२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

बात

कथा

खेमराज पोखरेल  

 

पोहोर बूढी बिती । म भावनात्मक रूपले एक पाखे भएँ । यसपालि लकुवाले हान्यो । शारीरिक रूपले एक पाखे भएँ । बुहारी विदेशिई । छोरो उतै पछि लाग्यो । म बिनापाखे भएँ । बैसाखी टेकेर बरन्डामा निस्किएँ । संसार मेरो पहिलेको तुजुगभन्दा कता हो कता बैँसालु भएको थियो ।

हिजोआज म थाकेर परपर हेर्छु । बाहिर कोही मलाई नै भनिरहको थियोः  “यो पापी अपराधी बूढाको घर हो ।”

भोक लागेको छ । प्यास लागेको छ । सम्पत्ति छ । काम गर्ने मान्छे हो पेशालले । आज ढिलो गरेको छ । म काकाकुल भएको छु । अर्काको मान्छे हो । आखिर अर्काको मान्छे भनेको अर्काकै हो । पैसाका  लागि काम गर्ने । पेशाले के सम्वेदना होला ! के अपनत्व होला !

म किन सडिरहेको छु ! झुन्डिएर मर्न मन लागेको छ । तर, पासो समाउने हातहरूमा एउटा बेकामे छ । अर्को हात पनि थरथर काम्छ । हुती पनि छैन । म सुस्तरी भित्र पस्छु । म कोसँग प्रायश्चित्त गरूँ ! कोसँग क्षमा मागूँ ! यो मृत्यु पनि किन निर्दयी भयो मसँग ! यो काल पनि किन आउँदैन मलाई  र मेरा अगाडि फेरि अपाङ्ग छोरी दाँत देखाएर हाँसिरहेकी छे !

  

०००००

मैले ऊसँग उभिएर “म पापी हुँ, म अधम हुँ, ज्यानमारा हुँ” भन्न पनि पाइनँ । म बाँचीबाँची मरिरहेको छु । मरीमरी बाँचिरहेको छु । म हरपल मरिरहेको छु । भत्भती पोलेको छ । ग्लानि भएको छ ।

एउटा हातले झ्यालको पर्दा खोलेँ । बाहिर सडकमा ऊ हिँडिरहेकी थिई । कहिलेकाहीँ आक्कलझुक्कल यही बाटो हिँडछे । म उसलाई गौर गरेर हेर्छु । ऊ मभन्दा दुई वर्ष कान्छी हो । ऊ पनि बूढी भैसकेकी हुनु पर्ने । तर ऊ ठमठम हिँड्छे । ऊ लौरो समाउन्न । उसलाई बोलाउन मन लाग्छ । लुकेर हेरिरहन्छु । देखिएर हेर्ने आँट छैन मेरो । तर उफ ! के साइनाले बोलाउने हो र उसलाई ?

०००००

पञ्चेतीमा चाउरे सार्कीले हाकाहाकी भनेको थियो –

“हो हजुर, मैले त नाइ भनेकै हो, जेठी मालिक्नीले केही हुन्न चाउरे आइज भन्नु भयो ।म जेठी मालिक्नीसँग सुतेकै हो ।”

ऊ “होइन, होइन, यो साँचो होइन, हे भगवान’ भन्दै थिई । उसमाथि कोर्रा बर्सिसकेको थियो । उसकी छोरी उसलाई अँगाँलो हालेर रुँदै थिई ।  

म, मेरा बुवा, मेरी आमा, भाइ, बुहारी, बहिनी हामी सबै गलल हाँसेका थियौँ । रमाएका थियौँ । युद्ध जितेजस्तो भएको थियो । उसकै नामबाट छोडपत्रको निवेदन अदालतमा हालेकाले सजिलो भयो । बिचरा उसलाई त छोडपत्र भनेको पनि के थाहा र ! आँशु र कुटाइ बिच उसले सही गरेकी थिई । ल्याप्चे लगाएकी थिई । वकिल सफल भएका थिए । हामी सफल भएका थियौँ । वकिल सापलाई कबुलिएकोभन्दा बढी बक्सिस  दिएका थियौँ । पञ्च भलाद्मीलाई बोलाएर भोज पनि गरेका थियौँ । हामी मक्ख थियौँ । वकिल मक्ख थिए । पञ्च मक्ख थिए । समाज मक्ख थियो । परिवेश मक्ख थियो । केवल ऊ रोइरहेकी थिई ।

