– मैया एक्कासि भुतभुताउँदै थिइन् ।
उनको लोग्ने त्यो भुतभुताउँदै गरेको सुनिरहेको थियो । जति भुतभुताउनु छ भुतभुताऊ– ऊ मनैले भन्दै थियो ।
ऊ करेसाबारीतिर पस्यो । माटो मलजल गर्दै आलु लगाउने माटो तयार गर्दै थियो । फेरि उनी उतै पुगिन् । ऊ फेरि मनैले बोल्यो – जति भुतभुताएँ पनि लोग्ने नै चाहिदो रैछ ।
मनको संवाद थाती राखेर यथार्थ संवाद गर्न थाल्यो– किन आएकी यहाँ ?
घरभित्र भुतभुताउने बानी थियो । बाहिर भुतभुताइन् भने समाजको डर छ उनलाई पनि । समाजले के भन्ला । सतर्क थिइन् ।
– माटो तयार भो ? उनले भनिन् ।
उनको लोग्नेले भन्यो– हुँदैछ, बरु जाऊँ एक कप चिया बनाएर ल्याऊँ । आज आलु लगाइहाल्छु ।
– आ बेला न कुबेला चिया । अफिसबाटै पिएर आउनुभएन चिया ।
– कहाँ पिउन भियाउनु ? आज शुक्रबार आधा बेलापछि अफिस छुट्टी हुन्छ । आफुलाई चियाभन्दा पनि आलुकै पिर थियो ।
माटो तयार भो । उनी आलु लगाउन थालिन् । उनको लोग्नेले, कोदालोले आलु छोप्दै थिए । मंगले पनि टुप्लुक्क आइपुगेको थियो । पतिपत्नी अनि जिन्दगानीको मिहिनेत हेर्दै थियो ।
ऊ यसरी बोल्यो – ओहो साइँला दाइ, आलु फलेपछि मलाई पनि हैं।
मैया भाउज्यू आँखा तर्केर हेर्दै थिइन् । प्याच्चै भनिन् – काम गर्ने कालु, मकै खाने भालु ।
मंगले अक्क न बक्क पर्यो । उसले जिस्किएर भनेको थियो । ऊ मनमनै भन्छ – हुन त म आलु खाँदिन थिएँ किनकि म डाइबिटिजको बिरामी हुँ।
साइँलालाई पनि थाहा थियो, यो मंगले डाइबिटिजको बिरामी हो, उसले आलु खाँदैन । ठट्टा मात्र गर्न खोज्छ । विचरो कहिले मेरोमा आउँछ, कहिले अरूकोमा जान्छ । अनुहार हेर्दा डाइबिटिजको बिरामी जस्तो पनि लाग्दैन उसलाई ।
गाउँघरमा कतै हरियो सागपात होस् वा गुन्द्रीमा सुकाएको हरियो गुन्द्रुक योचाहिँ मागेर नै हैरान पार्थ्यो उसले ।
प्रकाशित: ९ माघ २०७७ ०७:४९ शुक्रबार