२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

संकल्प

लघुकथा

किशन पौडेल 

 

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस भव्य रूपमा मनाउँदै थियो सरकार ।  

एउटा गोष्ठीमा भ्रष्टाचारविरुद्धको अभियानमाथि प्रकाश पार्दै मन्त्रीज्यूले भन्दै हुनुहुन्थ्यो – भ्रष्टाचार समाजको एक कलङ्क हो । एउटा महारोग हो । आर्थिक अपराध हो । सामाजिक र राजनीतिक प्रणालीलाई नै ध्वस्त पार्छ । विकासको गतिलाई अवरोध गर्छ ।  शान्ति र सुव्यवस्थामाथि नै आक्रमण गर्छ ।

– म भ्रष्टाचार गर्दिनँ  र गर्न दिन्न । सुशासन र भ्रष्टाचारमुक्त समाज बनाउने दृढ सङ्कल्पका साथ आफ्नो मन्तव्य समापन गरेर अगाडिको उच्च आसनमा आएर बस्नुभयो  ।

त्यहाँ अगाडि टेबुलमा आजका दैनिक अखबारहरू लहरै राखिएका थिए । अखबारहरूमा ठूल्ठूला अक्षरमा आजसम्म भएको भ्रष्टाचारहरूको बारेमा खोज – अनुसन्धानमूलक लामो लेख छापिएको थियो ।

भ्रष्टाचार गरेर कुनकुन मन्त्री नेताहरूले के कति कसरी अकुत सम्पत्तिहरू कमाए भन्ने बारेमा एउटा लामो नाम लिस्ट र विवरणहरू थियो ।

मन्त्रीज्यूको छड्के आँखा त्यो लामो लिस्टमा सरर दौडियो । बिस्तारै उज्यालो मुखमण्डल भय मिश्रित मलीन हुँदै गयो । बादल मडारिएझैँ अनुहार निलो –कालो हुँदै गएको प्रस्ट देखिन्थ्यो ।

मन्त्रीज्यू आसनबाट जुरुक्क उठेर अर्को भ्रष्टाचारविरुद्धको गोष्ठीमा सहभागी हुन दौडिनुभयो ।

प्रकाशित: २४ मंसिर २०७७ ०७:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App