छोरीलाई खोसेर उसलाई धपाएका थियौँ । छोरीलाई काठमाडौँ लगेको थिएँ । 

चाउरे सार्कीसँग उसलाई बात लगाउँदा ऊ त्यस्तै ४२ वर्षकी थिई होली । बात लगाएपछि ऊ रुँदै रुँदै चाउरे सार्कीकै पछि पछि हिँडेकी थिई । चाउरे सार्की १० दिनपछि गाउँमा देखियो । उसले मलाई आएर भनेको थियोः “जेठा मालिक, मैले जेठी मालिक्नी सा‘पलाई हजुरले भनेझैँ मार्न त सकिनँ । माया लाग्यो । जीवन दिन नसक्नेले हर्नु पनि हुन्न भन्ने सुनेको थिएँ । तर पनि काठमाडौँ पुर्याएर छोडिदिएँ । र मेरो गरिखाने थातथलो यसै गाउँमा छ फर्कि आएँ । हजुरले दिएको पैसाले बूढीलाई सारी पनि किनी ल्याएँ । अब अलिकति भिठा बारी पनि किन्नु पर्ला ।”

०००००

ऊ ९ वर्षकी थिई । म ११ वर्षको थिएँ । ऊ साक्षर पनि थिइन । नाउँ गाउँ मुस्किलले लेख्थी । म ६ कक्षामा पढ्थेँ । हाम्रो बालविवाह भएको थियो । ऊ गरीब परिवारकी थिई । हामी गाउँका अलि हुनेखाने खालका थियौँ । बिहेपछि ऊ ३ वर्ष जति माइतीमै बसी । १२ वर्षको उमेरमा ऊ मेरो घर आई । अर्को वर्ष म एसएलसी पास गरेर काठमाडौँ गएँ उच्च शिक्षा पढ्न ।

कहिलेकाहीं शहरबाट गाउँको घर जान्थेँ म । ऊ नराम्री लाग्थ्यो मलाई । अनुहार डढेको हुन्थ्यो । चाउरी परेजस्तो देखिन्थी । हातखुट्टा पटपटी फुटेका हुन्थे । उसको शरीरबाट पसीना गन्हाउँथ्यो । नुहाउन त ऊ सधैँ नुहाउँथी बिहान । तर, दिनभरिमा ऊ पूरै फोहोरी भइसक्थी । न बोल्ने ढङ्ग थियो न लुगा मिलाएर लाउन जान्दथी । न मिलाएर खाने नै सीप थियो । यमानको पटुका बाँध्थी ।म घर गएको बेलामा पनि म ऊसँग सुत्दिन थिएँ ।

ऊ घाँस काट्थी । दाउरा चिर्थी । दाउरा बोक्थी । गोबर सोहोर्थी । भकारो फाल्थी । मल बोक्थी । पानी बोक्थी । गाई हेर्थी । बाख्रा हेर्थी । चराउँथी । ऊ हाम्रो घरको पूरै कामदार थिई । खानबस्न दिए पुग्थ्यो उसलाई । बिनापारिश्रमिककी नोकर्नी थिई ऊ । उसलाई घरका सबैले हेप्थे । कराउँथे । गाली गर्थे । तर ऊ चूपचाप सहन्थी । उसले कहिल्यै गुनासो गरिनँ । सायद उसले ठानेकी थिई होली । उसलाई विश्वास थियो होला । उसको धर्मले भन्थ्यो होला । उसको खसमले उसलाई हेर्ने छ । दिन फर्कने छन् । उसको माइती पनि दह्रो थिएन । खासमा उसको कोही थिएन । अरू त अरू सायद भगवान् पनि थिएनन् उसका लागि ।

मैले मास्टरर्स गरेँ । शाखा अधिकृत पास गरेँ । म मलाई सुहाउने बिहे गर्न चाहन्थेँ । घरमा बाबुआमासँग मेरो इच्छा सुनाएँ । बाबा – आमा खुसी हुनुभयो र भन्नुभयोः ‘खुट्टा भए जुत्ता कति –कति, खोज्न एउटी शहरमा” । 

उफ, आमा पनि किन खुसी हुनुभएको हो कुन्नि । आइमाईको बैरी आइमाई नै किन पल्टिएका होलान् । एउटी महिलालाई सौता हाल्ने कुरामा अर्की महिला यति बिघ्न खुसी किन भएका होलान् !  किन महिलाका पीडामा महिलाले नै नुनचुक हाल्ने होला !

