२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

अपराध आफैतिर फर्कन्छ

कथा

शर्मिला खड्का दाहाल

 

 

‘जीवनको सत्य जीवन हो, मृत्यु कदापि होइन । यदि कोही मृत्यु ठान्छ र त्यसलाई अंगीकार गर्छ भने उसको अन्तिम सत्य पनि मृत्यु नै हुन्छ । पत्रकार उमासिंहको हत्याराहरूले कहिल्यै पनि शान्ति पाउने छैनन् । श्रीसा हत्याकाण्डमा मुछिएका इन्सपेक्टरले विदेशमा गई आत्मदाह गर्नुप¥यो आखिर किन तिनले जीवनलाई समाप्त पार्नुपरयो र ! सायद सत्यको न्यायलयले यही फैसला गरयो ।

यो मेरो लामो लेखमाथि छोटो अंश मात्र दिइएको छ – एउटा पत्रिकामा प्रकाशित भएको थियो । यो लेख छापिएको पत्रिकाको वेवको लिंक मैले फेसबुकको स्टाटसमा सेयर गरेको थिएँ । यस लेखमा धेरै प्रतिक्रियाहरू आए तर तीमध्ये एउटा प्रतिक्रियाले मलाई अचम्मले रन्थनाइदियो । प्रतिक्रिया यस प्रकारको थियो —

‘तपाईंको यो लेख पढेर म अत्यन्त विचलित भएको छु । मलाई लाग्छ कतै यो लेख मेरो लागि नै लेखिएको हो कि ! मलाई सत्यको अदालतमा रिट निवेदन गर्नुछ । के मलाई मौका दिनुहुन्छ !’

यो प्रतिक्रिया पढेर म छक्क परें । कस्तो प्रतिक्रिया हो  ! के भन्न खोजिएको हो ! मैले केही बुझ्न सकिनँ । मैले उसलाई च्याट गर्न अनुरोध पठाएँ । उसले पनि मेरो अनुरोध स्वीकार गरयो ।

मैले उसलाई लोडसेडिङको मुड ठीक भएको बेला च्याटमा आउन समय दिएँ । तोकिएको समयमा ऊ च्याटमा देखा परयो । हुन त यो डिजिटलीय संसारमा कुनै कुराको विश्वास हुँदैन तर पनि नयाँनयाँ कथावस्तु र विभिन्न खालका पात्रको  खोजीको क्रममा यस्ता सुरुङे मार्ग लाभदायी हुन सक्छन् । खोतल्दै जाँदा रहस्यको कुन धरालतमा पुगिन्छ भन्ने कुरा आफैलाई अनुमान गर्न गाह्रो हुन्छ  । त्यसैले यस्ता अविश्वासी कामहरूलाई पनि म रोमाञ्चक ढङ्गले विश्वासका साथ गरिरहेको हुन्छु ।

अहिले म च्याटमा बसिसकेको छु ।

केही समयपछि उक्त पात्र देखापरयो । उसले सम्बोधन जनायो । मैले प्रतिउत्तर दिएँ । उसले एउटा लिंक हेर्न अनुरोध पठायो । मैले तुरुन्त उक्त लिकं खोलेर हेरेँ । त्यो लिक शहरको प्रतिष्ठित र धनाढ्य व्यापारीको हत्या गरिएको न्युज थियो । म अलमल्ल परेँ । उसले किन यसप्रकारको लिंक पढ्न अनुरोध गरयो ।  पक्कै यहाँ कुनै रहस्यमय कुरो छ । जुन कुरा खोतल्न म उत्साही भइरहेको थिएँ ।

“यो लिंक पठाउनुको रहस्य !” मैले सोधेँ ।

उसले लेख्यो— “त्यो न्युज तपाईँको लेखसँग सम्बन्धित भएको हुनाले मैले लिंक पठाएको हुँ ।”

“मतलब !” मभित्र कताकता त्रासको विकिरण फैलन थाल्यो । कतै म अपराधिक गतिविधिको सन्जालमा फस्ने त होइन भन्ने शंका –उपशंकाहरूले मलाई पोल्न थाल्यो ।

“नडराउनुहोस् लेखिकाज्यू,  तपाईँले जे लेख्नुभएको छ एकदम सही लेख्नुभएको छ । तर कुनै पनि कुरालाई  एक पक्षीय रूपले मात्र सोच्न हुँदैन जुन तपाईँहरू जस्तो लेखकको कमजोरी हो । त्यसको अर्को अँध्यारो पाटोलाई पनि हेर्नुपर्छ ।” उक्त पात्रले च्याटमा लेख्यो ।

