२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

संस्कार

लघुकथा

छोरीको बिहे निकै धुमधामकासाथ गरेका बाआमाले छोरीलाई नै आफ्नो सर्वस्व ठान्थे । छोरा नभएको र छोरी पनि एक्ली भएकोले उनले नै सबै सन्तानको प्रतिनिधित्व गर्थिन् । सम्झना छोरीको बिहे भएको तीनचार  वर्ष बितेपछि बाआमा दुवै लामै समय छोरीको घरमा बस्नेयोजना गरेरै पुगेका थिए । छोरीको घरमा तीनचार दिन बस्दा नै छोरीले घरमा परिवारका अन्य सदस्यसॅग बोल्ने शैली स्वभाव कडा र मिलनसारितामा केही कमी देखे ।

सम्झनाका बाआमाले आपसमा गोप्य छलफल गरे । छोरी किन यस्ती भइन् । किन दम्भ बढ्यो । माइतीको बलमा यस्तो भावना पो आयो कि ।  उनीहरूले त छोरीको जीवनयापनमा सहजता थपियोस् भन्ने चाहना राखेका हुन् । तीनचार दिनमै उनीहरूलाई असहजता महसुुस भयो । एकदिन बाआमाले छोरीलाई एकान्त राखेर केही सामाजिक र पारिवारिक विषयहरू सम्झाउन खोजे । आफहरूले त्यो विषय पहिले नै भन्न सिकाउन नभ्याएकोमा पश्चाताप गरे । 

झमझम पानी दर्केको थियो । सम्झना र उनका श्रीमान् गोकुल किनमेल गरेर घर फर्कंदै थिए । घर बाहिर टयाक्सी रोकिएको थियो । टयाक्सी देख्दा मनमा शंका पस्यो । बाआमा बिरामी भएर गाड़ी बोलाको पो हो कि भन्ने सोंचे र हतारहतार घरभित्र पसे ।

बाआमा झोला बोकेर हिंड्न तयार  एकछिन सम्झना र उनका श्रीमान् गोकुल अलमलमा परे । सम्झनाका श्रीमान् गोकुलले मुख खोले – बाआमाले के गर्नु भ’को हो ? झोला किन बोकेको ?  कहाँ जान खोज्दै हुनुहुन्छ?  

जुवाइँको कुरा सुनेर ससुराबा जुवाइँतर्फ हेर्दै भन्न थाले– जुवाइँ साहब हामी पाहुना आएका थियौं । छोरीजुवाइँको घरमा धेरै बसेर हाम्रो जीविका चल्दैन ।  त्यसैले घर जान लागेको । छोरी तिमी पनि राम्रोसंग बस । घर सम्हाल । घरपरिवारका लागि तिमी आशा र भरोसाकी केन्द्र हौ । घरमा तिम्रो सम्मान र मर्यादा नरहेसम्म बाहिर रहन सक्दैन र भए पनि स्थायी हॅुदैन । तिम्रोजस्तै सम्मान परिवारका अरू सबै सदस्यको हुन जरुरी छ । घर चलाउन नजान्दासम्म समाजमा राम्रो सन्देश जॅादैन ।

आफ्नो तर्फबाट गर्नुपर्ने कर्तव्य निर्वाह गर । अरूको सम्मान गरेर आफू सानो भइएला भन्ने सानो विचार मनमा नराख । सबैको उचित मानसम्मान र आदर गर । कसैको पनि उपेक्षा नगर । सक्दो सेवा गर तर खुसी मनले गर । मनमा शंका र अहम् नपाल । हामी सधैं तिम्रै हित चाहन्छौं । हाम्रो यही आशिष छ । संस्कारमा आफूलाई ग़रीब नदेखाऊ । धन ठूलो हैन । सॅस्कार किनिने वस्तु पनि हैन । सॅस्कार त आफै बनाउने र बनेको राम्रो सॅस्कार सॅरक्षण गर्ने हो। तर गलत सॅस्कारले सभ्यता सिध्याउॅछ । धनको गरीब हुनु र मनको गरीब हुनु नितान्त भिन्न कुरा हो । तिमी गरीब भयौ भने हामी पनि गरीब ठहरिन्छौं । तिमीले गरीब हैन असल संस्कार देखाउ यहि हाम्रो अपेक्षा छ । 

