जब हुँइकिरहेथे
बिच सडकमा
कत्ति बेला पोखिएछ
छरपस्ट भएर
बदानामीको त्यो साँझ
मेरो आँखाकै अगाडि
बेहिसाबबेहिसाब दुखेको म
र मेरो बदनामीको उत्सव
मनाइ रहेको त्यो साझ
र एक थान भाडाका
बकपत्र पेस गर्ने न्यायाधीशहरू ।
बेहिसाबबेहिसाब हेर्न थालेछु
आँखै अगाडिको
भिज्युललाइजेसन
अचानक
ठूलो गाडीको खलासीले
गौसला ,चाबेल, बौद्ध, जोरपाटी
जोरजोरले चिच्याउँदा
झसङ्ग भएर चलिरहेको मेरो
स्कुटरको स्पीडमा पुग्दा आँखा
ओ माइ गड
मेरो आयुको हजारौ माइल
बाटो तय भएजस्तै लाग्यो
बत्तिएर पर पुगेको म
बिस्तारै सतहमा रोकिए
पछाडिबाट
अर्को चिच्यायो गौशाला एयरपोर्ट
सिनामंगल, कोटेश्वर, भक्तपुर ।
केही थान याद
केही थान एक्लोपन
केही थान आँसु
र केही थान छटपटी मात्रै हैन
मेरो आफ्नै आयु पनि पो बोकेर
दौडिरहेको रहेछु ।
जब बत्तिएर पर पुगे
अपरिचित प्रश्न आयो
के मर्न मन छ
बाइकवालाको थियो ।
हरेक दिन ओहोरदोहोर गरिरहन्छु
त्यही प्रश्नपत्र बोकेर म
घटाउँदा घटाउँदै स्पिड
अझै जिउनु छ अरू धेरै
बाँच्नु छ अरू धेरै ।
बाँच्नु छ अरू धेरै
प्रेमको बदलामा
दुश्मनी मल्नेहरूको खातिर
आफ्नो लागि त
उहिले मरिसकेको थिए नि
बस जिउँदो लास
एयरपोर्टका भित्ताहरू
उफ कत्ति उजाडउजाड
गिज्याइरहे जस्तो लाग्छ घरीघरी
यामहरूले मलाई
या मैले यामहरूलाई ।
झस्किन्छु फेरि म
त्यही अपरिचित प्रश्नसंग
के मर्न मन छ ।
प्रकाशित: ११ माघ २०७७ ०५:२० आइतबार