“ठीकै छ तपाईँ बताउनुहोस् न त उज्यालोमा बस्नेले अँध्यारोको महसुस गरेको हुँदैन ।” मैले असन्तुष्टिको मन्द राप रापेँ ।

“हो तपाईँले ठीक भन्नुभयो । तपाईँलाई त्यो अँध्यारो पाटो देखाउने कर्तव्य ठानेर मैले यी सब कुरा भन्दैछु ।

“ल भन्नुहोस् न त । के तपाईँले त्यो व्यापारीको हत्यालाई स्वाभाविक ठान्नुभएको छ !” मैले जिज्ञासा उघारेँ ।

“हो त्यही म भन्दैछु त्यो व्यापारीको हत्या हुनु स्वाभाविक थियो । त्यो हत्या कसरी भयो तपाईँलाई थाहा छ ! ”

“मैले कसरी थाहा पाउनु ! ऊ कस्तो किसिमको मानिस हो भनेर ” मैले भनेँ । मेरो मनमा त्रासको डढेलो सल्किरहेको थियो ।

“हो मैले तपाईँलाई सत्यको यो पर्दा उघार्न अनुरोध गरेको हुँ ।  त्यस व्यापारीको हत्यारा को हो थाहा छ ! ”

उसले यसोभन्दा मेरो जीउ थरर काम्यो । मैले उसलाई बेकारमा च्याटमा आउन भनेछु भनेर पश्चातापको भाइरसले आक्रमण गरयो मलाई । म निकै घोरिएँ । अहिले नेपाली समाज नै हत्या, हिंसा र अपहरण जस्ता महारोगले सङ्क्रमित छ । विशेष गरी ठूल्ठूला व्यापारीहरू यसको शिकार भएका छन् । यो किन, कसरी भइरहेछ भन्ने कुरा सर्वसाधारणको सोचाइको सीमाभन्दा बाहिरको छ । यस्तो विषयमा ऊसँग कुरा गर्दा आफू पनि उक्त रोगबाट सङ्क्रमित भइने होकि ! सोचाइको भाइरसले मेरो मस्तिष्कको सफटवेयरलाई ह्याङ्ग बनायो । यक्तिकैमा उसले टाइप गरी पठाइसकेको थियो  ।  

“त्यो हत्यारा मै हुँ लेखिकाज्यू ।”

मेरो जीवनमा पहिलो पल्ट कुनै हत्याराले म हत्यारा हुँ भनेर दावी गर्दैछ । म आफू कमजोर भएको महसुस गर्छु । जुन नराम्रो हत्याकाण्डले पत्रपत्रिकाहरूमा राम्रै स्थान पाएको थियो । हत्याराको खोजीको लागि ठूल्ठूला नाराजुलुस हुन थालेको थियो । संसद नै अवरुद भएको थियो । यस्तो हत्याको हत्याराले मसँग आएर हत्यारा हुँ भनिरहेको छ । कतै उसले चिटिङ त गरिरहेको छैन । विश्वास गर्ने कुनै आधार थिएन तर अविश्वास गर्ने कुनै धार पनि थिएन । उसलाई कुनै गुप्तचर विभागले  अनुसन्धान गरेझैँ अनुसन्धान गर्ने मनसाय मभित्र उम्रियो अनि टाइप गरी पठाएँ ।

“तपाईँ हत्यारा हुँ भनी कसरी दावी गर्न सक्नुहुन्छ !  तपाईँसँग के प्रमाण छ  अनि किन यसरी हत्यारा बन्नुभएको !  अरूलाई मार्दा पापको डर लाग्दैन  !” मलाई उसलाई धेरै कुरा सोध्न मन थियो तर उसले तुरुन्त टाइप गरी पठायो ।

“हो हत्या गर्नु पाप हो, मानिसहरू अपराधी भन्छन् । घृणा गर्छन्  तर एउटा असल मानिस कसरी हत्यारा बन्छ भन्ने कुरा के तपाईँले अनुमान गर्नुभएको छ  !”

