२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

नविन यान

लघुकथा

तुलसीराम खरेल

 

 नविनको मनमा सानैदेखि अन्तरिक्षको यात्रा गर्ने कुराहरू आइरहन्थे । ऊ धेरै हदसम्म हठी समेत थियो। ससाना खेलौनाहरू आकासमा उडाउनै व्यस्त  हुन्थ्यो। हाईस्कुलको विद्यार्थी रहेको समयमा विद्यार्थीहरूको बिच ससाना मोटर र ब्याट्री जोडेर केही वस्तु बनाई उडाइरहन्थ्यो।

एकदिन विद्याललयमा टिफिनको समय चलिरहेको थियो। मंसिरको चिसो दिनमा न्यानो घाम ताप्दै धेरै विद्यार्थी गफिरहेका थिए। नविनले सबैका अगाडि एउटा प्रयोग गर्नलाई केही तार, बेट्री तथा रसायनहरूको साथ काम गर्न थाल्यो। एकैछिनमा सानो विष्फोट भयो। ड्याम्म आवाजसहित धुँवा समेत आयो। तर, ऊ  निरास भएन। उसलाई प्रधानाध्यापकको कक्षमा बोलाइयो।

– नविन धन्न कसैलाई केही भएन।तिमीले जानकारीबिनै यस्तो काम नगर्नु है। तिमी त जिज्ञासु छौ बाबु। प्रधानाध्यापकको कुरा  उनलाई पनि नराम्रो लागेन। हवस् सर भनेर नविनले शिर झुकायो।  

त्यतिकैमा चन्द्र सर आइपुगे। हातमा छडी बोकेका चन्द्र सरले उनलाई दुई छडी बजाइहाले।

– यो केको जिज्ञासु  हुन्थ्यो । यसको सम्पर्कबाहिरका आतङ्ककारीसँग हुन सक्छ। भन तँ,  कुन समूहको होस् !  

चन्द्र सरको हप्काइ  र कुटाइले मन दुखाएका नविन कमजोर भने बनेनन्।

विज्ञानको उच्च अध्ययनको लागि विदेश पुगेका नविनले धेरै प्रयोग गरे। उनको समूहले बनाएको  नविन यानले मंगल ग्रहको पूरै अध्ययन गरिसकेको थियो। विदेशबाट फर्केर आएको केही दिनमै नविनका नविनतम प्रयोगहरू विषयमा भएको प्रदर्शन कार्यक्रममा प्रविधि प्रतिष्ठानमा मानिसहरूको  भव्य उपस्थिति थियो।नविनले आफूलाई हाईस्कुलमा पढाउनेदेखि क्याम्पसमा अध्यापन गराउने धेरै शिक्षक देख्यो। युवा वैज्ञानिक सम्मान ग्रहणपश्चात नविनका आँखाले सेतै दाह्री फुलेका एक व्यक्ति देखे। उनी कोही नभएर उनका हाईस्कुल शिक्षक चन्द्र सर थिए। 

प्रकाशित: २१ मंसिर २०७७ ०६:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App