेको छैन । त्यसो त दिसापिसाव गर्ने, सरसफाइमा रहने, पाठपूजा गर्ने लुगाकपडा सभ्यसपेती पारामा लगाउने, जाडोगर्मी भोकतिर्खा अनुभूत गर्ने, त्यसलाई अभिव्यक्त गर्ने कुरामा उहाँको एक कन्चो पनि होस गएको छैन ।

मैले सुनेको छु जिवेन्द्रदेव गुरुको मुखबाट । अनि पढेको छु कान्तिपुरका पानाहरूमा “मृगस्थली”कृतिका लेखक दुर्गाप्रसाद भण्डारी पनि स्मृतिलोपमा जानुभएको छ अरे । केही वर्ष अघिसम्म उहाँका ललित रुमानी भावका निबन्धहरू हप्तैपिच्छे साप्ताहिक  पत्रिकामा म नछुटाई पढ्थेँ । ती निबन्धमा उहाँका अजस्र विचारका रोमाञ्चकारी भाव छताछुल्ल पोखिएका हुन्थे । त्रिभुवन विश्वविद्यालयका इनेगिने बैद्धिक  प्रतिभा जसका विचारशील निवन्ध र कुराहरुले हामी युवाहरू तरंगित हुन्थ्याँै । फेरि युवायुवतीहरूलाई उहाँ अतीव प्रेमिल नजरले अङ्कमाल गर्नुहुन्थ्यो । फेरि युवायुवतीहरूलाई उहाँ अतीव प्रमिल नजरले अंकमाल गर्नुहुन्थ्यो । उहाँको मृगस्थलीले मेरो हृदयका धेरै पाटाहरूलाई छोएको छ । त्यसबाट प्रभावित हुने र अनुप्रेरणा हासिल गर्ने  कुरामा म एककदम अगाडि ठान्छु । ती गुरुदेवसित प्रत्यक्ष साकात्कार गर्ने सुयोग त मलाई मिलेन तर पनि अक्षरका शिविरहरूमा भेटेको एक गुरुको रूपमा मैले हृदयका प्राणप्रतिष्ठा गरेको रहेछु । उहाँको अर्काे कृति “रोटी, फुल र अकाश” पढ्नका लागि अति लालायित छु । तर आजसम्म त्यो कृति भेट्न सकेको छैन । चिन्तन र सिर्जन आकाशका ती उज्ज्वल नक्षत्र दुर्गा भण्डारी स्मृतिलोपको शिकार बनी घरको चारदिवारवीच कैद छन् भन्ने पढ्दा सुन्दा म छाङ्गाबाट खसेतुल्य बनेँ ।

चैतन्यको परम् शिखरमा आरोहित त्यो स्रष्टा सुस्त संवेगहीन लाटो बन्दा वाङ्मयलाई कति घाटा लाग्यो होला ? अस्तित्वको अकाट्य विषय हो, जसलाई स्वीकार गर्नुभन्दा अरू हामीले के नै गर्न सक्छौँ र ? यस्ता तीव्र तीक्ष्ण मस्तिष्कका मनिषिहरु स्मृतिलोपमा खस्ता घरीघरी त यस्तो लाग्छ हतियारको ज्यादै लाग्ने धार छिटै खस्छ भनेझैँ प्रकृतिले स्मृति केन्द्रको सुललित संरचना भत्काइदिन्छ कि क्यो हो ? मेरो यो सन्देह पनि शतप्रतिशत सत्य हुनसक्तैन किनभने अनेकौँ प्रतिभा सयको हाराहारामा पनि उत्तिकै तेज स्मृतिवान र सृजनशील  बरिहेका अनेक उदाहरण छन् यहाँ । चाहे सय आसपासका संस्कृतिविद् विराट वाङ्मयसेवी सत्यमोहन जोशी हुन्, चाहे शताब्दी आयुको सेरोफेरोमा पनि महाकाव्य बुन्न तल्लीन कविवर मावध घिमिरे हुन् या चाहे पत्रकार मदनमणि दीक्षित हुन् या कमलमणि या पत्रकार भैेरव रिसाल हुन्, यी बूढाहरूको ताजगीपूर्ण स्मृतिचेत  देख्ता सबैसबै मान्छे  लोभिने गर्छन् ।

हृदयमा एक पुकारा छ, वाङमयका शिखर हस्तीहरू, जो  सरस्वतीको परम् भन्नु छन् तिनको मस्तिष्कलाई कुनै घाउचोट नलगोस् । उनीहरूको स्मृति केन्द्र कहिल्यै नमरोस् । रोजरोज नबउन्मेषको यात्रा गर्ने  मथिङ्गल कोमामा नसुतोस् ।  तर मान्छेको कामनाभन्दा समय शक्तिशाली छ, प्रकृति शक्तिशाली र अस्तित्व बलशाली छ । समयको खेल हो को कति बेला कुन रोगको शिकार बन्नुपर्ने हो, त्यो कसैलाई थाहा छैन । र त्यसको पूर्वानुमान गर्न पनि सकोइन् किनभने केही समय अघिसम्म मेरा पिताजीको होस यति जीवन्त र तरोताजपूर्ण थियो । अरू दश वर्ष मेरा पिताजीको चेतना केही हुनेवाला छैन । यस्तो गर्व र अभिमानको ठोकुवा गर्थेँ ।

