१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘मकाना देउताले सरापिल्या जइथा छुन्’

नुन बोक्ने खसी गोठालाका कथा:

हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरका नन्दबहादुर बुमी खसी डुलाउँदै कहिले भोट त कहिले हाट धाउने गर्थे। भीरपाखा र वनको बाटो उनका लागि सामान्य भइसकेको थियो। उनका घरमा ५० वटा बाख्रा थिए, जसमध्ये २२ वटा खसी। उनी ती खसीलाई लिएर कर्णालीको किनारैकिनार कहिले चीनको ताक्लाकोट त कहिले अछाम पुग्ने गर्थे। महिना दिन जस्तोमा चार सय ५० किलोजति नुनसहित उनी घर फर्कन्थे। आफूले चीनबाट ल्याएको नुन गाउँका घरघरमा डुलाउँथे। गाउँलेले चामल–दाल लगायत अन्न दिएर नुन साट्थे। यसरी बुमीको परिवारको बाँच्ने आधार खसी नै थिए।  

२०७६ फागुनमा बुमी चीनबाट नुन लिएर आए, अनि गाउँलेलाई नुन दिएर अन्न जम्मा गरे। चामल बेच्न सदरमुकाम सिमीकोट जाने तर्खरमा थिए उनी। उनले खसी–बाख्रालाई केही दिन विश्रामका लागि लेकमा राखेका थिए। एक रात बाघ आएर उनका गोठका २७ वटा बाख्रा–खसीलाई मारिदियो। बिहानै बुमी पुग्दा गोठ रगताम्य थियो। केही खसी–बोका भागेछन्। बुमी केही सोच्नै सकेनन्, धेरै बेर रोएर बसे। त्यहीबेला अर्का खसी गोठाला पनि रुँदै त्यहाँ आइपुगे। उनी थिए, गाउँकै छाई कार्की। उनको पनि गोठका खसी–बाख्रा बाघले खाइदिएछ।  

बुमी भक्कानिँदै भन्छन्, ‘यइ पालि मेरा दशा लाग्या, अब लाउ भुन्या टालो नाइ, खाउभुन्या, चारो नाइ। छोराछोरी पढाउ भुन्या, पुइसा नाइ।’ अर्थात्, यसपटक दशा लागे मेरा। लगाउन कपडा छैन, खान अन्न छैन। छोराछोरी पढाऊँ भने पैसा छैन।’

अहिले नन्दबहादुर र छाइ दुवै गाउँकै जग्गा–जमिनमा खेतीपाती गर्छन्। बाँकी रहेका बाख्रा चराएर जीवन गुजारा चलाइरहेका छन्। बुमीले दैनिक ज्यालादारीको काम पनि गर्छन्। 

 

खसी–बाख्रा चराउँदा नन्दबहादुरको वनमै बास हुन्थ्यो। वनका बोटबिरुवा, ढुंगामाटो, हावापानीसँग आफ्नो मितेरी साइनो भएको उनी बताउँछन्।  

यसपालि दशैँमा गाउँमै भेटिएकाले उनले हुम्ली ठाडी भाका सुनाए, ‘काँ पानी आदो हो, जौगडा बस्याको भोट्या, क्या माया लाउदो हो, जोइकाना एकलइ छाडी।’  

अर्थात्, ‘कुन ठाउँमा पानी खान्छन् ती गोठालाहरूले अनकन्टार वनमा बसेर। श्रीमतीलाई एक्लै छाडी कसरी माया लगाउँछन् ती गोठालाहरू।’

यसपालि दशैँमा गाउँमै भेटिएकाले उनले हुम्ली ठाडी भाका सुनाए, ‘काँ पानी आदो हो, जौगडा बस्याको भोट्या, क्या माया लाउदो हो, जोइकाना एकलइ छाडी।’  

