२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

मोबाइल गाथा

बालएकांकी

 

 

पात्रहरू – १३, १४ वर्षका अहिल्या, द्रौपदी, कुन्ती, तारा र मन्दोदरी नाम गरेका बालिकाहरू । नेपथ्यबाट मोबाइलका तर्फबाट बोल्ने अर्का एक जना पुरुष पात्र ।

(खेल मैदानको छेउमा विशाल रूखमुनि पाँच जना बालिका बसेर कुराकानी गरिरहेका छन् । त्यहीँ नजिक एउटा मोबाइल पनि छ ।)

अहिल्या – (खुसी हुँदै) आज कस्तो संयोग जुरेको ! यहाँ हामी पञ्चकन्या मात्र छौं ।

मोबाइल – (नेपथ्यबाट) म पनि यहीँ छु । तपाईंहरूकै साथी हुँ । हामी जम्मा छ जना भयौँ, भन्नूस् न !

द्रौपदी – (सबै जना छक्क पर्छन् ।) हँ ! मोबाइल पनि बोल्न थाल्यो । (ओल्टाइपल्टाई हेर्छन् ।)  

कुन्ती – आफै किन बोल्थ्यो !

तारा – बोल्न त आफै बोल्छ । तर, त्यसमा मान्छेको दिमाग लागेको हुन्छ ।

मन्दोदरी– (मोबाइल देखाउँदै) यसका कुरा छाड बरु भन, हामीसँगै र हामी जस्तै पाँचपाँच कुरा हामीसँग केके छन् ? (सबै जना अलमलमा पर्छन् । जवाफ दिन सक्दैनन् । एकले अर्काको मुख हेर्छन् ।)

मोबाइल – म भन्छु, मलाई सब थाहा छ ।

अहिल्या – (छक्क पर्दै) लौ, भन त अनि म बुझ्छु । मुखले भन्दियो भइगयो ? (सबै जना हाँस्छन् ।)

द्रौपदी – होइन, ए अहिल्या ! के भनेकी ? मोबाइलको त मुखै हुँदैन त ।

मोबाइल – हुन्छ । म भन्छु । पाँच ज्ञानेन्द्रिय हुन्– आँखा, नाक, कान, छाला र जिब्रो ।  

तारा – अनि अरू नि अरू ।  

मोबाइल – पञ्च कर्मेन्द्रिय हुन्– हात, खुट्टा, मुख, दिसा गर्ने इन्द्रिय र पिसाब फेर्ने इन्द्रिय ।

कुन्ती – ओहो ! यो त सबै जान्दो रहेछ कि क्या हो । पञ्चेबाजाको नाम भन् त ?

मोबाइल – दमाहा, ट्याम्को, सनई, झ्याली र नरसिङ्गा ।

मन्दोदरी – हो, यो त सबै कुरा जान्दो रहेछ । एई, कसरी जानिस् ?

मोबाइल – आफूभित्रै संसार अटाउने सामथ्र्य बोकेको छु । हो, मभित्र संसार छ । शब्दकोश, विश्वकोश  जस्ता सबै कुरा अटाएका छन् । म किन लोकप्रिय छु ? सबैलाई थाहा होला ।  

अहिल्या – (झर्केर) छछ । त्यत्ति पनि थाहा हुन्न । तँ नाथे विलासिताको वस्तु त होस् नि ।  

मोबाइल – (नम्र हुँदै) म विनम्रताको प्रतीक हुँ । म झर्कोफर्को जान्दिनँ । हो, एक समय म विलासिताको वस्तु थिएँ । तर, आजकल आवश्यक भइसकेँ । पहिले महँगो थिएँ । थोरैको पहुँचमा थिएँ । अहिले सस्तो पनि छु । धेरैको पहुँचभित्र छु ।

द्रौपदी  केके गर्न सक्छस् त ?

मोबाइल – म भूत होइन वर्तमान हुँ । फोन गर्न र प्राप्त गर्नका अतिरिक्त गीत सुन्न; रेकर्ड गर्न; भिडियो सुटिङ गर्न र हेर्न; टीभी हेर्न; इन्टरनेट चलाउन आदि अनगिन्ती काम एक्लै गर्छु र पो व्यक्ति –व्यक्तिको पकेटमा बास पाउँछु ।

द्रौपदी – कुरा त तेरा ठिक हुन् । अरू केके गर्न सक्छस् ?

