२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

कालो दिन–माघ ३

संस्मरण

 

हरेक वर्ष जब माघ महिना प्रारम्भ हुन्छ तब मनमा अनेक कुरा खेल्न थाल्छन् । यसको कारण हो, यस महिनामा घटेका घटना र खास गरी २०३६ सालको त्यो कालो रातको सम्झना आउनु ।

त्यसताका एसएलसी परीक्षा माघ महिनामा हुन्थ्यो । हरेक वर्षजस्तै त्यस वर्ष पनि माघ महिनामा एसएलसी परीक्षा हुँदै थियो । त्यस वर्ष हामी दुई भाइ अर्थात् नरेश दाइ र म परीक्षामा सहभागी हुँदै थियौं ।  

त्यतिखेर पाल्पा जिल्लामा १६ वटा माद्यमिक विद्यालय थिए । सबैको केन्द्रचाहिँ सदरमुकाम तानसेनमै रहन्थ्यो । यसैले गाउँका विद्यालयबाट टेस्ट परीक्षा उत्तीर्ण गरेकाहरू दसैं–तिहारपछि तानसेन गएर डेरा लिएर बस्ने, ट्युसन पढ्ने र परीक्षा दिएपछि गाउँ फर्कने चलन थियो । तानसेनबाट नजिकैको र सिद्धार्थ राजमार्गमा पर्ने गाउँका हामी पनि त्यसै  गर्थ्यौ।

एसएलसी नजिकिएपछि तानसेनको रौनक नै बेग्लै हुन्थ्यो । गाउँगाउँबाट बल्लतल्ल तानसेन पुग्न पाएका विद्यार्थीहरू, जो निकै दुर्गमबाट पनि पुगेका र पहिलोपटक तानसेन देखेका हुन्थे, तिनको घुमफिर गजबको हुन्थ्यो । कहिले श्रीनगर, कहिले बतासे डाँडा, कहिले कता कहिले कता । तानसेन यसै पनि सुन्दर अझ माथितिर पुगेर हेर्दा परपरसम्म देखिने दृश्य झनै मनमोहक देखिन्थ्यो ।टुँडिखेल ,  होलङ्दी, ठाडो गल्ली, तेर्सो गल्ली, भगवती थान, नारन थान, शीतलपाटी, वसन्तपुर कैलाशनगरदेखि मेहल्धारा, गैरागाउँ अनि बसपार्कसम्म त कतिपटक ओहोरदोहोर हुन्थ्यो कतिपटक । ट्युसन पढाउने एकजना सर कैलाशनगर र अर्का टक्सारमा हुँदा वडिज्ञान टोलमा बस्ने म पनि दैनिक त्यहाँसम्म जानेआउने गर्थें । अरू बेला पनि साथीहरूसँग घुमफिर गरिन्थ्यो । 

त्यो समाज त्यतिबेलाको परिवेश अहिलेको भन्दा धेरै दृष्टिले भिन्न थियो । हातमा पैसा कमै हुन्थ्यो । किनमेल गर्ने सामर्थ केहीकेहीमा मात्र हुन्थ्यो । अड्कलेर ल्याएको खर्चले पुरयाउनुपर्थ्यो । तानसेन बस्ने विद्यार्थीले हप्ता पन्ध्र दिनमा गाउँ जाने र उतैबाट खाद्यान्न, तरकारी लिएर फर्कन्थे । त्यतिखेर तेल पनि घरकै हुन्थ्यो ।  गाईवस्तु पाल्ने चलन हुनाले प्रायः सबैका घरमा घिउ  पाइन्थ्यो  । घिउतेल लैजाने अदुवा, बेसार, चामल, मट्टितेल र चिनी उतै किनिन्थ्यो । किफायत गर्नुपर्नेले बजारमा तेलमा पैसा खर्च गर्नुको साटो घरबाट लगेको घिउकै भुटन हालेर तरकारी पकाउँथे । खाना पकाउन मट्टितेलले बल्ने स्टोभको प्रयोग गरिन्थ्यो । स्टोभ र मट्टितेलको जोहो गर्न नसक्नेले गाउँबाट दाउरा समेत लिएर फर्कन्थे र चुलोमा भात पकाउँथे।

होटलमा बसेर खानुको मजा बेग्लै थियो। तर, न अहिलेको जस्तो सस्तो पैसा न त अहिलेका जस्ता जंकफुड,  खाजा भनेको उही घरबाट भुटेर लगेको  मकै र भटमास  हुन्थ्यो। कहिलेकाहीँ बस स्टपमा भारतीय मूलका सडक व्यापारीले काँधमा बोकेर बसका झ्यालझ्यालमा देखाएर बिक्री गर्ने समोसा र आलु खानेबाहेक होटलमा पसेर खाने पैसा कमैसँग हुन्थ्यो ।