हुम्लाका मानिस चीन गएर नुनलगायत सामान किनेर खसीलाई बोकाएर ल्याउँछन्। गत वर्षको माघको अन्तिम साता हुम्ला जैरका अर्जुन धामी हुम्लाको यारी मुचु हुँदै चीनको शेराबाट नुनसँगै लत्ता–कपडा लगायत सामान लिएर फर्के। उनलाई चीन गएर फर्कन झन्डै महिना दिन लाग्यो। उनी आफ्ना १३ वटा खसी लिएर नुन लिन गएका थिए। उनलाई यी खसी ससुरालीले दाइजोमा दिएका हुन्। खसी मासुका लागि मात्रै होइन, भारी बोकाउनमा पनि प्रयोग गरिन्छ। भारी बोकाउँदा खसी र मानिस दुवैलाई दुःख बढी भए पनि केही आम्दानी गर्न सकिन्छ। धामी भन्छन्, ‘एक खसीले २० किलोसम्म बोक्न सक्छ, एक खच्चडले १ सय किलोजति बोक्छ। बाटो भएको भए हाम्रो गाउँमा पनि गाडी आउँथ्यो, धेरै सामान बोक्थ्यो।’  

गाउँमा मासुको भने बजार छैन। एक केजी मासुको पाँच सय रुपैयाँ मात्र आउँछ। सहरसम्म खसी पु¥याउन सडक छैन। मासुका लािग सहरसम्म खसी पु¥याउन सके बाख्रापालनबाटै जीविकोपार्जन हुने उनी बताउँछन्।  

गएको हिउँदमा उनले चीनबाट करिब दुई सय ७० किलो नुन ल्याए। उनले नुन घर–घरमा पु-याएर मानिससँग जे छ, त्यही सामानसँग साटे। कसैले दाल, कसैले कुखुरा, कसैले अन्न, भेडा हुनेले ऊन दिए। यसरी नै उनको जीविका चल्ने गथ्र्यो। पोहोर साल भने उनी बिरामी परे। रोग पनि अनौठो, उनको बायाँ हात सुक्दै गयो। गाउँघरतिर भन्छन्, ‘उनलाई बाण वा छिटो लागेको हो।’

हुम्लावासी अन्धविश्वास गर्छन्, ‘आकाशबाट सुनको फाली खस्छ, जुन भुइँमा खस्यो भने त्यसै बिलाएर जान्छ, जसलाई कसैले देख्दैन। तर, मान्छे वा कुनै जनावरको छेउ भएर खस्यो भने शरीरमा क्षति पु-याउँछ।’  

उनी खसीलाई नुन बोकाएर चीनबाट वनको बाटो हुँदै घर फर्कंदै थिए। हात दुखेजस्तो भयो।  

अर्जुन आफ्नै भाषामा भन्छन्, ‘मकाना देउताले सरापिल्या जइथा छुन्। झुन नापानापा बाद्या जोडिया छियाँ, उइपुनी डुलाइदिन्याँ, मान्ठ नाइ। बड्डाबड्डीकान आज्जुन गन्याँ म एकक्लो छिया। उइपुनी अपांग भया, अब क्या गरी खानु हो।’  

अर्थात्, ‘मलाई देवताले सरापेजस्तो छ। झन् केही खसी किनेर ल्याएको थिएँ, तैपनि चराउन जाने मानिस छैन। गरिखान लागेको थिएँ। तैपनि अपांग भएँ, अब कसरी गरी खाने होला।’

गाउँमा आएर उनले आफ्नो हात मुखिया (दानसिंह रावत) लाई देखाए। मुखियाले तानतुन गरेर सम्झाइबुझाई गरे। अब निको हुन्छ भनेर पठाए तर निको भएन।  

मुखिया रावतले उनलाई भनेका थिए, ‘आत्तिनुपर्दैन, गाउँमै केही दिनमै निको हुन्छ।’  

पोहोर साल भने उनी बिरामी परे। रोग पनि अनौठो, उनको बायाँ हात सुक्दै गयो। गाउँघरतिर भन्छन्, ‘उनलाई बाण वा छिटो लागेको हो।’ हुम्लावासी अन्धविश्वास गर्छन्, ‘आकाशबाट सुनको फाली खस्छ, जुन भुइँमा खस्यो भने त्यसै बिलाएर जान्छ, जसलाई कसैले देख्दैन। तर, मान्छे वा कुनै जनावरको छेउ भएर खस्यो भने शरीरमा क्षति पु-याउँछ।’

