२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

दोहोरी साँझ

कथा

  जितेन्द्र बस्नेत  

 

दोहोरी साँझ

केटा–  पिरतीको बिझेछ काँडा  

 किन माया हुँदै छौ झन् टाढा

केटी– हल्ला सुन्छु ठीक छैन तिम्रो चाल

 मेरो बिहे हुँदै छ यसै साल

 मूलको पानीले

 छाडी जान्छौ कि कसमखानीले

 ............................................. ।

यसरी रातभर दोहोरी चल्यो । झिसमिसेमा भाले बास्न लागेपछि बिस्तारै सबै ठिटाठिठीहरू लाखापाखा लागे । गाउँका बूढापाका  चिसो बढ्न थालेपछि आधारात अगाडि नै आफ्नाआफ्ना गुँडतिर लागे । कार्तिकको चिसो उस्तै रौस हुनेहरूले मात्रै रात कटाउन सक्ने । एकादसी पूजाको रात पुर्ने हजुरबाको आँगनयसै गरी दोहोरी गाएर छर्लङ्ग पारे ठिटाठिटीहरूले । आखिर गाउँको रमाइलो नै यस्तै चाडबाड, बिहे, पूजाआजा आदि हुँदा न हुने हो नत्र वनै गुन्जाउने भाकाहरूमा सबैले त्यति ध्यान कहाँ दिन्थे र ।  बिस्तारै चकमन्नता बढ्यो, बाक्लो हुस्सुले बिहान नौ बजेसम्म घाम देखिएन । तैपनि,सबैको दिनचर्या सुरु भयो । 

घाम छिप्पिदै जाँदा नजिकैको चौतारी वरपर मानिसहरूको खैलाबैला सुनियो । मान्छे हराएको, भागेको जस्तो चर्चा हुँदै थियो । धेरै जनाको मुखबाट ‘प्रकाश’ र ‘मिठु’ नाम बारम्बार उच्चारण हुँदै वादविवाद चर्किँदै थियो । मिठुका काका कुटूँलाझैँ गरी कराउँदै थिए, “गाउँमा ठिटाठिटी भेला गरेर भाँड्न खोज्ने त उही पूर्ने बडाबा त हुन् नि । पूजाआजामा त भजनकीर्तन गाउने, भक्ति गर्ने गरेर पो रात कटाउने हो त ।  हुर्केका केटाकेटी जम्मा पारेपछि उत्ताउलो बेला, के गतिलो काम गर्थे र, मैले भेटूँ न मात्रै ।  

निकैबेर खैलाबैला चल्यो । उता केटो धादिङतिरको भुजेल यता मामाघर आएको रहेछ, अर्कोतिर केटी यसै गाउँकी थापाकी छोरी, केटाकेटी भागे भन्ने कुराभन्दा पनि अन्तरजातीय विषय बढी हाबी भो केटी पक्षमा । केटाको मावली खासै बोलेनन् । दुवै राजीखुशीले गएको भन्ने चिट्ठी घरमा भेटेपछि पनि केटीका घरबाट जसरी पनि खोजी गरेर ल्याउने चर्चा चल्यो ।  

मिठु गाउँकै  बिलासे काकाकी एक्ली छोरी, गाउँमै घाँस दाउरा, मेलापात गरेर हुर्केकी, गीत गाउन भनेपछि हुरुक्कै हुने, विशेष दोहोरी गाउन त्यस भेगका मै हुँभन्नेले पनि हराउन नसक्ने, घरायसी काम गरेरै भएपनि दस कक्षासम्म पढिन् उनले । गाउँमा बिहे, ब्रतबन्ध, पूजा,चाड्बाड जे रामइलो भए पनि दोहोरी गाउन मिठु नै चाहिन्थ्यो । सबैकी प्यारी, विद्यालयमा पनि भविष्यमा म गायिका बन्छु भनिरहन्थिन् । स्वर पनि विछ्ट्टै मीठो, नाम जस्तै । यस्तै रमाइलोमा भेट भएको थियो उमेरले बाइस पुगेकी मिठुको प्रकाशसँग । यता बिहेको रत्यौलीमा झन्डै वर्षदिन अगाडिदेखि चिनजान भएको रहेछ यी दुईको ।प्रकाश पनि दोहोरी भनेपछि पाकेको भात छोडेर हिँड्थ्यो । टुक्का जोडेर गाउन औधी सिपालु । त्यो बिहेको रत्यौली सकियो तर यी दुईको माया त्यसपछिका दिनहरूमा झ्याङ्गिँदै गयो । मिठुकै लागि पनि ऊ मामाघर आइरन्थ्यो । कुनै विशेष अवसर आयो कि यिनीहरूको दोहोरी सुन्न असी काटेका बुढाबुढी समेत जिउ तातो पार्छ भन्दै चुरोट तानेर खोक्दै आइपुग्थे । गाउँतिर गाँइगुइँ त चलेको थियो तर कसैले बोलेका थिएनन् । आज यसरी भागेको सुन्दा कोही अचम्ममा परे भने कोहीले जोडी त मिलेकै थ्यो है, भन्दै बाटो लागे । घाम बिस्तारै अस्ताए त्यस दिनको ।

