२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

जोहो

लघुकथा

डा.  विदुर चालिसे

 

इज्जत, सम्मान, प्रतिष्ठा, वैभव, आदर्श, कुलिनता एवं सम्पत्ति जेसुकै खोजेर नापजाँच गरेपनि पद्मा दिदीको तुलना कसैसँग पनि गर्नु उनको सरासर अपमान र अनुमानमा गरिने खुच्चिङबाहेक केही हुन सक्दैन थियो। एकदिन एकाएक जलेको मनले होला सायद, उनको मुखबाट निस्क्यो ।

– भाइ , यता आउनु न ल ! सन्चै छ !

– सन्चै छ ! कहिले आउने दिदी !

– उम् , भिनाजु नभएको दिनमा !

निर्मल लाजले भुतुक्क हुन्थ्यो । दिदीको फरासिलो स्वभावका कारण कहिलेकाहीँ लाजले नबोले पनि दिदीसँगको मर्यादाका लागि बोल्नै पर्ने बाध्यता थियो । दिदीले निर्मललाई कुनै समय आफ्नो घरको समस्याबारे अव्यक्त गुनासो गरेकी थिइन् ।

– ओहो दिदी,  धेरैमा भेट भयो नि !  हजुर अचेल के गर्दै हुनुहुन्छ अनि भिनाजुको खबर !

उमेशले उनलाई सोधेको प्रश्नले उनी लज्जावती झारझै झुकिन् र केही बोल्न सकिनन् । उनले रातो अनुहार लगाएर यति मात्रै भन्ने आँट गरिन् – ठिकै छ, चलिरहेछ जीवन !

उसको मानसिक तनाव के थियो अरूलाई पनि के थाहा र !  अस्पतालमा धाउँदाधाउँदा र डाक्टरको सल्लाह लिंदालिंदा हैरान भएकी पद्मा दिदीको स्वभाव निकै गम्भीर र अकस्मात चन्चल हुन पुग्थ्यो । अनि मौनताको सङ्क्रमणसँग उनी समाजमा आफूलाई आदर गर्ने भाइहरूसँग छाडाजस्तै बोली झिकेर सोधिहाल्थिन् – बुहारीले कतिवटा जन्माई त !

पुरूषत्वको लाजले भुतुक्क भएका उनका धर्म भाइहरू पद्मा दिदीको फरासिलो स्वभाव, चन्चल व्यवहार र सौन्दर्य देखेर मोहित मनले भन्थे – दिदीभन्दा पनि भिनाजु कति योङ देखिनुहुन्छ है !

उनको मन कटक्क खान्थ्यो । जोडी मिलाएर विहे गरिदिएका उनको बाबुआमाको पनि के नै दोष थियो र !  कस्को मनभित्र को नै पस्न सक्थ्यो र अनि कसको भौतिक शरीरको कस्ले नै  परीक्षण गर्न सक्थ्यो र ! उनी कहिलेकाीँ प्वाक्क बर्बराएझैं गरेर जिज्ञासाले बोल्थिन् – स्वास्नी बन्ने आइमाईहरू सुखी मात्रै हुँदैनन् रे !

पद्मा दिदीको बलेको यौवन, सुगन्ध चल्ने रूप सौन्दर्य र सुन्दर शैली भए पनि मर्यादाका सिमाले चल्नुपर्ने सामाजिक गतिसँग अरूभन्दा पर पद्मा दिदीलाई परम्परागत धर्मले छेकेको थियो । जीवनको भावजस्तो भए पनि मानसिक आशाको कुण्ठाभाव असन्तोषको विषय थियो । एकदिन पद्मा दिदीलाई निकै वर्षपछि कुच्चिएकी, खल्ड्याङ्ग्री र मानसिक दबाबमा लर्बराएर हिंडिरहेको उनका भाइहरूले देखे ।

पद्मा दिदीमा आएको फेर बदलले उनीहरूमा करूणाका लवजहरू फुस्कियो – नपुंसकताले थिचिएकी विचरी दिदी,  मोटो जिउ, फुस्रो अनुहार, अशक्त भारी भएको गोडा र हातमा वैशाखी लिएकी पद्मा दिदीलाई उनीहरूले वर्षौपछि कुनै एक प्रोग्राममा भेटे । तिनलाई देख्नासाथ रुग्न बनेकी उनले आँसु खसाल्दै मनको बहलाई शान्त भएझै सम्झेर भनिन् – लौ लिनु, म यसकी आमा हुँ !

उनीहरू पद्मा दिदीको जीवन कहानीको एकएकवटा कथाको पुस्तक लिएर घरतिर फर्के । उनीहरूले पद्मा दिदीलाई बाटोमा सम्झेर गफ गरे – मातृत्वको जोहो’ !

प्रकाशित: २१ मंसिर २०७७ ०७:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App