मैले एउटी नर्ससँग अर्को बिहे गरेँ । सायद थाहा पाएर ऊ रोई होली । तर, उसले विद्रोह गरिनँ । चूपचाप कहर सही । भाग्यलाई दोषी होली । उस जन्मको पाप ठानी होली । ऊबाट कुनै सन्तान थिएनन् । खासमा सन्तान हुने कुरै थिएन । मैले ऊसँग सहवास गरेकै थिइनँ । उसको बैँस त्यसै मरिच चाउरिएझैँ चाउरिएको थियो । सन्तान नभएको बहानामा मलाई बिहे गर्न पनि सजिलो भएको थियो ।  

मेरी कान्छी स्वास्नी गर्भवती भएकी थिई । म काम विशेषले गाउँ गएको थिएँ । बल्ल मैले ऊसँग सहवास गरेको थिएँ । ऊ पनि गर्भवती भएकी थिई । उसले गाउँमा बसेर सबै बुहार्तन खपेर जिन्दगी चलाई । न उसलाई कसैले मिठो दियो । न डाक्टर, न वैद्य । न लोग्नेको माया नै । तर पनि ऊ बसी । गाउँमै बसी । मेरा दुइटै श्रीमतीले छोरी पाए । कान्छी श्रीमतीले महिना नपुगी जन्माउन पर्यो । छोरी पाई । अलि कमजोर पाई । अलि शारीरिक अपाङ्गजस्तो पाई ।

तर उसले महिना पुरयाएर्र पाई । राम्री छोरी पाई । सगल्तो पाई । सर्लक्क परेकी पाई । त्यही छोरीमै बात लगाएर निकाल्न पनि सकिन्थ्यो । तर, त्यो छोरीको अनुहार काट्टीकुट्टी मेरोजस्तै थियो । मेरी छोरी होइन भन्ने कुनै आधार थिएन ।

०००००

बाबुआमाले छुट्टयाइदिनुभएको थियो । छुट्टीभिन्न भएका थियौँ । ऊ मेरो भागमा बसेकी थिई । घरकै पाली बेरेर बसेकी थिई । छोरीसँग थिई । म घर जाँदा पनि ऊसँग बस्दिनथेँ । छोरीलाई पनि काखमा लिन्न थिएँ । छोरीलाई एकपल्ट कुटिदिएको थिएँ । कहिल्यै मेरो नजिकमा परिन । 

तर उसलाई अब सजिलो भएको थियो । पूरै परिवारको काम गर्नु पर्दैनथ्यो । आफ्नो मात्र गरे पुग्थ्यो । आफ्ना गाई, भैँसी, बाख्रा हेरे पुग्थ्यो । अब खानका लागि बज्यैसँग माग्नु पर्दैनथ्यो । बज्यैको खटनपटन सकिएको थियो । आफ्नो मात्र खेत रोपे पुग्थ्यो । परिवारका सदस्यको हेपाइसमा कमी आएको थियो । आङ फुटाएर मेहनत गरेकी थिई । धान, मकै, कोदो तुल्याएकी थिई । 

म घरबाट सहर फर्किँदा कुराउनी पकाएर हालिदिन्थी । मेरा शहरका परिवार उसलाई घृणा गर्थे । मै उसको बैरी पल्टिएको थिएँ भने मेरा शहरिया परिवारको त झन् कुरै भएन । तर, कुराउनीको पोको उनीहरूको प्रिय थियो । तर मेरी कान्छी भन्थिन्ः  “गाउँको खोल्र्याप्प पारेकी छे अनि किन नपठाओस् त जाबो कुराउनी !”