अर्जुनले गाउँमा धामीझाँक्री हेराए, जोखना हेराए तर केही सीप लागेन। उनलाई झनै दुख्दै गयो, उनी आत्तिए। अब त उपचार नगरी भएन भनी उनी गत वर्षको फागुन अन्तिम साता काठमाडौंमा उपचार गर्न आए र टिचिङ हस्पिटलमा भर्ना भए। उनलाई पैसाको समस्या भयो। गाउँबाट काठमाडौंमा पढ्न बसेका विद्यार्थीलाई भने। तर, पैसाको समस्या टरेन। उनी उपचार नगरी गाउँ फर्किए।

उनी उपचार गर्न पनि खसी बेचेरै काठमाडौं आएका थिए। एउटा खसीको १५ देखि २० हजार रुपैयाँसम्म आउँथ्यो। उनले चारवटा खसी बेचेका थिए।  

अहिले उनले ससुरासँग मिलेर खुद्रा पसल चलाएका छन्। हात दुख्न छाडेको छैन, उपचार पनि गरेका छैनन्।

उनका सुसुराले खसीमा सामान ओसार्ने गर्छन्, उनले सामान बेच्ने गरेका छन्। उनी भन्छन्, ‘खुद्रा पसलमा राम्रो आम्दानी छैन। अरू काम सकिँदैन।’

यस्तै अर्का खसी गोठाला हुन्, गडबहादुर कार्की। उनी पनि खसी डुलाउँदै परिवार पाल्नेमा पर्छन्। उनले ६० वटा खसी–बाख्रा पालेका छन्। उनी भन्छन्, ‘हामी बाख्रा डुलाउनेहरू स्थायी कर्मचारी जस्तै भएका छौँ। बिहान ८ बजे निकालेर चराउन लैजानुपर्छ। बेलुकी ७ बजे गोठमा ल्याउनुपर्छ।’

उनले खसीकै आयस्रोतबाट छोराछोरीलाई जसोतसो गाउँकै सरकारी विद्यालयमा पढाएका छन्। कार्कीका दुई छोरा दुई छोरी छन्। एक छोरा एसइईपछि उच्च शिक्षाका लागि काठमाडौं बसे। ‘अहिले छोराले बिएड पढ्दै नोकरी गर्छ,’ उनले भने, ‘जेठो छोराले भाइ र बहिनीलाई पनि सहर लगेर पढाउने सोच बनाएको छ।’  

उनको जग्गा–जमिनको उब्जनीले ६ महिना खाना पुग्दैन। उनका बुबा दशह¥या कार्की भारत गई रुपैयाँ कमाएर बाख्रा किने। अहिले ६० वटा खसी–बाख्रा छन्। अहिले कार्कीको परिवारलाई खाना–लाउन गाह्रो छैन।

७५ वर्षीय दशह-या कार्की आफूले जीवन खसीसँगै बिताएको बताउँछन्। ‘गाउँका मानिसले बाख्रा पालेको र खसीलाई नुन बोकाएको देखेर मलाई पनि रहर पलायो। त्यसैले पैसा कमाएर खसी किन्ने सोचले भारतको बेरिनाग गएँ,’ उनी भन्छन्। उतिखेर गाउँमा तामाका ताउलाको निकै भाउ थियो। कमाएको रुपैयाँले उनले भारतबाट तामाका ताउला किने र अछाम गए। त्यहाँ उनले ताउला दिएर खसी साटे। र, खसी लिएर हुम्ला आए। यसरी उनको खसी गोठालो जीवन सुरु भयो।

अहिले हुम्ला सदरमुकामसम्म त साना गाडी पुगे, पहिले हुम्लामा ढुवानीको समस्या थियो। अझै पनि जिल्लाका प्रायः गाउँमा खच्चड हिँड्ने बाटो छैन। सर्केगाड गाउँपालिका–१ जैरका स्थानीय जनक नेपाली बाटो नभएकाले नै खसीलाई भारी बोकाउने चलन चलेकोे बताउँछन्।  

उनी भन्छन्, ‘हुम्लाले विकास कुरिरहेको छ।’

सर्केगाड गाउँपालिका वडा– १ का वडा अध्यक्ष यहाँको ढुवानीको साधन खसी भएको बताउँछन्। कर्णाली करिडोर बाटो पुग्न अब एक वर्ष लाग्ने उनको भनाइ छ।

प्रकाशित: २० मंसिर २०७७ ०६:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App