मेरा पूर्वज पितापूर्खाका नालीबेली तिथिमिति, नाम र संवत्हरु टिपोट गर्ने र आफ्नो वंश परम्पराको सामाजिक इतिहास तयार गर्ने मेरो मनसुवा थियो । समय छँदैछ । बुबा अझै स्वस्थ सचेत हुनुहुन्छ, आठ दशवर्ष पिताजीको स्वास्थ्यमा पक्कै कुनै घुनपुत्ली लाग्ने छैन । फुर्सदको क्षणमा पिताको स्मृतिमा रहेको ज्ञानभण्डारलाई एकएक गरी अक्षरमा उतार्छु भन्ने सोच थियो । तर एकाएक पिताजीको स्मृतिद्वार खुल्न ढिलाइ हुन थालेपछि मेरो संकल्पले हावा खायो । अब मेरो सपना पानीपानी बन्यो । अब पछुताउनुबाहेक केही बाँकी रहेन । अब पिताजीको अक्कलको ताला खुल्न गारो छ ।  उहाँँको स्मृतिमा संचित ज्ञान राशिहरू विलोपीकरण हुँदा छन् । उहाँ हाम्रो वंशको एक जीवित सम्पदा हुनुहुन्थ्यो । वंशपरम्पराको कहिरन बताउने कथावाचक हुनुहुन्थ्यो । तर स्मृतिलोपको शिकार बनेपछि संवेगशून्य बन्दै जानुभएको छ । उहाँलाई जान्नेसुन्नेहरू छक्क पर्छन् ज्ञान र अनुभवको त्यो प्रखर ज्योति दिनानुदिन सेलाउँदै गएकोमा । धन्य उहाँको शारीरिक स्वास्थ्यमा अहिलेसम्म धमिरो लागेको छैन । उत्तिकै खाइरहनुभएको छ । चपाइरहनुभएको छ । उत्तिकै निद्रा सुतिरहनुभएको छ । खानपान खुराकी घटेको छैन, पाचन यन्त्र सहिसलामत छ । रात्रिको निद्रा ठीक छ । जीवनलाई चाहिने आधारभूत अन्य संवेदनाहरू जीवित छन् र उहाँ एक मौन निर्विकार भावको सन्तत्व गुणले आपूरित बनेर बाँचिरहनुभएको छ ।

रामायणमा एक घटना छ, जब रामले रावणमाथि नाभीकेन्द्रमा शरवर्षा गरी उसलाई युद्ध मैदानमा ढाले । ऊ घाइने भएर पल्ट्यो । रावण मरिसकेको थिएन । रामले भाइ लक्ष्मणलाई भने, तिमी रावणसामु जाऊ र केही ज्ञानगुणका कुरा सिकेर आऊ । हुन त ऊ हाम्रो दुश्मन हो तापनि ज्ञानमा अनुभवमा ऊ हामीभन्दा अगाडि छ ।  रावणसित अनमोल ज्ञानका खजनाहरू छन् । त्यो ज्ञान लिने काम गर । रामले पठाएपछि लक्ष्मण रावणसामु पुगेर आफू केही ज्ञान लिन आएको कुरा गरे । दाजुले पठाएर आएको कुरा जानकारी गराए । रावणले भन्यो, हेर लक्ष्मण मेरो त अन्त्यकाल आइसक्यो । अब जानलाई बाँकी मात्र छ । मेरो स्मृतिकेन्द्रमा धेरै कुरा बाँकी छैनन् । ज्ञानगुणका धेरै कुरा बिर्सिसकेको छु । तर तिमीलाई एउटै सन्देश दिन्छु – गर्छु भनेको काम आज गर्नू, भोलिपर्सिलाई थाती नराख्नू । मैले पनि केही महान् काम गर्ने संकल्प गरेको थिए । समय छँदैछ । भोलिभोलि गर्छु भन्दै भाका राखेँ तर आज मेरो जानेबेला भयो । मैले गर्छु भनेको काम अब गर्न सक्तिन । मलाई मृत्युले अँगालो कसिसक्यो । गर्ने काम जति छन् आजै गर्नू भोलिको समय आउँदैन । भोलिलाई थाती राख्यो भने त पछुताउनुबाहेक केही बाँकी रहँदैन । रावणको यही अन्तिम सन्देश बोकेर युद्ध मैदानबाट लक्ष्मण फिर्ता भए।

रावणको यो अन्तिम सन्देश कति सारगर्वित छ ? हामीले यसको मर्मलाई पहिल्याउने हो भने, यसको भावलाई आत्मसात् गर्ने हो भने कति कामकाजी बन्थ्यौँ होला । तर हामी पनि रावणकै जस्तो सपना बोकेर वर्तमानलाई निरर्थक कामको पछि लागि समय भुक्तान गरिरहेका छौँ । पिताजीको स्मृति चेत जीवन्त छँदै मैले उहाँबाट टिप्नुपर्ने कुरा टिपेको भए आज पछुतो मान्नुपर्ने थिएन । उहाँबाट थुत्नुपर्ने सम्पदा थुत्न सकेको भए मेरो पनि ज्ञान  सूचना आकाश अरू दरिलोभरिलो हुने थियो होला । काश ! पश्चातापको अग्निमा जल्नुबाहेक बाँकी केही उपाय छैन ।

प्रकाशित: २६ माघ २०७७ ०४:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App