२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

तेरो डाक्टर केही जान्दैन !

निबन्ध

बोधराज पौडेल

 

एक समय मेरो बुबा फोक्सो रोगको शिकार हुनुभयो । उहाँलाई उपचारका लागि काठमाडौंको राम्रो अस्पतालमा देखाइयो । डाक्टरले फोक्सोमा पानी जमेको हुँदा नियमित पैतालिस दिनको उपचार गर्नुपर्ने बताए । घरबाहिर पैतालिस मिनेट बिताउनु नभएको मेरो बुबालाई पैतालिस दिन बिताउन धेरै गारो थियो । यो कुरा सुनेर सुरुमा उहाँ झस्कनुभयो ।

दिनहरू बित्दै गए । उहाँलाई राम्रो हुँदै गयो । फोक्सोमा जमेको पानी क्रमशः सुक्दै गयो । हड्डीमा टाँसिएको छाला बिस्तारै बाहिर आयो । रुखमा लहरा जेलिएजस्तै देखिने नशाहरू बिस्तारै पुरिन थाले । सामान्य हिँड्डुल र खानका लागि सजिलो हुन थाल्यो । एक किसिमले भन्दा रोगबाट पाएको समस्य हट्यो ।

एक महिनापछि मैले बुबालाई भने–फेरि डाक्टरले बोलाएको दिन आयो । अहिले हजुरलाई कस्तो छ ? मेरो प्रश्नमा हल्का मुस्कान भरेर भन्नुभयो–‘अब त पनि डाक्टर भइस् हैन ।’ मैले केही कुरा बुझिन र जिज्ञासा राखे । बुबाले भन्नुभयो । तैले मलाई ठूलो डाक्टर छ रोग पत्ता लगाएर राम्रो उपचार गर्छ भनेको हैन ? बुबाको प्रश्नमा मैले हो भने । त्यही भएर त अहिले राम्रो भएको । बुबाले भन्नुभयो – नापो तेरो डाक्टरले ! म कुरा नबुझेर आफैमा छक्क परे । किनभने बुबालाई त पहिलाभन्दा धेरै राम्रो भएको मैले आँखा अगाडि नै पाएको थिए ।

बुबाको कुराले मैले चार चित खाए । सबै कुरा राम्रो भएर पनि उहाँले यस्तो कुरा किन भन्नुभयो । कि डाक्टर मन परेन छ कि वा डाक्टर सा’बले केही नराम्रो कुरा पो बताए कि मेरो दिमागमा गोल चक्कर लाग्यो । कडा रिस भएको मान्छे मेरो बुबा । म चूपचाप रहनु नै राम्रो ठाने तातो रिसमा नपरौ भनेर । दिनभरि मनमा यही कुराले घोचिरह्यो । आखिर बुबाले यसो किन भन्नुभयो ।

बेलुका घरमा आएर भने के भयो हजुरलाई त्यो डाक्टर मन परेन ? परेन भने मैले अर्को डाक्टरकोमा लान्छु । मेरो कुरा नसुनेझैं गर्नुभयो । केही क्षणपछि फेरि भन्नुभयो–‘तैले त मलाई यो डाक्टर खूब जान्ने छ, राम्रो उपचार गर्छ भनेको हैन ?’ मैले हो भने । त्यस्तो जान्ने डाक्टर भए मलाई बुबा तपाइँलाई के हुन्छ, कहाँ दुख्छ । अहिले कस्तो छ ? खान मन लाग्छ लाग्दैन ? भनेर किन मलाई प्रश्न गर्छ त जान्ने मान्छेले त छामेर थाहा पाउनुपर्ने होइन त ? मलाई मिठो हाँसो आयो । घरमा आवाज छायो । कहिल्यै डाक्टरको सामना नगर्नुभएको मेरो बुबाले विचरा डाक्टरलाई पनि गाउँको धामी ठान्नुभएछ कि क्या हो । गाउँमा धामीले हात छामेर लागो पत्ता लगाए जस्तो गर्छ भन्ने लागेको रहेछ मेरो बुबालाई । म यतिबेला एक्लै हाँसिरहेको छु बुबाको कुरा संझेर । बिचरा मेरो बुबा पहिलो पटक डाक्टरको सामना गर्दै हुनुहुन्छ । कहिल्यै सिरिन्जले नरोपिएको मेरो बुबाको शरीरबाट धेरै पटक रगत निकाल्नु परेको छ ।

खाना खाने बेला र सुत्दा मात्र लुगा खोल्ने मेरो बुबाको करङ नाप्न डाक्टरले धेरै पटक कपडा खोल्न लगाए । डाक्टरले हड्डीमा जेलिएको नशा र छालाबाहेक अरू केही भेटेनन् । हजार काँडाले घोचेको मेरो बुबाको शरीरमा धेरैै सुईहरूले प्वाल पारियो । घाँस काट्दा हसियाले काटेको भन्दा फरक तरीकाले नशाबाट रगत निकालियो र त्यो पनि नापियो जोखियो । अन्तमा त्यसमा भएको भन्दा अन्य फरक गुण र व्यवहार भेटिएन ।