जेठीकान्छीको भेट भएकै थिएन । तैपनि मेरी कान्छी स्वास्नी जेठीकाप्रति विष वमन गर्थिन् । म निको मानेर अझ साथ दिन्थेँ ।  

सायद उसले नयाँ गुन्यू लाउन थालेकी थिई । सायद मेलाबाट किनेर ल्याएको तेल लाउन थालेकी थिई । छुट्टभिन्न भएकाले सायद त्यसबेला ऊ मेरी आमालाई नचाहिने कुरामा टेर्दिन थिई । मेरा बाउको खप्कीसँग डराउँदिन थिई । सायद मेरो भाइलाई गुदान्दिन थिई । सायद बुहारीलाई ऊ मन परेकी थिइन । सायद उसले गर्दै गरेको प्रगति उनीहरूलाई सह्य भएन । उनीहरूमा आहारिसको मात्रा बढ्यो । दम्भ बढ्यो । हर्कत बढ्यो । र दुर्नियत पनि बढ्यो होला । म गाउँको घरमा बोलाइएको थिएँ । म गएको थिएँ । ऊबाहेक अरू मेरा बा, आमा, भाइ, बुहारी र एउटी बूढीकन्ने बहिनी भेला भएर मलाई भन्न थालका थिएः“ती तिम्री जेठीको चालामाला ठिक छैन । चाउरे सार्कीसँग सल्केकी छे । गाउँ हिँड्नै नहुने भयो । हाम्रो इज्जत गुहुमै डुबाई । डङडङ् गन्हाएकी छे । त्यही चाउरे सार्कीसँग धपाइदिनुपर्छ ।”

मैले चाउरे सार्कीलाई सोधेँ । उसले भन्योः “धरोधर्म जेठा मालिक, मैले छोएको छैन। मैले हलो जोतेको हुँ । काम गरेको हुँ । सघाएको हुँ । पाप लाग्छ । त्यसो नभन्नू जेठा मालिक । आखिर दैव पनि त कहीँ छ नि । अहिले पाप बोलेर कुनै दिन त तिर्नुपर्छ जेठा मालिक ।”

मलाई पनि उसलाई धपाउनै मन लागेको थियो । पहाडको जग्गा जिमिन बेचर काठमाडौँमै लान पाए हुन्थ्यो । उसकी छोरीलाई काठमाडौँ लान पाए घरको काम गर्थी । धन्दापात गर्थी । बढारकुँढार गर्थी । काठमाडौँका त पिलन्धरे छन् । सरकारी स्कुलमा त खर्च पनि छैन । यो राम्रो अवसर लागेको थियो मलाई । उसलाई धपाइदिने र उसकी छोरीलाई काठमाडौँ लगेर घरको काम गराउने । 

मैले बालाई भनेँः “बाबा, चाउरे सार्की त होइन भन्छ ।”

बाबा कुर्लिनुभएको थियोः “त्यसले होइन भनेर धर पाउँछ ! त्यो हाम्रै जुठोपुरोमा हुर्किएको हो । त्यसलाई अलिकति पैसा दिएर ‘हो’ भन्न लगाउनुपर्छ । वकिल बोलाएर कागजमा त्यो मुखाले बेस्सेलाई सही गराउनुपर्छ । अचेल त टेर्दै टेर्दिन ए । गाउँभरि हल्ला गर्नु, गराउनुपर्छ । पञ्चभलाद्मीलाई भोज खुवाउनुपर्छ  र त्यसलाई लघार्नुपर्छ ।”

म सहमत भएको थिएँ ।  

०००००

ऊ कता गई कसैलाई थाहा थिएन । उसकी छोरी पनि एस.एल.सी. पढ्दा पढ्दै एउटा केटो टिपेर भागी । सायद उसकी छोरीले पनि सौतेनी आमा झेल्न सकिन होली । आफ्नै भए पनि सौतेनी पल्टिएको बाउको ताडना खेप्न सकिन होली । कहिल्यै खुसी पार्न सकिन होली । सौतेनी भाइ बहिनीको त झन् कुरै भएन । जुठो पुरोमा कति बाँचोस् । अघाउँदी खान मन लाग्यो होला । वा आधा पेटै भए पनि मायाले खान मन लाग्यो होला । ऊ भागी । ऊ भागेकोमा केही समस्या थिएन । घरको काम गर्ने मान्छे भागेकोमा खुबै पीडा भएको थियो ।  

०००००

  डिल्लीबजारको उकालोमा हिँड्दै थिएँ । ऊ ठ्याक्कै मेरै सामुन्नेमा परेकी थिई । म  तर्सिएको थिएँ । उसले लुगा मिलाएर लगाएकी थिई । ऊ राम्री देखिएकी थिई । गोरी देखिएकी थिई । उसले पटुका पनि बाँधेकी थिइन । चार आँखा भए । उसका आँखाले मलाई ट्वाल्ल हेरे । घुरेर हेरी । मैले नै आँखा तल झारेँ । बाटो छुट्टियो । म त एकनास छक्क परेर उभिइरहेँछु । म अनायास उभिएको देखेर मसँगै हिँडेका दिलिपजीले सोधे– “किन उभिनुभएको हाकिम साप ?”