बाआमा घरबाट निक्लेर टयाक्सी चढे र गए । सम्झना अक्क न बक्क भइन् । बाआमा एक्कासि किन रिसाए वा के भयो बुझ्नै सकेकी थिइनन् । एक हप्ताअघि मात्रै आएका बाआमा अब सधैंभरि छोरीज्वाईँसंगै बस्ने निधो गरेर आएका थिए ।

गोकुल र सम्झना एकछिन मौन रहे । दुवैले कारण बुझ्न सकेनन् । ती आफूहरू नै म मनमा एकले अर्कोलाई दोषी सम्झे । 

जाने बेलामा बाको उपदेश जे थियो ती सबै एकएक गरेर दिमागमा घुमिरहे – मनमा शंका र अहम् नपाल । अरूको उपेक्षा नगर। आफ्नोतर्फबाट सक्दो मानसम्मान गर । सक्दो सेवा गर । तर, खुसी मनले गर । संस्कारमा आफूलाई गरीब नदेखाऊ ।

सम्झनाको मनमा ठूलो पहिरो गएको थियो। किन बाआमाले आफुलाई यत्रो उपेक्षा गरे वा चित्त दुखाए ।

आफूबाट कुन त्यस्तो भूल भयो । खुट्याउन सकिरहेकी थिइनन् ।

उता गोकुलको घर अगाडि पुगेर एउटा टयाक्सी रोकियो । टयाक्सीबाट झरेपछि ड्राइभरलाई एकछिन रोकिन आग्रह गरेर दुईजना घरभित्र पसे। 

सम्धी– सम्धिनी एक्कासि घरमा देखेर गोकुलका बाआमा पनि अलमलमा परे । सम्धी –सम्धिनीको स्वागत गरे । राडीमा बसाए  । क्षमाकुशल सोधे । गोकुलकी आमाले दहीमा पानी मिसाएर लस्सी बनाएर ल्याइन् र टक्राइन् । कहाँ कताको साइत भयो भनेर सोधिन् । सम्झना र गोकुलको क्षमकुशल सोधे ।

उनीहरूले एकसाथ उत्तर दिए – उनीहरू सन्चै छन् । हजुरहरुको गाथमा आराम छ  भनेर सोधे । आराम छ भने । 

गोकुलका बाआमाले गरेको व्यवहारबाट पाहुनाको सोच झन् पक्का भयो । एकछिनको बसाइमै घरको बन्दोबस्ती र स्वभाव देखेर निकै प्रभावित भए।

उनीहरूले  भने – हाम्री छोरी हजुरको बुहारी भइन् । अब उनी हजुरको घरको अभिन्न सदस्य । घरको असल सॅस्कार पनि सिकाइदिनु होला । उसबाट गल्ती भए क्षमा दिनु होला । हामीले सिकाएको वा उनले सिकेको शिक्षा अपुरो हुन सक्छ । धनको मोहबाट टाढै राख्नु होला । हामीबाट कुनै गल्ती भए माफ गर्नु होला ।

यति भन्दै उनीहरू टाढैको साइत गरेको बहाना बनाएर बिदा भए । 

बाटोमा सम्झनाका बाआमाले आफूहरूले आफ्नो छोरीलाई समयमै संस्कार दिन नसकेकोमा गल्ती महसुु गरे । दुवैको मुखबाट एकैपटक आवाज आयो । छोराछोरीको आनीबानी र व्यवहार बाआमाकै जस्तो हुन्छ भन्ने पनि हैन रहेछ र छोरालाई ॲश र छोरीलाई असल शिक्षा र संस्कार पो दिनु पर्ने रै’छ भन्दै थिए । यता गोकूलका बाआमा पनि आफूहरूबाट के गल्ती भएछ भन्ने कुरामा सोंचमग्न भए।  

प्रकाशित: ७ माघ २०७७ ०५:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App