मेरो बुबा आफैमा शालिन, भद्र र इमानदार मान्छे । उहाँलाई अनावश्यक रूपमा दुख दिएको पटक्कै मन नपर्ने । तर, डाक्टरले यता जानु उता जानु । यो गर्नु त्यो गर्नु भन्दा उहाँलाई दिक्क लागेछ । कहिल्यै नआवश्यक झन्झट र पाँच सय खर्च गर्न नसक्ने मेरो बुबालाई अस्पतालले मोटो रकमको बिल थमाइरहेको थियो । उहाँलाई त्यसले गाह्रो पार्दो रहेछ त्यो कुरा मैले अलिपछि थाहा पाएँ ।  

गाउँमा हिँडेर नै वल्लो गाउँ पल्लो गाउँ गर्ने मेरा बुबालाई यहाँ ट्याक्सीले एकै क्षणमा पाँच सय लिएर गएको पनि राम्रो लागेको रहेनछ । र त भन्नुहुन्छ–‘म पहिलो पटक काठमाडौं आउँदा पचास तिरेर आएको थिए ।’ बजार महंगो भएको उहाँले बुभ्mनुभएछ ।  

कान मधुरो भए पनि आँखाले सानाभन्दा साना अक्षर देख्न उहाँलाई कुनै समस्या छैन । परपरको दृष्य सजिलै आँखामा आउँछन् । किताबका सबै अक्षरहरू हेर्न सक्नुहुन्छ । त्यसैले त कथाका किताबहरू पूराका का पूरा पढेर सक्नुहुन्छ । खानमा मीठो नचाहिने तर गुलियो खानेकुरा उहाँलाई धेरै मनपर्छ । चिनी कम भएको खानेकुरा उहाँलाई मन नै पर्दैन ।

डाक्टरले उहाँलाई बारबार सल्लाह दिए । चुरोट पिउने बानी डाक्टरको सल्लाहमा छुट्यो । तर, तलतल बढ्दा कहिलेकाहीँ गाह््रो पार्छ । यो फोक्सोको समस्याले मासु खान पनि बन्द भयो । मासु उहाँलाई निकै मीठो लाग्थ्यो । त्यसैले त दुुई किलोसम्मलाई साथीको आवश्यकता पर्दैनथ्यो । अनायासै सास फेर्न गाह्रो भएर यो पनि छुट्यो । आज नौ वर्ष भयो उहाँले मासुमा हात नलगाउनुभएको ।

घिउ पनि एक पटकमा एक मानु जति नै खान सक्ने उहाँको खूबी थियो । घरमा गाईभैंसी पाल्ने हुनाले घरमा घिउको दुख हुँदैनथ्यो । यो पनि छुट्यो । कहिलेकाहीँ त लाग्दो हो यो फोक्सोले सबै कुरा छिन्यो । धन्न मेरो एक मुठी सासलाई चलाउन सहयोग गरिरहेको छ यसका लागि ऊ धन्य छ । यस्तै कुरा मनमा उठ्दो हो । नत्र त त्यो जोस राँको बनेर दन्किन के बेर । जुन वस्तु मनले रोक्न सकिदैन त्यसलाई रोगले रोकी दिँदो रहेछ सत्य यही हो ।

बिरामी समयमा पाँचवटा किताब पढेर सकिएँ । जीवन, दर्शन र ज्ञानका । सारा जगत बुझेझैं भएको थियो । तसर्थ मोह थिएन । माया भने मार्न सकिएन नातिनीहरूको । उनीहरूको याद बारम्बार सताउँछ । लामो सास लिन नसके पनि निस्कन्छ याद नातिनीहरूको । कस्तो छ उनीहरूको खबर । राम्रा र महंगा चिजहरू नचाहिने स्वभावमा परिवर्तन गरेन समयले । सबै उस्तै रहे । जीवन्त ।

सधैं एउटै गुनासो छ । तेरो डाक्टर केही जान्दैन । मैले खाने सारा खानेकुरामा रोक लगायो । मलाई के भएको छ त्यो पनि ऊ जान्दैन । तसर्थ बारबार मलाई कहाँ दुख्छ भनेर सोधिरहन्छ । दुखेको ठाउँ म उसलाई देखाउन सक्दिन । ऊ डाक्टर भएर पनि केही जान्दैन । र त म अहिले कस्तो छ भनेर सोधिरहन्छ ।

 मलाई देखाउन त मन छ यहाँ दुख्छ, यसरी दुख्छ भनेर तर ऊ मुर्दासँग परीक्षण कार्य सिकेर आएको मान्छे । चित्रमा ज्ञान लिएको मान्छे ऊ असल मान्छेको दुख, समस्या र परीक्षणबारे केही जान्दैन । छोरा तैले डाक्टरकोमा ल्याएर मलाई निको त बनाइस् तर मेरा सारा इच्छाहरुलाई मारिदिइस् । यो भनाइले मलाई पनि पोल्छ । जीवनको राग र अनुरागमा धेरै फरक छ । अहो कस्तो भाग्य !

मलाई यतिबेला सोधेर परीक्षण गर्ने डाक्टरभन्दा पीडाबोधले अनुभूत गर्ने बिरामीमा गर्व लाग्न थालेको छ । जसले संसार र जगत बुझेको होस् । त्यस्तो व्यक्ति संसारमा केही छ भने त्यो अरू कोही हैन मेरो बुबा हो । जो डाक्टरलाई पनि आफ्नो बारेमा बताउन सक्छ ।  

प्रकाशित: २४ मंसिर २०७७ ०८:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App