उसको यो धम्कीपूर्ण संवादले म निकै आतंकित बन्छु । तर पनि समाजका यस्ता विकृति –विसगतिलाई राम्ररी  चिरफर गरेर समाजलाई देखाइदिनुपर्छ भन्ने कर्तव्यबोधले सामान्य बनेँ । मैले सोचेँ– उसले अघि त्यो अँध्यारो पाटोको कुरा गरेको सायद यही होला भन्ने लाग्यो । अनि केही  विनम्रता बिछयाउँदै टाइप गरेँ —“हेर्नोस्  हत्याराज्यू ,तपाईँले यति कुरा बताइसकेपछि तपाईँको बारेमा केही कुरा जान्ने उत्सुकताले मलाई छोपेको छ । कृपया बताउनु होला ।”

मेरो संवादले उसलाई केही छोएछ होला । उसले संवादको शैली फेरेर लेखिपठायो ।

“हो लेखिकाज्यू ,कोही व्यक्ति चाहेर हत्यारा हुन्छन् तर धेरैजसो बाध्यताले र परिस्थितिले हत्यारा बनाउँछ । म पनि उही समयको चक्रले पिल्सेर अधमरो भएर बाँच्नको लागि हत्यारा बनेको हुँ । म तपाईँलाई आफ्नो सम्पूर्ण वृतान्त बताउँछु ।” उसले भन्यो

“भन्नुहोस् न ।” मैले संवाद लम्बाउन संवाद गरेँ ।

“उक्त व्यापारीको पसलमा म पाँचवर्षदेखि लगातर काम गर्दै आएको कामदार थिएँ । हुन त उसले मलाई मुखले नराम्रो कहिल्यै भनेन । तर, उसको हृदय सफा थिएन । एउटा तल्लो स्तरको कामदारलाई गर्ने व्यवहार ऊ मलाई गर्दथ्यो । उसका परिवारहरूले पनि उही व्यवहार गर्दथे । उनीहरू सरभेन्ट भनेर बोलाउँथे । उनीहरूको मनमा दयाको भावना पटक्कै थिएन । म गाउँबाट क्याम्पस पढ्न भनी काठमाडौँ आएको थिएँ ।”

“अनि , मेरो मस्तिष्कमा आम नेपाली गाउँका केटाहरू काठमाडौँमा आएर कामको लागि भौतारिएको दृश्य प्रतिबिम्बित भयो ।

“अनि एक जना मामा पर्नेले उसकहाँ काम लगाइदिएका थिएँ । बेलुका पढन जान्थे । दिनभर पसलमा काम गर्थे । मसँगै अरू दुइजना कर्मचारी पनि पसलमा थिए । म सोझो थिए  अरू दुई जना निकै बाठा थिए । उनीहरू पसलको पैसा हिनामिना गर्दथे तर व्यापारीले पटक्कै थाहा पाउदैनथ्यो । उसले दिएको तलबले मलाई मुस्किकले काठमाडौँमा खान र बस्न पुग्दथ्यो । महिनाको सुक्खा पाँच हजारले एकजनालाई घर भाँडा तिर्न, खान र बस्न मुस्किकले पुग्दथ्यो । पसलमा हजारका गड्ढीहरूको लेनदेन हुन्थ्यो । ती लाखलाखको बिटा देख्दा म घुटुक्क थुक निल्दथे । घरमा आफ्ना बाआमा, भाइबहिनी एकछाक खान पनि धौधौ भएको आँखामा झलझली सम्झन्थे । कहिलेकाहीँ ती पैसाको गड्डी बोकेर भागुँ र बाआमा भाइबहिनीहरूलाई राम्राराम्रा लुगा, मीठामीठा खानेकुरा लगिदिउँ जस्तो लाग्दथ्यो फेरि यस्तो अपराध गर्न हुँदैन भनेर आफै सतर्क हुन्थे । उक्त व्यापारी सारै लोभी र छट्टू थियो । चन्दा माग्न आउनेलाई पनि मान्छे हेरी पैसा दिने गर्दथ्यो । उसलाई धम्काउने आयो भने डरले जति भने पनि दिन्थ्यो । तर सज्जन मानिसहरू राम्रा कामका लागि आए भने एक कौडी पनि दिँदैनथ्यो ।  उसको त्यो कठोर हृदय देखेर मलाई रिस उठ्दथ्यो । यसरी मेरो जीवन चलिरहेको थियो ।” उसले लेखेर पठायो ।

