पवन आलोक
हजारौं घुम्तीहरू पार गर्दैगर्दै,
यहाँसम्म आइपुगेको छु
जीवनको यो मोडसम्म
आइपुग्दा पनि
जीवन अझै तदर्थ नै रह्यो
सबै कुरा कामचलाउ
न कुनै सुर,
न कुनै ताल,
न कुनै आकार,
न कुनै लय,
न कुनै सार्थक लक्ष्य,
न कुनै उपलब्धि।
समयको पदचाप सुनेर
बस्न विवश छु
समय न हो,
हेर्दैन केही पनि
आफ्नै निर्णय सुनाएर गइरहेछ ।
युद्धरत छु म आफैंसँग
र हेरिरहेछु टुलुटुलु
पराजित हुनै लागेका
मेरा अनगिन्ती चाहनाहरूको भविष्य
मेरा अनगिन्ती सपनाहरूको नियति।
प्रकाशित: २९ पुस २०७७ ०४:४५ बुधबार