२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

तस्वीर जीवनको

कथा

कालो चस्मा  लगाएको। काँधमा झोला भिरेको। कम्मरको पाइन्ट खस्ला जस्तो भएको ।मुखभरि दर्फराएको घाउको पाप्रा केही सुकेको ,केही आलो,टाढाबाट हेर्दा कुनै मातेको मान्छे ढुन्मिनुदै हिडेको जस्तो देखिन्थ्यो । अलि नजिकैबाट मात्र उनलाई फलानो व्यक्ति हो भनेर चिनिन्थ्यो ।उनी थिए काठमान्डौको  कुनै भिआइपी टोलका केही समय अगाडिसम्म कुनै उच्च तहका सरकारिया भिआइपी मिस्टर के अधिकारी ।

अहिले मिस्टर अधिकारी भूतपूर्व बन्न पुगेका छन् । त्यसैले अहिले उनीसङ्ग फुर्सद नै फुर्सद छ । फुर्सदको साथमा उनीसँग अहिले पैसा पनि प्रसस्त छ। पैसा र फुर्सदको संगमले अहिले उनले एउटा नया साथी बनाएका छन् । त्यो हो रक्सी ।रक्सी अहिले उनको प्राण प्रिय  साथी भएको छ । त्यसैले उनी रक्सीवाज भएका छन्  । काँधमा झुन्ड्याएको झोलामा उनी त्यही  बोक्छन् ।

बाल्यकाल र यौवन अवस्था उनको जस्तो सुखमय सायद कमैको मात्र बितेको होला किनभने उनको जनम नै एक संभ्रान्त परिवारमा भएको थियो । उनको घर कम्पाउडको लेखाजोखा थिएन । धन – दौलत के कति कहाँ छ भन्ने हिसाबकिताब उनलाई थहा थिएन । चाकडीदार र नोकरचाकर  प्रत्येक कामको लागि फरक थिए। पत्नी पनि उनले आफैजस्तो संभ्रान्त  थिइन् । समयको क्रममा रामलक्ष्मण जस्ता दुई छोरा जन्मिए । उनलाई अफिस गए पनि त्यतिकै रमाईलो घर  बसे पनि रमाइलै रमाइलो थियो । छोराहरू ठुला हुँदै गए । स्कुल जान थाले । स्कुलमै बस्न थाले बोडर्स भएर । स्वदेशको स्कुल नभएर विदेशको पनि नाम चलेको स्कुलमा भर्ना भए। उनीहरू वर्षको एकपटक मात्र लामो बिदामा घर आउने गरी स्कुल बस्न थाले । छोराहरू बिदेशको बोर्डिङ भर्ना भएपछि श्रीमतीलाई घरमा बस्न मन लागेन । श्रीमानसँग सल्ल्ह गरेर आफ्नै हैसियत मिल्ने परिवारले डाउनटाउनमा खोलेको कुनै नाम चलेको ट्राभेल और टुर कं प्रालीमा  पैसा कमाउँन होइन  समय कटनीका लागि काम गर्न थालिन् । बिहान उनी चिप्लो गाडीमा बसेर जान्थिन् । अनि बेलुका धेरैजसो ढिलो त्यही चिप्लो उनको आफ्नै गाडीमा घर फर्किन्थिन् ।विदेशमा अध्ययन गर्न पठाइएका छोराहरूलाई  स्कुल सकिएपछि उच्च अध्ययनका लागि सात समुद्रपारि पठाइयो । श्रीमान्  –श्रीमती आआफ्नो काममा व्यस्त थिए ।  उनीहरू बीच कुनै तनाव वा शिकायत थिएन ।

श्रीमान बिहान ठिक दस बजे ठूलो र चिप्लो गाडीमा बसेर अफिस जाने बेलामा गेटपालेले  फुर्ती र अदपका  साथ सलाम गर्दथ्यो । उनी पनि मुसुक्क हांँसेर जवाफ  फर्काउँथे । समय बित्दै गयो । विदेशमा पढ्न बसेका छोराहरू ठुला र स्वावलम्बी मात्र भएनन्  उनीहरू विदेशी नै भए । वयस्क भएपछि त्यहीँका केटीहरू बिहे गरेर त्यही नै बसोबास गरे ।

मिस्टर भिआइपीको रमाइलो र संतुलित समय तालिका विखण्डित भयो । भताभुङ्ग भयो । उमेरको हदले उनले अवकाश पाएपछि एक्ला भए । घरमा उनीसंग मुख बोलाउ गर्ने आफ्नो परिवार कोही भएन । नोकरहरुले तालिका अनुसार  तयार पारेको खाना खान पनि उनलाई इच्छा  हुँदैन थियो । श्रीमती बिहान जान्थन् । राति ढिलो फर्किनथिन् । उनको सधैं जसो पार्टी हुन्थ्यो ।

पहिले टिभी र सिनेमाका शोखन अहिले त्यसप्रति पनि उनको इच्छा मरेको छ । श्रीमती र छोराहरूसँग शनिबार पिकनिक , हाइकिङ गएको सम्झना आउँदा उनको मन पुलकित हुन्छ । तर, वर्तमानमा फर्केपछि एकैछिनमा भताभुङ्ग हुन्छ । उनको घाँटी सुकेर आउँछ । त्यसबेला उनको मनले एकांकी मेटन आफ्नो परिवारको चाहना गर्छ । अनि उनी आफूले बनाएको नया साथीसँग रमाउन थाल्छन् । 

व्यस्त हुँदा उनले आफ्नो बगैंचामा घुम्नेसम्म मौका पाएका थिएनन्। अहिले एकाबिहानैदेखि  टोलका कुनाकाप्चाका रक्सी पसलहरू घुम्ने मौका पाएका छन् । कहिले कुनै कहिले कुनै टोलका व्यक्तिले उनलाई पिउन पाउने आसले  साथ दिइरहेका हुन्छन्  । पहिले त उनको अगाडि पर्ने हैसियत पुग्दैन थियो । अहिले पिउन पनि साथी बनेका छन् किनकि उनी अहिले भूपू भएका छन्  । फुर्सदिला भएका छन्  । रक्सीको कुलतले उनी सबै कुरा बिर्सदै छन् ।

 छोराहरूको सम्झना पनि आउँदैन । श्रीमतीको वास्ता पनि छैन । उनलाई आफ्नो घर , नरम विछयौना, मिठा परिकार केहीको वास्ता छैन । पिउँदापिउँदै ढुममुनाएर कहिले सडक पेटीमा पछारिन्छन्  । लुगाफाटा मैला र अनुहार फोहर भए पनि मतलब राख्दैनन् । उनका लागि पहिलेको जीवन  जति रमाइलो र आनन्दी थियो अहिलेको पनि त्यत्तिकै आनन्दी र रमाइलो छ  । पहिले उनीसँग पारिवारिक पूर्णताको सन्तुष्टि र आनन्द थियो अहिले रक्सीको मित्रताले दिएको सन्तुष्टि छ ।

प्रकाशित: २३ माघ २०७७ ०५:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App