त्यस वर्ष माघ ३ गते माघे औंसी परेको थियो । सामान्यतया कहिल्यै घर नछाड्ने हजुरबा कान्छो काका, काकी र एक जना भाइसमेतलाई लिएर नजिकै परेका माघे संक्रान्ति र माघे औंसीमा देवघाट र त्रिवेणी स्नान गर्ने गरी तीर्थाटनको उद्देश्यले त्यसतर्फ लाग्नुभएको थियो । घरमा ५ वर्षको एक जना भाइ र बाआमा  हुनुहुन्थ्यो । एसएलसी परीक्षाको तयारीका लागि तानसनेमा बसेका हाम्रो परीक्षा नजिकै आइसकेको थियो ।

४ गतेका दिन दिउँसो हुलाकी प्रेमबहादुर भट्टराई जो हरेक दिन डाँक बोकेर लाल्पाटी अनि त्यहाँबाट तानसेन पुगी गाउँ फर्कने गर्नुहुन्थ्यो । उहाँ हाम्रो डेरामा पुग्नुभयो । अचानक उहाँलाई देख्दा हामी छक्क परयौं ।

‘ओहो दाइ, कसरी आज यहाँ हाम्रो डेरामा आइपुग्नुभयो ?’ हामीले खुसी हुँदै चासो राख्यौं । हामीलाई लाग्यो – घरबाट बाआमाले केही पठाइदिनुभएको छ, त्यही छाड्न आउनुभयो । तर, दाइले गम्भीर हुँदै भन्नुभयो, ‘म त एउटा खबर लिएर आएको बाबु हो ।’  

‘के खबर होला दाइ ?’ हामीले सोध्यौं । उहाँ झनै गम्भीर हुँदै भन्नुभयो– हिजो राति तिमीहरूको घरमा डाका परयो बाबु हो ।’  

हामी आत्तिंदै भन्यौं– बाआमालाई त केही भाछैन नि दाइ।’  

उहाँले भन्नुभयो– बाआमालाई त केही भा छैन,घरको चाहिँ बेहाल छ ।’

यति भनेपछि उहाँले भन्नुभयो – बाले थाहा पाएर छोराहरू आत्तिएलान्, सम्झाउनु है भन्नुभा’छ, नआत्तिनु बरु आजै घर जान्छौ कि ?’

त्यसपछि दाइ आफ्नो कामतिर लाग्नुभयो तर हाम्रो मन आत्तियो । कतिखेर बाआमालाई देखौंला भनेझैं भयो । हामी बस स्टपतिर नलागी हतारिएर हुर्रिंदै बर्तुङ झरयौं । संयोग, यात्रु चढाएर गुड्नै थालेको बस भेट्यौं । बसको ढोका समाई भित्र पस्यौं र मनमा अनेक कुरा खेलाउँदै धरम्पानी आइपुग्यौं । 

बसबाट ओर्लिएपछि हामी छिटोछिटो पाइला चाल्दै सरासर घरतिर लाग्यौं । बाटो छेउछाउमा भेटिएका गाउँलेहरू निन्याउरा अनुहार लगाएर हामीलाई हेरिरहेका थिए । कसैकसैले ‘आयौ बाबु हो’ भने, कोही भने बोल्नै सकेनन्, मात्रै हामीलाई हेरी मात्र रहे ।  

सधै हिंडिरहेको बाटो पनि हामीलाई टाढा लागिरहेको थियो । दायाँबायाँ नहेरी घर पुग्यौं । बाआमा साँच्चै ठीक हुनुहुन्छ कि हुनुहुन्न भन्ने हामीलाई लागिरहेको थियो । घरको आँगनमा पुग्दा बाआमालाई देखेपछि हामी ढुक्क भयौं । सधैझैं साष्टाङ्ग दण्डवत् गरयौं ।

बाले भन्नुभयो– हामी बाँच्यौं, अरू केही बँचेन ।’

आमाले चाहिँं ‘डाँकाहरूले सबै लगे केरे हामीसम्म बाँचियो, जाओ हेर दराज, बाकस, केही बाँकी छैन, मेरा कानका टप पनि पिस्तोल सोझ्याएर फुकाल्न पठाए पापीहरूले’ भन्नुभयो । बाआमाको अनुमान अनुसार  नौदश जनाको डाँका समूह दथियो । 