खै, यो सहर कसका लागि उत्साहित छ, कसका लागि समर्पित छ अनि कसका लागि रङ्गीन छ, काठमाडौं आएको छ महिनासम्म भेउ पाएनन् प्रकाश र मिठुले । सुरुमा प्रकाशले आफ्नै काकाको छोरा बस्ने ठाउँमा लगेर राख्यो मिठुलाई । गरिहाल्ने काम थिएन । गोजीमा दाम थिएन अनि गाउँमा दोहोरी गाउँदै हिँड्ने, रनवन घन्काएर मेलापात गर्ने, सबैले चिन्ने उनीहरू शहरमा नाम थिएन र कुनै ठाम थिएन । कहाँबाट सुरु गर्ने जीवन,उनीहरुले बुझेनन् । खुसी खोज्न हिँड्दा र सङ्घर्षका अनेक व्यवधान सहनु पर्दा उनीहरु एक्लिए । आफन्तले कति दिन भरथेग गर्थे र । प्रकाशले लाचार भएर कालीमाटीतिर गएर भारी बोक्यो । उता मिठुले पनि सानिमाकी छोरीले दिएको केही पैसाले सानो चटपटे पसल खोलिन् । एउटा सानो कोठा खोजेर उनीहरु बसे । प्रकाशको घरमा मिठुलाई बुहारीको रुपमा स्वीकार नगर्ने कुरा आयो भने उता मिठुका बाले हाम्रा लागि त्यो मरिसकी भन्दै हिँड्छन् भन्ने खबर आयो । तर,प्रकाशको चोखो माया र बचनले गर्दा उनी ढुक्क थिइन् । यसो बसोबास र कामको चाँजोपाँचो मिले दोहोरी गीत रेकर्ड गर्ने ठूलो धोको थियो दुवैको । गला र कलाभएर पनि ठूलो भीडमा निःशब्द हराइरहेका यी जोडीले सपना भने त्यागेनन् । कतै दोहोरी साँझमा काम पाइन्छ कि भनेर धेरै तिर धाए,हात जोड,े अवसरको आग्रह गरे तर रित्तो हात फर्किए । लगभग एक वर्ष यस्तै अनेक जटिल अवस्थाबाट गुज्रिए ।  

कहिलेकाहीँ गीत गाएर फेसबुकतिर पनि राख्थिन् मिठु । सायद संयोग होला उनलाई चिन्ने एक जना साथीको मामाले पनि काठमाडौंमा दोहोरी साँझ खोलेका र त्यहाँ रातको समयमा दोहोरी गाउने कलाकार चाहिएको र अन्तर्वार्ताका लागि कलाकारको खोजी भएको छ भनेर उनलाई सुनाएपछि प्रकाश र मिठु त्यो मायालु दोहोरी साँझमा गए । कुराकानी भयो । गीत गाउन लगाइयो । त्यसपछि छनौट भएमा बोलाउँछौं भनेर फर्काइयो । बेलुकी फोन आयो,हामीलाई महिला कलाकारचाहि चाहियो, आउनुहुन्छ भने भोलि छिनोफानो गर्न आउनुहोला भन्ने खबर आयो । जे होस् मिठुले मात्र भए पनि अहिललाई अवसर पाएकोमा दुवै खुशी थिए । हेर्नेले मिठुको गलामा विश्वास गरयो कि रूपमा, त्यो यही शहरको दृष्टि र दृष्टिकोणलाई थाहा होला ।

