२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

उमेर ढल्किदै छ आफ्नो भन्ने मान्छे छैन !

सिजो कविता

१)

गलत भएपछि पश्चाताप गर्नुपर्छ

घमण्ड गर्न हुन्न आफैंलाई बिर्सिएर

समाज परिवर्तन हुन्छ राम्रो सोचले ।

 

२)

 

प्रत्येक साँझ पख भारी मन बिसाउँदा

मलिन अनुहार भित्ताभरि टाँसिएर

स्वतन्त्र हुन दौडिंदा कोलाहल ढलेछ ।

 

३)

 

पिउँदै जाँदाखेरि बेहोसीमा फसिएछ

उठेर हिँड्न लाग्दा घोप्टो परी रुवाबासी

इज्जत धूलोमा मिल्दा कालोनिलो भएको ।

 

४)

एक्लिंदो मेरो मन कसलाई भनौँ सबै

उमेर ढल्किदैछ आफ्नो भन्ने मान्छे छैन

हिँजडा भन्दै पन्छेका सबैजसो तर्सेका ।

 

५)

हिउँको न्यानो घाम सबैलाई अति प्यारो

बिहानी आगमन खुशीयाली सबैतिर

सुर्यास्त हुन खोजेको चिसोपन आफैमा।

 

६)

बोकेर कालो झण्डा दौडधूप थाकिएछ

पूरा भो मागहरू सत्ताप्राप्ति नेतालाई  

बिचरा विद्रोहीलाई छाक टार्ने कसरी।

 

७)

अदृश्य पोखिएको डरलाग्दो अनुहार  

कहिले हटाउने पत्तो छैन कसैलाई  

बज्रेको टाउँको छाम्दा लुलो खुट्टा भर्केको ।

 

८)

नसालु आँखा तिम्रो हेराइमा घुस्यो मन

पिरती साट्नलाई इच्छा जाग्यो आफैबाट

आवाज ननिस्केपछि सकिएन जोडिन।

 

९)

हिँडेको सोझो बाटो चिप्लिएर पछारिए

समय बितिगयो कति बोकूँ बोझ तिम्रो

थाकेको सिङ्गो शरीर पन्छाउन थाल्दैछु।

 

१०)

चिप्लियो डङ्ग्रङ्ङ अत्याउँदै सबैलाई  

छलेर बाटो खोज्दा समाउने ठाउँ छैन  

लाजले मुख छोपेर हत्तारिदै दौडियो ।

११)

आवाजै डरलाग्दो अनुहार मिले पनि  

पाइला नाप्दै जाँदा बाटो खोजे भेटिएन

धमिलो पानी हेरेर भाग्दा भाग्दै चिप्लेछु।

प्रकाशित: २३ माघ २०७७ ०६:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App