त्यसपछि हामी घरभित्र पस्यौं । केके भएछ भनेर हेर्न गयौं । भुईंतलाका कोठा, दलान, सबैतिर सामान छरपस्ट थिए । माथि चढ्दा सबै कोठाका भित्तामा टाँसिएका दराज, बाकसहरू सबै फोरिएका, सामानहरू उधिनिएका र लथालिङ्ग थिए । आँटी र मटानमै फोहर गरेर छाडेका रहेछन् । यहाँसम्म कि डाँकाहरूले आँगनको छेउमा फुलेका काउली समेत काटेर लगेछन् ।

हामी घरमै थियौं । भोलिपल्ट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी आए, घटनास्थलको फोटो खिचे, डाँका पत्ता लगाउने आश्वासन दिए र तानसेन फर्किए । तर, डाँका पत्ता लागेन । घटना यत्तिकै सामसुम भयो । तर, हामीलाई शंका भने लागि नै रह्यो– यसमा फलाना– फलानाको मिलेमतो, संलग्नता र सुराकी हुनुपर्छ ।  खास गरी आमाले जे जसरी हामीलाई शंका लागेको कुरा सुनाउनुहुन्थ्यो त्यसले हामीलाई सो घटना तिनैको प्रपञ्चमा घटाइएको थियो भन्ने लाग्छ । तर ‘नदेखेको चोर, बाबु समान’ भनेझैं हामीले शंका गरेका व्यक्तिहरू नै चर्का कुरा गरेर हिंड्ने दिन आयो । हामी मौन यहाँसम्म आइपुग्यौं ।

संयोग नै भनौं, त्यसै दिन अर्थात् माघ ३ गते बाआमा राम्दी जानुभएको थियो औंसी स्नानका लागि, र दिउँसो राम्दीमा भयंकर बस दुर्घटना भएको थियो । बाआमा घटनाका प्रत्यक्षदर्शी हुनुहुन्थ्यो भने त्यस दुर्घटनाका मृतक र घाइतेहरूलाई तानसेन पुरयाइएको थियो ।  ट्रकमा बोकेर पोष्टमार्टमका लागि सदरमुकाम पु¥याइएका लमतन्न परेका  केही शव हामीले हेरेका थियौं । त्यसै रात घरमा चोरी भएको थियो ।

समय बित्दै गयो । नयाँनयाँ परिस्थिति र परिवेश बन्दै गयो । राजनीतिक परिवर्तन भयो । २०५२ साल फागुनदेखि देशमा अशान्ति र हिंसाको प्रारम्भ भयो । क्रान्तिको नाममा लुटपाट र आतंक सुरु भयो । व्यक्तिगत रिसइबीमै पनि व्यक्ति हत्या गर्ने, आफूले मागेजति चन्दा नदिने र भनेजसो नगर्नेको नृशंस हत्या गर्ने क्रम चल्यो । राज्य र विद्रोही पक्ष दुवैतर्फका अत्याचार बढ्दै गए । संयोग नै भनौं, २०५८ साल माघ ३ गतेकै दिन दिउँसै लमजुङमा माओवादीले शिक्षक मुक्तिनाथ अघिकारीलाई कक्षाकोठाबाट निकालेर हत्या गरे । यस घटनापछि यो दिन झनै कालो भयो ।

यस्तो ‘कालो दिन’ कहिल्यै नआओस् भन्ने लाग्छ । तर, हरेक वर्ष यो दिन फर्केर आइरहन्छ । पत्ता नलागेका अपराधी त लागेनन्, दण्डित भएनन्, तिनको भलो चाहनुको विकल्प नै के र ? तर निर्दोष व्यक्तिको हत्या जस्तो जघन्य अपराधमा संलग्न भएका प्रस्ट चिनिएका अपराधीहरू पनि दण्डित नगरिएका बरु चर्का कुरा गर्दै छाती फुलाएर हिंडिरहेकामा चाहिँ असाध्य चित्त दुख्दछ । न्यायका लागि गठन गरिएको भनिएका आयोगहरू नै निरीह भएपछि न्यायको सम्भावना त टरयो नै अपराधीहरूको मनोबल बढेको छ । मुक्तिनाथ हत्या प्रकरण यसै हराएको छ । मानवीय चेतना र संवेदना  भएका सबैका लागि पीडादायी यो घटनाले सम्बन्धित परिवारमा   कस्तो चोट पुगेको होला, सोच्ने फुर्सद नै अचेल कसलाई र ?

प्रकाशित: ४ माघ २०७७ ०७:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App