२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

गोयबल्सहरू

कविता

दामोदर पुडासैनी किशोर

 

अचेल

कुर्सीधारीहरू

बनेका छन् अभिनेता

उन्मत्त साँढेझैं

बिगबिगी मच्चाइरहेछन्

ढोके, बैठके, धुपौरे र कुरौटेहरूले

 

कुर्सीधारीहरूका लागि

झिँगा र लामखुट्टेहरूले गाउने  

भजन प्यारो लाग्छ

झिँगा र लामखुट्टेहरू

सिधासाधाको रगत चुस्छन्

देखिएका र भेटिएका  

सबै मेवा र मिष्ठान्न चुस्छन्

केही पुरयाउँछन्  कुर्सीधारीहरूलाई

सँगसँगै कुराका पोकाहरू पनि चढाउँछन्

सट्टामा प्रणाली र सन्जाल

दुवैलाई चपाइदिन्छन् कुपुकुपु

 

कार्यालयका गोयबल्सहरू

झण्डालाई झुकाएर

कार्यालयको सिहासनमा

आफैले रानु चढाएको दावी गर्छन्

र रानुको धमास देखाएर

खुरुखुरु दंस छोडछन्  

गैरझण्डाका ज्यामी माहुरीहरूलाई

 

तपाईहरूले भोग्नुभएकै छ

कार्यालयमा

दम्भी,लोभी,चटके,ठग र लोलोपोतेहरूको  

भयकर महोत्सव चलिरहेछ

 

गोयबल्सहरू

अबिर दलेको हातले गीता हल्लाएर

दाह्राले सिधासाधाको मुटु चपाइरहेछन्

 

तपाई– हामीले देखेकै कुरा हो

हरेक पदक र पुरस्कारको सूचीमा

गोयबल्सहरूकै नाम आइरहेछ

 

समय र परिस्थितिसँगै

काँचुली फेर्न सक्ने मनुवाहरू हुन् गोयबल्सहरू

कुर्सी फेरिनेबित्तिकै थुक्क थुकिहाल्छन् पुरानो कुर्सीलाई

र ,

चाट्न थालिहाल्छन् नयाँ कुर्सीलाई

 

तपाईँहरू जेसुकै भन्नुहोस्

देश थला परेकै गोयबल्स दंसले हो

डिडिटी छरेर मलेरियाका लामखुट्टे नष्ट पारेझैँ

सम्पूर्ण गोयबल्सहरू सखाप नपारेसम्म

उठदैन,उठनै सक्तैन देश

 

बरु केहीबेर राजनीति रोकौँ

बरु रोकौ केहीबेर

सारा दर्शन र सिध्दान्तहरू

कमिलाका गोलाभित्र रोपेर

कहाँ फलाउन सकिन्छ आलु

एउटा मात्र गोयबल्स बाँचेसम्म

उम्रन सक्तैनन् कुनै  

उज्यालो र उचाइका बिरूवाहरू

 

गोयबल्सविहीन बन्न चाहिरहेछ देश

बादलले नढाकेको घाम ताप्न खोजिरहेछन् मान्छेहरू

सबैभन्दा पहिलो अभियान  

गोयबल्सहरू नष्ट गर्ने हुनुपर्छ देशको ।

 

२०७५ , पुस ३ गते मंगलबार ।

प्रकाशित: २० मंसिर २०७७ ०५:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App