“त्यसपछि !” मैले टाइप गरेँ ।

उसको जीवन कथासँगै म पनि बगिरहेको थिएँ । गरीबीले मानिसको जीवनमा कतिसम्म उपहास गरेको हुन्छ भन्ने कुराको धेरै उदाहरण मेरो दिमागमा उम्रियो । केही समय अघि गरीबीका कारण आमाले आफ्नै छोराछोरीलाई विष खुवाएर आफूले विष खाएर मरेकी समाचारमा म  संवेदीत बन्न पुगेँ । भर्खरै भारतको एउटा नगरमा आफनो बाबुले बैकको ऋण तिर्न नसक्दा जेलमा हालिएको अवस्थामा न्यायलयमा नै आगो लगाई आत्महत्या गरिएको घटना बिउँझियो मभित्र । उसको कथाले मलाई उही गरीबीको आक्रमित डढेलोमा लगेर हुत्याइदियो । म त्यो रापले भतभती जल्न लागेँ । म छटपटिन लागेँ ।  हे भगवान, यो तिम्रो लीला अपरम्पार छ । कही कसैलाई गरीबी के हो  आभाषसम्म छैन । कही यो ताण्डवनृत्य ! यो सुनामी !  कसरी थाम्न सक्छन् बाँच्नका लागि बाँचेका आत्माहरूले । भो अब बन्द गर यो तिम्रो लीला  मेरो मुखबाट अनासय निस्क्यो — बुद्धम् शरणम् गच्छामी । आफूलाई केही सन्तुलित र संयमित बनाएँ अनि च्याटमा घोरिएँ । यतिञ्जेल उसले लेखिपठाइसकेको थियो ।

“त्यसपछि,  एकपल्ट मेरी आमालाई एपेनडिक्स भयो । आमालाई अस्पतालमा भर्ना गरिएको थियो । मसँग पैसा थिएन । सहरमा जागिर खाने छोरोले पैसाको जोहो गर्ला भन्ने सोचेछन् क्यार बाले । त्यसैले बासँग पैसा हुने कुरा नै भएन ।  मेरो आशाको केन्द्रविन्दु तिनै व्यापारी थिएँ । मैले व्यापारीसँग तीस हजारका लागि अनुनयविनय गरेँ तर उसको हृदय पटक्कै गलेन । मैले अन्य पार्टीलाई हजारौँ रुपैया चन्दा दिएको कुरा उठाएँ । यो कुरा सुनेर ऊ अझ बढी रिसायो र धम्काउँदै भन्यो —“तँ फिस्टो मलाई धम्की दिन्छस् । तँलाई अहिले म मामाघर पुरयाइदिन्छु, मलाई के ठान्छस् ।” 

उसले तुरुन्त पुलिस बोलाएर मलाई पक्रायो । मलाई चौकीमा पुरयाइयो । चौकीको इन्सपेक्टरलाई मैले आफ्नो  वृतान्त सुनाएँ । इन्सपेक्टर असल रहेछन् भोलिपल्ट मलाई छाडिदिएँ । म तुरुन्त नर्सिङ होम गएँ तर ढिलो भइसकेको थियो । आमाको जीवित शरिर निर्जिव भइसकेको थियो । मेरो विलाप सुन्ने एक मात्र ईश्वर पनि बहिरा भइसकेका थिए । समयले मलाई निरङ्कुश आक्रमण गरेको थियो । प्रतिवाद गर्ने मसँग कुनै शस्त्र थिएन । निशस्त्र म निर्जीव बन्नुको विकल्प थिएन । त्यसपछि ...!”

उसका संवादले म निकै भावुक बन्छु । अझ आमा भन्ने शब्दमा कही पीडा मिसिएको सुनेँ वा देखेँ भन्ने अत्यन्त मर्माहत हुन्छु । आमा भन्ने शब्द मेरा लागि अत्यन्त हार्दिकता र आत्मीयताले भरिएको शब्द हो । आमाको तुलना यो लोकमा अरू कुनै कुरासँग हुन सक्दैन । अझ आमाको अभावको पूर्ति केले होला ! आमाको ममताको मूल्याकंन कसरी होला र ! उसका भावनासँगै म पनि बग्छु अनि लेखिपठाउँछु ।  

“त्यसपछि...! ”