कुन्ती – इमेल गर्न, इमेल पाउन, च्याटिङ गर्न,  इबुक पढ्न, बैँक खातामा रहेको रकम बुझ्न, विद्युत् महसुल तथा पिएसटिएनको बिल भुक्तानी गर्न सकिन्छ । (मोबाइललाई देखाउँदै) यसबाट आफूले चाहेको स्थानमा सजिलै रकम पनि पठाउन सकिन्छ ।

तारा – कुन्ती ! तिमीलाई त धेरै कुरा थाहा रहेछ । रेडिएसन फाल्ने काम गरयो भनेर अमेरिकी संस्था इडब्जुजीले मोबाइल सेटलाई खराब सूचीमा सूचीकृत गरेको छ नि ।

मोबाइल – हो, वातावरणसँग सम्बन्धित काम गर्ने संस्थाले एकाध कम्पनीका मोबाइललाई खराब सूचीमा सूचीकृत गरेको साँचो हो । एक जना पतित हुँदैमा सम्पूर्ण मानव जगत्लाई पतित भन्न नमिलेझैं हामी सबैलाई नराम्रो भन्न नमिल्ला र !

मन्दोदरी – उसो भए नेपालमा तिमीहरू कति खाले छौ त ?

मोबाइल – यति र उति भन्न गारो हुन्छ । तपाईंहरू पाँच ओटी आमाका पाँच सन्तान ठम्ठम्ती हिँडिरहनुभएको छ । त्यस्तै नेपालको सन्दर्भमा हालसम्ममा हामीलाई जीवन दिनेहरूचाहिँ जम्मा छ वटी आमा हुनुहुन्छ ।

अहिल्या – तिमेरुका आमाका नाम भन न त ।

मोबाइल – एनटीसी, युटिएल, एनसेल, एसटिएम, स्मार्ट, हेलो नेपाल ।

द्रौपदी – ए ! यिनीहरू   क्रमशः नेपाल दूर सञ्चार प्राधिकरण, युनाइटेड टेलिकम प्रालि, स्पाइस नेपाल, एसटिएम टेलिकम सञ्चार, स्मार्ट, नेपाल स्याटलाइट नामले पुकारिन्छन् ।

 तारा – विश्वमा सर्वप्रथम मोटोरोला कम्पनीले यसलाई जन्मायो । त्यसपछि नोकिया र अहिले त गनिसाध्य र भनिसाध्य छैन ।

कुन्ती – होइन ए मोबाइल , तँ कहिले जन्मिस् र यहाँ आइपुगिस् ?

मोबाइल – म जन्मेको मिति मभित्रै पढ्न सक्नुहुन्छ । मेरा पहिलो पुर्खाको जन्म भने सन् १९४६ मा अमेरिकामा भएको थियो । हामीलाई आधुनिक संस्करणमा ल्याउने काम सन् १९६० मा स्विडेनले गरयो । डेनमार्क, फिनल्यान्ड, नर्वे, अमेरिका, जापान आदि सबैको देनले हामी यो अवस्थासम्म आइपुग्यौं ।

तारा – तिमीहरूको मुटु मानिने सिमकार्डचाहिँ कहिले आयो नि ?  

मन्दोदरी – केही कुरा त हामीलाई पनि थाहा छ नि । (सिमकार्ड देखाउँदै ) यो सबस्क्राइबर  आइडेन्टिटी मोडुलको निर्माण जिसेक एन्ड डेभरिएन्ट कम्पनीले पहिलो पटक सन् १९९१ मा गरयो । सन् २००१ मा जापानले विकसित गरेको थ्रिजी (तेस्रो पुस्ता) को मोबाइलमा हालसम्म यो प्रयोग हुन्छ ।

अहिल्या – मोबाइलको अत्यधिक प्रयोगले पुरुषको शुक्राणु घट्छ 

मोबाइल – अति भएपछि खति हुनु अस्वाभाविक होइन ।

द्रौपदी – रेडियो, टेलिभिजन, टेपरेकर्डर, क्यामेरा, कम्प्युटर, पुस्तकालय आदि सबैलाई विस्थापित गर्ने यो (मोबाइललाई देखाउँदै) त अर्काको भाग खोसेर पो खाँदो रहेछ ।

मोबाइल – ए बाबा ! म यति सानो छु । गोजी गोजीमा बस्छु । नराम्रो काम गर्न जानेको छैन अनि कसरी भाग खोस्यो भन्न सकेको होला कुन्नि ! जसको भाग छ त्यसको खोस्ने कुरै आएन । जसको भागै छैन त्यसले खोजेर पाइन्छ र ?