मिठु रातको १२ बजेसम्म दोहोरी गाउन जान्थिन्,आफ्नो साधन थिएन । साँझ सार्वजनिक यातायात चढेर जान्थिन् । राति फर्किदा ट्याक्सीले ल्याइदिन्थ्यो । साँझ झमक्क परेपछि एउटा कालो पछ्यौरा ओढेर कसैले नचिन्ने परी लुसुक्क निस्किन्थिन् । प्रकाशले पनि एउटा कपडा पसलमा काम गर्न थाल्यो । दिउँसो मिठुले चटपटे बेच्न अझै छाडेकी थिइनन् । एउटा कोठामा बसेर गुजारा गर्न अलि सहज भयो यी दुई जनालाई। दोहोरी साँझका फोहोरी मानिसमाझ पत्थर जस्तो रहन कठिन हुन्थ्यो तैपनि उनी बलियो बनिन् । गाउने कला र गाला राम्रो भएकाले उनलाई काममा तारिफ नै मिल्यो । गाउँदागाउँदै मिन्ने साथी बनाइन् विनु । ज्यादै सुमधुर स्वरकी धनी उनी मिजासिली पनि थिइन् । उनका पनि दुःखसुखका कथाव्यथा जीवनजत्तिकै लामा रहेछन् । खाईनखाई गरेर बचाएको पैसाले एकवर्ष अगाडि आफ्ना श्रीमान्लाई मलेसिया पठाइछन् । रातमा दोहोरी गाएर हिँड्दा देख्नेले सम्मान र इज्जत नदिँदा ज्यादै नराम्रो लागे पनि विनु आफ्नो कामलाई बाध्यता ठान्थिन् । मिठुसँग चिनजान भएपछि राम्रो मित्रता बढ्यो । उनकै सहयोगले प्रकाशलाई अर्को वर्षको दशैँलगत्तै मलेसिया पढाइन् । घर माइती कतैबाट कुनै सहयोग आएन । जे होस् मिठुले साहास बटुल्दै जीवन अगाडि बढाइन् । प्रकाशको पनि काम राम्रै रहेछ । फुर्सदमा कुराकानी गर्थे । पैसा जम्मा गरेर आफ्नै गीत रेकर्ड गराउने कुरा हुन्थ्यो ।  

समय बित्दै जाँदा एकाएक कोरोनाको प्रकोपले पूरै विश्व ठप्प भयो । सोच्दै नसोचेको अवस्था आइपर्दा गरी खाने वर्गमा ठूलो अन्योल र सङ्कट सिर्जना भयो । होटल, पसल सडक पेटीका व्यापारदेखि लिएर ठूलाठूला व्यापार व्यवसाय सबै रोकिए । सरकारले लकडाउन गरेपछि ज्यानकै बाजी थापेर हिँडेरै भए पनि ठूलो जमात गाउँ फर्किए । मिठुको जाने बाटो पूरै बन्द थियो । एकाएक दुई महिनादेखि प्रकाशसँग कुनै सम्पर्क भएन । उनी अत्तालिइन् । अनेक उपायले सम्पर्क गर्न खोज्दा पनि उसको अत्तोपत्तो पाइनन् । जसका निमित्त संसार त्यागेर यो अवस्थामा आइन् उनकै पत्तो नहुँदा लकडाउन र कोरोनाको त्रासले भन्दा प्रकाशको कारण विक्षिप्त बनिन् उनी। विस्तारै ठाक्कठुक्क पर्ने कुराकानी कम हुने त बढ्दै थियो यसरी खबरविहीन होला भन्ने उनले सोचेकी थिइनन् । कोठाबाट बाहिर निस्किन दिइएको थिएन । उनको चटपटे पसल बन्द भयो । दोहोरी साँझमा काम गर्दाको पैसा विस्तारै सकिँदै गयो । सँगै काम गर्ने विनु पनि गाउँ गइछिन् । मिठुको यता सहारा कोही थिएन । यस्तैमा एक रात प्रकाशको एउटा मलेसियन केटीसँगको फोटो उनलाई उनकी साथी बिनुले  पठाइन् । उनलाई यो दृष्य स्वीकार गर्न प्राण त्यागे बराबर भयो । एकै पटक सबै सपना र रहरमा बज्रपात परेपछि उनले कुनै निकास भेटिनन् । सुखदुःख, घामपानी सँगसँगै सहूँला भन्दै जीवनभरको साथका लागि एकअर्कामा समर्पित भएको छोटो समयमा नै खै,कुन लहडले प्रकाशलाई मुख मोड्न बाध्य बनायो,उनले बुझ्न सकिनन् ।

कोरोनाभन्दा ठूलो प्रकोप त धोका रहेछ उनले ठानिन् । भोलि उठेर के गर्ने भन्दा पनि भविष्य कसरी डोरयाउने उनलाई छट्पटी भयो । गाउँघर, मेलापात, दोहोरी गाएर हिँडेका समयहरु, आमाबुवा, प्रकाशसँगको बाचाकसम सबै सम्झनामा आए उनका । देख्ने कोही नभए पनि लुकाउन खोज्दाखोज्दै दुई थोपा आँशु खसे ।हतार हातर पुछेर एउटा कापी र कलम निकालिन् । एक पृष्ठ लामो खै केके गन्थन लेखिन् । त्यसपछि त्यो कापी र कलम त्यही सिरानीमुनि राखिन् । चिसो हावा चलिरहेको झ्याल बन्द गरिन्,पर्दा लगाइन् । सधैँ दोहोरी साँझ जाँदा ओढ्ने कालो पछ्यौराले पूरै मुख छोपिने गरी ओढिन् र बाहिर निस्किन् तर ढोकामा चावी लगाइनन् रात लगभग चकमन्नजस्तै थियो । उनी त्यही रात पछ्याउँदै सुटुक्क निस्केर अँध्यारोमा रुमल्लिइन् ।  

प्रकाशित: २५ पुस २०७७ ०९:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App