“त्यसपछि आमाको लाश लिएर म गाउँ पुगेँ । आमालाई घाटमा अन्तिम संस्कार गर्न लगियो । आमाको लाश समाएर रुदाँरुँदै म बेहोस भएछु । मलाई गाउँलेले लगेर होश फिराएछन् । मैले दागबत्ती दिन पनि सकेनछु । मेरो सानो भाइले दागबत्ती दियो । जसलाई के थाहा होस् उसकी आमा अब नफर्कने बाटोमा गइसकेकी छ भन्ने कुरा । मेरी आमा मेरो जीवनको सहारा थिइन । अझ भनूँ मेरो आत्मा नै थिइन । म विमारी हुँदा उनलाई पीडा हुन्थ्यो । घरको जेठो छोरो भएकाले ममाथि उनको ठूलो आशा थियो ।

 उनलाई सद्गत गरेर कसरी घर फर्के मैले थाहा पाउन सकिनँ । म चट्टानजस्तो बनेँ । आमाको विछोडको पीडाले बा ढुङ्गोजस्तो हुनु भयो । घरमा भाइबहिनीको विचल्ली भयो । तातो पानी तताएर दिनेसम्म कोही भएन । म मेरो बा र भाइबहिनी हालत देखेर व्यापारीको पारिवारले मोज गरेर खाएको, हिँडेको सम्झन्थे अनि तुलना गरेर सोच्थे । जति सोच्थे मभित्र त्यति नै जलन, आक्रोश र विद्रोहको भावना जन्मन्थ्यो । म भित्रभित्र आक्रोशित बन्न पुगेँ । दिन परदिन व्यापारीले मप्रति गरेको व्यवहारले मभित्रभित्र जल्न थालेँ । आफू जलेर सखाप हुनुभन्दा व्यापारीलाई सखाप पार्ने अन्तिम उपाय मभित्र सिर्जित भयो । त्यसपछि म यो प्रतिशोध लिने विचार लिएर काठमाडौँ फर्किए । बा र भाइबहिनीलाई गाउँको काका पर्नेको जिम्मामा छोडे ।”

“त्यसपछि !” मेरो हृदयमा कारुणिकता र मस्तिष्कमा उत्सुकताका सुरियाहरू रोपिन थाले ।

“त्यसपछि म अपराधी गतिविधिमा लागेकाहरूको संगत गर्न थालेँ । गाउँको एउटा सोझो केटो अहिले शहरको नामी गुण्डा भनौँ डन भइसकेको थियो । ठूलो अपराध गर्नुअघि गिरोहका नायकेहरूले सानातिना अपराध गर्न लगाउँछन् । गर्दागर्दै म अपराधी भइसकेको थिएँ । उक्त व्यापारीको हत्या गर्न मलाई कुनै गाह्रो काम थिएन । मैले मेरी आमाको बर्खान्तको दिन उक्त व्यापारीको हत्या गरेर बदला लिन्छु भनेर कसम खाएको थिएँ । त्यो कसम मेरो पूरा भइसकेको छ ।”

उक्त हत्याराको सम्पूर्ण वृतान्त सुनेपछि मलाई मानवीय छालहरूका तरङ्गले तरङ्गित पारिरह्यो । एउटा मानिस कसरी हत्यारा बन्छ भन्ने यो सत्य घटना थियो । तर उसले जतिसुकै आफूलाई निर्दोष देखाउन खोजे पनि म उसको भावनामा सहमत हुन सक्दिनँ । किनभने मेरो विचार नै जीवनको अन्तिम सत्य मृत्यु होइन भन्ने हो ।

मैले पुन च्याटमा लेखेँ ।

“हत्याराज्यू तपाईँ के यो सब बताउनको उद्देश्य म जान्न सक्छु !”

“हो लेखिकाज्यू ,यो सब बताउनको पछाडि एउटा रहस्य छ । मैले व्यापारीको हत्या गरेर प्रतिशोध लिएँ तर तपाईँले लेखमा लेख्नु भएझै त्यो हत्यापछि मैले मानसिक शान्ति पाउन सकेको छुइनँ । दिन परदिन हत्याका विषयमा छपिने न्युजले म भावुक र विचलित हुँदै गएको छु । व्यापारीको हत्यापछि उसको पत्नीको अवस्था अनि छोराछोरीको विचल्ली देखेर म भित्रभित्रै गल्न थालेको छु । अनि तपाईँको लेखमा लेखिएको कतै मेरो अन्तिम सत्य पनि मृत्यु नै पो हुने होकि भनेर म चिन्तित हुन थालेको छु । कृपया मलाई न्याय गरिदिनु होला ।”