मैले भनेथेँः “ त्यो आइमाई देखेर !”

– चिन्नुहुन्छ !

मेले अनायासै भनेको थिएँः “चिन्दिनँ ।”

“म चिन्छु । माइती नेपालमा काम गर्छे । पाँचथर जोरपोखरीकी हो रे । केटाकेटीमै बिहे भएको रे । लोग्नेले छोड्यो रे । अर्की बिहे गर्यो रे । एउटी छोरी पनि छे रे ।  त्यो लोग्नेले छोरी पनि खोसेर राखेको छ रे । लोग्ने यतै काठमाडौँमा कतै ठूलै मान्छे छ रे । सार्कीसँग बात लगाएर धपाएका रे । मार्नै पठाएका रे सार्कीलाई पैसा दिएर तर सार्कीलाई माया लागेछ । मारेनछ । काठमाडौँ ल्याएर छोडिदिएछ रे । भोकैप्यासै देखेर कसैले उसलाई माइती नेपालमा पुरयाएछ रे । माइती नेपालले पाँचथरमै बुझेछ रे । फिदिम अदालतमा त उसैलाई पो पारपाचुकेको निवेदन दिन लगाएको रे त्यो लोग्नेले । पैसा खुवाएर मिलाएको रे । कस्ता असत्ती हुन्छन् कोही लोग्ने मान्छे ! कस्ता पापी हुन्छन् मान्छे  होकि हाकिम साप  अनि नि उसले त्यही माइती नेपालमा बसेरै काम गरेरै एसएलसी पास गरेकी छे । जागिर खान्छे ।”

मैले हड्बडाएर सोधेको थिएँः “तपाईँले कसरी थाहा पाउनुभएको दिलिपजी !’

– कानुनको आडमा महिला हिंसा’ नामको प्रोजेक्ट गर्दा त्यही घटनालाई केस स्टडी लिएको थिएँ, हाकिम साप ।

“भो छोड्नुस् दिलिपजी, अर्काको कुरा” मैले भनेको थिएँ ।

 

०००००

अचेल ऊ मेरै घरको अगाडिको चोकमा आएर बस्छे र मेरै घरलाई देखाएर भन्छेः “त्यो पापी, अधर्मी, अधम र नरपिचासको घर हो ।”

अचेल फेरि झन् थलिएझैँ लाग्न थालेको छ । मुटु चस्सचस्स गर्न थालेको छ । चल्ने पट्टिका हातगोडाहरू पनि लुला हुन थालेका छन् । मान्छेले मलाई त अचेल हाकाहाकी भन्छन्ः “पापी बूढो !”  

म केही गर्न सक्तिनँ । केही भन्न सक्तिनँ । मेरो कुरा सुन्ने त्यो संसार पनि छैन । मेरा इशारामा चल्ने परिवेश पनि छैन । म नितान्त एक्लो भएको छु । र मेरो हृदयले पनि मलाई नै खोतल्छ र भन्छः “तँ पापी होस् । अधर्मी होस् । अधम होस् । कुम्भीपाकको भागी होस् । बाँच्दै तेरो यो हविगत भयो भने मरेपछि तँ भोग्लास् जुनीजुनीको नर्क !”

म त अनायासै बरन्डामा निस्केर कराएँछुः “हे भगवान्, मलाई मृत्यु देऊ, मृत्यु देऊ, म पापी हुँ !”

मेरा घरको अगाडि बराम मान्छे उभिएका छन् । र ती भन्दै छन् मलाईः “यो पापी बूढो बहुलायो’ । मलाई लाग्दैछ यी मान्छेहरू मेरो काँधीकाठ तयार पार्दैछन् । मेरो चिहान खन्दै छन् ।

 (कथासङ्ग्रह ‘‘पगाहा’बाट )

प्रकाशित: २५ मंसिर २०७७ ०४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App