द्रौपदी – तँ नजन्मिन्जेल वर्चस्व पाएका वस्तुले तँ आएपछि विस्थापित हुनुपर्ने अवस्था आउँदा के भन्ने ?  

मोबाइल – मैले ग्राहकलाई त मर्का पारेको छुइनँ नि ?

कुन्ती – (मोबाइलतिर फर्केर)  यसको कुरा पनि ठिक हो । हामीलाई घाटा होइन नाफा नै दिएको छ ।  

तारा – म्यूजिक डाउनलोड गरेर मोबाइलमै बजाउन पाएपछि गीति एलबम निस्कने क्रम मन्द भएको छ । ई लाइब्रेरीमा  सित्तै र किनेर हजारौँ पुस्तक पढ्न पाइने भएपछि किताब किन्ने वा पुस्तकालय धाउने काममा कमी आएको छ ।

मोबाइल – हो हजुर, मैले बहुसंख्यकको हितमा नै काम गरेको छु ।

द्रौपदी – सानाठुला हरेक प्रकारका अपराधचाहिँ तेरै प्रयोगले भएको छ नि !  

मोबाइल – हो, म मान्छु । मलाई दुरुपयोग गरेर हजारौं आपराधिक कामहरू भएका छन् । पेट भर्न मान्छेले अपराध गरेका हुन् । उसो भए मान्छेकै मुख सिउनुपरयो ! के हजुरहरू मुख सिउन तयार हुनुहुन्छ ! (हाँसो छाउँछ ।)

अहिल्या – गम्भीर कुरालाई ख्यालठट्टा सम्झिनु राम्रो होइन ।

मोबाइल – कहिलेकाहीँ वास्तविकता पनि ख्यालठट्टामा परिणत हुन्छ । अपराध गर्ने मान्छेले अनि दोष थुपार्ने हामीलाई ।

द्रौपदी – यसो गमेर ल्याउँदा अपराधी पत्ता लगाउने काममा पनि मोबाइलले सहयोग पुरयाएको छ ।

कुन्ती – हो, यसको चौतर्फी उपयोग हुन्छ । द्वितीय विश्वयुद्ध ताका सैनिकहरूले प्रयोगमा ल्याउने रेडियो फोनको अवधारणाले विकसित रूप पाउँदा यो जन्मिएको हो ।तारा – हो त, मान्छेको जीवनलाई सहज तुल्याउन यो जन्मियो । यसकै दुरुपयोगले मान्छेले तहल्का पनि मच्चाएको छ ।

मन्दोदरी – हुन त सही उपयोग गर्ने हो भने यो मानिसको अमूल्य साथी बन्छ ।

अहिल्या – उपयोग गरे खुकुरीले ठुल्ठुला काम गर्न सक्छ । दुरुपयोग गरे मान्छेकै ज्यान लिन सक्छ ।  

मोबाइल – ठिक कुरो उठाउनुभयो । म मानव हितको पक्षमा छु । सदुपयोगी हुन रुचाउँछु । विद्यालय र कलेजका केही विद्यार्थीले दुरुपयोग गरेका छन् । कम्तीमा पढ्न आउँदा मलाई नबोक्नूस् । कसैले फोन गरे मिस्डकलमा रेकर्ड राखिदिन्छु । हजुरहरूलाई थाहा भइहाल्छ । 

द्रौपदी – लल ठिक छ । कुरा सही हो । अब भने अबेर भयो । घरतिर हिँडौँ । गृहकार्य नगरी भएको छैन । समय निकै नष्ट भयो ।

कुन्ती – फलदायी रूपमा समय बितायौँ भन न ! रोचक र घोचक कुरो थाहा पाइयो ।

तारा  लौलौ । उठौँ । लागौँ ।  

(सबै जना उठ्छन् । मोबाइल साथमा लिएर बाहिरिन्छन् ।) (पर्दा बिस्तारै खस्दै जान्छ ।)

प्रकाशित: ४ माघ २०७७ ०९:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App