अहिले मलाई महान् नाटककार सेक्सपियरको सम्झना भयो । उनले नाटक म्याकवेथमा भनेका छन् – अपराध आफैतिर फर्कन्छ । यो भनाइको प्रयोग सम्पूर्ण ग्रीसेली नाटकमा लागु गरिएको छ । त्यसैले सेक्सपियरका सम्पूर्ण ग्रीसेली नाटकमा अपराधीहरूले आफनै हत्या गरेर प्रायश्चित गरेका छन् । कतै उक्त हत्याराले पनि उही भनाइ सार्थक पार्न खोजेको त होइन !  मभित्र शंकाको अंकुश पलाउँछ । म उसलाई सान्त्वाना दिने प्रयास गर्दै भन्छु ।

“हो हत्याराज्यू तपाईको त्यो प्रतिशोधले अझ तपाईँलाई थप संकटमा पारेको छ । मानिसभित्रको मानवीय भावनालाई दबाएर जतिसुकै दानवीय भएपनि आखिर ऊ मानव नै हो । त्यसैले उसलाई यस्ता कुराले कहिल्यै शान्ति मिल्दैन । तपाईँ आफूलाई सत्यको न्यायलयमा निसाफ पाउन चाहनुहुन्छ भने आफूलाई आत्मसमपर्ण गराउनुहोस् । तब मात्र तपाईँले सत्यको न्यायलयमा निसाफ पाउनुहुनेछ नत्र तपाईँ जीवनभर कहिल्यै सुख पाउनु हुने छैन । तपाईँ समाज घट्ने विभिन्न घटनाको एउटा सत्य उदाहरण हुनुहुन्छ । म तपाईँको यो कथा सार्वजनिक गरेर समाजलाई  एउटा उज्यालो बाटो देखाउन चाहन्छु र भन्न चाहन्छु — धनसम्पत्ति कमाउने र थुपार्ने लालचमा मानवीय संवेदनालाई कहिल्यै नमारौँ । यदि मानवीय संवेदनालाई हामीले तिरस्कार गरयौं भने ती भावनाहरू प्रतिकार गर्न हामीमाथि नै हतियार उठाउन सक्छन् त्यो समय तपाईँको करौडौको धनसम्पत्तिले तपाईँको मृत्युलाई छेक्न सक्दैन । त्यसैले समाजमा म होइन हामी भएर बाचौँ । समाजमा भएको गरीबी र धनीको विषमताको खाडल पुर्ने प्रयास गरौँ । आफू मात्र बाँच्नु खोज्नु  भनेको आफनो अहित आफैले निम्ताउनु हो  । यो परम मन्त्र सबैले हृदयङ्गगम गर्नैपर्छ ।”

च्याट गर्दागर्दै हाम्रो संवाद टुट्यो किनभने लोडसेडिगको मूड अफ भइसकेको थियो ।

भोलिपल्टसम्म यो संवादीय कथा बिर्सन्छु भनेर मैले कापीमा उतारें। त्यसपछि रात्रिकालीन विश्राम लिएँ ।

भोलिपल्ट उठेर रातिको घटनालाई मस्तिष्कमा पुनर्जीवित गराएँ । मेरो मन र मस्तिष्कमा  उही हत्याराको संवाद र उसका मार्मिक कथामा घुमिरहेको थियो । उषाकालीन दायित्व सकेर म  पत्रिकाहरूको दैनिकी न्युज भ्रमणमा फन्को मार्न थालेँ । पत्रिकाको फ्रन्टपेजमा नै यस्तो लेखिएको थियो ‘व्यापारी कृष्णमोहनको हत्याको आरोप लागेका हत्यारा सुरेशको गोली हानी आत्महत्या ...!’

मैले योभन्दा धेरै पढ्न सकिनँ । मेरो मस्तिष्कमा उक्त हत्याराले छद्मनाम प्रयोग गरी च्याट गरेका संवादहरू घुमिरह्यो । अहिले म केही बोल्न नसक्ने भइसकेको थिएँ । मैले लेखेको कथाका शब्दहरू आफै बोलिरहेका थिए ।

प्रकाशित: २० मंसिर २०७७ ०८:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App